News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा रहेका तीनवटा मुख्य सञ्चारगृहको गेटअगाडि अज्ञात समूहले शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिए।
- नेपाल पत्रकार महासंघले सञ्चारगृहमाथि गरिएको यस किसिमको गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
- प्रहरीले केही घण्टापछि क्रेनको प्रयोग गरेर सडकमा राखिएका उक्त सवारीसाधन हटाएको छ।
- तर यस घटनामा संलग्नहरूको पहिचान अझै खुल्न सकेको छैन।
२९ असार, काठमाडौं । सरकारका नागरिकविरोधी गतिविधिहरूमा प्रश्न उठाउँदै आएका मूलधारका सञ्चारमाध्यमलाई आतंकित पार्ने उद्देश्यले शंकास्पद भिजिलान्ते गतिविधि शुरु भएका छन् ।
पञ्चायतकालमा स्वयं तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले भन्ने गरेका थिए– देश दरबारले होइन, भूमिगत गिरोहले चलाउँछ । त्यस्तै गिरोहको झल्को दिने गरी काठमाडौंमा एउटा समूह सक्रिय हुन थालेको देखिन्छ । र, यो समूह सुकुमवासी समस्या र आत्मदाह प्रकरण जस्ता गम्भीर मुद्दाहरुलाई विषयान्तर गर्न चाहन्थ्यो ।
सुकुमवासीको व्यवस्थापन नाममा रातारात बस्ती उठाएर अमानवीय ढंगले होल्डिङ सेन्टर नामका असहज ठाउँमा सरकारले गराएको अव्यवस्थापनले तनाव उत्पन्न हुँदै थियो । अझ गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारबाट भएका कमजोरीमा प्रश्न उठाउने मिडियाहरूमाथि यस्ता गतिविधि केन्द्रित छन् । त्यसअघि संसद्मा त गृहमन्त्री सुधन गुरुङले विपक्षी सांसदहरुलाई ठाडो शैलीमा हप्काएकै थिए ।
आज बिहान तीन वटा मिडिया हाउसहरूमा एकैपटक उस्तै तरिकाले शंकास्पद गाडीहरू अनधिकृत पार्किङ गरेर कार्यालयको आवागमन रोक्ने कोशिश गरियो ।
बुद्धनगरस्थित अनलाइनखबर डटकमको कार्यालयको गेट अगाडि बा १२ च ८५४५ नम्बरको कार, हिमालय टेलिभिजनको गेट अगाडि बा १० च १२५५ नम्बरको कोसन्डा कार र तीनकुनेस्थित कान्तिपुर मिडिया हाउसको गेट अगाडि बा. प्रदेश ०१–०३४ च ८४८० नम्बरको कार शंकास्पद रुपमा गेट अगाडि राखिएको थियो ।

बिहान करिब ७ बजेतिरैबाट यी कारहरू मिडिया हाउसका गेट अगाडि आवतजावत नै अवरोध हुने गरी राखिएका थिए । शंकास्पद रुपमा बाटो अवरोध गरेर कार राखेको पाइएपछि यसबारे प्रहरी प्रशासनलाई समेत खबर गरिएको थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र जिल्ला प्रहरी परिसर काठमाडौंलाई घटनाबारे जानकारी गराइएको थियो । जवाफमा परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले तुरुन्त प्रहरी पठाएर घटनाबारे बुझ्ने बताएका थिए ।
यता उपत्यकाका ट्राफिक प्रहरी प्रमुख तथा एसएसपी सुरेश काफ्लेले घटनाबारे बुझ्ने हामीलाई जानकारी गराएका थिए । साढे १० बजेतिर प्रहरीलाई खबर गरिए पनि सवा ११ बजेतिर मात्रै प्रहरीको उपस्थिति भएको थियो ।
