News Summary
Generated by OK AI. Editorially reviewed.- कोकाकोला सन् १८८६ मा अमेरिकी फार्मासिस्ट डा. जोन एस. पेम्बर्टनले सुरु गरेका थिए, र पहिलो वर्ष दैनिक औसत बिक्री करिब ९ गिलास मात्र थियो।
- कोकाकोलाको नाम फ्र्याङ्क एम. रोबिन्सनले सुझाएका थिए, र उनको सुन्दर हस्तलेखनमा लेखिएको ‘कोकाकोला’ नाम पछि प्रसिद्ध भयो।
- कोकाकोलाको प्रसिद्ध घुमाउरो बोतलको डिजाइन सन् १९१५ मा तयार भएर सन् १९१६ देखि बजारमा प्रयोग हुन थाल्यो।
कोकाकोला कस्तो हुन्छ ? स्वाद र रंगको बारेमा त केही भन्नै परेन । तपाईंले पक्कै पिउनुभएको छ । कतिको लागि यो प्रिय पेय होला । कतिले एक घुट्की भए पनि पिएकै होला ।
बजारमा छ्यापछ्याप्ती पाइने कोकाकोला आफैँमा रोचक पेय हो । यसको इतिहास र विकाससँग जोडिएका केही रोचक तथ्य थाहा छ ?
१. कोकाकोला सन् १८८६ मा अमेरिकी फार्मासिस्ट डा. जोन एस. पेम्बर्टनले सुरु गरेका थिए । पहिलो वर्ष यसको दैनिक औसत बिक्री करिब ९ गिलास मात्र थियो ।
२. कोकाकोलाको नाम फ्र्याङ्क एम. रोबिन्सनले सुझाएका थिए । उनी पेम्बर्टनका बुककिपर तथा व्यावसायिक साझेदार थिए । रोबिन्सनकै सुन्दर हस्तलेखनमा लेखिएको ‘कोकाकोला’ नाम पछि प्रसिद्ध भयो ।
३. प्रारम्भिक कोकाकोलामा कोका पातबाट प्राप्त कोकिन रहेको ऐतिहासिक प्रमाण पाइन्छ । सन् १९०३ सम्म आइपुग्दा कोकिन हटाइएको थियो । अहिलेको कोकाकोलामा कोकिन हुँदैन ।
४. कोकाकोलाको नाममा रहेका ‘कोका’ र ‘कोला’ शब्द यसको प्रारम्भिक सामग्रीसँग सम्बन्धित थिए । ‘कोका’ कोका पातसँग र ‘कोला’ कोला नटसँग सम्बन्धित थियो ।
५. सुरुका दिनमा कोकाकोलालाई सामान्य पेयका रूपमा मात्र नभई औषधीय गुण भएको पेयका रूपमा पनि प्रचार गरिएको थियो । त्यतिबेला यसको स्वास्थ्यसम्बन्धी विभिन्न दाबी गरिन्थे ।
६. कोकाकोलाको प्रसिद्ध घुमाउरो आकारको बोतलको डिजाइन सन् १९१५ मा तयार गरिएको थियो । यसको डिजाइन सन् १९१६ देखि बजारमा प्रयोग हुन थाल्यो ।
७. उक्त बोतलको आकार कोकाकोला बनाउने सामग्रीमध्ये एक हो भन्ने गलत बुझाइका कारण कोकोआको फलको चित्रबाट प्रेरित भएर विकास गरिएको बताइन्छ ।
८. कोकाकोलाको ओलम्पिकसँगको सम्बन्ध सन् १९२८ मा एम्स्टर्डममा भएको ओलम्पिक खेलबाट सुरु भएको हो । त्यसयता कम्पनी लामो समयदेखि ओलम्पिकसँग जोडिएको छ ।
९. कोकाकोलाका विज्ञापनमा सान्ता क्लसको प्रयोग सन् १९२० को दशकदेखि हुँदै आएको थियो । तर आज परिचित हँसिलो, रातो पोसाक लगाएको कोकाकोला सान्ताको प्रसिद्ध रूप चित्रकार ह्याडन सन्डब्लमले सन् १९३१ देखि विकास गरेका थिए ।
१०. कोकाकोला तयार गर्ने मूल सूत्रलाई लामो समयदेखि अत्यन्त गोप्य राखिँदै आएको छ । सन् २०११ मा उक्त सूत्र एटलान्टास्थित कोकाकोला संग्रहालयमा सारिएको थियो ।
११. कोकाकोलाका उत्पादनहरू विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन् ।
१२. कम्पनीका अनुसार उसका विभिन्न पेय पदार्थलाई जोड्दा दैनिक करिब २.२ अर्ब सर्भिङ उपभोग हुने गर्छ । यो संख्या कोकाकोला मात्रको होइन, कम्पनीका विभिन्न पेय पदार्थको संयुक्त संख्या हो ।
१३. सन् १९८५ मा ‘न्यू कोक’ नामको नयाँ स्वाद बजारमा ल्याइएको थियो । उपभोक्ताबाट ठूलो प्रतिक्रिया आएपछि कम्पनीले जुलाई १९८५ मै पुरानो स्वादलाई ‘कोकाकोला क्लासिक’ नामसहित पुनः बजारमा ल्यायो ।
१४. दोस्रो विश्वयुद्धका क्रममा जर्मनीमा कोकाकोला बनाउन आवश्यक सामग्रीको आपूर्ति रोकिएपछि त्यहाँ कम्पनीले उपलब्ध स्थानीय सामग्री प्रयोग गरेर नयाँ प्रकारको पेय उत्पादन गरेको थियो । यही उत्पादनबाट फान्टाको प्रारम्भिक रूप विकास भएको थियो ।
१५. कोलम्बियामा कोकाकोलासँग सम्बन्धित श्रमिकमाथि हिंसा र श्रमिक अधिकार उल्लङ्घनका गम्भीर आरोप लगाउँदै मुद्दा परेको थियो । कोकाकोला कम्पनीले ती आरोप अस्वीकार गरेको थियो । पछि अमेरिकी अदालतले कम्पनीविरुद्धको उक्त दाबी खारेज गरेको थियो ।
१६. अमेरिकामा कोकाकोलाले जातीय विभेदसम्बन्धी रोजगारी विवाद र मुद्दासमेत सामना गरेको थियो । सन् १९९९ मा अश्वेत कर्मचारीलाई पारिश्रमिक, पदोन्नति र रोजगारीका अवसरमा विभेद गरिएको आरोपसहित ठूलो मुद्दा दायर भएको थियो ।
कोकाकोला केवल एउटा पेय पदार्थको नाम मात्र होइन, यसको पछाडि लामो इतिहास, व्यापार, विज्ञापन, संस्कृति र विवादसँग जोडिएका अनेकौँ रोचक प्रसङ्ग पनि छन् ।
प्रतिक्रिया 4