+
+
Shares
उदयशमशेर राणासँग वार्ता :

‘विशेष महाधिवेशनले कांग्रेसको जरा जोगायो, अब मतदाताको मन जित्छौं’

विरोध गर्ने पक्षले विशेष महाधिवेशनमै प्रश्न उठाउनुभयो। उहाँहरू विशेष महाधिवेशनसँग खुसी हुनुहुन्न। उहाँहरू नै अदालतमा गएपछि हामीले के गर्ने ? उहाँहरूलाई अदालतको मुद्दा फिर्ता लिन आग्रह गरेका हौं।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते २०:४०

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि नेपाली कांग्रेसको १५औं महाधिवेशन हुँदै छ। वर्षाका कारण केही दिन सारिएको महाधिवेशनले मुख्यगरी नेतृत्व चयन गर्नेछ। सँगै, कांग्रेस बदलिएको सन्देश दिने गरी नीतिगत सन्देश पनि दिने नेताहरूले बताएका छन्।

नयाँ राजनीतिक सन्दर्भमा पार्टीलाई थप ऊर्जा दिने गरी महाधिवेशन सक्ने तयारी भइरहेको उनीहरू बताउँछन्। यसै सन्दर्भमा कांग्रेस सहमहामन्त्री उदयशमशेर राणासँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानी :

महाधिवेशनको तयारी कहाँ पुग्यो ?

हाम्रो उद्घाटन समारोह दुई दिन सारेका छौं। सार्नु उद्देश्य होइन। तर बाढीपहिरोका कारण विशेष गरेर कतिपय पहाडी जिल्लामा बाटो बन्द भयो। पानीका कारण क्षेत्रीय अधिवेशन ढिलो हुन पुग्यो। अझै पनि कतिपय जिल्ला कटअफ छन्।

त्यसैले केही ढिलो गर्ने सोच पनि बनाएका थियौं। तर दसैंको मुखमा पुगिसकेपछि धेरै टाढा लैजान सक्ने अवस्था भएन। कतिपय क्षेत्रमा मौसमका कारण अधिवेशन गर्न अप्ठ्यारो भइरहेको छ। तर १६ गतेसम्म लगभग सबै प्रक्रिया टुङ्गिएर अन्तिम सूची आउने हाम्रो अपेक्षा थियो।

महाधिवेशन सार्नुलाई कतिपयले राजनीतिक कारणसँग पनि जोडिरहेका छन् नि ?

दुई दिनअघि हुम्लाका जीवन शाहीसँग कुरा गरेको थिएँ। उहाँले भन्नुभयो- ‘उदयजी ! हाम्रो त बाटो नै छैन। हिँडेर आउनुपर्ने परिस्थिति छ। करिब ३५ जना प्रतिनिधिलाई प्लेनमा हालेर ल्याउन सकिँदैन। कसरी आउने ?’ अझै १८ गते पनि गाह्रो हुन्छ भन्ने उहाँको कुरा थियो।

अरू पनि यस्ता जिल्लाहरू छन्। विशेष गरेर हिमाली र विकट जिल्लामा समस्या छ। तर पनि १५औं महाधिवेशनमा सहभागी हुन उत्साहित हुनुहुन्छ। हिँडेरै भए पनि काठमाडौं आउनुहुन्छ।

फेरि निकै पर धकेल्न पनि गाह्रै छ। विदेशी पाहुनादेखि देशभरका साथीहरूलाई महाधिवेशनमा केन्द्रित गरिसकेका छौं।

दसैं–तिहारपछि गर्न पनि सकिन्थ्यो होला नि ?

प्रक्रिया अघि बढिसकेको छ। फेरि अदालतको निर्णय पनि आइसकेको छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा- प्रक्रिया अघि बढिसकेपछि नरोकौं भन्ने हो। रोक्यौं भने त्यसले राम्रो सन्देश जाँदैन।

कांग्रेस अदालतसम्म पुगेको अवस्थालाई तपाईं कसरी हेर्नुहुन्छ ?

