News Summary
Generated by OK AI. Editorially reviewed.- आज विश्वकप फुटबलको फाइनल खेलमा स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदै छ ।
- फुटबलप्रेमी दर्शकहरूले खेलसँगै राजनीति र भूराजनीति जोडेर सामाजिक सञ्जालमा बहस गरिरहेका छन् ।
- विश्लेषक झलक सुवेदीले दर्शकलाई आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्दै खेलको आनन्द लिन सुझाव दिनुभएको छ ।
माहोल विश्वकप फुटबलको छ । र, आज त्यसको अन्तिम दिन अर्थात् फाइनल हो । न्युयोर्क टाइम्सको आजको हेडलाइन मनप्रिय छ– स्पेन इज् ब्रिलियन्ट, बट् अर्जेन्टिना ह्याज मेसी ।
अर्थात् स्पेन विशिष्ट छ, तगडा छ । तर अर्जेन्टिनासँग मेसी छन् ।
अनि, यो फुटबलको चार वर्षे बृहत् विश्व–विमर्शमा हामी सबैजसो नेपाली दर्शकहरू मज्जैले मिस्सिएका छौं । जसरी कुनै पनि गीत गायक मात्रैले गाएर लोकप्रिय हुँदैन, त्यसैगरी फुटबल पनि टिमपिच्छेका ११ खेलाडीले मात्रै खेल्दिएर सफल हुँदैन ।
हामी संसारैभरिका दर्शकहरू यो खेलका स्टेकहोल्डर बन्न पुगेका छौं । हामीले खेल हेरेर मात्रै पुगेको छैन । हामीलाई गोल लाग्दा लाग्दै या रेफ्रीले अफसाइड वा फाउल करार गरिदिएका गोलका बारेमा आफ्ना पूर्वाग्रह नसाधीकन यो खेल सफल भएको जस्तै लाग्दैन । फेरि मजा पनि त यसैमा छ ।
अनि, अझ हामी नेपाली जस्ता तेस्रो विश्वका सक्रिय दर्शक त राजनीति र भूराजनीतिसमेत फिटेर रंगशालालाई चियाचर्चाकै हिस्सा बनाइहाल्छौं । यतिबेला चर्चामा छ स्पेन, जसलाई सामाजिक भावनाको प्रतीक मानिएको छ । फ्ललेस मानिएको स्पेनी फुटबल टिम संसारकै टप क्लास गेम खेल्ने मानिन्छ ।
अर्जेन्टिनाको त कुरै गर्नुपरेन । अघिल्लो पल्टको उपाधिप्राप्त टिमसँग मेसी छन् । यसलाई चाहिँ व्यक्तिवादको प्रतीक भनेर पत्रकार, विश्लेषक चर्चा गरेका गर्यै छन् । जब हामी खेलको कुरा गरिरहेका हुन्छौं, त्यस बेला हामी आआफ्नो सुविधाअनुसार राजनीति, इतिहास, अर्थतन्त्र, कला, सौन्दर्य चेतना सबै मिसमास घालमेल पारिहाल्छौं ।
यस्तो लाग्छ, फुटबल खुट्टाले खेलिएला, तर हेर्दा चाहिँ पूर्वाग्रहले बढी हेरिन्छ । अझ भनौं हामीभित्र यस्तो केही छ, जसले खेल वा कुनै पनि कलाको सौन्दर्यलाई पूरा स्वरूपमा बुझ्ने मौकाबाट हामी आफैंलाई अभागी तुल्याउँछ ।
राजनीतिक कुरा नगरुँ भने पनि फुटबल, त्यसमाथि पनि फिफा विश्वकप आफैंमा बृहत्तर राजनीतिको हिस्सा बन्न पुगेको छ । फाइनलमा डोनाल्ड ट्रम्प गएर अवार्ड सेरेमोनी गर्ने योजना त्यसैको एक परिचय हो । हामी नेपाली पनि अर्जेन्टिना र स्पेनकै जर्सीमा किन नहोस्– नेपालको चन्द्रसूर्य झन्डासमेत पाएसम्म स्टेडियममै फर्फराइरहन्छौं ।
अर्जेन्टिनाको कुरा गर्दा, मैले केही समयअघि एउटा अर्जेन्टाइन सिनेमा हेरेको थिए– द डिस्टिंगुइस्ड सिटिजन् । अस्कार मार्टिनेज मुख्य पात्र भएको सिनेमामा एक ठाउँ उनी भन्छन्– द बेस्ट कल्चरल पलिसी इज् नट् टु ह्याभ एनी । अर्थात् ‘सबैभन्दा राम्रो सांस्कृतिक नीति भनेकै कुनै पनि नीति नहुनु हो।’
घरिघरि मलाई लाग्छ– फुटबलका हकमा पनि यो सही कुरा लाग्छ । खासगरी, जब अर्जेन्टिना, स्पेन आपसमा लडिरहेका हुन्छन् । अनि नेपाल जस्तो देशमा बसेर अर्जेन्टिनाको विरोध त के, विरोध गर्नेबारेमा सोच्नु पनि कति महँगो पर्छ ! सायद बहुसंख्यक तबमात्रै अर्जेन्टिनाका विपक्षीलाई माफ गर्ने छन्, जतिबेला नेपाल खुद विश्वकपमा खेल्न जानेछ । वा, अर्जेन्टिना काकतालीले विश्वकपमा छुटेको होस्, अहिले इटाली छुटे जस्तै ।
भनेपछि दर्शकवृन्द आजको फाइनलका बारेमा म के सोचिरहेको छु वा भनौं, सोच्नेबारेमा सोचिरहेको छु– तपाईंहरूले अलिअलि कुरा बुझिसक्नु भयो । आज अनलाइनखबरमा विश्लेषक तथा स्तम्भकार झलक सुवेदीले एक ठाउँ लेख्नुभएको छ :
म मिलेइ नेतृत्वको अर्जेन्टिनाले उनले जस पाउने गरी कप नजितोस् भन्ने चाहन्छु । अनि जे भए पनि साञ्चेज प्रधानमन्त्री रहेको बेला उनले जस पाउने गरी स्पेनले नै जितोस् भन्ने चाहन्छु । मलाई जेसुकै आक्षेप लगाइयोस् या गाली नै किन नगरियोस् म आफ्नो अडानमा स्पष्ट छु । र, मलाई थाहा छ- खेलको हारजितका लागि मेरो शुभकामनाको शून्य बराबर योगदान पनि हुने छैन ।
खेलाडीहरू व्यक्तिगत रूपमा कुनै पार्टीका या विचारका हुन सक्छन् तर तिनले सोलोडोलो देशको प्रतिनिधित्व गर्छन् । को प्रधानमन्त्री छ/छैन भन्ने कुरासँग उनीहरूको योगदान विभाजित हुँदैन । तर कसलाई समर्थन गर्ने भन्ने छनोटको अधिकार त हामीलाई हुने नै भयो ।
जर्सी नै जर्सीको माहोलमा कवि विनोदविक्रम केसीले अस्ति भर्खरै एउटा अनपेक्षित भन्न मिल्ने जर्सी लगाएर फोटो फेसबुकमा डाले । त्यहाँ लेखिएका अंग्रेजी वाक्यले भन्छ– म फुटबल, गोलो सुन्दर चिज, जो खेलाडीहरूको खुट्टामा नाच्न रुचाउँछु । मलाई व्यापारीहरूका पन्जाबाट मुक्त गरिदेऊ ।
हुन पनि हाइड्रेसन ब्रेक वा अरू कुनै नाममा यतिबेला विज्ञापनकै प्रवर्द्धन गरेका प्रसंग पनि उठेका छन् । अनि खेलाडीका शैलीलाई नाफाघाटा अनुसार विश्लेषण गरेको पनि हामी देख्न पाउँछौं । १० चर्चित फुटबल स्टारमध्ये कोसँग निजी विमान छ वा छैन, कोसँग समुद्री किनारमा घर छ कि छैन भन्ने आधारमा पनि दर्शक विभाजित भएकै मैले देख्न पाएँ यसपालि ।
हामी खेलमा खेलबाहेक अक्सर सबैथोक कुरा गरिरहेका हुन्छौं । टिभीमा खेल लाइभ भइरहेको हुन्छ, तर हाम्रो आधा ध्यान फेसबुक, ट्विटरमा सक्रिय नै हुन्छ ।
त्यसैले, झलक सुवेदीले लेख्नुभएझैं– तपाइँहरूको टिम छनोटप्रति मेरो कुनै गुनासो छैन । कसैको जित–हारमा पनि हाम्रो नियन्त्रण छैन । मन परेको टिमलाई दिलै खोलेर समर्थन गर्नुस् र खेलको आनन्द लिन नबिर्सनुस् !
बाँकी त हामी यतिबेला सबै फुटबलविद् भइसकेका छौं । मेसी हुन् या यमाल, अल्वारेज हुन् या टोरेस : कुन खेलाडीले कसरी खेल्नुपर्छ– त्यो हामीलाई थाहा छ ।
प्रतिक्रिया 4