News Summary
Generated by OK AI. Editorially reviewed.- पाँच महिना लामो विदेश बसाइपछि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचार गरी स्वदेश फर्किएका छन्।
- सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादसम्बन्धी विषयमा पूर्ण इजलासमार्फत पुनरावलोकनको अनुमति दिएको छ ।
- कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी असोज महिनामा महाधिवेशन गर्ने निर्णय पारित गरेको छ ।
कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि जय नेपाल भन्दै नेपाल फर्केको कुराले म खुसी छु । तपाईं यो नभन्ठान्नु होला कि, उहाँ आउने कुराले म खुसी थिइनँ । किनभने, आफ्नो देशको पूर्वप्रधानमन्त्री जस्तो विशिष्ट व्यक्ति, उपचारका लागि पाँच–पाँच महिना विदेश बस्दा कुन नेपाली पो खुसी भइरहन सक्छ र ?
देउवा दम्पतीमाथि निर्घात कुटपिट, घरमा लुट र आगजनी मच्चाइएको थियो, पोहोर भदौ २४ गते । जेनजी विद्रोह नाम दिए पनि दोस्रो दिन भएका यी विध्वंशबारे सत्यनिष्ठापूर्वक छानबिन गर्न राज्यले कताकता खुट्टा कमाए जस्तो देखिन्छ ।
राजनीतिमा देउवामात्रै होइन, उहाँको पुस्ताका राजनीतिकर्मी, जो विभिन्न दलमा छन्, उनीहरूको सान्दर्भिकता यथार्थमा त्यसभन्दा अघि नै सकिइसकेको थियो, तर उत्तेजित भिडले उनीमाथि भौतिक हमलामार्फत विजय घोषणा गर्न खोज्यो ।
देउवा दम्पतीमाथिको आक्रमण सरासर गलत, दण्डनीय थियो, छ । अझै पनि त्योलगायत घटनाहरूउपर गहिरो छानबिन र आवश्यक कारबाही आवश्यक छ ।
अब देउवाकै कुरा गरुँ । यसबीचमा देउवाले केको उपचार, कहाँकहाँ गराउनुभयो भन्ने सूचना हामीलाई उपलब्ध छैन । उहाँ निको भएर आउनुभएको हो भने यो नै हर्षको कुरा भइदियो । उहाँका नाममा बीचमा रेड कर्नर नोटिसको कुरो पनि सुनिएको थियो, अब त रेड कार्पेट नै बिछ्याउने गरी स्वागतको तयारी भयो । र, अन्ततः उहाँ स्वदेश आउनुभयो ।
अब मान्छेका मनमा केही जिज्ञासाहरू छन् । यसलाई चित्त बुझाउने जिम्मा भने देउवा र निकटस्थ नेताहरूकै हो ।
किनभने, देश र कांग्रेसको दशा देखेपछि तत्कालीन दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्न हस्ताक्षर जुटाए । जेनजी आन्दोलनअघि पनि उनीहरू खासमा असन्तुष्ट नै थिए, तर कांग्रेसको इतिहास र विरासतका कहीँ न कहीँ बन्दी बनेर उनीहरू कुण्ठित हुँदै बसे ।
जेनजी आन्दोलनपछि भने तिनले कांग्रेसमा सानोतिनो विद्रोह गरे । गगन सभापति भए, विश्वप्रकाश उपसभापति बनेर पुनःजागरण अभियानमा होमिए । उनीहरू कांग्रेस बदल्यौं भन्दै चुनावमा गए ।
मतदाता नै बदलिइसकेका थिए, तिनलाई कांग्रेस बदल्ने एजेन्डामा छलफल गर्ने खास इच्छा देखिएन यसपल्ट । तर कांग्रेस यथार्थमा बदलिएको थिएन, बदल्ने प्रक्रियाको सुरुवात मात्रै भएको थियो । चुनावको नतिजा हेर्दा कल्पना मात्रै गर्न सकिन्छ, कांग्रेसले विशेष महाधिवशेनबाट यति पनि गरेको हुँदैनथ्यो भने आज यो पार्टीको हबिगत के हुने थियो ।
