१ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापासँग महाधिवेशन रोकेर वार्ता थाल्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले अझै पार्टी एकता सम्भव रहेको बताउँदै यस्तो सुझाव दिएका हुन् ।
‘तपाईं आज जुन निर्णयमा पुग्नुभयो, त्यो निर्णय वैशाख २१ को हामीबीच भएको संवादपछि त्यही महिनामा निर्णय गर्नुभएको भए जेठको पहिलो साताभित्र सिंगो कांग्रेस तपाईंको नेतृत्वमा सानेपा पार्टी केन्द्रीय कार्यालयमा सम्पूर्ण रूपमा एकताबद्ध भएर जुरुक्क उभिन्थ्यो,’ खड्काले लेखेका छन्, ‘देशभरि मात्र होइन, संसारभरि रहनुभएका नेपाली कांग्रेसका नेता, सदस्य, शुभचिन्तक सबैमा कति ठूलो उत्साह, हौसला र पार्टी निर्माणका लागि कति ठूलो ऊर्जा सिर्जना हुन्थ्यो होला ?’
उनले सभापति थापालाई गम्भीर रूपमा आत्मसमीक्षा गर्दै एकपटक पुन: घोत्लिन आग्रह गरेका छन् ।
‘असोज ३ गतेदेखि प्रारम्भ गर्नेगरी घोषणा गरेको १५ औं अधिवेशनको कार्यतालिका स्थगन गरी केही समयको लागि सार्नुस,’ खड्काले भनेका छन् ।
‘तपाईंले पार्टीमा आज गर्नुभएको निर्णयको बलियो जगमा पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति आदरणीय शीर्षनेता शेरबहादुर देउवाज्यु अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता–संवाद तत्काल प्रारम्भ गर्नुस्,’ खड्काले अगाडि भनेका छन्, ‘मलाई आत्मविश्वास छ, पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ ।’
अन्यथा, २ अलग–अलग अधिवेशन नरोकिए कांग्रेस पार्टीको विभाजन कसैले रोक्न नसक्ने उनले बताएका छन् ।
प्रतिक्रिया 4