+

अमेरिकामा फेरि विश्वकप : ३२ वर्षमा के–के बदलियो ?

विश्वकप फेरि अमेरिकामा

सन् १९९४ मा पहिलोपटक विश्वकप आयोजना गरेको अमेरिकाले ३२ वर्षपछि फेरि विश्वकपको आयोजना गर्दैछ । तर यसपटक अमेरिका एक्लो छैन । क्यानडा र मेक्सिकोसँग मिलेर आयोजना हुने २०२६ विश्वकप आकार, प्रविधि र व्यवस्थापनका हिसाबले इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको छ ।

२४ टोलीबाट ४८ टोली

सन् १९९४ मा विश्वकपमा २४ टोली मात्र सहभागी थिए । त्यसपछि ३२ टोलीको ढाँचा लागू भयो । अब २०२६ मा पहिलोपटक ४८ टोली मैदानमा उत्रनेछन् । यसले धेरै राष्ट्रलाई विश्वकप खेल्ने अवसर दिएको छ र प्रतियोगितालाई थप विश्वव्यापी बनाएको छ ।

Advertisement

टिकट मूल्यको ठूलो उछाल

१९९४ मा फाइनलको सबैभन्दा महँगो टिकट ४७५ डलर थियो । २०२६ मा भने फाइनल टिकटको मूल्य १० हजार डलरभन्दा माथि पुगेको छ । विश्वकप अब खेल मात्र होइन, ठूलो व्यावसायिक कार्यक्रम पनि बनेको छ, जसको प्रभाव टिकट मूल्यमा स्पष्ट देखिन्छ ।

एक देश होइन, तीन देश

१९९४ को विश्वकप अमेरिकाका नौ रंगशालामा सीमित थियो । २०२६ मा भने अमेरिका, क्यानडा र मेक्सिकोका १६ रंगशालामा खेल हुनेछ । विश्वकप इतिहासमै पहिलोपटक तीन देशले संयुक्त रूपमा यति ठूलो स्तरमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

दर्शक संख्या झन्डै दोब्बर

सन् १९९४ मा विश्वकप हेर्न करिब ३६ लाख दर्शक रंगशालामा पुगेका थिए । २०२६ मा भने ६० देखि ७० लाख दर्शक पुग्ने अनुमान गरिएको छ । खेल संख्या र सहभागी टोली बढेसँगै विश्वकपको प्रत्यक्ष दर्शक संख्या पनि उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।

खेलाडी परिवर्तनमा नयाँ नियम

सन् १९९४ मा टोलीहरूले दुई खेलाडी मात्र परिवर्तन गर्न पाउँथे । ०२६ मा भने नियम धेरै लचिलो बनेको छ । अहिले पाँच खेलाडी परिवर्तन गर्न पाइन्छ । अतिरिक्त समयमा थप एक परिवर्तन र टाउकोमा चोट लागेमा अतिरिक्त सब्स्टिच्युटको सुविधा पनि छ । यसले खेलाडीको स्वास्थ्य र प्रदर्शन दुवैलाई प्राथमिकता दिएको छ ।

अब खेलमा ‘कूलिङ ब्रेक’

१९९४ मा गर्मी र आद्रताबीच पनि खेल रोकिँदैनथ्यो । २०२६ मा भने प्रत्येक हाफमा तीन मिनेटको ‘वाटर ब्रेक’ हुनेछ । प्रशिक्षकहरूले यसलाई रणनीति बनाउने अवसरका रूपमा पनि प्रयोग गर्न सक्नेछन् ।

विस्तृत जानकारीका लागि दिइएको लिंक थिचेर अनलाइनखबरको वेवसाइटमा गएर पढ्न सकिनेछ । www.onlinekhabar.com/2026/06/1950780