+
+
Shares
रिपोर्ट :

मध्य बर्खामै खानेपानी संकट

देशका विभिन्न जिल्लामा असार–साउनमा समेत खानेपानीको हाहाकार भएको छ ।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८३ साउन २५ गते ७:००
सल्यानको बनगाड कुपिण्डे, काँराकोटका प्रेम बिक वैखुरेबाट पानी लिएर फर्कँदै । तस्वीर : सामाजिक सञ्जाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका स्थानीयवासी खानेपानीको चरम अभावका कारण दैनिक घण्टौं हिँडेर पानीको जोहो गर्न बाध्य छन् ।
  • खोटाङको हलेसी तुवाचुङ नगरपालिका र पाँचथरको तुम्वेवा गाउँपालिका लगायत देशका विभिन्न क्षेत्रमा खानेपानीको हाहाकार सिर्जना भएको छ ।
  • जलवायु विश्लेषक डा. ङमिन्द्र दाहालले खानेपानी समस्या समाधानका लागि पानीको मुहानसँगै सिमसार, पोखरी र पानीभरण क्षेत्रको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् ।

२५ साउन, काठमाडौं । सल्यानको वनगाड कुपिण्डे–६, काँराकोटका डिल्लीप्रसाद बुढाथोकी (३८) को दैनिकी बिहान दुई–तीन बजेदेखि सुरु हुन्छ । भाले बास्नु अगावै खानेपानीको जोहो गर्न गाग्रो बोकेर वैखुरे वा टिमुरेखोली पुग्छन् ।

स्थानीय जनता प्राविका शिक्षक बुढाथोकी ८०–८५ घर भएको काँराकोटवासी सबैले पानीको चरम अभाव झेलिरहेको बताउँछन् । अनलाइनखबरसँग उनले भने, ‘मुहान सुकेर धारामा पानी नै आउँदैन । त्यही भएर पानी खोज्दै टाढा–टाढा जानुपर्छ । पानीको अभावले गाउँका सबैको दैनिकी प्रभावित भएको छ ।’

सामाजिक सञ्जाल फेसबुकमा राखिएको काँधमा गाग्रो बोकेको काँराकोटको तस्वीरमा एक जना फेसबुक प्रयोगकर्ता प्रेम बिकले ६ घण्टा लगाएर पानी ल्याउनु परेको कमेन्ट गरेका छन् ।

उनले पानी अभावले स्थानीयको जीवन कष्टकर बनेको र त्यो सम्झिँदा रुन मन लाग्ने उल्लेख गरेका छन् ।

‘म यही गाउँको बासिन्दा भएको कारण गाउँघरमा हिँड्दा गाउँघरकी दिदीबहिनी दाजुभाइहरू कुरा सुन्दा चाहिँ घण्टौं हिँडेर पिउने पानीको कष्टकर जिन्दगी बिताउनु परेको छ । मलाई सम्झिँदा पनि रुन मन लाग्छ । ६ घण्टा लगाएर पानी ल्याएको मान्छे म नै हुँ,’ प्रेम बिकले लेखेका छन्, ‘हाम्रो नगरपालिकाको ध्यान जाओस् । यो विषयमा धेरैचोटि स्थानीय सरकार र केन्द्र सरकारसम्म भनिसकेका छौं र अहिलेसम्म कुनै पनि नेताहरूले चाहिँ पहल नगरेको भन्ने सुनिएको छ ।’

प्रेम बिकले कमेन्ट गरेकै तस्वीरमा सान्त्वना बुढा क्षेत्रीको प्रतिक्रिया छ, ‘चुनावको बेला यो गाउँमा भोट माग्न मात्रै किन जान्छौं ? लाज मान्दैनौं ?’

वनगाड कुपिण्डे गाउँपालिकाका प्रवक्ता धनबहादुर पुन काँराकोट बाहेकका क्षेत्रमा पनि पानीको समस्या रहेको बताउँछन् । खोला र पुरानो कुवाबाट पानी ल्याएर जेनतेन दैनिकी चलाइरहेको उनको भनाइ छ ।

‘खानेपानीका लागि रातभरि सुत्दैनन् । उज्यालो नहुँदै कोलहल सुनिन्छ,’ प्रवक्ता पुन भन्छन्, ‘खास गरी लेकाली भेगमा पानीको समस्या छ । भदौसम्म मूल फुट्ला कि भन्ने आशा छ ।’

वनगाड कुपिण्डे–६ का वडाध्यक्ष गणेशबहादुर बुढाक्षेत्री यो साउन महिनामा पानी नपरेको र खानेपानीको समस्या विकराल रहेको बताउँछन् ।

उनी भन्छन्, ‘उत्पादनको हिसाबले राम्रो ठाउँ हो । तर पानीको चर्को अभाव छ । खानेपानीकै समस्या भएपछि धान रोपाइँ गर्न पाउने त कुरै भएन । ७० प्रतिशत धान रोप्न बाँकी छ । धानको बीउ बिग्रिएका छन् ।’

सल्यानका अन्य पालिकामा पनि यस्तै समस्या भएको स्थानीयहरू बताउँछन् । कालीमाटी गाउँपालिकाकी उपाध्यक्ष सनसिल्ता वली डिसी आफ्नो पालिकाको लक्ष्मीपुर क्षेत्रमा खानेपानीको अभाव भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘पानीको चरम अभाव देखिएपछि विभिन्न संघसंस्थासँग मिलेर खानेपानी आयोजना सञ्चालन गरेका छौं । खानेपानीलाई प्राथमिकता दिएर काम गरिरहेका छौं ।’

