+
+
Shares

जिन्दगीकै ठूलो सपना : शरीरलाई पूर्णरूपमा पुरुष बनाउने

उनको जीवनको सबैभन्दा ठूलो सपना भनेको आफ्नो शरीरलाई पूर्णरूपमा पुरुष बनाउने हो । त्यो गर्न तगारो बनेको छ उनको कमजोर आर्थिक अवस्था ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ असार २९ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमुका र उनका परिवारका सदस्यहरू शारीरिक अपाङ्गताका कारण सार्वजनिक स्थलमा समेत विभेद र अपमान सहन बाध्य छन्।

काठमाडौँ । एक दिन कीर्तिपुरको बसमा चढ्न खोज्दा सहचालकले तलदेखि माथिसम्म हेर्‍यो अनि भन्यो, ‘रक्सी खाएजस्तो हिँड्छौ, अपाङ्ग भनेर छुट माग्ने ?’

उनी मुस्कुराउँदै कार्ड देखाउँछन्, तर मनमा चसक्क घोच्छ । उनको पैताला खाल्डो परेजस्तो छ, सिधा टेक्न मिल्दैन, लरबराउँदै हिँड्नुपर्छ । तर देख्नेले उनलाई रक्सी खाएर लर्बराएजस्तो ठान्छन्, हेयको दृष्टिले हेर्छन् । यो अमुका विकको दैनिकीको एउटा सानो अंश मात्र हो ।

कास्की जिल्लाको नयाँपुर गाउँमा जन्मिएका उनी अहिले २५ वर्षका भए । बुबाआमासहित उनको परिवारमा १० जना सदस्य छन् । तीमध्ये ४ जना शारीरिकरूपमा अपाङ्ग छन्– जेठी दिदी, दुई दाइ र स्वयम् अमुका । बाँकी चार दाजु–बहिनी सामान्य छन् ।

उनीहरू सबैको समस्या एउटै प्रकृतिको छ । ढाड अलिकति उचालिएको, खुट्टाको पाइतालासम्म नभई खाल्टो परेको, खुट्टा बांगिएको वा घुमेको । यी कारण सिधा उभिन र हिँड्न निकै गाह्रो हुन्छ ।

सबैभन्दा जेठी दिदी सबैभन्दा बढी अशक्त छन् – उनी लठ्ठी टेकेर पनि हिँड्न सक्दिनन्, अरूको साहरा चाहिन्छ । माइलो दाइ अलिकति बलिया छन्, अमुका आफैं सबैभन्दा कम प्रभावित भएकाले हल्का हिँडडुल गर्न सक्छन् ।

डाक्टरहरूले जाँच गर्दा कुनै निश्चित रोग पत्ता लगाएनन्, सबै कुरा सामान्य नै देखाए । सरकारले रातो वा निलो कार्ड दिएको छ, तर त्यसको सुविधा लगभग शून्य छ । सार्वजनिक बसमा छुट माग्दा सहचालकहरूले हप्काउँछन् ।

अमुकाले गाउँमै आधारभूत पढाइ सके । त्यसपछि काठमाडौँ आए । यहाँ आउनुको मुख्य उद्देश्य थाङ्का पेन्टिङ सिक्नु थियो । एउटा अपाङ्गता सम्बन्धी संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि नि:शुल्क पेन्टिङ सिकाएको थियो । पेन्टिङ सिक्न उनी माइलो दाइसँगै आएका थिए ।

संस्थाले कोठाभाडा र खर्चका लागि मासिक ६,००० दिन्छ, तर कोठाभाडा नै ५,००० छ । बाँकी अन्य खर्च जुटाउन कहिलेकाहीँ संस्थाको काम छोडेर धूप बेच्न पनि हिँड्छन् ।

धूप बेच्दा कसैकसैले दया देखाउँछन् ।‘हात–खुट्टा सद्दे भएका कति मान्छे मागेर खान्छन्, तिमीहरू त काम गरेर खान्छौ’ भनेर प्रशंसा गर्नेहरू पनि हुन्छन् । कतिपयले ‘यस्तो हिँडडुल गर्न सक्नेले अरू काम किन गर्दैनौ ?’ भनेर प्रश्न गरिरहेका हुन्छन् ।

