+
+
Shares
टिप्पणी :

मध्यमार्गी शेखरका दुई भूल

शेखर कोइरालाको मध्यमार्गले यदि काम गर्थ्यो भने पछिल्लो ८ महिनामा कांग्रेस एकढिक्का भइसक्ने थियो । तर कसैले यो मार्ग पत्याएन । किनकि देखिजान्नेलाई थाहा छ– शेखरको मध्यमार्गको गन्तव्य चुनदेवी हो, जहाँबाट सानेपा मोडिने नक्सा र दिशा भेटिन्न ।

दुर्गा खनाल दुर्गा खनाल
२०८३ असोज १ गते २०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि शेखर कोइरालाले १३:४२ बजे सामाजिक सञ्जालबाट महाधिवेशन रोक्न मध्यमार्ग अपनाउन अपिल सार्वजनिक गरे ।
  • शेखर कोइरालाले ५४ प्रतिशत प्रतिनिधिको विशेष महाधिवेशन मागपछि पछि हट्दै केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने भन्दै संस्थापनलाई सहज बनाएको लेखमा भनिएको छ ।
  • लेखमा शेखर कोइरालाको पछिल्ला वर्षको भूमिका मध्यमार्गी नभएको र १५ औं महाधिवेशनमा नेतृत्व जाने सम्भावना कमजोर भएपछि उनले यस्तो अपिल गरेको उल्लेख छ ।

१ असोज, काठमाडौं । १५ औं महाधिवेशनको प्रक्रिया सुरू गर्नुअघि दुई दिनअघि बिहीबार सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ बजेका लागि बोलाइएको थियो ।

बैठक सुरू हुनु करिब २० मिनेटअघि १३: ४२ बजे नेता शेखर कोइरालाले सामाजिक सञ्जालबाट एउटा अपिल सार्वजनिक गरे । उनको अपिलको आसय छ- महाधिवेशन रोकेर मध्यमार्ग अपनाउनुपर्ने ।

यो दृश्य ठ्याक्कै आठ महिना अघि अर्थात् पुस २६ गतेसँग हुबहु मिल्छ ।

२०८२ पुस २६ मा कांग्रेसको विशेष महाधिवेशनको र्‍याली चलिरहेको थियो । एक बजेदेखि सुरू हुने उद्घाटन समारोहमा कांग्रेसका नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूले भृकुटीमण्डपको प्रांगण भरिँदै थियो । करिब १२.४५ बजे नेता शेखरले एउटा भिडियो सन्देश जारी गरे । उक्त भिडियोको पनि मूल सन्देश थियो- विशेष महाधिवेशन रोकेर मध्यमार्ग ।

कांग्रेसभित्र विधि-विधान मान्ने कि विधान मिच्दै अघि बढ्ने भन्नेहरूबीचको निर्णायक संघर्ष चलिरहँदा कोइराला त्यतिबेला पनि मध्यमार्ग भन्दै बसेका थिए । अदातल र निर्वाचन आयोगले पनि आधिकारिकता दिइसकेको कांग्रेसको संस्थापनले अहिले पार्टीको विधान अनुसार महाधिवेशन गर्ने प्रक्रिया अघि बढाउँदा पनि कोइराला मध्यमार्ग भन्दै बस्दैछन् ।

कांग्रेस रुपान्तरणको निर्णायक घडीमा कोइरालाले गत पुसमा पहिलो भूल गरे । अहिले गर्दैछन्, दोस्रो भूल । किनकि, निर्णायक घडीमा निर्णय नगरी तटस्थ बस्नु भनेको क्रमश: आफ्नो औचित्य नै असान्दर्भिक पार्नु हो ।

यद्यपी आफ्नो औचित्य पुष्टी गर्न कोइरालाले भनेका छन्- मध्यमार्ग कठिन मार्ग हो, यही सत्यको बाटो हो ।

