+
एनपीएल २०२६ :

एनपीएल २०२६ मा नेपाली खेलाडी हावी, सुरुवाती ६ खेलमै प्लेअर अफ दि म्याच

२०८३ कात्तिक  १३ गते ९:१६ २०८३ कात्तिक १३ गते ९:१६

यसअघिका संस्करणमा सुरुवाती खेलदेखि नै विदेशी खेलाडीहरू हावी हुँदै आएकोमा यस पटक भने सुरुवात देखि नै नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जिताउन सहयोग गरिरहेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा सुरुवाती ६ खेलका सबै ६ ‘प्लेअर अफ दि म्याच’ नेपाली खेलाडी बनेका छन्।
  • लुम्बिनीका शेर मल्ल, चितवनका कमलसिंह ऐरी, कर्णालीका युनिश विक्रम ठकुरी र जनकपुरका राहुल यादवले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
  • सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र कर्णालीका कप्तान सोमपाल कामीले पनि अर्धशतक र अलराउण्ड प्रदर्शन गर्दै टिमलाई जिताएका छन्।

१३ कात्तिक, काठमाडौं । विश्वका स्टार खेलाडीहरूको उपस्थिति रहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुरुवाती ६ खेल सकिँदा सबै ६ प्लेअर अफ दि म्याच नेपाली खेलाडी नै बनेका छन् ।

यसअघिका संस्करणमा सुरुवाती खेलदेखि नै विदेशी खेलाडीहरू हावी हुँदै आएकोमा यस पटक भने सुरुवात देखि नै नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जिताउन सहयोग गरिरहेका छन् ।

त्यसमा पनि विशेषगरी युवा खेलाडीहरू चम्किएका छन् भने ठूलो मञ्चमा आफूलाई प्रमाणित गरिरहेका छन् । यस्तै राष्ट्रिय टिमका कप्तान दीपेन्द्रसिंह ऐरी देखि अनुभवी खेलाडी सोमपाल कामीले पनि यस संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

एनपीएलको दोस्रो सिजनमा सुरुवाती ८ खेलमा जम्मा १ मात्र नेपाली खेलाडीले ‘प्लेअर अफ दि म्याच’ अवार्ड जितेका थिए । यस पटक भने त्यो ट्रेन्ड फेरिएको छ । चर्चित विदेशी खेलाडीहरूका अगाडि पनि नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्दै खेल जिताउन निर्णायक भूमिका खेलेका छन् ।

अहिलेसम्म भएको ६ वटै खेलमा नेपाली खेलाडीले ‘प्लेअर अफ दि म्याच’ को अवार्ड जित्दै विदेशी खेलाडीलाई छायामा पारेका छन् ।

बिहीबार भएको दुवै खेलमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जित दिलाउन मद्दत गरेका थिए ।

अहिलेसम्म विशेषरी बलरहरू हावी बनेका छन् । लुम्बिनीका शेर मल्ल, चितवनका कमल सिंह ऐरी, कर्णालीका बलर युनिश सिंह ठकुरी र जनकपुरका राहुल यादव प्लेअर अफ दि म्याच बनेका छन् ।

यस्तै सुदूरपश्चिमका कप्तान तथा अलराउण्डर दीपेन्द्र सिंह ऐरी तथा कर्णालीका कप्तान सोमपाल कामी पनि प्लेअर अफ दि म्याच बनिसकेका छन् ।

सुरुवाती ३ खेलमा बलर हावी

९ कात्तिकमा भएको सुदूरपश्चिम विरुद्धको उद्घाटन खेलमा लुम्बिनीका स्पीनर शेर मल्ल प्लेअर अफ दि म्याच बने । उनले ४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ३ विकेट लिए ।

शेरले चर्चित विदेशी खेलाडी शेरफेन रदरफोर्ड र स्कट कुग्लेइनसँगै र विनोद भण्डारीको विकेट लिएका थिए । लुम्बिनीलाई ७ विकेटको जित दिलाउन शेरले महत्वपूर्ण भूमिका खेले । उक्त खेलमा लुम्बिनीका लागि मिडियम पेसर किशोर महतोले सर्वाधिक ४ विकेट लिएपनि शेर प्लेअर अफ दि म्याच चुनिएका थिए ।

यस्तै १० कात्तिकमा भएको विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा अर्का बलर चम्किए । नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका मिडियम पेसर कमलसिंह ऐरीले ४ विकेट लिँदै चितवनलाई ८ रनको रोमाञ्चक जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।

४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिएका उनी प्लेअर अफ दि म्याच घोषित भए । उनले वेष्ट इन्डिजका आक्रमक ब्याटर आन्द्रे रसेलदेखि, श्रीलंकाका पूर्व कप्तान एन्जेलो म्याथ्युज, नेपाली खेलाडीहरू रुपेश सिंह र बसिर अहमदको विकेट लिएका थिए ।

सोही दिन भएको अर्को खेलमा कर्णालीका युवा स्पीनर युनिश विक्रम ठकुरी चम्किए ।

पहिलो सिजनको विजेता जनकपुरलाई १९ रनले पराजित गर्ने क्रममा युनिशले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका युनिश प्लेअर अफ दि म्याच घोषित भए । युनिशले पनि जनकपुरका चर्चित खेलाडी जिमी नीशम देखि कप्तान हर्मीत सिंह र आदित्य महताको विकेट लिएका थिए ।