अब यसबीचमा जे-जे गतिविधि भए, त्यसले नागरिकको एउटा उल्लेख्य पंक्तिलाई कांग्रेसभित्र सुस्तरी सुधार र परिवर्तन आइरहेको महसुस भएको हुन सक्छ । कांग्रेसको वैचारिकता फर्काउने र राजनीतिक हिसाबले ठिकठाक उभ्याउने उनीहरूको प्रयास निर्बिघ्न अघि बढ्न सकेको छैन । किनभने, निर्वाचन आयोगमा उजुरी थियो, कांग्रेस विशेष महाधिवेशनको वैधानिकताबारे । त्यो गगन विश्वले जिते । अदालतमा मुद्दा परेको थियो, त्यो पनि उनीहरूले जिते ।
अरू जेजे कारण भए पनि यो दृश्य आफैंमा रमाइलै हो । गगन र विश्व झगडालु केटाहरू थिए, यी त अचानक संस्थापन पो बन्न पुगे । जोसँग उनीहरू हिजो आफ्ना माग राख्ने गर्थे, अब तिनै नेता पो गगन-विश्वले के गर्नु पर्छ, के गर्नु पर्दैन भन्दै बुँदाहरू बनाउन थाले ।
तर, अब योबीचमा सम्मानित न्यायालयसामु फेरि कांग्रेसको वैधानिकता आफैंमा पुनरावलोकनको विषय बन्न पुगेको छ । साउन २१ गते प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे, श्रीकान्त पौडेलको पूर्ण इजलासले कांग्रेसको विवादसम्बन्धी विषयमा पुनरावलोकनको अनुमति दिएको छ । भन्न त बाहिर भनिएको छ, यसअघि वैधानिकताको दाबीलाई सुनुवाइको कुनै मौका नदिइएकाले यति बेला पुनरावलोकनको अनुमति दिइएको हो ।
तर, त्यसअघि कानुनी आधार, अनि व्यावहारिक र प्राकृतिक न्यायको सिद्धान्तको आधार सबै हेर्दा अर्को पक्षलाई फेरि वैधानिकता परीक्षणको लागि बाध्यकारी कानुनको परिकल्पना नगरिएको कानुनबेत्ताहरूको भनाइ छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ अनुसार विवरण अद्यावधिक गर्नुअघि देउवा पक्षलाई सुनुवाइको अवसर निर्वाचन आयोगले दिनुपर्ने थियो कि थिएन भन्नेमा मात्रै यो विषय केन्द्रित रह्यो ।
अब यसबीचमा के भयो त ? कांग्रेसको केन्द्रीय कार्यसमितिले असोजमा महाधिवेशन गर्ने निर्णय पास गरेको छ ।
उता, अदालतको विषय हेरौं । वैधानिकता पाएको कांग्रेस महाधिवेशनमा हिँडिसक्यो, अब यता फेरि पुनरावलोकनको विषय अचानक उठेको छ । न्यायाधीशहरू नृपध्वज निरौला र सारंगा सुवेदीको इजलासले यसअघि नै अब महाधिवेशनको प्रक्रियालाई रोक्नु नपर्ने भनेर फैसला गरिसकेको छ ।
सम्मानित न्यायालयउपर केही भन्न त गाह्रै भयो, तर केही वर्षयता नेपालका पार्टीहरूको आन्तरिक राजनीतिभित्र कतै न्यायालय प्रवेश गर्यो कि भन्ने छिटफुट प्रश्नहरू छन् । यी प्रश्नको निदान श्रीमान्हरूले नै गरिदिए हामी थप खुसी हुने थियौं । देउवा नेपाल आएकामा हामी यसै पनि खुसी छौं । न्यायालयबाट यति काम हुन सके हामीसामु खुसियालीहरूको संजोग मिल्ने थियो ।
आज लामो भन्नु केही छैन । पूर्वप्रधानमन्त्री देउवालाई स्वदेशमा स्वागत छ । व्यक्तिगत कारणले जानुभएको थियो, व्यक्तिगत कारणले नै फर्कनुभयो । उहाँले वक्तव्यमा बीपीको स्वदेश फिर्ती र मेलमिलाप नीतिको चर्चा गर्नुभएको छ । म कांग्रेसविज्ञ त होइन, तर सायद बीपीको भाष्य र भावार्थ पक्कै त्यो थिएन जो आज देउवाले अर्थ लगाउन खोज्नुभएको छ ।
तर, यसतर्फ पनि धेरै नजाउँ । देउवा फर्कनुभयो । बाँकी त यहाँ अवलोकन र पुनरावलोकन चलिरहन्छ । आखिर शब्द जे दिए पनि हेर्नु त हो । विगतमा पनि हेरेरै बसेको हो आखिरमा । राजनीतिमा हेर्नु पनि त ठूलै कुरा हो नि । होइन र ?
प्रतिक्रिया 4