News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालसँग हिमाल, ध्यान, योग, आयुर्वेद, जडीबुटी र आध्यात्मिक परम्परा भए पनि त्यसलाई व्यवस्थित आरोग्य पर्यटन उत्पादनमा बदल्न नसक्दा अवसर गुमिरहेको छ ।
- लेखले गुणस्तर मापदण्ड, प्रमाणिकरण, पूर्वाधार, निजी क्षेत्रको लगानी र अन्तर्राष्ट्रिय प्रचारमार्फत नेपालले आरोग्य पर्यटनबाट बढी मूल्य आर्जन गर्न सक्छ ।
संसारका मानिसहरू आज घुम्नका लागि मात्र यात्रा गरिरहेका छैनन् । उनीहरू शरीर र मनलाई विश्राम दिन, तनाव घटाउन, स्वस्थ जीवनशैली सिक्न र केही समय आफूलाई समय दिन नयाँ गन्तव्य खोजिरहेका छन् । यही चाहनाले विश्वमा आरोग्य पर्यटनको ठूलो बजार बनाएको छ ।
लन्डन वा न्युयोर्कको कुनै व्यस्त मानिसलाई कल्पना गरौं, जो वर्षौंको दौडधुप, अनिद्रा र तनावबाट थाकेको छ । ऊ केही दिन शान्त ठाउँमा बस्न चाहन्छ, ध्यान गर्न चाहन्छ, योग सिक्न चाहन्छ, प्रकृतिसँग नजिक हुन चाहन्छ । उसले एसियातिर हेर्छ । तर उसको रोजाइमा नेपाल नपर्न सक्छ । ऊ केरला पुग्छ, बाली पुग्छ वा चियाङ माई पुग्छ ।
विडम्बना यही हो । उसले खोजिरहेको धेरै कुरा नेपालमा पहिल्यैदेखि छ । हिमाल छ । ध्यान र योगको परम्परा छ । आयुर्वेद, जडीबुटी छन्, बौद्ध तथा हिन्दु आध्यात्मिक परम्परा छन् ।
तर यी सम्पदालाई व्यवस्थित आरोग्य अनुभव र अन्तर्राष्ट्रिय बजारका लागि उत्पादनमा बदल्न नसक्दा यसको आर्थिक लाभ अरू गन्तव्यले उठाइरहेका छन् ।
यो पर्यटनको मात्र कुरा होइन । यो संसारमा तीव्र गतिमा विस्तार भइरहेको एउटा ठूलो अर्थतन्त्रमा नेपालले आफ्नो हिस्सा खोज्ने अवसर हो ।
संसारको ठूलो बन्दै गएको आरोग्य अर्थतन्त्र
पहिले यसको आकार बुझौं । ग्लोबल वेलनेस इन्स्टिच्युटका अनुसार विश्वको आरोग्य अर्थतन्त्र सन् २०२४ मा ६.८ ट्रिलियन डलर पुगेको छ । सन् २०१३ को तुलनामा यो करिब दोब्बर हो र सन् २०२९ सम्म ९.८ ट्रिलियन डलर पुग्ने प्रक्षेपण गरिएको छ ।
आरोग्य अर्थतन्त्र भन्नाले केवल उपचार बुझिँदैन । यसमा मानसिक स्वास्थ्य, ध्यान, योग, आयुर्वेद, परम्परागत तथा पूरक चिकित्सा, स्वस्थ खानपान, फिटनेस, स्पा, आरोग्य केन्द्रित आवास र आरोग्य पर्यटनजस्ता अनेक क्षेत्र पर्छन् । यीमध्ये नेपालका लागि विशेष सम्भावना भएको क्षेत्र आरोग्य पर्यटन हो । सन् २०२४ मा यसको विश्वव्यापी बजार १ ट्रिलियन डलर नाघेको र आगामी वर्षहरूमा अझ विस्तार हुने अनुमान छ ।
यसको अर्को महत्त्वपूर्ण पक्ष खर्च हो । औसत अन्तर्राष्ट्रिय आरोग्य पर्यटकले प्रतियात्रा करिब १,७६४ डलर खर्च गर्ने गरेका छन्, जुन सामान्य पर्यटकको भन्दा करिब ४१ प्रतिशत बढी हो । यस्ता पर्यटक केवल एक ठाउँ हेरेर फर्किनेभन्दा केही दिन एउटै गन्तव्यमा बसेर सेवा, उपचार, ध्यान, योग, खानपान र प्रकृतिसँग जोडिएको अनुभव लिन रुचाउँछन् । अझ महत्त्वपूर्ण कुरा, आरोग्य पर्यटनको केन्द्र एसिया–प्रशान्त क्षेत्रमा तीव्र रूपमा विस्तार भइरहेको छ । अर्थात् नेपालले खोज्नुपर्ने बजार टाढा छैन ।
