+

के जिम जान थालेपछि सप्लिमेन्ट खानैपर्छ ?

२०८३ भदौ  ८ गते १७:२९ २०८३ भदौ ८ गते १७:२९
Shares
के जिम जान थालेपछि सप्लिमेन्ट खानैपर्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिम जाने युवामाझ प्रोटिन पाउडर, प्रि–वर्कआउट, फ्याट बर्नर र क्रिएटिनजस्ता सप्लिमेन्टको प्रयोग बढ्दै गएको छ ।
  • सन्तुलित खानाबाट पोषण पूरा हुने अवस्थामा अनावश्यक सप्लिमेन्टले पेट, कलेजो, मिर्गौला, मुटु, निद्रा र हर्मोनमा असर गर्न सक्छ ।
  • लेबल, म्याद, स्रोत र मात्रा हेरेर मात्र सप्लिमेन्ट प्रयोग गर्न र लक्षण देखिएमा चिकित्सकसँग परामर्श गर्न लेखले सुझाव दिएको छ ।

आफ्नो शरीरलाई फिट, आकर्षक र बलियो बनाउन पछिल्लो समय जिम जाने युवाको संख्या बढ्दो छ । नियमित व्यायामसँगै शरीरमा छिटो मसल बनाउने, तौल घटाउने वा स्टामिना बढाउने उद्देश्यले विभिन्न प्रकारका सप्लिमेन्ट प्रयोग गर्ने चलन पनि बढेको छ । प्रोटिन पाउडर, मसल गेनर, प्रि–वर्कआउट, फ्याट बर्नर, अमिनो एसिड, क्रिएटिनदेखि विभिन्न भिटामिन तथा मिनरल सप्लिमेन्टसम्म बजारमा सहजै उपलब्ध छन् ।

तर जिम जान थालेपछि सप्लिमेन्ट खानैपर्छ भन्ने सोच सही होइन । शरीरलाई आवश्यक पोषण सन्तुलित खानाबाट पर्याप्त रूपमा प्राप्त भइरहेको अवस्थामा अनावश्यक रूपमा सप्लिमेन्ट लिनु फाइदाभन्दा बढी हानिकारक हुन सक्छ । अझ साथीको सल्लाह, वा सामाजिक सञ्जालमा देखिएको भिडियोका आधारमा मात्रा र प्रकार निर्धारण गरेर सप्लिमेन्ट प्रयोग गर्नु जोखिमपूर्ण हुन सक्छ ।

पर्याप्त जानकारीबिना सप्लिमेन्टको अत्यधिक प्रयोग गर्ने प्रवृत्ति देखिन्छ । फिटनेसको लक्ष्य राख्नु राम्रो भए पनि गलत तरिकाले सप्लिमेन्ट प्रयोग गर्दा शरीरका विभिन्न अंगमा नकारात्मक असर पर्न सक्छ ।

के हुन् सप्लिमेन्ट ?

सप्लिमेन्ट भनेका शरीरलाई अतिरिक्त पोषण उपलब्ध गराउने उत्पादन हुन् । यिनमा प्रोटिन, भिटामिन, मिनरल, अमिनो एसिड, फ्याटी एसिड वा अन्य पोषक तत्व हुन सक्छन् ।

शरीरमा कुनै पोषक तत्वको कमी भएको अवस्थामा, विशेष स्वास्थ्य अवस्था वा खानाबाट आवश्यक पोषण पूरा गर्न नसकिएको अवस्थामा चिकित्सक वा पोषणविद्को सल्लाहमा केही सप्लिमेन्ट आवश्यक पर्न सक्छन् । तर सामान्य रूपमा स्वस्थ व्यक्तिले पनि जिम गर्न थालेकै कारण सबै प्रकारका सप्लिमेन्ट प्रयोग गर्नुपर्ने हुँदैन ।

जथाभावी सप्लिमेन्ट प्रयोग गर्दा के हुन्छ ?