पूर्वी नेपालका जिल्लाहरूमा पनि खानेपानीको चर्को अभाव देखिन्छ । जस्तो खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा पनि यस्तो समस्या भएको जनप्रतिनिधिहरू बताउँछन् ।

हलेसी तुवाचुङकी मेयर बिमला राई ११ मध्ये ७ वटा वडामा पानीको समस्या रहेको बताउँछिन् । खासगरी पालिकाको १ देखि ७ नम्बर वडामा पानीको चर्को अभाव भएको उनको भनाइ छ ।

यो नगरपालिकामा बृहत हलेसी लिफ्टिङ खानेपानी योजना सञ्चालनमा छ । लिफ्टिङ नचल्दा स-साना कुवाबाट पानीको जोहो गर्छन् । ‘पानीको चरम अभाव पनि छ, हामी समाधानको पहल पनि गरिरहेका छौं,’ मेयर राई भन्छिन् ।

हलेसी तुवाचुङ–१ का वडाध्यक्ष रुद्रकुमार राई स्थानीयलाई प्रतिलिटर २० पैसाको दरले पानी उपलब्ध गराउने गरिएको बताए ।

उनी भन्छन्, ‘प्रतिलिटर १० पैसामा पानी उपलब्ध गराउँदै आएका थियौं । धान्न नसक्ने भएपछि बढाउनु परेको हो ।’

मध्य नेपालका जिल्लाहरूमा खानेपानी अभाव रहेको सरोकारवालाहरू बताउँछन् ।

सिन्धुपाल्चोकको इन्द्रावती–८ का वडाध्यक्ष डिलबहादुर श्रेष्ठ आफ्नो पालिकामा छाचोक, ज्यामिरमाने लगायतका क्षेत्रमा खानेपानीको अभाव रहेको बताउँछन् ।

‘खानेपानीको मुहान टाढा छ । त्यो पनि सुक्दै गएको छ’ वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘पानी नपरेका बेला खानेपानीको संकट हुन्छ । पानी पर्दा भने बलेनीको पानी पनि प्रयोग गर्छौं ।’

पाँचथरको तुम्वेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का समस्या सुनाउन संघीय राजधानी काठमाडौं आइपुगेका छन् ।

लिफ्टिङ सम्बन्धी आयोजना सम्पन्न गर्ने विषयमा खानेपानी तथा व्यवस्थापन विभागका महानिर्देशकलाई भेटेर आफ्नो गुनासो राखेको खड्काले जानकारी दिए ।

उनी भन्छन्, ‘खानेपानी विभागको महानिर्देशकलाई भेटेर आयोजना चाँडो सम्पन्न हुने वातावरण मिलाउन आग्रह गरें ।’

विभागका महानिर्देशक कमलराज श्रेष्ठ भने खानेपानी आयोजनाको विषयमा आफूलाई भेट्न आउने अध्यक्ष खड्का पहिलो व्यक्ति नभएको बताउँछन् ।

उनी विभिन्न पालिकाका जनप्रतिनिधि मात्र होइन संघीय र प्रदेश सांसदहरू समेत खानेपानी सम्बन्धी आयोजनाको विषयमा छलफल गर्न आफू कहाँ आएको बताउँछन् ।

उनी भन्छन्, ‘उहाँहरू अधिकांशले बेलैमा आयोजना सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने खालको कुरा गर्नुहुन्छ ।’

सामान्तया नेपालमा मनसुन १३ जुनदेखि सुरु भएर २ अक्टोबरमा बाहिरिने गर्छ । नेपालमा वार्षिक औसत १ हजार ५६३ मिलिमिटर पानी पर्छ ।

कुल वार्षिक वर्षाको ८० प्रतिशत पानी मनसुनमा पर्छ । कहिले अधिक वर्षा र कहिले सुक्खा हुँदा बालीनाली, गाईवस्तुलाई खुवाउन मात्र होइन खानेपानीकै समस्या हुने गरेको जानकारहरू बताउँछन् ।

जलाधरविद् मधुकर उपाध्या देशभरको जोड्दा पर्याप्त पानी परेको देखिए पनि कतै पानी बढी र कतै कम पर्ने प्रवृत्ति देखिएको बताउँछन् ।

उनी भन्छन्, ‘देशभर कुल पानी कति पर्‍यो ? भनेर मात्र हुँदो रहेनछ । सम्बन्धित पालिका वा वडामा पानी कम परेको छ, त्यहाँ खानेपानीको हाहाकारै हुँदोरहेछ ।’

जलवायु विश्लेषक डा. ङमिन्द्र दाहाल खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि पानीको मुहान मात्र जोगाएर नपुग्ने बताउँछन् ।

उनी पानीको मूल जस्तो वर्षाको पानी सोस्ने जमिन, वन, सिमसार, पोखरी, पानीभरण क्षेत्र नै जोगाउन सुझाव दिन्छन् ।

उनी भन्छन्, ‘एकातिर चरिचरण, पोखरी आदि मासिँदै गएका छन् भने अर्कोतर्फ जलवायु परिवर्तनले वर्षाको प्रवृत्तिमै फरकपन ल्याएको छ । त्यसकारण अब पानीको मुहान मात्र होइन मूल संरक्षणमै जोड दिनुपर्दछ ।’

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?