छिमेकीले देखाएको सम्भावना
नेपालको सम्भावना बुझ्न धेरै टाढा जानुपर्दैन । भारतको केरला हेरे पुग्छ । भारतको आरोग्य पर्यटन बजार सन् २०२४ मा करिब १९.४ अर्ब डलर पुगेको अनुमान छ । केरला एक्लैले आयुर्वेद र चिकित्सा तथा आरोग्य पर्यटनबाट सन् २०२४ मा करिब १३,५०० करोड भारु, अर्थात् झन्डै १.६ अर्ब डलर बराबरको आम्दानी गरेको तथ्याङ्क प्रस्तुत गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो करिब २५ प्रतिशत बढी हो ।
यसलाई नेपालको पर्यटनसँग तुलना गर्दा तस्वीर अझ स्पष्ट हुन्छ । नेपालले आफ्नो सम्पूर्ण पर्यटन क्षेत्रबाट गर्ने वार्षिक आम्दानीको तुलनामा केरला एक्लैले आयुर्वेद र आरोग्यसँग जोडिएको क्षेत्रमा ठूलो रकम आर्जन गरिरहेको छ ।
केरला आफैंमा कुनै जादु भएको ठाउँ होइन । उसले आफ्नो परम्परागत ज्ञानलाई व्यवस्थित गर्यो । आयुर्वेद केन्द्रलाई मान्यता र गुणस्तरको मापदण्डमा बाँध्यो । उपचारलाई पर्यटनसँग जोड्यो । सेवाको प्रचार गर्यो । पर्यटकले सजिलै बुझ्ने र किन्न सक्ने प्याकेज बनाए ।
भारतले आयुष प्रणालीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन छुट्टै पहल गरेको छ । आयुष भिसाजस्ता व्यवस्थाले आयुर्वेद तथा परम्परागत उपचारका लागि भारत आउने विदेशीलाई प्रवेश सहज बनाएको छ । थाइल्यान्ड र इन्डोनेसियाले पनि स्पा, ध्यान, योग र आरोग्य रिट्रिटलाई व्यवस्थित पर्यटन उत्पादनमा बदलेका छन् ।
मुख्य कुरा एउटै छ । परम्परा मात्र भएर पुग्दैन । त्यसलाई गुणस्तर, प्रमाणिकता, सेवा र बजारसँग जोड्नुपर्छ । नेपालसँग अरूले किन्न खोजेको कुरा पहिल्यै छ । नेपालको सबैभन्दा ठूलो बल यहीँ छ । अरू धेरै गन्तव्यले मानिसलाई आरोग्य अनुभव दिनका लागि रिसोर्ट बनाउँछन्, प्रकृतिसँग मिल्ने वातावरण तयार गर्छन्, ध्यान र योगका कार्यक्रम सञ्चालन गर्छन् । नेपालमा भने प्रकृति र आध्यात्मिक परम्परा आफैंमा जीवनको हिस्सा छन्।
लुम्बिनी छ । बुद्धको जन्मस्थल भएकाले ध्यान, शान्ति र आध्यात्मिक यात्रासँग जोडिने ठूलो सम्भावना छ । हिमालय छ । संसारभरका मानिसका लागि हिमाल आफैंमा शान्ति, प्रकृति र आत्मअनुभूतिसँग जोडिएको प्रतीक हो ।आयुर्वेद र जडीबुटीको परम्परा छ । गाउँ–गाउँमा पुस्तौंदेखि चलिआएका उपचारका ज्ञान छन् । योग, ध्यान, साधना र आध्यात्मिक अभ्याससँग जोडिएका ठाउँ छन् ।
यी सबै अलग–अलग सम्पदा होइनन् । सही ढंगले जोड्न सके एउटै आरोग्य पर्यटनको ठूलो उत्पादन बन्न सक्छन् । उदाहरणका लागि लुम्बिनीलाई केवल धार्मिक पर्यटकीय स्थलका रूपमा सीमित नराखी ध्यान र मौन साधनासहितको बहुदिने कार्यक्रम बनाउन सकिन्छ । हिमाली क्षेत्रलाई केवल पदयात्राको गन्तव्यका रूपमा नभई प्रकृति, ध्यान, श्वास अभ्यास र मानसिक विश्रामसँग जोड्न सकिन्छ ।
