News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिका अधिकांश पदाधिकारी १५औं महाधिवेशन नजिकिँदै संस्थापन पक्षमा खुलेका छन्।
- कांग्रेसले १६ देखि १९ असोजमा १५औं महाधिवेशन गर्दैछ, र पूर्वउपसभापति पूर्णबहादुर खड्का महाधिवेशनमा भाग नलिने भएका छन्।
- सहमहामन्त्री महालक्ष्मी उपाध्याय, महेन्द्र यादव, जीवन परियार र भीष्मराज आङदेम्बेसहितका नेताहरू पनि संस्थापन पक्षतर्फ गएको लेखमा उल्लेख छ।
३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिका अधिकांश पदाधिकारीहरू संस्थापन पक्षमा खुलेका छन् ।
१४औं महाधिवेशनमा १३ पदाधिकारीमध्ये तत्कालीन संस्थापन पक्षबाट सभापति देउवासहित ८ जनाले जितेका थिए । उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू किशोरसिंह राठोर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय (डिना), महेन्द्र यादव, फरमुल्लाह मन्सुर र उमाकान्त चौधरीले देउवा पक्षबाट जितेका थिए ।
केन्द्रीय सदस्यमा निर्वाचित भई मनोनीतबाट कोषाध्यक्ष बनेका उमेश श्रेष्ठ पनि तत्कालीन समयमा देउवा समूहमै थिए । श्रेष्ठसहित पदाधिकारीको संख्या १४ जनाको थियो ।
१४औं महाधिवेशनमा डा. शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे निर्वाचित भएका थिए ।
शेखर प्यानलबाट उपसभापतिको उम्मेदवार बनेका धनराज गुरुङ निर्वाचित हुँदा देउवा पक्षबाट सोही पदका प्रत्यासी विजय गच्छदार पराजित भएका थिए । महामन्त्रीका अर्का प्रतिस्पर्धी विश्वप्रकाश शर्माले अन्तिम समयमा प्रकाशमान सिंहसँग प्यानल बनाएर जिते । कार्यकारी पद महामन्त्रीमा देउवा पक्षबाट जित्न सकेनन् ।
गत महाधिवेशनमा देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग प्यानल बनाएका थिए । देउवा-सिटौला प्यानलबाट महामन्त्री बनेका डा. प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीमा पराजित भएका थिए ।
१५औं महाधिवेशन नजिकिएसँगै पूर्वसभापति देउवा समूह छोड्ने तत्कालीन पदाधिकारीहरूको संख्या बढेको छ ।

कांग्रेसले १६ देखि १९ असोजमा १५औं महाधिवेशन गर्दैछ । विशेष महाधिवेशनलाई मान्यता नदिन र संस्थापनले गर्न लागेको महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालत गएका पूर्वउपसभापति खड्का पछिल्लो समय संस्थापन पक्षतिर ढल्किएका छन् ।
सर्वोच्चमा पुनरावलोकन रिट लिएर गएको हुँदा महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नैतिकताको प्रश्न उठ्ने हुँदा आफू सहभागी नहुने खड्काको धारणा छ । नेताहरूका अनुसार सभापति थापाको नेतृत्वमा हुने नियमित महाधिवेशनलाई उनले शुभेच्छा व्यक्त गरेका छन् ।
महाधिवेशनको मिति नजिकिएसँगै पूर्वसभापति देउवा निकटका नेताहरूले पूर्वउपसभापति खड्कासँग परामर्श गरेर १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुने निर्णय लिएका छन् ।
