News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीबाट सुरु भएको धार्मिक विवादले सिरहाको गोलबजारमा उग्र रूप लिँदा स्थानीय मुस्लिम समुदायका दर्जनौं पसल र घरमा आगजनी तथा तोडफोड भएको छ।
- आइरन स्टोर सञ्चालक साबिर खाँलगायतका व्यवसायीले वर्षौंको मिहिनेतबाट जोडेको करोडौं रुपैयाँ बराबरको सम्पत्ति क्षणभरमै खरानी हुँदा उनीहरू बिचल्लीमा परेका छन्।
- प्रहरी प्रशासनको लाचारी र गोली प्रहारको घटनापछि उत्पन्न तनावका कारण पीडित व्यवसायीले राज्यसँग अविलम्ब निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन्।
१९ साउन, गोलबजार (सिरहा) । गोलबजारमा जे भयो, त्यो त्यहाँको आफ्नो समस्या थिएन । सुनसरीमा जलाएको आगोको लप्काले साबिर खाँको आइरन स्टोर तहसनहस भयो ।
गोलबजार चोकका ६१ वर्षीय स्थानीय जीबछ साहको भनाइमा अघिल्लो साता उनले देखेका दृश्य आफ्नो जीवनकालमा कहिले पनि देखिएका थिएनन् । छेवैको अर्को परिवार अपरिचित भिडबाट निर्घात कुटिएको थियो । कसले कसलाई दोष लगाउने ?
प्रश्न कतै हावामा तैरिरहेको थियो । जीबछलाई भेट्नुअघि हामी साबिर खाँकहाँ पुगेका थियौं ।
साबिर यतिबेला जलेको खण्डहर सम्हाल्ने कि परिवार सम्हाल्ने भन्ने दोधारमा छन् ।
‘बुबाले आर्जन गरेको धन र खेतबारी सबै बेचेर यो व्यवसायमा लगानी गरेका थियौं । २५ वर्षसम्म पसिना बगाएर उभ्याएको व्यवसाय एकै घण्टामा खरानी बनाइदिए । हामीले कसको के बिगारेका थियौं ? अब कहाँ बस्ने, के गर्ने, कसरी छोराछोरी पाल्ने र पढाउने ?,’ सिरहाको गोलबजारमा जलेर खरानी भएको नेहाल आइरन स्टोरको अवशेष देखाउँदै गर्दा सञ्चालक साबिर भावुक भए ।