आयुर्वेदिक उपचारलाई प्रमाणित चिकित्सक, सुरक्षित सेवा र गुणस्तरीय आवाससहितको प्याकेजमा विकास गर्न सकिन्छ । स्थानीय जडीबुटीलाई स्रोत र गुणस्तर प्रमाणित गरेर बजारसम्म पुर्याउन सकिन्छ ।
यसरी हेर्दा नेपालले नयाँ कुरा आविष्कार गर्नुपर्ने होइन । आफूले पहिल्यै भएको कुरालाई व्यवस्थित गर्नुपर्ने हो ।
अवसर ठूलो छ, तर समस्या पनि त्यत्तिकै स्पष्ट
नेपालसँग सम्पदा छैन भन्ने समस्या होइन । समस्या ती सम्पदालाई विश्वस्तरीय उत्पादनमा बदल्न नसक्नु हो । हामीसँग वैद्य छन्, तर उनीहरूको सीप र सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वास पैदा गर्ने प्रमाणिकरण प्रणाली कमजोर छ ।
हामीसँग ध्यान गर्ने ठाउँ छन्, तर नियमित र गुणस्तरीय कार्यक्रमसहितको आरोग्य रिट्रिट कम छन् । हामीसँग जडीबुटी छन्, तर स्रोतदेखि उत्पादन र बजारसम्मको व्यवस्थित शृंखला कमजोर छ ।
हामीसँग तीर्थस्थल छन्, तर पर्यटकले केही दिन बसेर निश्चित शुल्क तिरेर लिन सक्ने संरचित अनुभव कम छन् । हामीसँग प्राकृतिक सुन्दरता छ, तर त्यसलाई एउटा स्पष्ट राष्ट्रिय ब्रान्डमा जोड्न सकिएको छैन । यही ठाउँमा राज्य र निजी क्षेत्र दुवैको भूमिका आउँछ ।
परम्परागत उपचारकर्मी र आयुर्वेदिक सेवाको गुणस्तर तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड आवश्यक छ । पर्यटकले नेपालमा उपचार वा आरोग्य सेवा लिन आउँदा सेवा सुरक्षित र विश्वसनीय छ भन्ने विश्वास गर्न सक्नुपर्छ ।
त्यस्तै, हिमाली जडीबुटीको संरक्षणसँगै यसको उत्पादन, प्रशोधन र बजार विस्तार गर्नुपर्छ । स्थानीय समुदायले पनि त्यसबाट आम्दानी पाउने व्यवस्था हुनुपर्छ ।
आरोग्य पर्यटनका लागि छुट्टै प्रवेश र बसाइको सहज व्यवस्था, लगानीमैत्री नीति, अन्तर्राष्ट्रिय प्रचार र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने संरचना आवश्यक छन् । नेपालले आफ्नो आरोग्य पर्यटनलाई एउटा साझा पहिचानमा बाँध्न सक्छ । हिमाल, आयुर्वेद, योग, ध्यान, प्रकृति र स्थानीय जीवनशैलीलाई अलग–अलग बेच्नुभन्दा एउटै विश्वसनीय नेपाली अनुभवका रूपमा विश्व बजारमा लैजान सकिन्छ ।
पर्यटकको संख्या होइन, पर्यटकको मूल्य
सन् २०२४ मा नेपालमा ११ लाख ४७ हजारभन्दा बढी पर्यटक आएका थिए । पर्यटनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ६.७ प्रतिशत योगदान गरिरहेको छ । सरकारले आगामी वर्षहरूमा पर्यटक आगमन अझ बढाउने लक्ष्य पनि राखेको छ । तर अब प्रश्न केवल कति पर्यटक ल्याउने भन्ने होइन । कस्ता पर्यटक ल्याउने र उनीहरूले नेपालमा कति समय बिताउँछन्, कति खर्च गर्छन् र फर्केर आउँछन् कि आउँदैनन् भन्ने पनि हो ।
आरोग्य पर्यटकका लागि नेपालले यही अवसर लिन सक्छ । एक साताको ध्यान रिट्रिट, आयुर्वेदिक उपचार, प्राकृतिक खानपान र पदयात्रा । हिमाली क्षेत्रमा केही दिनको प्रकृति र मानसिक विश्राम कार्यक्रम । लुम्बिनीमा ध्यान र बौद्ध दर्शनसँग जोडिएको बहुदिने अनुभव । स्थानीय जडीबुटी, खाना र जीवनशैलीसँग जोडिएको ग्रामीण आरोग्य पर्यटन ।