कतिपयले भने धूप किनिदिनू न भनेर जाँदा पानी छ्यापेर खेदाउँछन् ।

बेलाबेलामा कोही यात्रुले त ‘म पनि अपाङ्ग हुँ’ भनेर जिस्क्याउँछन् । यसो भन्नेलाई ‘म शारीरिक अपाङ्ग भएँ तपाईं मानसिक अपाङ्ग हुनुहुँदोरहेछ’ भनी जवाफ दिन्छन् उनी ।

जन्मिदा छोरीको शरीरमा जन्मिए पनि उनी सानैदेखि आफूलाई केटा ठान्थे । ८–९ वर्षको उमेरमा दाइले ल्याइदिएको फ्रक, कुर्ता–सुरुवाल च्यातेर फालिदिन्थे, दाइको पाइन्ट र सर्ट लगाउँथे ।

किशोरावस्थामा काठमाडौँ आएपछि सामाजिक सञ्जालमा समलिङ्गी र ट्रान्स व्यक्तिहरूको कुरा थाहा पाए । त्यही बेला एकजना अपाङ्ग साथीले आफ्नो अनुभव सुनाएपछि अमुकाले आफ्नो पहिचान स्पष्ट बुझे । अहिले उनी खुलेआम ट्रान्स म्यानको रूपमा बाँचिरहेका छन्, केटाको लुगा लगाउँछन्, छोटो कपाल राख्छन् ।

उनको पहिलो सम्बन्ध एउटी केटीसँग थियो । तर त्यो केटीले सम्बन्ध टिकाउन चाहिनन् । एकदिन केटाहरू लिएर आएर अमुकालाई कुटिन्, चक्कुले हान्न खोजिन् । छिमेकी दिदीहरूले जोगाए । त्यसपछि पनि दुई–तीन पटक कुटपिट भयो ।

पुलिसमा उजुरी गर्दा पुलिसले ‘यस्ता धेरै केस हुन्छन्’ भनेर फोटो मात्र खिच्यो, कारबाही भएन । त्यो घटनाले उनको मनमा निकै आघात पर्‍यो। । केही समय एक्लै बसे । पछि टिकटकमार्फत अर्की केटी भेटिए, उनी पनि लेस्बियन रहिछन् । अहिले उनीहरूसँग स्थिर सम्बन्ध छ, विगतका सबै कुरा खोलेर राखेका छन् ।

केटी भएर केटी नै लिएर बस्दा परिवारले सुरुमा ‘समाजले के भन्ला, इज्जत जान्छ’ भनेर चित्त दुखाएको थियो । तर उनका भाइले आमाबुबालाई सम्झाएपछि सबैले स्वीकार गरे । अहिले घरपरिवार पूर्ण सहयोगी छ ।

थाङ्का सिक्ने संस्थाको म्यानेजरले भने एकपटक ‘यो छोरी हो कि छोरा ? भोलिदेखि केटीको कोठामा पठाउनुपर्छ’ भनेर अपमान गरेका थिए । त्यो बेला निकै चित्त दुखेको थियो तर अमुकाले जवाफ फर्काएनन्, काम छोडेनन् किनकी त्यही काम उनको साहरा थियो ।

अहिले उनी स्नातकको पढाइ सकेर बसेका छन् । थाङ्का पेन्टिङ सिकिरहेका छन् । कोर्स पूरा हुन समय लाग्छ, किनभने आर्थिक अभावले नियमित उपस्थित हुन गाह्रो छ ।

उनको जीवनको सबैभन्दा ठूलो सपना भनेको आफ्नो शरीरलाई पूर्णरूपमा पुरुष बनाउने हो । त्यो सर्जरी गर्नका लागि तगारो बनेको छ उनको कमजोर आर्थिक अवस्था । ‘परिवार एकदम गरिब छ, धनी भएको भए सायद भइसक्थ्यो’ उनी भन्छन् । तर हरेस खाएका छैनन् । ‘जब धेरै पैसा कमाउँछु, आफैं सर्जरी गर्छु’ उनको लक्ष्य छ ।

अमुकाको जीवन अपाङ्गताको पीडा, ट्रान्स म्यान पहिचानको लडाइँ, गरिबी, हिंसा र सामाजिक विभेदसँग एकसाथ जुधिरहेको छ । तर उनी हाँस्दै भन्छन्, ‘जे होस्, म बाँचिरहेको छु, लडिरहेको छु, र सपना देखिरहेको छु ।’

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?