सोमबार दिउँसो अनलाइनखबरको टोली पुग्दा उनी जलेको पसलबाट खरानी टकटक्याइरहेका थिए । साबिरलाई सहानुभूति र सान्तवना दिन पुर्खौंली गाउँ सिरहा नगरपालिका–२० बाट छिमेकीहरू विजय यादव र दिवाकर यादवलगायत आएका थिए । उनीहरू पनि शोकमा थिए ।
चार दिनअघि खरानी भएको पसलको दर्दनाक दृश्य देखाइरहँदा साबिरमा स्वाभाविक आक्रोश त थियो नै, पीडा झन् गहिरो थियो । आफ्नै आँखा अगाडि करिब २५ करोड रुपैयाँ बराबरको व्यवसाय जलेर क्षणभरमै खरानी बनेको दृश्य सम्झिँदा उनी रुन मात्र सकेका थिएनन्, त्योभन्दा धेरै पीडा उनको अनुहार र बोलीबाट झल्किरहेको थियो ।
सिरहा जिल्लाकै प्रतिष्ठित र ठूलो आइरन स्टोर आफैं जलेको होइन । ९ दिनअघि सुनसरीको कप्तानगञ्जबाट सल्किएको धार्मिक विवादको आगोले उनको बुबा मो. अजिजु खाँले आर्जेको खेत, २५ वर्ष परिवारले मिहिनेतले जोडेको सम्पूर्ण सम्पत्ति र बैंकबाट ऋण लिएर विस्तार गरेको व्यवसाय नै सखाप बनाइदियो ।
विवादको क्रममा राज्यले संयम गुमाएर गोली चलाउँदा सुनसरी र सिरहामा गरी ४ युवकको मृत्यु भइसकेको छ । तर यो विवादमा साबिर वा उनको परिवार कुनै पक्षमा लागेका थिएनन् । सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिरहाका गणेश यादव प्रहरीको गोली लागेर मृत्यु भएकामा साबिर दुःखी छन् । उनीहरूको राज्यको गोलीले मृत्यु नभएको भए सायद साबिरको पसल जल्ने थिएन ।
साबिरसँग आफ्नै व्यापार-व्यवसायको मात्रै बढ्ता चिन्ता थियो । समाजका पक्ष-विपक्षमा उनी बाँडिएर हिँड्ने गर्थेनन् । आपसी भाइचारा, सद्भावमा उनले कहिल्यै कमी हुन दिएनन् । त्यसको प्रमाण उनकै पसलमा रोजगार पाएका २० जना हिन्दु समुदायका व्यक्ति छन् ।
उनले राज्यलाई मासिक रूपमा ठूलो कर तिरेकै छन् । मासिक रूपमा उनले राज्यलाई करिब डेढ लाख रुपैयाँ कर तिर्दै आएका छन् । आपसी भाइचारामा कुनै कमी छैन । उस्तै सद्भाव र सहिष्णुता छ । त्यस कारण गाउँघरबाट आएका उनका छिमेक उनको पसलमा थकाइ मार्थे । सकेको सहयोग गर्थे ।
र, सहानुभूति दिन आएका छिमेकीलाई देखाउँदै उनले सुनाइरहेका थिए, ‘हेर्नुस् मेरा छिमेकीहरू आउनु भएको छ । मैले उहाँहरूलाई भाडामा ल्याएको होइन । हाम्रो चाडपर्वमा उहाँहरू आउनु हुन्छ, उहाँहरूको चाडपर्वमा हामीलाई निमन्त्रणा गरेर बोलाउनु हुन्छ । आखिर कसले यो षड्यन्त्र गरेर यस्तो घटना गरायो ?’
गोलबजारमा दुई समुदायबीच कहिल्यै कुनै विवाद भएका थिएनन् । साबिरको प्रष्ट गुनासो छ, ‘गोलबजारमा यो परिस्थिति प्रहरी प्रशासनले निम्त्याएको हो ।’

प्रदर्शनको क्रममा प्रहरीले घाँटीमै गोली प्रहार गर्दा स्थानीय १६ वर्षीय किशोर गणेश यादवको मृत्यु भयो । त्यस घटनापछि आक्रोशित समूहले मुस्लिम समुदायका पसललाई निशाना बनाएको उनको बुझाइ छ । त्यसअघि सुनसरी घटनामा पनि प्रहरीले गोली चलाएर नै यो स्थिति सिर्जना गरेको थियो । यसले अनाहकमा तीन जनाको मृत्युले पनि उनी अत्यन्तै दुःखी छन् ।
‘सुनसरी घटनामा प्रहरीले गोली नचलाएको भए अथवा त्यतै राज्यले गम्भीरतापूर्वक समयमै सल्ट्याएको भए यो स्थिति आउने थिएन । र, यहाँ सिरहामा पनि गणेश भाइको गोली चलाएरै मारिदियो । यसले उग्र रूप लियो । त्यो बच्चाको के दोष, मेरो के दोष, अब न त त्यो बच्चाको ज्यान फर्केर आउँछ, न त मेरो सम्पत्ति,’ साबिर भन्छन् ।
साबिरको जलेको पसल देखेर उनका छिमेकी विजय यादव पनि अत्यन्त दुःखी छन् । उनले यसरी व्यक्तिको सम्पत्ति ताकेर जलाउनेहरूलाई कडा कारबाही गर्नुपर्ने र राज्यले अविलम्ब क्षतिपूर्ति दिनुपर्ने माग गरे ।
‘हामी सधैँ मिलेर बसेका छौं । सुःखदुःख साट्छौं । यसरी निर्दोष व्यक्तिको सम्पत्तिमा आगजानी, लुटपाट गर्नु ठूलो अपराध हो । दोषीमाथि अविलम्ब कारबाही र क्षतिपूर्ति राज्यले दिनु पर्छ,’ उनले भने ।
गोलबजारमा क्षति भएको साबिरको मात्र होइन, उनका समुदायका अन्य पसल ताकीताकी जलाइएको छ । साबिरको दुई घर पश्चिमपट्टि छेउमा रहेको एबी मल जलेर खरानी भएको छ । सिरहा सुपरमार्केटका सञ्चालक जहाँगिर अन्सारीका भाइ जाफिर अन्सारीका अनुसार मल निर्माणमा करिब १२ करोड रुपैयाँ खर्च भएको थियो ।
भित्र रहेका कपडा, फर्निचर, किचेन सामग्री, कस्मेटिक, किराना तथा विद्युतीय सामग्री सबै जलेर नष्ट भएको छ । भवन र सामग्री गरी करिब २२ करोड बराबरको क्षति भएको उनको भनाइ छ । उनले मल सञ्चालनका लागि कुमारी बैंकबाट २२ करोड ५० लाख रुपैयाँ ऋण लिएका थिए ।

