News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको धार्मिक तनाव मधेशका विभिन्न जिल्लामा विस्तार हुँदा नागरिकको जनधनको ठूलो क्षति भएको छ।
- गृहमन्त्री सुधन गुरुङको सक्रियता र सरकारी सुरक्षा निकायको समन्वयमाथि स्थानीयले प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
- धर्म र आस्थाको राजनीतिकरण गरी हिंसा मच्चाउने नियत भएका व्यक्ति तथा समूहको पहिचान गरी कानुन बमोजिम कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ।
कप्तानगञ्जदेखि कोशी कटान क्षेत्रसम्म, गोलबजारदेखि जनकपुरसम्म हेर्दा अत्यासलाग्दो शान्तिको आभास हुन्छ । झट्ट हेर्दा अघिल्लो साताको आइतबार साँझ एक्कासी हिन्दु र मुसलमानका नाममा सुनसरीको देवानगञ्ज पालिकामा पर्ने कप्तानगञ्जमा तनाव सुरु भएको थियो । अहिले त्यो मधेशभरि विस्तार गर्न खोजिएको छ ।
अनलाइनखबरको टिमले मधेशका विभिन्न जिल्ला अनि पालिकामा अवलोकन भ्रमण तथा रिपोर्टिङ गर्दै तीन दिन बितायो । यसअघि पनि हाम्रा संवाददाताहरू सक्रिय थिए ।
आजै सोमबार बिहान पनि कोशी कटान क्षेत्रमा कडा सुरक्षा पहराबीच बराह क्षेत्रतर्फ तीर्थालु जान खोजिरहेका थिए । अनि एक हिन्दुको घरमा मुस्लिमले फ्रेस हाउस खोलेका थिए । हिन्दुको घर पनि जल्यो, मुस्लिमको फ्रेस हाउस पनि । बेकारमा धर्मको नाम दिएर कसैको परिवार अनि कसैको व्यवसाय बिल्लीबाँठ पारियो ।
सुरक्षाकर्मीको बलमा कतै कर्फ्यु, कतै निषेधाज्ञा लगाएर अशान्ति निस्तेज गर्न खोज्नु अनौठो होइन । यस बीचमा गृहमन्त्री सुधन गुरुङको सक्रियताले पनि यहाँ धेरथोर काम गर्यो । तर उनले जन ढलेका ठाउँमा पुगेर सहानभूति बाँड्न जति उर्जा लगाए, त्यसको थोरै उर्जा मात्रै पनि धन जलेका ठाउँमा लगाएको भए यहाँ आनका तान फरक परिसक्ने थियो ।
सिरहा गोलबजारका एक स्थानीयले हामीसँग भनेझैं पोहोर भदौको जेनजी आन्दोलनमा जन ढलेपछि धन जलेको आभास हुन्छ यहाँ । सुधन स्वयं जेनजी आन्दोलनको केन्द्रभागमा देखिन पुगेका थिए ।
यति बेला उनी नेतृत्वको गृह मन्त्रालय पीडितहरूबीच छनोटमूखी भएको गुनासो स्थानीयमा छ । सिरहा गोलबजारमा एबी कम्प्लेक्स जलेको छ । मैले यो एस्प्रेसो यहीँबाट तयार पारेको छु ।

दर्जनौं स्थानीयसँग कुरा गर्दा पाँचवटा बुझाइहरू स्पष्ट रुपमा व्यक्त भएको पाइयो ।
एक : सुनसरीको कप्तानगञ्ज गाउँमा कुनै घटना भयो भने त्यो त्यहीँ सल्टाउनुपर्ने हो । यहाँसम्म विस्तार हुनु आफैंमा प्रश्नको विषय हो ।
दुई : एक्कासी घटना भएजस्तो देखिए पनि कुनै दिन यस्तो अवस्था ल्याउनुपर्छ भनेर लामै तयारी देखिन्छ । यसपछाडिका पात्र को हुन् भनेर खोज्ने जाँगर राज्यलाई छ ?
तीन : हिन्दू र मुस्लिमको नाम दिए पनि हिंसा र अराजकताका दोषीको जुनसुकै धर्म र नाम भए पनि छानिछानी कारबाही गरे हुन्छ । अनुसन्धान निष्पक्ष होस् । तर निष्पक्ष अनुसन्धान हुनेमा शंका छ ।
चार : मृतकका परिवारमा राज्य पुग्यो, पीडितहरूलाई सम्बोधन गर्न आएन । किन ?
पाँच : राज्यले सुरक्षा र न्यायको आभास दिएन भने भोलि घट्न सक्ने सम्भावित परिणतिको जिम्माचाहिँ कसले लिन्छ ?