विशेष महाधिवेशनमा चुनावअघि गयौं। चुनावमा राम्रो परिणाम आएन। त्यसपछि सबै साथीलाई समेटेर जाने प्रयास गर्‍यौं। निर्वाचन आयोगले हामीलाई आधिकारिकता दिएको थियो। त्यही आधारमा गगन थापाको हस्ताक्षरमा म लगायत धेरै साथीहरू चुनावमा उहाँको टिकट लिएर गयौं।

शेखर दाइले पाँच बुँदे माग राख्नुभयो। पूर्ण दाइले सात बुँदे माग राख्नुभयो। हामीले सबै माग पूरा गरिसक्यौं।

त्यति नै पर्याप्त हुनुपर्ने हो। तर त्यसपछि पनि मुद्दा अदालतमा गयो। अदालतले निर्णय दियो। फेरि उहाँहरूले रिट हाल्नुभयो। जबकि विशेष महाधिवेशन कांग्रेसको विधानभित्र बसेर गरिएको हो। त्यसलाई राजनीतिक प्रक्रियाबाटै समाधान गर्नुपर्ने हो। राजनीतिक पार्टी धेरै अदालतमा घुमिरहनु हुँदैन। हामी जनतामा जाने हो, कार्यकर्तामा जाने हो।

तर विरोध गर्ने पक्षले विशेष महाधिवेशनमै प्रश्न उठाउनुभयो। उहाँहरू विशेष महाधिवेशनसँग खुसी हुनुहुन्न। उहाँहरू नै अदालतमा गएपछि हामीले के गर्ने ? उहाँहरूलाई अदालतको मुद्दा फिर्ता लिन आग्रह गरेका हौं।

शेखर दाइले पाँचबुँदे माग राख्नुभयो। पूर्ण दाइले सातबुँदे माग राख्नुभयो। हामीले सबै माग पूरा गरिसक्यौं। एउटा सदस्यता अद्यावधिक गर्ने विषय थियो। हामीले सदस्यता अपडेट गर्नैपर्छ भनेका थियौं। धेरै क्रियाशील सदस्यको फोन नम्बरसमेत थिएन।

अहिले स्थानीय तहको निर्वाचनमा डिजिटल अभियान चलाउने हो भने क्रियाशील सदस्यको फोन नम्बरसमेत आवश्यक हुन्छ। त्यसमा उहाँहरूको असहमति रह्यो।

त्यसपछि १४औं महाधिवेशनमा भाग लिएका, पार्टीमै रहेका र कानुनले पार्टीमा आबद्ध हुन रोक नलगाएका साथीहरूलाई फेरि प्रक्रियामा सहभागी हुने बाटो खुला गर्‍यौं। पुरानो कमिटीका जोजो साथी केन्द्रमा आउन चाहनुहुन्छ, उहाँहरूलाई पनि खुला गर्‍यौं। त्यसैले हाम्रा हिसाबले उहाँहरूले उठाएका माग सम्बोधन भइसकेका छन्।

अब मागहरू पूरा भइसकेपछि अदालतको मुद्दा फिर्ता लिएर सँगै महाधिवेशनमा जानुपर्ने हो।

महाधिवेशनको अध्यक्षता शेरबहादुर देउवालाई गर्न दिएर नेतृत्व चयनमा जाँदा एकताबद्ध कांग्रेस हुने एक नेताको अभिव्यक्ति सुनिएको थियो। यो सम्भव कुरा हो ?

अब यो विकल्पको समय सकियो होला। यदि बीचमा कुरा भएको भए…। तर लामो समयसम्म शेरबहादुर दाइले हामीसँग कुरा गर्न पनि चाहनुभएन। दुई–चारचोटि फोन गरेर सभापतिले समय पनि माग्नुभयो। तर समय नपाएको कुरा सार्वजनिक भइसकेको छ। अदालतको निर्णय कुरेर बस्नुभयो।

१५औं महाधिवेशनपछि पनि अदालत जानैपर्ने स्थिति बन्दै छ। किनकि दुईवटा कांग्रेस औपचारिक रूपले रहन त सम्भव…

अदालतको विषयमा धेरै बहस गरिरहनु जरुरी छैन होला। किनभने निर्वाचन आयोगले निर्णय गरिसकेको हो। तर अदालतमा जानुभयो। अदालतको पुनरावलोकनले पनि निर्णय आइसकेपछि त्यसैमा धेरै अल्मलिरहनु हुन्न। फेरि माग सबै पूरा भइसकेको छ।

तर ‘हामीमाथि अन्याय भइरहेको छ र न्याय पाउनुपर्छ’ भनेर उहाँहरूले भनिरहनुभएको छ नि ?