सप्लिमेन्ट पनि शरीरमा प्रवेश गर्ने पदार्थ नै हुन् । त्यसैले ‘सप्लिमेन्ट हो, औषधि होइन’ भन्दै यसको मात्रा र गुणस्तरमा बेवास्ता गर्नु ठीक हुँदैन । आवश्यकताभन्दा बढी मात्रा, गलत प्रकारको सप्लिमेन्ट वा लामो समयसम्म विशेषज्ञको सल्लाहबिना प्रयोग गर्दा निम्न समस्या हुन सक्छन् ।

१. पेट र पाचन प्रणालीमा समस्या

धेरै प्रोटिन पाउडर वा केही अन्य सप्लिमेन्ट प्रयोग गर्दा ग्यास, पेट फुल्ने, अपच, पेट दुख्ने, एसिडिटी, वाकवाकी वा कब्जियतजस्ता समस्या देखिन सक्छन् ।

केही व्यक्तिलाई निश्चित सप्लिमेन्टमा प्रयोग भएका सामग्री सहन नसक्ने समस्या पनि हुन सक्छ । त्यसैले सप्लिमेन्ट सेवन गरेपछि बारम्बार पाचनसम्बन्धी समस्या देखिएमा त्यसलाई सामान्य मानेर निरन्तर सेवन गर्नुहुँदैन ।

२. कलेजोमा अतिरिक्त असर

गुणस्तरहीन वा मिसावट भएका सप्लिमेन्टले कलेजोमा समस्या निम्त्याउन सक्छन् । विशेषगरी केही मसल बढाउने वा ‘बडी बिल्डिङ’ उत्पादनमा लुकेका औषधिजन्य पदार्थ वा स्टेरोइड हुन सक्ने भएकाले स्रोत स्पष्ट नभएका उत्पादनबाट बच्नुपर्छ ।

लामो समयसम्म जोखिमपूर्ण उत्पादन प्रयोग गर्दा कलेजो सुन्निने, कलेजोमा बोसो जम्ने तथा अन्य कलेजोसम्बन्धी समस्या उत्पन्न हुन सक्छन् ।

३. मिर्गौलामा दबाब

प्रोटिन शरीरका लागि आवश्यक पोषक तत्व हो । तर आवश्यकताभन्दा धेरै प्रोटिन लिने बानी सबैका लागि फाइदाजनक हुँदैन । विशेषगरी पहिले नै मिर्गौलासम्बन्धी समस्या भएका व्यक्तिले चिकित्सकीय सल्लाहबिना हाई–प्रोटिन सप्लिमेन्ट प्रयोग गर्नु जोखिमपूर्ण हुन सक्छ । त्यसैले ‘जति धेरै प्रोटिन, त्यति छिटो मसल’ भन्ने सोच सही होइन ।

४. मुटुको धड्कन र रक्तचाप बढ्न सक्छ

प्रि–वर्कआउट र फ्याट बर्नरमा क्याफिन वा अन्य उत्तेजक पदार्थको मात्रा धेरै हुन सक्छ । अत्यधिक सेवन गर्दा मुटुको धड्कन तीव्र हुने, बेचैनी, हातखुट्टा काँप्ने, रक्तचाप बढ्ने, टाउको दुख्ने वा निद्रामा समस्या हुनेजस्ता असर देखिन सक्छन् । मुटु वा रक्तचापसम्बन्धी समस्या भएका व्यक्तिले यस्ता उत्पादन विशेष सावधानीका साथ मात्र प्रयोग गर्नुपर्छ ।

५. निद्रा बिग्रिन सक्छ

विशेषगरी साँझतिर क्याफिनयुक्त प्रि–वर्कआउट वा फ्याट बर्नर प्रयोग गर्दा राति निद्रा नलाग्ने समस्या हुन सक्छ । पर्याप्त निद्रा मसल निर्माण, शरीरको रिकभरी र समग्र स्वास्थ्यका लागि महत्वपूर्ण भएकाले निद्रा बिगारेर गरिएको फिटनेस अभ्यासले अपेक्षित फाइदा नदिन सक्छ ।

६. हर्मोनमा असर

छिटो मसल बढाउने उद्देश्यले स्टेरोइड वा हर्मोनसँग सम्बन्धित पदार्थ प्रयोग गर्नु अत्यन्त जोखिमपूर्ण हुन सक्छ । यसले शरीरको प्राकृतिक हर्मोन सन्तुलनमा असर पार्न सक्छ ।