प्रहरी वृत्त नयाँबानेश्वरबाट इन्स्पेक्टरको एउटा टोली अनलाइखबरको कार्यालय अगाडि आएको थियो । तर उक्त कार कसको हो किन, के उद्देश्यले, कसले राख्यो भन्नेबारे खोज्न प्रहरीले कुनै तदारुकता देखाएन ।

जानकारी गराएको झण्डै चार घण्टापछि मात्रै अनलाइनखबर अगाडि शंकास्पद रुपमा राखिएको उक्त कारलाई क्रेनको सहायताले उठाएर लगिएको थियो ।
जेनजी आन्दोलनमा ट्राफिक प्रहरीको क्रेन जलेको, ह्वील लक लगाएर छाड्दा फेरि अर्को दुर्घटना पनि हुनसक्ने र क्रेन मगाएर लैजान समय लाग्ने जवाफ ट्राफिकले दिएको थियो ।
चार घण्टापछि बल्ल भाडाको क्रेन मगाएर अनलाइनखबर अगाडि शंकास्पद रुपमा राखिएको उक्त कार उठाएर लगिएको थियो ।
योभन्दा अघि कान्तिपुर मिडिया हाउस अगाडि शंकास्पद रुपमा राखिएको कार पनि क्रेनको सहयोगले उठाएर लगिएको थियो । उक्त क्रेन भने कान्तिपुर मिडिया हाउस आफैंले बोलाएर कार उठाउन लगाएको थियो । अनलाइनबरको कार उठाएपछि बल्ल हिमालय टेलिभिजको गेट अगाडि राखिएको कार हटाइएको थियो ।
यति मात्रै होइन अनामनगरको भाटभटेनी सुपर मार्केट अगाडि पनि यस्तै शैलीका कार राखिएको थियो । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित घर अगाडि पनि शंकास्पद रुपमा कार राखिएको थियो ।
बिहान ७ बजेतिर सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी राखिएको थियो । मोटरसाइकल समेत छिर्न नमिल्ने गरी गाडी राखिएको थियो ।
कसका हुन् यी गाडी ?
कान्तिपुर पब्लिकेसन्स्को गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालको हो ।
यो गाडी भर्खरै जयसवालले ज्योति कन्सर्नको नाममा बुकिङ गरेको तर बिक्रेता एसटी मोटर्सको नामबाट नामसारी नभइसकेको पाइएको छ ।
जयसवाल रौतहटका गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल) का छोरा हुन् । मेयर कन्थमणिले पनि अनलाइनखबरसँग कुराकानी गर्दै करिब एक महिना अघि मात्रै उक्त गाडी खरिद गरिएको जानकारी गराए ।
यो ईभी सवारी हो । सवारी दर्ता विवरण अनुसार २१ जेठ २०८२ मा यो सवारी चोभार भन्सारबाट पास भएको देखिन्छ । सवारी धनीको नाममा पायोनियर मोटो कर्प प्रालि उल्लेख छ ।
ऋणीमा एसटी मोटर्स र सानिमा बैंक उल्लेख छ । करिब १ महिनादेखि यो गाडी आफ्नो छोरा रविले चढ्ने गरेको कन्थमणि बताउँछन् ।
रवि केही समयअघि मात्रै रास्वपा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेका थिए । बाबु कन्थमणि भने नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए । रास्वपाले गत जेठ ८ गते मात्रै उनलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको थियो । उनलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले मनोनीत गरेका थिए ।