अन्याय कसरी ?

तत्कालीन नेतृत्व विशेष महाधिवेशनप्रति सहमत थिएन। तर त्यो पक्षको असहमतिबीच पेलेर जानुभयो, र वैधानिकता लिनुभयो। उहाँहरूलाई अन्याय भएको छैन र ?

विधानमा टेकेर हिँड्ने हो। विधानले ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनमा जाने भनेर प्रस्ताव राखिसकेपछि तीन महिनाभित्र गरिसक्नुपर्छ।

फेरि पुराना पार्टी र नेतृत्वको छवि जेन–जी आन्दोलनपछि नकारात्मक बनेको थियो। त्यसलाई सच्याएर पार्टी सदस्य रोक्न पनि रूपान्तरण आवश्यक थियो।

तर राजनीति भनेको प्रतिशत मात्र नभएर डिल पनि होला नि ?

नेपालमा पटकपटक डिल र सम्झौता गर्दै आएका छौं। सरकार बनाउँदा पनि दुई पार्टीबीच डिल हुन्छ, फेरि भत्कन्छ, अर्को डिल हुन्छ। हाम्रो भनाइ के हो भने, विशेष महाधिवेशनमार्फत राजनीतिक प्रक्रियाबाटै अघि बढ्नुपर्छ।

विशेष महाधिवेशन भइसकेपछि सबै एक ठाउँमा उभिऔं। नेतृत्व कार्यकर्ताले छान्ने हो, डिल गरेर नेतृत्व छान्ने होइन।

उहाँहरू प्रक्रियामा आउनुभएको भए हामीले निष्पक्ष निर्वाचनका लागि छुट्टै समन्वयकारी निकाय बनाउने, त्यसमा दुई पक्ष वा तीन पक्षका साथी राख्ने र निर्वाचन निष्पक्ष रूपमा गराउने प्रस्तावसमेत गरेका थियौं। त्यो पनि उहाँहरूले पहिला स्वीकार गर्नुभएको थियो। पछि ब्याक हुनुभयो।

राजनीतिक पार्टी निर्माण गर्न, राजनीतिक पार्टीलाई सक्रिय बनाउन दुई–चार जना कोठामा बसेर टेबलमा डिल गरेर मात्रै हुँदैन। जनतामाझ जानुपर्छ, कार्यकर्तामाझ जानुपर्छ।

तर पुरानो पुस्ताका नेताहरूलाई छाड्दै जानुभएको आरोप पनि छ नि ?

हामीले छाडेका छैनौं। उहाँहरू आउन नचाहनुभएको हो।

जो नेताहरू अलग हुनुहुँदै छ, उहाँहरूसँग जस्तो विरासत छ, जस्तो सङ्घर्ष, त्याग र इतिहास छ; त्यो सबै बिर्सन राजनीतिक धर्मले मान्छ ?

मान्दैन। त्यसैले क्षेत्रीय अधिवेशनहरू सकिँदै गर्दा पनि विशेष महाधिवेशनमा सहभागी नभएका पुराना नेताहरूलाई पनि १५औं महाधिवेशनमा सहभागी गराउने बाटो खुला राखेका छौं। उहाँहरूलाई ‘महाधिवेशन महासमिति प्रतिनिधिमा मनोनीत गर्छौं’ भनेर सार्वजनिक रूपमै भनिसकेका छौं।

शेरबहादुर देउवालाई पनि मनोनीत गर्नुहुन्छ ?

उहाँले चाहनुभयो भने गर्छौं। जोजो केन्द्रीय सदस्यहरू अथवा निवर्तमान केन्द्रीय सदस्यहरू जसले वडा अधिवेशनमा भाग लिनुभएन, तर चाहनुभयो भने उहाँहरूलाई सिधै महाधिवेशन प्रतिनिधि मनोनीत गर्छौं। शेरबहादुर देउवालाई ‘महाधिवेशन उद्घाटन गरिदिनुस्’ पनि भनेकै छौं।

सभापतिका रूपमा उद्घाटन गर्न नदिने, तर सम्मानचाहिँ दिने ?

अहिले पनि निमन्त्रणा छ। ‘आउनुस्, हाम्रो अभिभावक बनिदिनुस्।’ उहाँको त्याग र अनुभवलाई सम्मान गर्ने र अभिभावकका रूपमा लिने हो। उहाँ पाँचपटक प्रधानमन्त्री बन्नुभयो, दुईपटक पार्टी सभापति बन्नुभयो।

तर ‘विशेष महाधिवेशन पक्षधरले राजनीतिक परिस्थिति बुझ्नै नसकेकाले २१ फागुनको निर्वाचनमा पराजित हुनुपरेको’ तर्क पनि भइरहेको छ नि ?

निर्वाचनको परिणाम त भदौ २३ र २४ मा जेन–जी आन्दोलनकै बेला बिग्रिसकेको रहेछ। हामीलाई यति धेरै क्षति भएको रहेछ, हाम्रो छवि यति धेरै बिग्रिएको रहेछ भन्ने हामीले कल्पना नै गरेका थिएनौं। ‘जनतामा हाम्रोप्रति यति धेरै फ्रस्ट्रेसन रहेछ’ भन्ने पनि निर्वाचनमै बुझियो।

निवर्तमान केन्द्रीय सदस्यहरू जसले वडा अधिवेशनमा भाग लिनुभएन, तर चाहनुभयो भने उहाँहरूलाई सिधै महाधिवेशन प्रतिनिधि मनोनीत गर्छौं। शेरबहादुर देउवालाई ‘महाधिवेशन उद्घाटन गरिदिनुस्’ पनि भनेकै छौं।

म आफैं पाँचवटा चुनाव लडिसकेको छु। यति धेरै कार्यकर्ता यसअघि कहिल्यै परिचालित भएका थिएनन्। तर कार्यकर्ता परिचालित भए पनि परिवारका सदस्यले हामीलाई मत नदिने अवस्था आयो। यो मेरो मात्रै अनुभव होइन, धेरैको अनुभव हो।

हामीप्रति पैदा भएको फ्रस्ट्रेसनलाई सामाजिक सञ्जाल र मिडियाको एल्गोरिदमले पनि ठूलो बनायो। अहिले रास्वपा र प्रधानमन्त्रीले सामाजिक सञ्जाल प्रयोग गर्ने जुन शैली अपनाउनुभयो, त्यसको प्रभाव पनि पर्‍यो।

तर यो उहाँहरूलाई मात्र दोष दिने कुरा होइन। त्यो हाम्रो कमजोरी पनि हो। हामीले ‘आफू रूपान्तरित कांग्रेस हौं, हामी फरक हौं, नयाँ ढङ्गले आएका छौं’ भन्ने सन्देश जनतासम्म पुर्‍याउन सकेनौं।

‘विशेष महाधिवेशन पक्षधरले कुरा नबुझेको’ तर्कमा सहमत हुनुहुन्न ?

हाम्रो व्याख्या स्पष्ट छ। पछिल्ला पाँच–सात वर्षमा राजनीतिक डिल धेरै भए। सरकार परिवर्तन धेरै भए। भ्रष्टाचारका काण्डहरू बाहिर आए। युवाले ‘अब देशमा केही हुन्छ’ भन्ने अपेक्षा राखेका थिए। त्यो अपेक्षाअनुसार परिणाम आएन।

त्यसबाट ठूलो फ्रस्ट्रेसन पैदा भयो। त्यसको राजनीतिक लाभ बालेन शाह र रास्वपाले लिइदियो। विशेष महाधिवेशनले कांग्रेसलाई धेरै सुधार गर्‍यो। चुनावको दुई दिनअघि मात्र विशेष महाधिवेशन गरेर त्यसको परिणाम चुनावी सूचकमा देखिँदैन।

महत्त्वपूर्ण कुरा के हो भने- कांग्रेसको ग्रासरुट आधार, कार्यकर्ताको जरा टुटेन। हामीले विशेष महाधिवेशन नगरेको भए त्यो जरा पनि बिग्रिन्थ्यो, कुहिन्थ्यो। त्यसैले हामीले त्यो जरा जोगायौं।

पुराना पार्टीहरूको मुभमेन्टसँग हाम्रो मुभमेन्ट तुलना गर्न सकिन्छ। हाम्रो विधानमै प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका तीन–तीन जना र केन्द्रमा २१ जना ल्याउने व्यवस्था गरेका छौं। यो नयाँ सोच हो। अहिले राजनीतिक पार्टीहरूले नगरेका कार्यक्रम पनि हामीले गरिरहेका छौं। ग्रीन टेबलका कार्यक्रम गर्‍यौं, ग्रीन रन गर्‍यौं, जिल्लाजिल्ला फर्कियौं।

विशेष महाधिवेशनले कार्यकर्ताको मन बुझाएको छ, तर मतदाताको मन बुझाउन बाँकी छ ?