यसका कारण मुड परिवर्तन, चिडचिडापन, थकान, निद्रामा समस्या तथा अन्य हर्मोनसम्बन्धी समस्या देखिन सक्छन् । त्यसैले चिकित्सकीय आवश्यकता नभई स्टेरोइड प्रयोग गर्नुहुँदैन ।

सप्लिमेन्टको ओभरडोज पनि हुन सक्छ

धेरै मानिसले सप्लिमेन्टलाई सामान्य खाद्य पदार्थजस्तो सोचेर यसको मात्रा बढाउने गर्छन् । तर कुनै पनि पोषक तत्वको आवश्यकता निश्चित सीमाभित्र हुन्छ ।

उदाहरणका लागि, एकभन्दा बढी सप्लिमेन्ट सेवन गर्दा एउटै भिटामिन वा मिनरल विभिन्न उत्पादनबाट शरीरमा पुग्न सक्छ । यस्तो अवस्थामा आफूले कुल कति मात्रा सेवन गरिरहेको छु भन्ने जानकारी नहुन सक्छ ।

त्यसैले एउटै समयमा मल्टिभिटामिन, प्रोटिन पाउडर, प्रि–वर्कआउट, फ्याट बर्नर र अन्य उत्पादन प्रयोग गर्दा तिनका सामग्री एक–अर्कासँग दोहोरिएका छन् कि छैनन् भन्ने कुरा पनि हेर्नुपर्छ ।

‘नेचुरल’ लेखिएको भन्दैमा सुरक्षित हुन्छ भन्ने छैन

बजारमा धेरै उत्पादनलाई ‘नेचुरल’, ‘हर्बल’ वा ‘साइड इफेक्ट फ्री’ भनेर प्रचार गरिएको पाइन्छ । तर कुनै उत्पादन प्राकृतिक वा हर्बल भनेर लेखिएको मात्र आधारमा त्यो सबैका लागि सुरक्षित हुन्छ भन्ने हुँदैन ।

विशेषगरी सामाजिक सञ्जालमा सेलिब्रिटी, फिटनेस इन्फ्लुएन्सर वा बडी बिल्डरले प्रयोग गरेको देखेर त्यही सप्लिमेन्ट आफूले पनि प्रयोग गर्नु उचित हुँदैन । उनीहरूको शरीर, खानपान, व्यायाम र स्वास्थ्य अवस्था आफ्नोभन्दा फरक हुन सक्छ ।

प्रोटिन पाउडर सबैलाई आवश्यक हुन्छ ?

प्रोटिन मांसपेशी निर्माण र शरीरको रिकभरीका लागि महत्वपूर्ण पोषक तत्व हो । तर प्रोटिन पाउडर नै प्रोटिन प्राप्त गर्ने एकमात्र स्रोत होइन । अण्डा, दूध तथा दुग्धजन्य पदार्थ, दाल, गेडागुडी, सोयाबिन, माछा, मासु तथा अन्य खाद्य पदार्थबाट पनि पर्याप्त प्रोटिन प्राप्त गर्न सकिन्छ ।

दैनिक खानाबाट आफ्नो प्रोटिन आवश्यकता पूरा भइरहेको छ भने अतिरिक्त प्रोटिन पाउडर आवश्यक नहुन सक्छ । तर खानाबाट आवश्यक मात्रा पूरा गर्न कठिन हुने अवस्था वा विशेष प्रशिक्षण गर्ने व्यक्तिमा विशेषज्ञले सप्लिमेन्ट सिफारिस गर्न सक्छन् ।

क्रिएटिन र अन्य सप्लिमेन्टमा पनि सावधानी

जिम जाने व्यक्तिमाझ क्रिएटिन, अमिनो एसिड र अन्य खेलकुदसम्बन्धी सप्लिमेन्ट पनि लोकप्रिय छन् । केही सप्लिमेन्टका निश्चित प्रयोग र प्रभावबारे वैज्ञानिक प्रमाण भए पनि यसको अर्थ सबै व्यक्तिले आफूखुसी प्रयोग गर्नुपर्छ भन्ने होइन । उत्पादनको गुणस्तर, सही मात्रा, स्वास्थ्य अवस्था र अन्य औषधिसँगको सम्भावित अन्तरक्रियालगायत विषयलाई ध्यान दिनुपर्छ ।

सप्लिमेन्ट किन्नुअघि के हेर्ने ?