May be an image of text that says "कांग्रेस विवाद: शेखर कोईरालाका y अभिव्यक्त्ि α "ា." कांग्रेस विभाजनबाट रोमाशचित हुन सक्दिनँ; एकताबद्ध कांग्रेस नै मैरो सपना हो २ मध्यमार्ग कठिन मार्ग हो, तर यही सत्यको बाटो हो आज हामी न अजेय छोौं, न विजयी; गन्तव्य हराएको माझीजस्तै भएका छों आफनै साथीमाथि असुरक्षा, अपमान र घৃणा पैदा गरेर बनाइएको कांग्रसको महलमा म बस्न सक्दिनँ हाम्रो विवेक मरेको छ भन्रे कुरामा म किमार्थ विश्वास गर्दिनँ I"

मध्यमार्ग भन्दै आफूलाई सत्यवादी देखाउन खोजे पनि कांग्रेसको राजनीतिमा पछिल्ला वर्षहरूमा उनले लिएको बाटो माध्यमार्ग थिएन । त्यसको पछिल्लो उदाहरण हो- देउवा समूहले गत साउनको अन्तिमा गरेको राष्ट्रिय भेला ।

उनी उक्त भेलाका एक हर्तकर्ता थिए । यदी मध्यमार्गी हुन्थे भने पछिल्ला ८ महिनामा कांग्रेस मिलाउन उनको भूमिका हुने थियो, न की एउटा गुटको भेलाका मुख्य अतिथि ।

कोइरालाले बिहीबारको वक्तव्यमा एउटा रोचक वाक्य प्रयोग गरेका छन्- ‘दुःखका साथ भन्नुपर्छ यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन् मलाई थाहा छैन ।’

लामो इतिहास केलाउनै पर्दैन । कम्तीमा विशेष महाधिवेशनसहित १४ औं महाधिवेशन यताको दिनसम्म फर्कियो भने मात्रै पनि थाहा हुन्छ- कांग्रेस विवादको कथाका पटकथाकार उनी पनि हुन् ।

कांग्रेसको १४ औँ महाधिवेशनमा शेखर कोइराला आफैं सभापतिका उम्मेदवार थिए । देउवाको विरुद्ध उनको टिममा गगन थापा लगायतका नेताहरू थिए । पार्टीभित्र परिवर्तनको प्रतीकका रूपमा धेरैले उनलाई हेरेका थिए ।

देउवाजस्तो व्यक्तिसँगको प्रतिस्पर्धामा उत्रिँदा युवा पुस्ताको अपेक्षा पुरा गर्ने, संगठनभित्रको असन्तुष्टि सम्बोधन गर्ने र कांग्रेस रुपान्तरण गर्ने उनका एजेण्डा थिए ।

महाधिवेशनमा उनी पराजित भए । उनको पक्षबाट महामन्त्री गगन थापा लगायतका नेताहरूले जिते । कोइराला पराजित भएपनि महाधिवेशनबाट उनी वैचारिक नेताको रुपमा विजेता बनेका थिए ।

गत वर्ष भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पार्टीभित्र नेतृत्व र नीति रुपान्तरणको बहस चर्कियो । यो बहसमा कोइराला पनि जोडिए ।

नेतृत्व रुपान्तरणका लागि कांग्रेसको महाधिवेशन गर्ने माग आयो । चुनावका कारण नियमित महाधिवेशन गर्न सम्भव नभएको अवस्थामा विशेष महाधिवेशन गरेर भएपनि नेतृत्व र नीतिगत रुपान्तरण हुनुपर्ने आवाज चर्कियो । यस्तो मागको सुरुवात उनी र उनको पक्षका नेताहरूले नै गरेका थिए ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनको सुरुवात शेखरकै चाहनामा भएको थियो ।

गुरुराज घिमिरे, देवराज चालिसे जस्ता उनीनिकट नेताहरूले अभियानको नेतृत्व गरे । तर, हस्ताक्षर संकलन भएर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेपछि कोइराला स्वयं क्रमश : पछि हटे ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो अडानमा टिकाउने भन्दा पनि उनीहरूलाई पछि हटाउन अप्रत्यक्ष भूमिका खेले ।

उनले आफू निकट प्रतिनिधिहरूलाई फोन गरेर हस्ताक्षर नगर्न दबाब पनि दिएका थिए ।

केन्द्रीय समितिमा विशेष महाधिवेशनको प्रस्ताव पुगेपछि उनी पुनः अर्को व्याख्यामा उत्रिए । विशेष महाधिवेशन केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने, नभए पार्टी विभाजन हुने तर्क अघि सारे । यसले संस्थापनलाई सहज बनायो । विशेष महाधिवेशनको दबाबलाई कमजोर बनाउन खोज्यो ।