मन बुझाउन रूपान्तरण आवश्यक छ। हाम्रो लक्ष्य भनेको स्थानीय तह र प्रदेशको निर्वाचन हो। ‘कायापलट गर्छु’ भन्ने होइन। तर विगतभन्दा हाम्रो प्रदर्शन धेरै माथि जान्छ।

१५औं महाधिवेशनले कांग्रेसलाई समाजमा कस्तो सन्देश दिनुपर्छ ?

महाधिवेशनले ‘हामी पुरानै ठाउँमा फर्कियौं’ भन्ने सन्देश दिनुहुँदैन। हामी अहिलेको सत्तारूढ दलभन्दा फरक हुनुपर्छ। हाम्रो स्पष्ट भिजन महाधिवेशनबाट आउनुपर्छ।

अहिले अर्थतन्त्रमा सबैले आशा गरेका थिए। व्यापारीदेखि युवाले सम्म ‘नयाँ सरकारले केही गर्छ’ भन्ने अपेक्षा राखेका थिए। तर अहिले ६ महिना पुग्न लाग्दा कुनै एउटा क्षेत्रमा मात्रै पनि ‘वाह !’ भन्ने ठाउँ सरकारले दिन सकेन भन्ने असन्तुष्टि छ भने त्यसको विरोध मात्र गरेर हुँदैन।

यसको विकल्प के हो ? कांग्रेसले त्यो पनि बताउनुपर्छ। त्यसैले १५औं महाधिवेशनमा गहन छलफल हुन्छ। त्यसपछि आउने केन्द्रीय कार्यसमितिले त्यसलाई व्यवहारमा कसरी उतार्ने ? भन्नेमा काम गर्नुपर्छ।

सरकारप्रति कांग्रेसको असहमति के हो ?

अहिलेको सरकारले ‘रुल अफ ल’ भन्दा ‘रुल बाई ल’ तिर गएको झलक हामीले केहीपटक देखिसकेका छौं। यसमा हाम्रो ठूलो आपत्ति छ।

नेपालको नियम, कानुन र संविधानभन्दा बाहिर जाने सङ्केत हामीले देखेका छौं। हामीले सरकारलाई सहयोग गर्न चाहन्छौं। विपक्षीका रूपमा सरकार जहाँ राम्रो गर्छ, त्यहाँ सहयोग गर्नुपर्छ। जहाँ गल्ती गर्छ, त्यहाँ आवाज उठाउनुपर्छ। हाम्रो भूमिका त्यही हो।

रास्वपा सरकारको आर्थिक नेतृत्व गरिरहेका नेता स्वर्णिम वाग्ले कांग्रेस स्कुल कै उत्पादन हुन्। उनलाई कांग्रेसको कमजारी त पर्याप्त थाहा होला नि ?

स्वर्णिमजीलगायत अरू साथीहरू हाम्रो स्कुलका विद्यार्थी हुन्। उहाँहरूले हाम्रो कमजोरी बुझ्नुभएको छ, कुनै शङ्का छैन। तर उहाँहरूले पुरानो कांग्रेस बुझ्नुभएको छ। हामीले अर्कै हिसाबको कांग्रेस बनाउँदै छौं।

हामीले विशेष महाधिवेशन नगरेको भए त्यो जरा पनि बिग्रिन्थ्यो, कुहिन्थ्यो। त्यसैले हामीले त्यो जरा जोगायौं।

हामी टोटल्ली चेन्ज भएको पार्टी हौं। हाम्रा कमजोरीबाट हामीले पनि सिकेका छौं। आफैंलाई परिवर्तन गरेर आएका छौं। हाम्रो पार्टी सभापतिले ‘दास र लासको पार्टी होइन’ भन्ने कुरा गर्नुभएको थियो। मैले पनि कांग्रेसभित्र यति ठूलो विद्रोह आवश्यक पर्छ, यस्तो विशेष महाधिवेशन हुन्छ भन्ने सोचेको थिइनँ।