यस्ता उत्पादनले पर्यटकलाई होटलमा एउटा कोठा मात्र बेच्दैनन् । उनीहरूले समय, अनुभव र परिवर्तन बेच्न सक्छन् । त्यसको आर्थिक लाभ पनि एउटा होटल वा ट्राभल कम्पनीमा मात्र सीमित हुँदैन । स्थानीय किसान, वैद्य, गाइड, होटल, यातायात व्यवसायी, हस्तकला उत्पादक, जडीबुटी संकलक र स्थानीय समुदायसम्म पुग्न सक्छ ।
चाहिएको कुरा प्रचार होइन, संरचना हो
नेपालले आरोग्य पर्यटनको सम्भावनाबारे धेरै पटक कुरा गरिसकेको छ । अब कुरा गरेर मात्र पुग्दैन । नेपाल आरोग्यको गन्तव्य बन्ने हो भने त्यसका लागि स्पष्ट नीति, गुणस्तर मापदण्ड, प्रमाणिकरण, दक्ष जनशक्ति, अनुसन्धान, पूर्वाधार र अन्तर्राष्ट्रिय बजारमा निरन्तर प्रचार आवश्यक छ ।
आरोग्यसँग सम्बन्धित सेवाको वैज्ञानिक अध्ययन र तथ्यमा आधारित प्रचार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । नेपालले आफ्नो परम्परागत ज्ञानलाई अन्धविश्वासका रूपमा होइन, प्रमाणित गर्न सकिने ज्ञान, सुरक्षित अभ्यास र जिम्मेवार सेवाका रूपमा प्रस्तुत गर्नुपर्छ ।
सरकारले आधार तयार गर्न सक्छ । निजी क्षेत्रले सेवा र लगानी ल्याउन सक्छ । स्थानीय समुदायले आफ्नो ज्ञान, संस्कृति र प्राकृतिक स्रोतलाई आर्थिक गतिविधिसँग जोड्न सक्छ । विश्वविद्यालय र अनुसन्धान संस्थाले यसको प्रमाणिकता र प्रभावबारे अध्ययन गर्न सक्छन् ।
नेपाल आरोग्य वर्ष २०२७ जस्तो अभियान भयो भने त्यसलाई केवल कार्यक्रम, ब्यानर र नारामा सीमित राख्नु हुँदैन । त्यसले आरोग्य पर्यटनका लागि आवश्यक मापदण्ड, ब्रान्ड, उत्पादन र लगानीको आधार तयार गर्न सक्नुपर्छ ।
किनभने संसार आरोग्य खोज्दैछ । त्यसका लागि उसले ठूलो रकम खर्च गरिरहेको छ । तर नेपालले उसलाई के दिने भन्ने कुरा अझै स्पष्ट रूपमा तयार पारिसकेको छैन । संसारले तीव्र गतिमा दौडिएर थकित भएपछि फेरि शान्त हुन सिक्न खोजिरहेको छ । ध्यान, प्रकृति, स्वस्थ जीवनशैली, परम्परागत उपचार र मानसिक विश्रामका लागि मानिसहरू हजारौं किलोमिटर यात्रा गरिरहेका छन् ।
नेपालले नयाँ सम्पदा खोज्नुपर्ने अवस्था छैन । उसको आँगनमै हिमाल छ, ध्यानको इतिहास छ, आयुर्वेद छ, जडीबुटी छ, प्रकृति छ र जीवनसँग जोडिएको परम्परा छ । हामीसँग बेच्नुपर्ने कुरा नभएको होइन । बरु, हामीसँग भएको कुरालाई विश्वसनीय, गुणस्तरीय र बजारले बुझ्ने उत्पादनमा बदल्ने काम बाँकी छ ।
विश्वको आरोग्य अर्थतन्त्र ट्रिलियन डलरको आकारमा पुगिसकेको बेला नेपालको सबैभन्दा ठूलो प्रश्न यही हो, हामी आफ्नो आँगनमा रहेको सम्भावनालाई कहिलेसम्म केवल सम्पदा भनेर हेर्ने, र कहिले त्यसलाई अर्थतन्त्रमा बदल्ने ?
(निर्जन अधिकारी उद्यमी तथा यज्ञशाला नेपालका संस्थापक तथा बनारस हिन्दू विश्वविद्यालयका विद्यार्थी हुन् ।)
प्रतिक्रिया 4