पूर्वसंस्थापनका नेताहरूले सोमबार खड्कालाई भेटेका थिए । उक्त भेटघाटमा सहभागी कांग्रेस नेता श्याम घिमिरेले भने, ‘पूर्णबहादुर दाइ महाधिवेशनमा भाग लिनुहुन्न । महाधिवेशन गर्ने कुरामा उहाँको समर्थन छ ।’
विशेष महाधिवेशनको विपक्षमा रहेका र हाल संस्थापनले तोकेको महाधिवेशनको प्रक्रियामा भाग लिने पूर्वकेन्द्रीय सदस्यको संख्या ४० बढी रहने नेता घिमिरेले जानकारी दिए । असोज ३ र ४ गते हुने वडा अधिवेशनका लागि आफू गृहजिल्ला सिन्धुली जान लागेको घिमिरेले जानकारी गराए ।
१४औं महाधिवेशनमा झिनो मतान्तरले उपसभापतिमा निर्वाचित धनराज गुरुङसमेत संस्थापनले तोकेको महाधिवेशनमा भाग लिने मनस्थितिमा रहेको स्याङ्जाका कांग्रेस नेताहरूले बताएका छन् । गुरुङले गत महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट उपसभापति पदमा जितेका थिए ।
विशेष महाधिवेशनको विपक्षमा रहेका गुरुङले सदस्यता अद्यावधिक गरिसकेका छन् । स्याङ्जाका एक नेताले अनलाइनखबरसँग भने, ‘धनराज दाइ महाधिवेशनमा आउन इच्छुक हुनुहुन्छ । उहाँले समूहका नेता शेखरको निर्णय कुर्नुभएको छ ।’
गत महाधिवेशनमा देउवा-सिटौला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका प्रदीप पौडेल गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट खुले । र, महामन्त्री बने ।
महामन्त्री पौडेलले क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक बनेर सदस्यता टुंग्याएका छन् । महामन्त्री पौडेल विधान संशोधन मस्यौदा समितिको संयोजकसमेत छन् ।
कांग्रेसले समावेशिताको आधारमा सहमहामन्त्रीहरू निर्वाचित गर्ने व्यवस्था गरेको छ । गत महाधिवेशनमा ८ सहमहामन्त्रीमध्ये ६ जनाले देउवा पक्षबाट जितेका थिए । हाल ८ सहमहामन्त्रीमध्ये दुई जनाले मात्रै निर्णय गरिनसकेको नेताहरूले जानकारी गराएका छन् ।
आदिवासी जनजाति क्लस्टरबाट देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचित भीष्मराज आङ्देम्बे हाल संस्थापन पक्षमा छन् । उनी प्रतिनिधिसभामा संसदीय दलको नेतासमेत छन् ।

महिला क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित महालक्ष्मी उपाध्याय (डिना) ले सभापति थापा नेतृत्वको महाधिवेशनमा भाग लिने भएकी छन् । पूर्वउपसभापति खड्कासँग परामर्श गरेर उनी महाधिवेशन उन्मुख भएकी हुन् । कांग्रेसका ३१ जना नेताहरूले संयुक्त वक्तव्य निकाल्ने कार्यमा डिनाले नेतृत्वदायी भूमिका खेलेकी थिइन् ।
मुस्लिम क्लस्टरबाट सहमहामन्त्री बनेका फरमुल्लाह मन्सुर विशेष महाधिवेशनको अगुवाइ गर्नेमध्येका एक नेता हुन् । पूर्वसंस्थापनले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशित गर्दा मन्सुरलाई पनि पदमुक्त गरेको थियो ।