दीपेन्द्र अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी

११ कात्तिकमा भएको लिगको चौथो खेलमा ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्लेअर अफ दि म्याच बने । सुदूरपश्चिम रोएल्स र पोखरा एभेन्जर्स बीचको खेलमा सुदूरशका कप्तान दीपेन्द्र सिंह ऐरी प्लेअर अफ दि म्याच बने । हुनत यो खेलमा युवा लेफ्ट बर्म स्पीनर अनिल खरेलले पनि ३ विकेट लिएका थिए ।

तर १४६ रनको लक्ष्य पछ्याउने क्रममा मध्यक्रम सम्हाल्दै अविजित ५१ रन बनाएका कप्तान दीपेन्द्र प्लेअर अफ दि म्याच बनेका हुन् । उनले चौथो नम्बरमा ब्याटिङ गर्दै ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै दीपेन्दरले चौथो विकेटका लागि इशान पाण्डेसँग ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

आइकोनिक खेलाडी राहुलको उडान

१२ कात्तिकमा भएको एनपीएलको पाँचौं खेलमा युवा पेसर राहुल यादव चम्किए । ट्यालेन्ट हन्टबाट छनोट हुँदै आइकोनिक प्लेअरको रुपमा जनकपुर बोल्ट्समा समावेश भएका १७ वर्षीय राहुलले पहिलो खेलमै एनपीएलमा डेब्यू गर्ने अवसर पाएका थिए ।

डेब्यू खेलमा पहिलो बलमै विकेट लिएका उनले कर्णाली याक्स विरुद्ध शानदार बलिङ गर्दै २ विकेट लिएका थिए । उक्त खेलमा जनकपुर पराजित हुँदा राहुल केही छायाँमा परेका थिए तर एनपीएलमा उनले आप्नो डेब्युलाई सानदार बनाइसकेका थिए ।

दोस्रो खेलमा बिहीबार काठमान्डु गोर्खा विरुद्ध त राहुलले चमत्कार नै गरे । उनले सनसनीपूर्ण बलिङ गर्दै स्टार खेलाडीहरू रहेको काठमान्डु विरुद्ध ४ विकेट लिए र ११५ रनमै अलआउट गर्न मदत गरे । काठमान्डुको ब्याटिङ ध्वस्त पारेका उनले एउटा शानदार क्याच पनि लिए ।

राहुलले काठमाडौंका ओपनरद्वय स्मित पटेल, साम हिजलेट, कप्तान करण केसी र आदिल आलमको विकेट लिएका थिए । ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिँदै उनी प्लेअर अफ दि म्याच बने ।

उनले एनपीएलको दोस्रो खेलमै शानदार बलिङ गर्दे प्लेअर अफ दि म्याचको अवार्ड जितेका हुन् । इंग्ल्यान्डका चर्चित अलराउण्डर मोइन अलीले त राहुललाई नेपालको लसिथ मलिङ्गा बन्न सक्ने प्रतिक्रिया समेत दिए । दुई खेलमा ६ विकेट लिएर उनी सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन् ।

सोमपालको ऐतिहासिक प्रदर्शन

सोमपाल कामीले कर्णाली याक्सलाई लगातार दोस्रो जित दिलाउन विराटनगर किंग्स विरुद्ध अलराउण्ड प्रदर्शन गर्दै प्लेअर अफ दि म्याचको अवार्ड जिते ।

सोमपालले आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दा कर्णालीले विराटनगरमाथि ४ विकेटको रोमाञ्चक जित हात पारेको थियो ।

सोमपालले खेलमा असाधरण प्रदर्शन नै गरे । विशेषगरी बलरको रुपमा खेल्ने सोमपालले पहिलो इनिङ्समा विराटनगरको ४ विकेट लिएका थिए । उनले विराटनगरका लागि सर्वाधिक ८७ रन बनाएका विकेटकिपर तथा ओपनर लोकेश बम देखि चर्तित विदेशी खेलाडीहरू आन्द्रे रसेल, एन्जेलो म्याथुज र चरिथ असलंकाको विकेट लिए । टिमलाई आवश्यक परेको बेला आफैं बलिङ गर्दै सोमपालले विराटनगरको रन गति ब्रेक गरेका थिए ।

१८७ रनको लक्ष्य पछ्याउने क्रममा पनि ब्याटिङमा पनि सोमपालले गज्जबको ब्याटिङ गरे । उनले ३२ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा अविजित ६२ रन बनाउँदै टिमलाई जिताए ।

६.५ ओभरमा ५७-५ को स्थितिमा हुँदा सोमपाल सातौं नम्बरमा ब्याटिङ गर्न मैदान गएका थिए । त्यसपछि जे भयो त्यो सबै इतिहास बन्यो । सोमपालले सुरुमा छैटौं विकेटका लागि ६६ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । त्यसपछि गुल्सन झासँग सातौं विकेटका लागि अविजित ६४ रनको अर्को महत्वपूर्ण साझेदारी गरे ।

सोमपालले साझेदारी मात्र होइन कप्तानी इनिङ्स खेल्दै एनपीएलमा आफ्नो पहिलो अर्धशतक पनि बनाए । बलिङमा ४ विकेट र ब्याटिङमा अर्धशतक बनाउँदै कर्णालीलाई जिताएका सोमपालले यस्तो प्रदर्शन गर्न पाउ ब्लेस्ड फिल हुने बताए । उनले आफ्नो प्रदर्शन भन्दा पनि टिमको जित महत्वपूर्ण भएको बताए ।

एनपीएल २०२६ एनपीएलमा नेपाली खेलाडी कमलसिंह ऐरी राहुल यादव शेर मल्ल सोमपाल कामी

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय