News Summary
Generated by OK AI. Editorially reviewed.- १७ वर्षीय राहुल यादवले एनपीएलमा जनकपुर बोल्ट्सका लागि लगातार दुई खेलमा विकेट लिँदै क्यानठमान्डु गोर्खाजविरुद्ध ४ विकेट लिएर प्लेयर अफ द म्याच बने ।
- राहुलले ट्यालेन्ट हन्टमार्फत ४४६ सहभागीबाट छनोट भएर जनकपुरको आइकोनिक प्लेयर बनेका हुन् ।
- जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई ८ विकेटले पराजित गर्दा मोइन अलिको ५८ रन र सैफ हसनको ४० रन जितको आधार बने ।
१३ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचका खेल अघिसम्म धेरैको नजर थियो इंग्ल्यान्डका मोइन अलि, पाकिस्तानका इफ्तिखार अहमद, हुनेन शाह र हुसेन तलतमाथि ।
अनुभवी अलराउन्डर अलि पहिलो पटक नेपाल आएर खेल्दै थिए । एनओसी विवादका कारण टोलीमा अनुबन्ध भएका अहमद, शाह र तलत मैदानमा उत्रिने, नउत्रिने निश्चित थिएन । अन्योलका बाबजुद अहमद र शाह मैदान उत्रिएनन्, तलत मैदान उत्रिए ।
जनकपुरविरुद्ध कर्णालीले ब्याटिङ थाल्यो । बलिङको सुरुवात मोइन अलीले गरे । उनले पहिलो ओभरको अन्तिम बलमा मार्क वाटलाई आउट गरेर जनकपुरलाई सुखद् सुरुवात दिलाए । दोस्रो ओभरमा आए ललित राजवंशी । उनलाई कर्णालीका दीपक डुम्रेले लगातार दुई छक्का प्रहार गरे । उक्त ओभरमा ललितले १४ रन खर्चिए ।
तेस्रो ओभरमा आए, १७ वर्षीय बलर राहुल यादव । पहिलो खेल खेलेका राहुलले डेब्यू बलमै दीपक डुम्रेलाई पभेलियनको बाटो देखाए । उनले उक्त ओभरमा मात्र एक रन दिएर एक विकेट लिए । त्यसपछि जनकपुरका कप्तान हर्मित सिंहले राहुललाई छैटौँ ओभरमा बल थमाए । उक्त ओभरको सुरुवाती दुई बल डट भयो । तेस्रो बलमा उनले पाकिस्तानी खेलाडी हुसेन तलतलाई ३ बलमा आउट गर्दै सनसनी मच्चाए । उनले उक्त ओभरमा पनि एक रन मात्रै दिएर एक विकेट लिए । त्यसपछि भने उनको चर्चा एकाएक चुलियो ।
पाकिस्तानी खेलाडीहरूको एनओसी विवादका कारण जनकपुरमा अनुबन्ध भएका तीव्र गतिका बलर हुनेन साहले पहिलो खेल खेल्न पाएनन् । सायद उनी खेलेको भए राहुलले पहिलो खेलमै अवसर नपाउन पनि सक्थे । अवसर पाए र पहिलो खेलमै शानदार प्रदर्शन गरे । उक्त खेलमा राहुलले दुई विकेट लिए ।

