२७ जेठ, काठमाडौं । फिफा विश्वकप फुटबलको २३औं संस्करण भोलिदेखि सुरु हुँदैछ । सन् १९३० देखि सुरु भएको विश्वकपको १५औं संस्करण आयोजना गरेको अमेरिकाले दोस्रोपटक विश्वकप आयोजना गर्दैछ ।
सन् १९९४ मा अमेरिकाले पहिलोपटक फिफा विश्वकप आयोजना गर्दा प्रतियोगितामा २४ टोली थिए, ५२ खेल हुन्थे र फाइनलको सबैभन्दा महँगो टिकट ४७५ डलरमा पाइन्थ्यो । उक्त संस्करणको उपाधि ब्राजिलले जितेको थियो ।
३२ वर्षपछि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकप २०२६ मा भने ४८ टोली, १०४ खेल र फाइनलका टिकटको मूल्य १० हजार डलरभन्दा माथिसम्म पुगेको छ ।
विश्वकप आकारमा मात्र होइन, संरचना, नियम र अनुभवका हिसाबले पनि पूर्ण रूपमा बदलिएको छ । यो ३२ वर्षका दौरान अन्य केके कुरा परिवर्तन भएका छन् त ? आज चर्चा गरेका छौं ।
टिकटको मूल्य आकाशियो
सन् १९९४ मा समूह चरणका खेलका टिकट २५ देखि ७५ डलरसम्म थिए भने फाइनलका टिकट १८० देखि ४७५ डलरसम्मका थिए । २०२६ मा समूह चरणका खेलका टिकट १४० डलरदेखि २ हजार ७३५ डलरसम्म पुगेका छन् ।
फाइनलका टिकट ४ हजार १८५ देखि ८ हजार ६८० डलरसम्म बिक्रीमा राखिएको थियो, जसको उच्च मूल्य पछि बढाएर १० हजार ९९० डलर पुर्याइएको छ।
२४ टोलीबाट ४८ टोलीसम्म
१९९४ विश्वकप २४ टोलीसहित हुने अन्तिम संस्करण थियो । त्यसपछि १९९८ देखि ३२ टोलीको ढाँचा लागू भएको थियो ।
२०२६ मा पहिलोपटक ४८ टोली सहभागी हुनेछन् । नयाँ राउण्ड अफ ३२ थपिएपछि उपाधि जित्ने टोलीले अब सात होइन आठ खेल खेल्नुपर्नेछ ।
मैदान पनि मापदण्डअनुसार
१९९४ मा फिफाले ६८ मिटर चौडाइ र १०५ मिटर लम्बाइको मापदण्ड तोके पनि कतिपय रंगशालामा साँघुरा मैदान प्रयोग गर्न छुट दिइएको थियो ।
२०२६ मा भने सबै रंगशालालाई फिफाको सोही मापदण्ड अनुसार हुनुपर्ने गरी परिमार्जन गरिएको छ ।
दर्शक संख्या झन्डै दोब्बर
१९९४ मा ५२ खेलमा ३५ लाख ९० हजार दर्शक पुगेका थिए, जुन त्यतिबेलाको कीर्तिमान थियो । १०४ खेल हुने २०२६ विश्वकपमा ६० देखि ७० लाख दर्शक पुग्ने अनुमान गरिएको छ ।

एक आयोजक देशबाट तीन देशसम्म
१९९४ को विश्वकप अमेरिकाका नौ रंगशालामा मात्र आयोजना गरिएको थियो । २०२६ मा भने अमेरिका, क्यानडा र मेक्सिकोका १६ रंगशालामा खेल हुनेछ ।
क्वार्टरफाइनलदेखि फाइनलसम्मका सबै खेल अमेरिकामा हुनेछन् ।
आधुनिक रंगशाला र लक्जरी सुविधा
१९९४ का धेरै रंगशालामा अहिलेको जस्तो अत्याधुनिक सुविधा थिएन । २०२६ का अमेरिकास्थित ११ वटै रंगशाला एनएफएल टोलीका घरेलु मैदान हुन्, जहाँ प्रशस्त लक्जरी सुइट र प्रिमियम सिटको व्यवस्था छ।
अब खेलमा ‘कूलिङ ब्रेक’
१९९४ मा गर्मी र आद्रताबीच पनि खेल रोकिँदैनथ्यो । २०२६ मा भने प्रत्येक हाफमा तीन मिनेटको ‘वाटर ब्रेक’ हुनेछ ।
प्रशिक्षकहरूले यसलाई रणनीति बनाउने अवसरका रूपमा पनि प्रयोग गर्न सक्नेछन् ।
खेलाडी परिवर्तनको नियममा ठूलो परिवर्तन
१९९४ मा टोलीहरूले दुई खेलाडी मात्र परिवर्तन गर्न पाउँथे । विशेष अवस्थामा गोलकिपरका लागि तेस्रो परिवर्तनको व्यवस्था थियो । २०२६ मा आइपुग्दा यो नियम धेरै हदसम्म परिवर्तन भइसकेको छ ।
अहिले निर्धारित समयमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । अतिरिक्त समयमा छैटौं परिवर्तन र कन्कसन (टाउकोमा चोट) लागेमा थप खेलाडी परिवर्तनको सुविधा पनि हुनेछ ।
जर्सीमा नाम लेख्ने सुरुआत
१९९४ विश्वकपबाट खेलाडीको नाम जर्सीमा राख्न थालिएको थियो, जुन अहिले विश्व फुटबलको सामान्य अभ्यास बनेको छ ।
विश्वकप सञ्चालनको शैली पनि फेरियो
१९९४ सम्म विश्वकप आयोजना स्थानीय आयोजक समितिले सम्हाल्ने गर्थ्यो । अमेरिकाको विश्वकप आयोजना समितिको नेतृत्व अमेरिकी फुटबल महासंघका तत्कालीन अध्यक्ष एलन रोथेनबर्गले गरेका थिए ।
२०२६ मा भने प्रतियोगिताको अधिकांश व्यवस्थापन फिफाले प्रत्यक्ष रूपमा गरिरहेको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनो यस संस्करणका सबैभन्दा प्रभावशाली अनुहारमध्ये एक बनेका छन् ।
***
सन् १९९४ को विश्वकपले अमेरिकामा फुटबलको लोकप्रियता बढाउने आधार तयार गरेको थियो । ३२ वर्षपछि त्यही भूमिमा फर्किएको विश्वकप आकार, प्रविधि, व्यापार, नियम र दर्शक अनुभवका हिसाबले निकै फरक भइसकेको छ ।
२४ टोली र ५२ खेलबाट सुरु भएको यात्रा अब ४८ टोली र १०४ खेलसम्म पुगेको छ। प्रश्न भने अझै उही छ– विश्वकप ठूलो त भयो, तर के अझ राम्रो पनि भयो ?
प्रतिक्रिया 4