यस्तै अनलाइनखबर अगाडि राखिएको शंकास्पद गाडी भने काठमाडौं ठेगाना भएका सुनिल पौडेलको नाममा रहेको भेटिएको छ । उनले गाडी १२ असार २०८३ मा मात्रै खरिद गरेको देखिन्छ । उनले यो गाडी श्रेयण शाहीबाट नामसारी गरेको देखिन्छ ।
यता पौडेलले भने उक्त गाडी आफ्नो भए पनि अर्कैले चढेको दाबी गरेका छन् । गाडी चढ्ने भनिएका व्यक्तिले अनलाइनखबरलाई सम्पर्क गरेर गेट अगाडि सडकमा गाडी पार्किङ गर्न पाउनुपर्छ भन्ने जवाफ अनलाइनखबरलाई दिएका छन् ।
गाडीधनी सुनिल पौडेल आँखा क्लिनिक सञ्चालक हुन् । पौडेलले काठमाडौंको गोकर्णेश्वर-९, भगवतीस्थानमा शंखडोल आई क्लिनिक एन्ड अप्टिकल हाउस नामक आँखा क्लिनिक चलाउँदै आएका छन् ।
दर्ता गर्दा पनि उनले गाडी दर्तामा प्रयोग गरेकै मोबाइल नम्बर प्रयोग गरेको देखिन्छ । क्लिनिकको प्रवर्धन गर्दा पौडेलले आफूलाई कन्सल्टेन्ट अप्टोमेट्रिस्टका रुपमा उल्लेख गरेका छन् ।
यातायात कार्यालयबाट नम्बर प्राप्त गरेपछि अनलाइनखबरले पौडेललाई सम्पर्क गरी तपाईंले अनलाइनखबरको गेट नै छेकिने गरी किन पार्किङ गर्नुभयो भनेर सोधेको थियो । सो गाडी आफ्नै भए पनि कहाँ पार्किङ गरिएको थियो भन्नेबारे आफूलाई थाहा नभएको बताए ।

‘त्यो गाडी मेरो नाममा छ तर त्यो अर्कैले चलाइरहेको छ, म उसको नम्बर दिन्छु, ऊसँगै कुरा गर्नुस् है’, उनले भने ।
तपाईंको स्वामित्वमा भएको गाडीको विषयमा तपाईंसँगै कुरा गर्नुपर्यो नि ? भन्ने अनलाइनखबरको जिज्ञासामा उनले आफूले गाडी चलाएकै होइन, यो नम्बरमा फोन गर्नुस् न भन्दै ९८५……९८ नम्बर दिए । तर, सो व्यक्तिको नाम भने बताउन अस्वीकार गरे । गाडीधनीबाटै टालटुले जवाफ आउनु शंकास्पद थियो ।
अनलाइनखबरले ट्रु कलरमा हेर्दा सो नम्बर सुजन पौडेलले प्रयोग गर्ने गरेको पाइयो । र, नम्बरसँगै उनको फोटो पनि सेभ रहेको पाइयो ।
केही समयमा सो नम्बरबाटै अनलाइनखबरकर्मीलाई फोन गरेर ती व्यक्तिले ‘जे पायो त्यही लेख्ने, तपाईंको गेटमा गाडी पार्किङ गर्दा कसरी शंकास्पद भयो ? बम राखेको छ त्यसमा ? भन्दै धम्की दिए ।
अनलाइनखबरकर्मीले तपाईं को बोल्नुभयो, तपाईंको नाम के हो ? भन्दा उनले आफ्नो नाम बताएनन् । बरु ‘तपाईंहरूलाई मात्रै आउँछ, तपाईंहरूले जे गरे पनि हुन्छ ? बम भेट्नुभयो, के भएर छोड्देको ? तपाईं जे पायो त्यही लेख्न पाउनुहुन्छ ? अधिकार छ ?’ भन्दै गाली गरे ।
‘हामीले त्यस्तो के लेख्यौं ?’ भन्ने अनलाइनखबरको प्रश्नमा फेरि पनि तपाईंको गेटअगाडि कसैले गाडी रोक्यो भन्दैमा शंकास्पद कसरी हुन्छ भन्ने जिद्दी गरे । ‘शङ्कास्पद भनेर बम नै राखेको जस्तो गर्नुभयो । निकाल्नुभयो होला त बम ? कतिबेला निकाल्नुभयो ?’
उल्टै उनले ‘तपाईंको गेटअगाडिको ठाउँ रोड हो, तपाईंको नक्सामा पर्छ त्यो ? कानूनले आफ्नो काम गर्छ । हामीले गाडी राख्यौं, सक्यो त !’
अनलाइनखबरसँग पाँच मिनेटभन्दा बढी धम्कीको शैलीमा बोलेका पौडेलले आफ्नो नाम भने बताएनन् ।
हिमालय टेलिभिजनको गेटमा पार्किङ गरिएको गाडी डीआर अटो मोबाइल्सको नाममा रहेको पाइएको छ । १ कात्तिक २०६९ यो गाडी सानिमा विकास बैंकबाट ऋण लिएको देखिन्छ । सवारी दर्ता किताबमा राजीवकाजी श्रेष्ठको नाम समेत उल्लेख छ ।
किन गरियो शंकास्पद गतिविधि ?
सोमबार बिहानैदेखि मिडिया हाउस अगाडि गाडी तेर्साएको जानकारी पाएसँगै यो खबर प्रहरी प्रशासनसम्म पुगेको थियो । प्रहरी र ट्राफिक प्रहरी समेत आएर क्रेनको सहयोगमा तीन गाडी उठाएर लगियो ।
तर यी गाडी कसले किन राख्यो भन्नेबारे प्रहरीले केही बताएको छैन । यसबारे बुझ्दा परिसरका प्रवक्ता तथा भट्टराई भन्छन्, ‘गाडी उठाएर ट्राफिक कहाँ राखिएको अब किन कसले राख्यो भन्नेबारे हामी अनुसन्धान गर्छौं।’
यति मात्रै होइन, भाटभटेनी सुपर मार्केट अगाडि, नेताका घर अगाडि शंकास्पद रुपमा पार्किङ गरिनु र सडकमा ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त हुनुले शंका उत्पन्न गराएको छ ।
यसअघिका दिनहरूमा सधैं ट्राफिक देखिन काठमाडौंका केही चोकहरूमा सोमबार बिहान भने ट्राफिकको उपस्थिति थिएन । सवारी जामको अवस्था पनि उस्तै थियो ।
यसअघि हिजो आइतबार मात्रै न्यूरोड क्षेत्रमा यस्तै अस्तव्यस्त पार्किङदेखि सडक तथा फुटपाथमै पसल राखेर हिंड्ने बाटो समेत बन्द हुने अवस्था भएको थियो ।

राज्यका निकायमा पहुँच राख्नेहरुले नागरिकविरुद्ध बदलाभाव राखेर काम गर्नु आफैंमा अनौठो छ नै । यसले सुशासनप्रतिको सरकारी बाचाको धज्जी समेत उडाएको सरोकारवालारहरुले बताएका छन् ।
पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले घटनाहरुको सिलसिला हेर्दा शंकास्पद रहेको बताइन् । ‘उपल्लो निकायमा पहुँच बनाएर यस्तो गरिएको हुन सक्छ, पत्रकारहरुले भयरहित वातावरणमा काम गर्न पाउनुपर्छ,’ उनले भनिन् ।
घटनाको पृष्ठभूमि निकै संवेदनशील छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङ गरेको विषयमा महानगर प्रहरीसँग विवाद हुँदा मुगुका गणेश नेपालीले आत्मदाह नै गरेका थिए । नो पार्किङमा पार्किङ गरेको भन्दै नेपालीको मोटरसाइकलमा ह्वील लक लगाइएको थियो । यही विषयमा विवाद हुँदा नेपालीले आत्मदाह गरेका थिए ।
त्यसपछि महानगर प्रहरीले सुरक्षा नभएसम्म सडकमा ननिस्कने बताएको थियो । अहिले काठमाडौंको सडक अस्तव्यस्त बनेको छ । एकैपटक एउटै शैलीमा मिडिया हाउसको गेटअगाडि गाडी पार्किङ गर्नुले शंका उत्पन्न गराएको छ । तर प्रहरीले भने अहिलेसम्म अनुसन्धान भइरहेको भन्दै कसले किन यसरी पार्किङ गरेको हो केही बताएको छैन ।
मिडिया हाउसको आवागमन रोक्ने कोशिस हुँदा पनि छानबिनमा सरकारी सक्रियता नहुनुले धेरै कुरा भन्छ । पन्चायतको भूमिगत गिरोह अनि ज्ञानेन्द्रराजभन्दा एक कदम अघि बढ्न खोजेको आभास शक्तिमा पहुँच राख्नेहरुले दिन खोजेका छन् ।
पत्रकार महासंघको आपत्ति
मिडिया हाउसमाथि शंकास्पद गतिविधि भएकोमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, सचिव राधेश्याम खतिवडाले स्थलगत अवलोकन गर्दै घटना शंकास्पद रहेको बताए ।
महासंघले सोमबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ ।

‘आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शंकास्पद गाडी पार्किङ गरी पत्रकारलाई आवत-जावत गर्न समस्या सिर्जना गरिएको पाइएको छ,’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा छ, ‘महासंघ तत्काल गाडीको अवरोध हटाइ सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग जोडदार माग गर्दछ ।’