सानै उमेर ठूलो मञ्चमा उत्कृष्ट प्रदर्शन गरेका राहुलले लयलाई निरन्तरता दिन सक्छन् कि सक्दैनन् भन्ने धेरैलाई चिन्ता थियो । तर, उनले बिहीबार भएको दोस्रो खेलमा पनि शानदार प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरे । उनले त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको काठमान्डु गोर्खाजविरुद्धको खेलमा ४ विकेट लिएर प्लेयर अफ द म्याच घोषित भए । पहिलो खेलको डेब्यू बलमै विकेट लिएका राहुलले दोस्रो खेलमा पनि पहिलो बलमै विकेट लिए । उनले साम हिजलेटलाई एक रनमै पभेलियनको बाटो फर्काए र जनकपुरलाई सुखद् सुरुवात दिलाए ।
आफ्नो दोस्रो ओभरमा उनले अर्का ओपनर स्मित पटेललाई कप्तान हर्मित सिंहको हातबाट क्याच आउट गराए । र, काठमान्डुलाई दबाबमा धकेले । आफ्नो तेस्रो ओभरमा राहुलले दुई विकेट लिँदै काठमान्डुमाथि थप दबाब बढाए । उनले १७औंको पाँचौँ ओभरमा काठमान्डुका कप्तान करण केसी र छैटौँ बलमा आदिल आलमलाई आउट गराउन सफल भए । अहिले उनी टिमको नियमित खेलाडी बनिसकेका छन् ।
विकेटसँग कन्फिडेन्स बढ्दै गएको राहुलको अनुभव छ । उनी भन्छन्, ‘पहिलो खेलमा अलिकति नर्भस थिएँ। पहिलो खेल खेलेपछि नर्भस हराएर गयो । पहिलो बलमै विकेट आएर झनै कन्फिडेन्स आयो ।’
१७ वर्षीय राहुलले एनपीएलमा केवल अवसर पाएनन्, आफ्नो क्षमता प्रमाणित गर्दै जनकपुरको भरोसासमेत जिते । उनको प्रदर्शनले अहिले धेरैको ध्यान तानेको छ ।
काठमान्डु गोर्खाजका मेन्टर तथा क्रिकेट निर्देशक शरद भेषावकर राहुललाई नेपालको भविष्यको नयाँ पेस बलरको रूपमा देख्छन् । ‘
मूलपानी ग्राउन्डमा अभ्यास खेल पनि खेलेका थियौँ । त्यो गेममा पनि उहाँको स्पिड र फरक बलिङ एक्सन थियो । त्यसमा खेल्न ब्याटरलाई सजिलो हुँदैन,’ उनी भन्छन् ।
यो जितको क्रेडिट राहुललाई जाने पूर्व क्रिकेटर शरद बताउँछन् । उनी भन्छन्, ‘साँच्चीकै उहाँलाई क्रेडिट दिनुपर्छ । सुरुवातमा विकेट निकालेर हामीलाई प्रेसरमा राख्न सफल हुनुभयो ।’

जनकपुरबाट एनपीएल खेलिरहेका इंग्ल्यान्डका अलराउन्ड मोइन अलि राहुल नेपालको महिङ्गा बन्न सक्ने बताउँछन् ।
‘जुन हिसाबले बलिङ गरिरहेका छन्, उनको भविष्य राम्रो छ । उनले गरिरहेको स्लिङ बलिङले उनी नेपालको मलिङ्गा बन्न सक्छन्,’ उनी भन्छन् ।
लसिथ मलिङ्गा श्रीलंकाका लेजेन्डरी पेस बलर हुन् । राहुलले ४ विकेट लिएको खेलमा जनकपुरले काठमान्डुलाई ८ विकेटले पराजित गर्यो । ब्याटिङमा अनुभवी अलराउन्ड मोइन अलिले ५२ बलमा अविजित ५८ र सैफ हसनले ३९ बलमा बनाएको ४० रन जनकपुरको जितको आधार बन्यो ।
४४६ बाट छानिएका थिए –राहुल
केही दिनअघिसम्म रौतहट चन्द्रपुरका राहुलको सपना थियो- एनपीएल खेल्ने र सिनियरसँग सिक्ने । रौतहटको चन्द्रपुर क्रिकेट एकेडेमीमा दैनिक अभ्यास गर्ने राहुल फ्याटफुट्ट घरेलु प्रतियोगिता खेल्थे ।
जनकपुर बोल्ट्सले राहुलले अभ्यास गर्ने ठाउँमै ट्यालेन्ट हन्ट आयोजना गर्यो । जसमा राहुल पनि सहभागी भए र ४४६ जना सहभागी भएको ट्यालेन्ट हन्टमा उनको प्रदर्शनले छनोटकर्ताको मन जित्यो । उनी तेस्रो संस्करणको एनपीएलमा जनकपुरको आइकोनिक प्लेयरको रूपमा छनोट भए ।

आइकोनिक प्लेयर छनोट भए पनि पहिलो खेलबाट खेल्न पाउनेमा उनी ढुक्क थिएनन् । खेल्न नपाए पनि स्टार खेलाडीहरूसँग सिक्न पाउनेमा भने उनी उत्साहित थिए । ट्यालेन्ट हन्टबाट आएका कमै खेलाडीले पहिलो खेलमै अवसर पाउँछन् । राहुललाई पनि जनकपुरका प्रशिक्षक र कप्तानले विश्वास गरे र पहिलो खेलमै अवसर दिए । जसलाई राहुलले पनि प्रमाणित गरे ।
‘धेरैले ट्यालेन्ट हन्टको खेलाडीलाई पहिलो खेलमै खेलाउँदैनन् । तर, कप्तानले ममाथि विश्वास गरेर खेलाउनुभयो,’ राहुल भन्छन्, ‘पहिलो खेलमा पनि राम्रो भयो । आजको खेलमा पनि राम्रो भयो । सबै खेलमा राम्रो गर्छु भन्ने विश्वास छ ।’
प्रतिक्रिया 4