अन्सारीको गोलबजार नगरपालिका–४ स्थित घरमा पनि आगजनी र तोडफोड हुँदा घरभित्र रहेका सबै सामग्री जलेर नष्ट भएका छन् ।
गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वास्थित न्यू असलम वस्त्रालय तथा आलिया इन्टरप्राइजेजमा आगजनी गरिएको छ । त्यसमा करिब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको सञ्चालक असलम खानको भनाइ छ ।
उनका अनुसार करिब २ करोड रुपैयाँ बराबरको जिन्सी सामान, २ करोड रुपैयाँ बराबरका खाता–बही, करिब २ लाख रुपैयाँ नगद तथा करिब १ करोड रुपैयाँ बराबरको घर पूर्ण रूपमा नष्ट भएको छ ।
यस्तै, गोलबजार नगरपालिका–४ मा रहेको अब्दुल्लाह खानको घरमा तोडफोड भएको छ । त्यसमा करिब १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । गोलबजारकै एके ब्रदर्समा तोडफोड र लुटपाट भयो । त्यसमा करिब २० लाख रुपैयाँ बराबरको क्षति पुगेको सञ्चालक राजु खानले बताए ।
गोलबजार नगरपालिका–६ मा रहेको नौसाद मोटर पार्टस् एन्ड वर्कसपमा पनि आगजनी र तोडफोड भयो । त्यहाँ ग्राहकका ६ वटा मोटरसाइकलसहित पसलका सामग्री जलेर करिब ५० देखि ६० लाख रुपैयाँ बराबरको क्षति पुगेको सञ्चालक इमरान खानको भनाइ छ ।
गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवरको गोलबजार–४ मा रहेको घरमा पनि आगजनी र तोडफोड हुँदा ठूलो क्षति पुगेको छ ।
उनका अनुसार फर्निचर, एसी, फ्रिज, वासिङ मेसिन, किचेनका सामग्री जलेर नष्ट भएका छन् । दुई लाख ५० हजार रुपैयाँ नगद, श्रीमतीका ५ तोला सुन र १५ तोला चाँदी, दिदीका २ तोला सुन र ६ तोला चाँदी तथा आमाका करिब ३ तोला सुनसहितका गरगहना नष्ट भएको उनको भनाइ छ । घरमा मात्रै करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

गोलबजार नगरपालिका–४ मा रहेको रोयल प्रिन्स होटल एन्ड पार्टी प्यालेसमा तोडफोड हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक पप्पु खानको भनाइ छ ।
व्यक्तिको व्यवसाय र सम्पत्तिमाथि छानीछानी आगजनी तथा लुटपाट गर्नेमाथि निष्पक्ष छानबिन गरी कारबाही र क्षतिपूर्तिको माग उनले गरेका छन् ।
आइरन स्टोरका सञ्चालक साबिरका अनुसार प्रहरी प्रशासनले चाहेको भए पसल केही हदसम्म जोगाउन सकिन्थ्यो । तर आगजनी रोक्न र आगजनी गरे पनि आगो निभाउन प्रशासनले आवश्यक चासो नै दिएन ।
‘प्रहरीले चाहेको भए हाम्रो पसल जोगिन्थ्यो । तर प्रशासनको ढिलाइले हाम्रो केही पनि बाँकी रहेन,’ उनले भने । राज्यलाई ठूलो परिमाणमा कर बुझाउँदै आएका उनी आगजनीपछि यस्तो अवस्थामा पुग्दा सरकारले एक पटक पनि भेट्न नआएकोमा झन् दुःखी छन् ।