उनी समेतको मागका आधारमा सुरु भएको विशेष महाधिवेशनको एजेण्डाले वैधानिक मूर्तता पाउँदै थियो त्यही बेला कोइराला विशेष महाधिवेशनको विपक्षमा उभिए ।

महाधिवेशनमा सहभागी भएनन् । देउवा पक्षका ३० जना केन्द्रीय नेता समेत विशेष महाधिवेशनमा सहभागी हुँदा कोइराला गएनन् । अन्तिम समयमा मध्यमार्ग भन्दै भिडियो सन्देश दिएर बसे ।

विशेष महाधिवेशनको बहस पार्टीमा भित्रिएको आकस्मिक मुद्दा थिएन । कांग्रेसभित्रको संस्थागत थकान, लोकान्त्रिक विधिमाथि आएको विचलन, नेतृत्वको दीर्घकालीन जडता विरुद्ध उठेको आवाज थियो । यो एजेन्डाको राजनीतिक स्वामित्व स्वाभाविक रूपमा शेखर कोइरालाकै हातमा जान्थ्यो ।

तर, जब विशेष महाधिवेशन निर्णायक चरणमा पुग्यो, उनी मध्यमार्गको नाममा पछि हटे ।

जीवनभर देउवा भनेर हिँडेका, देउवाकै समूहको नामका आधारमा राजनीतिक लाभ लिएका व्यक्तिहरू समेत अब पार लाग्दैन भन्दै बिहीबार कांग्रेसको संस्थापन समूहमा नै सामेल भएका छन् ।

विश्वास पात्र नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, चन्द्र भण्डारी, सुनील शर्मा लगायतका नेताहरूले समेत उनको साथ छोडे । अहिले उनको आफ्नै समूहमा रहेका नेताहरू पनि धेरै घटिसकेका छन् ।

देउवाका अर्थोडक्स भनेर चिनिने नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, महालक्ष्मी उपाध्याय, सीता गुरुङ, मिन विश्वकर्मा, इन्द्र बानियाँ जस्ता व्यक्तिहरू समेत छोडेर हिँडिसके । उनलाई नै साथ दिने गोविन्द भट्टराईहरू पनि संस्थापनमा सामेल भएका छन् ।

विशेष महाधिवेशनमा सम्पूर्ण एजेण्डाको जस आफूले लिएर अघि बढ्न चुकेका कोइराला अहिले फेरि अर्को निर्णायक मोडमा पनि चिप्लेका छन् ।

किनकि उनका लागि धेरै नेताहरूको नेतृत्व गर्दै पार्टीमा समाहित हुने यो अवसर थियो ।

यो बीचमा पार्टी एकताका लागि भन्दै उनी लगायतले सारेका माग संस्थापन समूहले करिब पुरा गरेको थियो ।

बिहीबार पार्टीको बैठकमा सभापति गगन थापाले समेत शेखर कोइरालासँग भएको सहमतिको कुरा सुनाएका थिए ।

गगनले भने,’हामीले १४ महाधिवेशनबाट बाहिर रहेका सँग संवाद गर्‍यौं । डा. शेखर कोइरालाकै अनुसार महाधिवेशनका सम्पूर्ण काम गर्न सभापति भन्दा फरक उच्चस्तरीय संयन्त्र बनाउने कुरा भयो । सभापति भन्दा बाहिरबाट संयन्त्र बनाउने कुरा पनि शतप्रतिशत स्वीकार्छौं भन्यौं ।’ थापाका अनुसार सहमतिका लागि गरिएका माग करिब पुरा भएका थिए ।

देउवा समूहले क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयलाई ठूलो एजेण्डा बनाएको थियो । सदस्यता नवीकरण नगरी बसेको थियो । त्यो विवादको गाँठो फुकाउन पुरानै सदस्यताले काम गर्ने निर्णय भयो । विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा १४ औं महाधिवेशनबाट निर्वाचितलाई समेट्ने निर्णय पनि औपचारिक रुपमा कांग्रेसले गरेको छ ।

सहमतिका लागि यी काम भइसकेकोले अब अरु नेताहरू छुट्टै बस्नु नपर्ने भन्दै सभापति थापाले अपिल पनि गरेका छन् ।

यता कोइरालाले भने यस्ता विषयलाई गौण ठानेका छन् । बरु उल्टै उनले आफ्नो वक्तव्यमा भनेका छन्- ‘आफ्नै साथीमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर बनाइएको कांग्रेसको महलमा म बस्न सक्दिनँ ।’

May be an image of text

उनले अर्को कुरा पनि भनेका छन्- आज हामी न अजेय छौं, न विजयी; गन्तव्य हराएको माझीजस्तै भएका छौं ।’

यतिबेर शेखर किन ‘असुरक्षा, अपमान र घृणा पैदा गरेर बनाएको कांग्रेसको महलमा बस्न सक्दिनँ’ भन्दैछन् ? किन गन्तव्य हराएको माझीजस्तो ठान्दैछन् ? यसको मनोविज्ञान बुझ्न उनको महत्त्वाकांक्षाको इतिहास पनि पल्टाउनुपर्छ ।

उनी कोइराला परिवारका सदस्य हुन् । कांग्रेसमा कोइराला परिवारको विरासत ढलेर देउवाको हातमा पुगेपछि कसैगरी उनी इतिहास फर्काउन चाहन्थे ।

त्यसैले उनी १४ औं महाधिवेशनमा युवा नेताहरूको साथ लिएर देउवाविरुद्ध उठेका थिए । हारे, तैपनि उनको महत्त्वाकांक्षा जिवितै थियो ।

महाधिवेशनमा हारेपछि पनि उनी आफ्ना गतिविधि लिएर देश दौडाहामा निस्किए । आफ्नो छुट्टै समूह मजबुत बनाउँदै थिए । कसैगरी यो १५ औं महाधिवेशनमा नेतृत्व आउने उनको महत्त्वाकांक्षा थियो ।

तर राष्ट्रिय राजनीतिमा यो बीचमा कोइरालाले केही द्विधाग्रस्त भूमिका खेले । उनी कहिले कांग्रेस–एमाले मिल्नुपर्ने, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने भन्दै बहस गरे । तत्कालीन देउवा पक्षको विपक्षमा उत्रिएर कोशी प्रदेशमा आफू निकट केदार कार्कीलाई एमालेसँग मिल्दै मुख्यमन्त्री नै बनाए । तर पछि त्यही निर्णयको विरुद्धमा आफैं उभिए ।

कांग्रेस–एमालेले सातबुँदे सहमति गरेर गठबन्धन गरे । त्यसको उनले विरोध गरे । कहिले विद्रोही, कहिले समन्वयकारी, कहिले मौन जस्तो देखिने उनको चरित्रप्रति आफ्नै समूहका नेताहरूले पनि उनको भरोसा गर्न छोडे । त्यसैले गगनहरूले पनि छोडे ।

जेनजी आन्दोलनले पुरानो राजनीतिका शैली नै बदलिदिएपछि प्रत्येक पार्टीमा बृद्धपुस्ताको नेतृत्वमाथि प्रश्न उठ्यो । पुराना पार्टीहरुप्रति भत्केको विश्वास बृद्ध नेताहरूले फर्काउन सक्ने अवस्था नरहेको बेलामा तुलनात्मक रुपमा युवाहरू पार्टीको नेतृत्व गर्न अघि सरे । जसका कारण अघिल्लो महाधिवेशनमा उनकै समूहबाट महामन्त्री बनेका गगन सभापति बन्ने स्थिति आयो ।

कुनै पनि हालतमा अब अर्को पुस्तामा नेतृत्व तत्काल नजाने अवस्था रहेकाले कोइरालाको सभापति हुने मनोकांक्षा अब पनि पुरा हुने अवस्था पनि रहेन । त्यसैले आफ्नो राजनीतिक औचित्य स्थापित गर्न उनले मध्यमार्गको कुरा गरेका हुन् । किनकि देउवा लगायतको चुनदेवी समूह रहुन्जेल मध्यमार्गको कुरा गर्ने स्पेस चाहिँ बाँकी नै रहन्छ ।

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?