महासंघले सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुऱ्याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।
दल र नेताहरूको आपत्ति
मिडिया तर्साउने ढंगले गरिएका यस्ता गतिविधिप्रति राजनीतिक दल र नेताहरूले पनि आपत्ति जनाएका छन् ।
सरकार सञ्चालन गरिरहेको दल रास्वपाले पनि यस्ता हर्कतको विरोध गरेको छ ।
रास्वपाले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध गर्ने कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु भएको बताएका छन् ।
‘यसको रक्षार्थ राष्ट्रिय स्वतन्त्र पार्टी सदैव कटिबद्ध छ । तसर्थ, प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’ रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन रहेको रास्वपाको ठहर छ ।
‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुन बमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ रास्वपाले भनेको छ ।

एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन् भन्ने स्पष्ट पार्न चाहन्छौं,’ महामन्त्री आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अन्तमा, सम्पूर्ण सञ्चार जगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल पनि रास्वपाले गरेको छ ।
‘सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव खडा रहने दृढ प्रतिबद्धता व्यक्त गर्दछौं,’ रास्वपाले भनेको छ ।
प्रमुख विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सत्तामाथि प्रश्न गर्न छोड्न नहुने बताए । उनले आफ्नै घर अगाडि समेत अनधिकृत पार्किङ गरेर आतंक फैलाएको बताए ।
‘पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडी तेर्स्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पुर्याउने कुनै अधिकार राज्यले राख्दैन’ उनले भने । उनका अनुसार गाडी अनधिकृत पार्किङ गर्नेहरू प्रशासनको गाडी चढेर हिँडेको दाबी गरे ।
एमालेका महासचिव शंकर पोखरेलले सञ्चारमाध्यमका गेट अगाडि शंकास्पद गाडी पार्किङको विषयमा ‘विनाशकाले विपरीत बुद्धि’ भन्दै टिप्पणी गरेका छन् । सोमबार फेसबुकमा टिप्पणी लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘विनाशकाले विपरीत बुद्धि । सञ्चार प्रतिष्ठानको बाटो छेक्नेगरी रहस्यमय गाडी पाकिङ’, उनले लेखेका छन्, ‘सञ्चारमाध्यम र समाजलाई भयभित बनाउने बचकाना खेल ।’
अन्य राजनीतिक दल र मिडिया सरोकारवालाहरूले पनि शंकास्पद गतिविधिमा राज्य पक्षकै संलग्नता हुनसक्ने आशंका गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले पनि देशका प्रमुख सञ्चार गृहहरूको मूल प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन छाडेर सञ्चार संस्थाको नियमित कार्यसम्पादनमा अवरोध पुर्याउने तथा सञ्चारकर्मीहरूलाई त्रसित बनाउने घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने कुनै पनि हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिको प्रहार भएको उल्लेख छ ।
प्रेसलाई त्रसित बनाएर वा दबाब सिर्जना गरेर सत्यलाई रोक्न खोज्ने प्रवृत्ति लोकतन्त्रविरोधी रहेको पार्टीको भनाइ छ ।
विज्ञप्तिमा सञ्चार माध्यमहरूले सुकुम्बासी, मिटरब्याज पीडित, सहकारी पीडित, बेरोजगारी, भ्रष्टाचार, कुशासन तथा जनजीविकाका विषयमा निरन्तर खबरदारी गरिरहेका बेला तिनै सञ्चार संस्थालाई निशाना बनाउने प्रयास गम्भीर भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4