News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विभाजन रोक्न दुई वटा महाधिवेशन तत्काल रोकिनुपर्ने भन्दै सभापति गगनकुमार थापालाई आग्रह गरेका छन्।
- उनले छुट्टाछुट्टै महाधिवेशन भए कांग्रेस विभाजन हुने र देशमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्व बढ्न सक्ने चेतावनी दिएका छन्।
- खड्काले असोज ३ देखि सुरु हुने १५औं महाधिवेशनको कार्यतालिका स्थगन गरेर देउवा र अग्रज नेतासँग तत्काल वार्ता गर्न पनि भनेका छन्।
१ असोज, काठमाडौं। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजन रोक्न दुई वटा महाधिवेशन तत्काल रोकिनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले सभापति गगनकुमार थापा र पार्टीको संस्थापन इतर समूहलाई छुट्टाछुट्टै महाधिवेशन भए पार्टी विभाजन हुने बताएका हुन्।
‘दुई वटा अलगअलग अधिवेशन रोकिएन भने कांग्रेस पार्टीको विभाजन कसैले रोक्न सक्ने छैन। मेरो अन्तरमनले भन्छ- कांग्रेस पार्टीको विभाजनको केही महिनाभित्र नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत विशेषगरी संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका रहेका दलहरू विभाजन हुनेछन्, गरिनेछन्’ उनले भनेका छन्।
उनले सभापति गगनकुमार थापालाई आग्रह गर्दै आत्म समीक्षा गर्न भनेका छन्।
‘तपाईं आज जुन निर्णयमा पुग्नु भयो त्यो निर्णय वैशाख २१ को हामीबीच भएको संवादपछि त्यहि महिनामा निर्णय गर्नु भएको भए, जेठको पहिलो साताभित्र सिंगो कांग्रेस तपाईंको नेतृत्वमा सानेपा पार्टी केन्द्रीय कार्यालयमा सम्पूर्ण एकताबद्ध भएर जुरुक्क उभिन्थ्यो। देशभरि मात्र होइन संसारभरि रहनु भएका नेपाली काँग्रेसका नेता, सदस्य शुभचिन्तक सबैमा कति ठूलो उत्साहा, हौसला र पार्टी निर्माणका लागि कति ठूलो ऊर्जा सृजना हुन्थ्यो होला,’ उनले भनेका छन्, ‘गम्भीर रुपमा आत्मसमिक्षा गर्दै एकपटक पुनः घोत्लिनुस। समय बलवान हुन्छ, पुनः कठोर संकल्प गर्नुस्।’
उनले असोज ३ गतेदेखि सुरु हुने गरी घोषणा गरेको १५औं महाधिवेशनको कार्यतालिका स्थगन गरी केही समयका लागि सार्न पनि सभापति थापालाई आग्रह गरेका छन्। त्यस्तै उनले निवर्तमान सभापति शेरबहादुर देउवा र अग्रज नेताहरूसँग वार्ता तत्काल सुरु गरी एकता बचाउन पनि भनेका छन्।
यति नभई अधिवेशन हुने अवस्था भए पार्टी विभाजन रोक्न कसैले नसक्ने खड्काको ठम्याइ छ।
आफ्नो अन्तरमनले भनिरहेको भन्दै उनले लेखेका छन्, ‘देशमा जातीय, क्षेत्रीय र धार्मिक द्धन्दको अकल्पनीय रणसंग्राम मच्चिने छ, मच्चाइने छ र हाम्रो प्यारो देश भदौ २४ लाई पनि बिर्साउने गरी भिषण रणसंग्रामको दुश्चक्रमा परिणत हुने प्रबल-प्रबल सम्भावनातिर उन्मुख देखिन्छ। त्यसपछि हाम्रो देशको राष्ट्रियता, भौगोलिक अखन्डता, सार्वभौमसत्ता अनि स्वाभिमानको के होला ?’
उनले गगनलाई तत्काल साहसिक कदम चाल्न पनि आग्रह गरेका छन्।
‘गगनजी म विश्वासका साथ भन्छु कानुन, अदालको निर्णय, पार्टी विधान कुनै कुराले तपाईंलाई कुनै समस्या र अप्ठ्यारो पर्ने छैन- पर्दैन ढुक्क हुनुस! तपाईंले व्यहोरेका सल्लहा, सुझाव र विगतका घटनाक्रम लाई गहिरो शिक्षाका रुपमा निर्ममसमीक्षा गर्दै तत्काल निर्णायक र साहासिक कदम चाल्नुस्। सम्पूर्ण एकताको सिंगो कांग्रेस सभापति बन्नुस्,’ उनले भनेका छन्, ‘यो पूण्य कर्ममा म कुनै पनि महत्वकांक्षाबाट मुक्त भएर जस्तो सुकै त्याग गर्न तयार छु। इमानको सहयोग गर्न तयार छु।’
प्रतिक्रिया 4