–सप्लिमेन्ट प्रयोग गर्नुपर्ने अवस्था भएमा उत्पादन किन्दा केही कुरामा ध्यान दिनुपर्छ ।

–उत्पादनको लेबल र सामग्रीको सूची पढ्ने ।

–म्याद सकिने मिति जाँच गर्ने ।

–निर्माता तथा उत्पादनको स्रोत स्पष्ट भएको उत्पादन छनोट गर्ने ।

–‘छिटो मसल बढाउने’ वा ‘छिटो तौल घटाउने’ जस्ता अतिरञ्जित दाबीप्रति सावधान हुने ।

–एउटै पोषक तत्व धेरै उत्पादनबाट दोहोरिएर सेवन भइरहेको छ कि छैन हेर्ने ।

–आफूले प्रयोग गरिरहेका औषधिसँग यसको अन्तरक्रिया हुन्छ कि हुँदैन भन्ने चिकित्सकसँग बुझ्ने ।

–सम्भव भएसम्म गुणस्तर परीक्षण र विश्वसनीय स्रोत भएको उत्पादन मात्र प्रयोग गर्ने ।

कुन अवस्थामा सप्लिमेन्ट आवश्यक पर्न सक्छ ?

सन्तुलित खानाबाट पर्याप्त पोषण प्राप्त गर्न नसकिएको अवस्था, चिकित्सकीय रूपमा कुनै पोषक तत्वको कमी देखिएको अवस्था वा विशेष खेलकुद तथा
प्रशिक्षणको आवश्यकता अनुसार विशेषज्ञले सप्लिमेन्ट सिफारिस गर्न सक्छन् । तर केवल जिम जान थालेको, शरीर ठूलो बनाउन चाहेको वा साथीले प्रयोग गरेको कारणले सप्लिमेन्ट सुरु गर्नु उचित होइन ।

प्राकृतिक खानालाई प्राथमिकता दिनुपर्छ

फिटनेसका लागि सप्लिमेन्टभन्दा पहिले दैनिक खानपान सुधार गर्नुपर्छ । पर्याप्त प्रोटिन, जटिल कार्बोहाइड्रेट, स्वस्थ बोसो, फलफूल, हरियो सागसब्जी, पर्याप्त पानी र आवश्यक माइक्रोन्युट्रिएन्ट भएको सन्तुलित आहार शरीरका लागि महत्वपूर्ण हुन्छ ।

मसल बनाउन चाहने व्यक्तिले पनि पर्याप्त खाना, नियमित शक्ति प्रशिक्षण र आरामलाई प्राथमिकता दिनुपर्छ । तौल घटाउन चाहने व्यक्तिले पनि फ्याट बर्नरलाई सर्टकट बनाउनुको सट्टा सन्तुलित आहार र नियमित व्यायाममा ध्यान दिनुपर्छ ।

फिटनेसमा निद्रा पनि उत्तिकै महत्वपूर्ण

धेरै मानिसले जिम र सप्लिमेन्टमा मात्र ध्यान दिएर निद्रालाई बेवास्ता गर्छन् । तर शरीरको रिकभरी, मांसपेशीको विकास र व्यायामपछि शरीरलाई पुनः तयार पार्न पर्याप्त निद्रा महत्वपूर्ण हुन्छ ।

त्यसैले राम्रो फिटनेसका लागि व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा, पर्याप्त पानी, आरामलाई एकसाथ प्राथमिकता दिनुपर्छ ।

यी लक्षण देखिएमा सावधान हुनुपर्छ

सप्लिमेन्ट प्रयोग गरेपछि लगातार पेट दुख्ने, अत्यधिक वाकवाकी वा बान्ता हुने, असामान्य थकान, मुटुको धड्कन असामान्य रूपमा बढ्ने, रक्तचाप बढ्ने, पिसाबमा परिवर्तन आउने वा अन्य असामान्य लक्षण देखिएमा सप्लिमेन्टलाई सामान्य मानेर निरन्तर प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गर्नु आवश्यक हुन्छ ।

खाना पोषण सप्लिमेन्ट
मोदनाथ पौडेल
लेखक
मोदनाथ पौडेल
पोषणविद्

पौडेल पोषणविद् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय