+
+
Shares

किशोर श्रेष्ठ पक्राउबारे कांग्रेसले भन्यो- पूर्वाग्रह र प्रतिशोधी व्यवहार कदापि स्वीकार्य हुन्न

नेपाली कांग्रेसले पत्रकार किशोर श्रेष्ठ पक्राउबारे सरकारको पूर्वाग्रही र प्रतिशोधी व्यवहार स्वीकार्य नहुने बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १९:२७

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसले पत्रकार किशोर श्रेष्ठ पक्राउबारे सरकारको पूर्वाग्रही र प्रतिशोधी व्यवहार स्वीकार्य नहुने बताएको छ । बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा सो कुरा उल्लेख छ ।

‘प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई मध्यराति गरिएको गिरफ्तारी, पत्रिकाको कार्यालयमा गरिएको खानतलासी र अदालतमा उपस्थित गराउँदा हतकडी लगाइएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठकपछि प्रवक्ता देवराज चालिसेद्वारा सार्वजनिक निर्णयमा उल्लेख छ ।

यस्तै, कांग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदैआएको पनि कांग्रेसले बताएको छ ।

‘सञ्चार माध्यमसम्बन्धी कानुन र आचारसंहिताको आधारभूत मूल्यमान्यताको पालना हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौं,’ निर्णयमा भनिएको छ, ‘कसैले कानुनविपरीत कार्य गरेमा प्रचलित कानुनबमोजिम अनुसन्धान र कारबाही हुनुलाई स्वाभाविक मान्न सकिएपनि संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर प्रहरी प्रशासन सोझै पत्रकार पक्राउ गर्ने, कार्यालय खानतलासी गर्ने र हत्कडी लगाउनेसम्मको तहमा उत्रनु पूर्णत: गलत र अवाञ्छित छ ।’

यस घटनालाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरी नागरिकको सुसूचित हुने मौलिक अधिकार कुण्ठित गर्ने राज्यको नियतका रूपमा कांग्रेसले लिएको बताइएको छ ।

‘कानुनभन्दा माथि कोही पनि हुन सक्दैन । तर, राज्य संयन्त्रले पूर्वाग्रह र प्रतिशोध साध्य बनाउने व्यवहार कदापि स्वीकार्य हुन सक्दैन,’ निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?