+
+
Shares

अनलाइनखबरको गेटमा पार्किङ गरिएको गाडी आँखा क्लिनिक सञ्चालकको

पौडेलले काठमाडौंको गोकर्णेश्वर-९, भगवतीस्थानमा शंखडोल आई क्लिनिक एन्ड अप्टिकल हाउस नामक आँखा क्लिनिक चलाउँदै आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनलाइनखबरको गेटमा सोमबार बिहान पार्किङ गरिएको शंकास्पद गाडी गोकर्णेश्वरका आँखा क्लिनिक सञ्चालक सुनिल पौडेलको नाममा रहेको खुलेको छ ।
  • गाडीका मालिक पौडेलले सवारी साधन अर्कै व्यक्तिले चलाइरहेको भन्दै अनलाइनखबरलाई सुजन पौडेलको सम्पर्क नम्बर दिएका छन् ।
  • गाडी चलाउने सुजन पौडेलले अनलाइनखबरका कर्मचारीलाई फोन गरी धम्कीपूर्ण भाषामा गालीगलौज गर्दै गाडी पार्किङको विषयमा विवाद गरेका छन् ।

२९ असार, काठमाडौं । अनलाइनखबरको गेटका सोमबार बिहान पार्किङ गरेर छोडिएको शंकास्पद गाडी आँखा क्लिनिक सञ्चालकको रहेको खुलेको छ ।

बा १२ च ८५४५ नम्बरको सो गाडी काठमाडौंको गोकर्णेश्वरका सुनिल पौडेलको नाममा रहेको र उनको मोबाइल नम्बर ९८४३……१४ रहेको यातायात व्यवस्था कार्यालयको रेकर्डमा देखिन्छ ।

पौडेलले काठमाडौंको गोकर्णेश्वर-९, भगवतीस्थानमा शंखडोल आई क्लिनिक एन्ड अप्टिकल हाउस नामक आँखा क्लिनिक चलाउँदै आएका छन् ।

दर्ता गर्दा पनि उनले गाडी दर्तामा प्रयोग गरेकै मोबाइल नम्बर प्रयोग गरेको देखिन्छ । क्लिनिकको प्रवर्दधन गर्दा पौडेलले आफूलाई कन्सल्टेन्ट अप्टोमेट्रिस्टका रुपमा उल्लेख गरेका छन् ।

यातायात कार्यालयबाट नम्बर प्राप्त गरेपछि अनलाइनखबरले पौडेललाई सम्पर्क गरी तपाईंले अनलाइनखबरको गेट नै छेकिने गरी किन पार्किङ गर्नुभयो भनेर सोधेको थियो । सो गाडी आफ्नै भए पनि कहाँ पार्किङ गरिएको थियो भन्नेबारे आफूलाई थाहा नभएको बताए ।

‘त्यो गाडी मेरो नाममा छ तर त्यो अर्कैले चलाइरहेको छ, म उसको नम्बर दिन्छु, ऊसँगै कुरा गर्नुस् है,’ उनले भने ।

तपाईंको स्वामित्वमा भएको गाडीको विषयमा तपाईंसँगै कुरा गर्नुपर्‍यो नि ? भन्ने अनलाइनखबरको जिज्ञासामा उनले आफूले गाडी चलाएकै होइन, यो नम्बरमा फोन गर्नुस् न भन्दै ९८…..४९८ नम्बर दिए । तर, सो व्यक्तिको नाम भने बताएनन् ।

अनलाइनखबरले ट्रु कलरमा हेर्दा सो नम्बर सुजन पौडेलले प्रयोग गर्ने गरेको पाइयो । र, नम्बरसँगै उनको फोटो पनि सेभ रहेको पाइयो । सुजन सुनिलका सहोदर दाइ रहेको गोकर्णेश्वरका एक स्थानीयले बताए ।

केही समयमा सो नम्बरबाटै अनलाइनखबरकर्मीलाई फोन गरेर ती व्यक्तिले ‘जे पायो त्यही लेख्ने, तपाईंको गेटमा गाडी पार्किङ गर्दा कसरी शंकास्पद भयो ? बम राखेको छ त्यसमा ? भन्दै धम्की दिए ।

अनलाइनखबरकर्मीले तपाईं को बोल्नुभयो, तपाईंको नाम के हो ? भन्दा उनले आफ्नो नाम बताएनन् । बरु ‘तपाईंहरूलाई मात्रै आउँछ, तपाईँहरूले जे गरे पनि हुन्छ ? बम भेट्नुभयो, के भएर छोड्देको ? तपाईं जे पायो त्यही लेख्न पाउनुहुन्छ ? अधिकार छ ?’ भन्दै गाली गरे ।

‘हामीले त्यस्तो के लेख्यौँ ?’ भन्ने अनलाइनखबरको प्रश्नमा फेरि पनि तपाईंको गेटअगाडि कसैले गाडी रोक्यो भन्दैमा शंकास्पद कसरी हुन्छ भन्ने जिद्दी गरे । ‘शङ्कास्पद भनेर बम नै राखेको जस्तो गर्नुभयो । निकाल्नुभयो होला त बम ? कतिबेला निकाल्नुभयो ?’

उल्टै उनले भने, ‘तपाईंको गेटअगाडिको ठाउँ रोड हो, तपाईंको नक्सामा पर्छ त्यो ? कानुनले आफ्नो काम गर्छ । हामीले गाडी राख्यौँ, सक्यो त !’

अनलाइनखबरसँग पाँच मिनेटभन्दा बढी धम्कीको शैलीमा बोलेका पौडेलले आफ्नो नाम भने बताएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?