अब यिनै प्रश्न र असन्तोषको वरिपरि सरकारले काम थाल्नुपर्छ । झन्डै ढिलो भएको थियो सुरुवात गर्न । स्थानीयले हामीसँग प्रष्टै भने : प्रधानमन्त्री बालेन शाहले दुई दिनअघि मात्रै राष्ट्रपति रामचन्द्र पौडेलसँग कुरा गरेको भए, राष्ट्रका नाममा सम्बोधन गरेको भए गाउँको मनोविज्ञानमा धेरै फरक पर्ने थियो ।
तर जेनजी विद्रोहमा अराजकता मच्चाउनेमाथि कारबाही नभएको, अनि सरकारले कुनै चासो नदेखाएको अवस्थामा यहाँ विध्वंश मच्चाउनेहरूले धाप पाएको महसुस गरे । अझ रास्वपाका केही सांसदले धर्मविशेषको पक्षमा पार्टीका सदस्यले बोल्न सक्ने भन्दै पैरवी नै गरे ।
बहुसंख्यक र अल्पसंख्यकको भावना बीजारोपण गर्न सत्ताकै सहारा लिनु आफैंमा अनुचित थियो ।
भारतमा यसपल्ट कक्रोच जनता पार्टीका नाममा युवा र विद्यार्थीले असफल पारेको धार्मिक एजेन्डा यता नेपालतर्फ विस्तार हुनु आफैंमा दुर्भाग्य थियो ।
यस दुर्भाग्यपूर्ण घटना र त्यसको शृंखलाबद्ध विस्तारबाट नेपाल राज्य र त्यसका प्रतिनिधिले केही सिक्न सक्छन् । सत्तामात्रै होइन, प्रतिपक्षी र सबै दल अनि नागरिक समुदायले आफूतर्फ फर्केर समीक्षा गर्न सक्छन् ।
अर्कालाई दोषमात्रै लगाएर हामी कप्तानगञ्ज र यसका परकम्पबाट सिक्न सक्दैनौं । नेपाली समाजमा धर्म र आस्थालाई राजनीतिकरण गरेर स्वार्थको रोटी सेक्न खोज्ने प्रत्येक व्यक्तिलाई चिनौं । त्यो कुन धर्मसँग जोडिएको छ भन्ने बिर्सौं । केवल त्यसको नियत हेरौं ।

आगो अलिअलि गर्दै धेरै सल्किसकेको छ । अरुलाई डढाउन बालेको आगोले आफैंलाई सिध्याउँछ । आगोसँग नखेलौं । आगोलाई समयमै चिनौं ।
नेपालमा नेपालको कानुन, अनि नेपालका रीतिथिति र परम्पराले काम गर्छन् । कुनै देशमा सोचिएका स्वार्थहरूलाई यहाँसम्म बोकेर ल्याएर नेपाललाई प्रयोगशाला बनाउन पाइँदैन ।
हिन्दु र मुस्लिम बस्तीमा यसपल्ट हामीले भेटेका निर्दोष र निरपराध गाउँलेहरूको अनुहार सम्झँदा कहाली लाग्छ । औषधि खाएर घरमा बसिरहेका बुढापाका, जो हलचल पनि गर्न सक्दैनन् । तिनलाई कुटिएको छ ।
हाम्रा सहकर्मीहरूले दाबीका साथ भनेका छन्, मारिनेहरू आपसी धार्मिक दंगामा मारिएका होइनन् । ती राज्यबाट मारिएका हुन् ।
यस अर्थमा हाम्रो राज्य सच्चिएको रहेनछ । अब केपी ओली र देउवा प्रचण्डलाई दोष लगाएर नपुग्ने भयो । हाम्रो सुरक्षा निकायले सिक्ने विषयको सूची तयार पारेर दिन सकिन्छ ।
केवल निष्पक्ष अनुसन्धानका लागि खुला हुन सक्नुपर्यो । खुला सोच राख्नुपर्यो ।
सुरक्षा समन्वयको कमी यसपल्ट पनि देखियो । उस्तै समन्वयको अभाव ०८१ चैत १५ मा राजावादी प्रदर्शन, तीनकुने काठमाडौंमा थियो । जेनजी आन्दोलन त उत्कर्ष भइहाल्यो, असमन्वय र आरोप प्रत्यारोपको ।
मृतकहरूलाई श्रद्धान्जली । घाइतेहरूलाई स्वास्थ्यलाभको कामना । निजी सम्पत्ति अनाहकमा गुमाएकालाई न्याय मिलेन भने यहाँ कसैले लगानी गर्दैन । रोजगारी दिँदैन । कर तिर्दैन ।
क्षतिको यो अर्को पाटो, जो सामान्य छैन ।
राजनीतिकर्मीहरू, गाउँ गइहाल्नुहोस् । तपाईंहरूले जनतासँग कुरा गर्न छाड्नुभएको छ । माथि बुँदागत तयार प्रश्नहरू हाम्रो स्थलगत भ्रमणमा प्राप्त साझा सवालहरू हुन् । ती सवालहरूको हल ढिलो नगरीकन खोज्नुहोस् । नत्र यिनै प्रश्नले तपाईंलाई पनि एकदिन खानेछन् । समीक्षा गर्न समय बचेको हुने छैन ।
प्रतिक्रिया 4