News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित दौड प्रतियोगितामा खुलातर्फ गणेश सिंह र महिलातर्फ जेनिशा राई प्रथम भएका छन्।
२८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले आयोजना गरेको दौड प्रतियोगितामा खुलातर्फ गणेश सिंह र महिलातर्फ जेनिशा राई प्रथम भएका छन् । दौडको रुट माइतीघरदेखि तिनकुनेसम्म तोकिएको थियो ।
प्रतियोगिताको खुलातर्फ रुपेश कार्की द्वितीय र सञ्जीव नेपाली तृतीय भए । महिलातर्फ पूर्णिमा आचार्य द्वितीय र शारदा राईले तृतीय स्थान हासिल गरे।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावक तथा धाविकालाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी ८ वर्षीया धाविकालाई २ हजार रुपैयाँ सान्त्वना पुरस्कार समेत प्रदान गरिएको आयोजकले जानकारी दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले प्राविधिक सहयोग गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक सहयोगमा सम्पन्न दौड प्रतियोगितामा ३ सयभन्दा बढी युवाको सहभागिता रहेको नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारले जानकारी दिए।
युवामा स्वास्थ्य, अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सुनारले बताए ।
प्रतिक्रिया 4