‘गृहमन्त्रीसँग हामीलाई धेरै अपेक्षा थियो । हामीलाई पनि खोजखबर गर्नुहुन्छ भन्ने लागेको थियो । तर एक पटक पनि हाम्रो भावना बुझ्न आउनु भएन,’ उनले पीडा पोख्दै भने, ‘सरकारसँग हाम्रो एउटै माग छ- हामीलाई क्षतिपूर्ति दिइयोस् । नत्र हामी आत्महत्या गर्ने अवस्थासम्म पुगिसकेका छौं ।’
नागरिकहरू व्यक्तिको सम्पत्ति ताकेर आगजनी तथा लुटपाट भएकोमा त्रसित छन् । जेनजी आन्दोलनदेखि अपनाइएको यो प्रवृत्तिले व्यक्तिले वर्षौं मिहिनेत गरेर आर्जेको सम्पत्ति ताकेर क्षणभरमै खरानी बनाउने घटना बढ्नेमा नागरिक सशंकित छन् ।
त्यसकारण यस्ता घटना घटाउनेलाई छनबिन गरी पत्ता लगाएर कडा कारबाही र पीडितलाई क्षतिपूर्ति दिनु पर्ने दिवाकर यादवको माग छ ।
‘सडकमा आन्दोलन हुँदा शान्तिपूर्ण रूपमा आफ्नो माग राख्न पाउँछन् । तर यसरी कुनै समुदाय र व्यक्तिको सम्पत्ति ताकेर आगजानी लुटपाट गर्नु ठूलो अपराध हो । जेनजी आन्दोलनदेखि यो प्रवृत्ति देखिएको छ । यदि समयमै पत्ता लगाएर यस्ताहरूलाई कडा कारबाही भएन भने अगामी दिनमा परिस्थित झन् भयावह हुने सम्भावना बढ्छ,’ उनले भने ।

गोलबजारमा फुटपाथमा रेडिमेड कपडा पसल गर्ने महेन्द्र ठाकुर पहिलो पटक धार्मिक विवाद र त्यसपछि भएको घटनाले दुःखी छन् ।
‘हामी सधैँ मिलेर बस्यौं । गोलबजारमा यस्तो कहिल्यै भएको थिएन । किन, कसले यस्तो गर्यो । ठूलो उद्योग व्यवसायमा आगो लगायो । यो एकदमै निन्दनीय घटना हो । पीडितले न्याय पाउनु पर्छ,’ उनको माग छ ।
लोकतन्त्रमा आफ्ना माग राख्न पाइन्छ । असहज परिस्थित भयो भने राज्यले संयमित तरिकाबाट साम्य गर्नु पर्छ । तर सडकमा नागरिकलाई उग्र शैलीमा ताकीताकी गोली हानेर मार्ने र कुनै समूहले व्यक्तिको सम्पत्ति लक्षित गर्दै आगजनी र लुटपाट गर्ने प्रवृत्ति अक्षम्य अपराध रहेको नागरिक समाजका अगुवाहरूको भनाइ छ ।
तसर्थ, समयमै दोषीहरू पत्ता लगाएर कडा कारबाही नभए दण्डहिनता मौलाउँदै जाने देखिन्छ । त्यसका संकेतहरू अनलाइनखबरको स्थगलत रिपोर्टिङ क्रममा हामीले फेला पारेका छौं ।
तस्वीर/भिडियो : कमल प्रसाईं
ग्राफिक्स : अरुण देवकोटा
थप रिपोर्टिङ–


प्रतिक्रिया 4