मधेशी क्लस्टरबाट देउवा पक्षबाट सहमहामन्त्रीमा निर्वाचित महेन्द्र यादव अहिले संस्थापन पक्षमा लागेका छन् । गत चुनावका उम्मेदवार बनेका यादवले तत्कालीन महामन्त्री थापालाई काउन्टर दिने गरी चुनावपछि महाधिवेशन गर्ने प्रस्ताव त्यसबेला केन्द्रीय समिति बैठकमा ल्याएका थिए । सभापति थापाले चुनावपछि १९ जना केन्द्रीय सदस्य मनोनीत गर्दा यादव पनि परेका थिए ।
दलित क्लस्टबाट सहमहामन्त्री निर्वाचित नेता डा. शेखर कोइरालाका विश्वासपात्र जीवन परियार हाल संस्थापन पक्षमा छन् । स्थानीय तहका निर्वाचनमा पार्टीले बनाउने उम्मेदवारको अध्ययन गर्न गठिन ‘निर्वाचन ब्युरो’मा परियार उपप्रमुख छन् । साथै, महामन्त्री पौडेल संयोजक रहेको विधान संशोधन समितिमा समेत परिवारले जिम्मेवारी पाएका छन् ।
खसआर्यबाट सहमहामन्त्रीमा देउवा पक्षबाट निर्वाचित किशोरसिंह राठोर हाल उक्त समूहमा छैनन् । देउवा पक्षले गरेको राष्ट्रिय भेलामा राठोर सहभागी भएनन् । पूर्वसंस्थापनले गरेको प्रदेश भेलामा राठोर देउवा पक्षकै नेताहरू विरुद्धमा खनिएका थिए ।
देउवा पक्षले लुम्बिनीमा गरेको भेलामा बोल्दै राठोरले सदस्यता अद्यावधिक गर्ने बताएका थिए । साथै, आफू नयाँ पार्टी खुलाउने पक्षमा नरहेको अडान व्यक्त गरेका थिए । त्यसबेला राठोरले भनेका थिए, ‘क्रियाशील सदस्यता अद्यावधिक गरेको छैन, अब गर्छु । सके राजनीति गर्छु । नसके आलु खेती गर्छु ।’
नेता शेखरको प्यानलबाट पिछडिएको भूगोल क्लस्टरमा सहमहामन्त्री निर्वाचित बद्री पाण्डेले महाधिवेशनमा भाग लिने-नलिने निर्णय लिइसकेका छैनन् । नेता शेखरले गर्ने निर्णयका लागि पाण्डेले प्रतीक्षा गरिरहेका छन् । पाण्डे अनिर्णिय रहँदै गर्दा उनले पराजित गरेका सहमहामन्त्रीका उम्मेदवार जीवनबहादुर शाही भने संस्थापनतर्फ लागेका छन् ।
देउवासँग अहिले पूर्वपदाधिकारी उमाकान्त चौधरी मात्रै छन् । १४औं महाधिवेशनमा देउवा समूहबाट थारु क्लस्टरबाट जितेका उमाकान्त चौधरी बाहेक अन्य पदाधिकारी हाल पूर्वसंस्थापनमा छैनन् । नेता सिटौला निकट चौधरी संस्थापन इतरको छुट्टै महाधिवेशनको पक्षमा छन् ।
केन्द्रीय सदस्यमा निर्वाचित भई देउवाले कोषाध्यक्षमा मनोनीत गरेका उमेश श्रेष्ठ हाल सभापति गगन थापा नेतृत्वको कार्यसमितिमा कोषाध्यक्ष छन् । विशेष महाधिवेशनपछि श्रेष्ठले देउवा समूह छोडेका थिए ।
पूर्वपदाधिकारीहरू आफ्नो समूहमा बचाउन नसकेको पूर्वसंस्थापनले प्रदेश सभापतिहरू समेत टिकाउन सकेन । कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिमममा देउवा पक्षका सभापतिले जितेका थिए । हाल सुदूरपश्चिममा वीरबहादुर बलायर बाहेक अन्य सबैले पूर्वसंस्थापन छोडेका छन् ।
जिल्ला सभापतिहरूमा पनि पूर्वसंस्थापनले आफू पक्षधरलाई जोगाउन सकेन । देउवा पक्षले गरेको राष्ट्रिय भेलामा १० जिल्लाका सभापति मात्रै सहभागी भएका थिए । गत महाधिवेशनमा बहुसंख्यक जिल्ला सभापति देउवा पक्षबाट जितेका थिए ।
प्रतिक्रिया 4