विशेष महाधिवेशन एक किसिमको विद्रोह हो। कांग्रेसको इतिहासमा यस्तो प्रक्रिया पहिले भएको थिएन। कांग्रेस सधैं सहमतिबाट चल्ने पार्टी थियो। सहमतिबाट सेफ ल्यान्डिङ गराउन नसकेपछि विद्रोहको बाटोमा जानुपर्‍यो।

१५औं महाधिवेशनले ल्याउने नेतृत्वबारे के भन्नुहुन्छ ?

हामी सकेसम्म यसपालि सभापतिसहित केही पदाधिकारीमा सर्वसम्मति गरेर सबै साथीलाई समेट्न सकिन्छ कि भन्ने सोचमा छौं।

विशेष महाधिवेशनमा सहभागी भएका, त्यसपछि चुनाव लडेका र गगन थापाकै हस्ताक्षरमा टिकट लिएर चुनाव लडेका धेरै साथीहरू छन्। कोही केन्द्रमा बसेर सहयोग गर्नुभयो, कोही बाहिर बसेर सहयोग गर्नुभयो।

अहिले धेरै साथीहरू फेरि कांग्रेसमै रहने, ‘चार तारा र रूख छाड्न नसकिने’ भन्दै आएका छन्। उहाँहरूलाई समेट्नुपर्छ। त्यसैले सर्वसम्मत नेतृत्व चयनको प्रयास हुन्छ। सभापति मात्रै होइन, अरू केही पदमा पनि सहमति भयो भने राम्रो हुन्छ।

तर सर्वसम्मतिको नाममा लोकतान्त्रिक प्रक्रिया नियन्त्रण हुने जोखिम हुँदैन ?

त्यस्तो होइन। अहिले छलफल भइरहेको छ। कसरी सबैलाई समेट्ने ? भन्ने प्रयास हो। १५औं महाधिवेशन एकताको महाधिवेशन बनोस् भन्ने हाम्रो चाहना हो। धेरै तिक्तता आएको छ। त्यसलाई कसरी मेटाउने ? भन्ने हो। तर अन्तिम विकल्प चुनाव नै हो। प्रक्रिया अपनाउनैपर्छ।

पहिला कुनै प्रकारको समझदारी हुन सक्छ कि भन्ने हाम्रो चाहना हो। एकताको प्रयास महाधिवेशन सकिएपछि पनि अन्त्य हुँदैन।

तपाईंको आफ्नै राजनीतिक तयारी के छ ?

गगन थापालाई सर्वसम्मत बनाउने प्रक्रियामा जान्छौं। त्यो प्रक्रियामा जाँदा सबै साथीले केही न केही त्याग गर्न तयार हुनुपर्छ। ‘मलाई यही चाहियो’ भनेर सबै जना आआफ्नो ठाउँमा अडिने हो भने एकता बन्दैन।

म आफैं लचिलो हुन तयार छु। तर चुनावकै प्रक्रिया भयो भने महामन्त्रीमा उम्मेदवारी दिने मेरो विचार छ। केही नेताहरूसँग त्यसबारे छलफल गर्नुपर्छ। केही समझदारी पनि बनाउनुपर्छ।

अन्त्यमा, १५औं महाधिवेशनले नेपाली समाज र कांग्रेसको पार्टी जीवनलाई कस्तो सन्देश दिनुपर्छ ?

पहिलो कुरा— कांग्रेस बोर्डरुममा बसेर मात्र चल्ने पार्टी हुनुहुँदैन। धेरै हदसम्म हामी बोर्डरुममा बसेर निर्णय गर्ने भएका छौं। त्यसले हामीलाई पब्लिकबाट टाढा बनाएको छ।

हामी केही समय कार्यकर्ता केन्द्रित पनि भयौं। विभिन्न कम्युनिस्ट पार्टीसँग मिलेर जाँदा सङ्गठन र कार्यकर्तालाई बढी केन्द्रमा राख्यौं। त्यसैले अब फेरि पब्लिकमा जानुपर्छ।

पछिल्लो छ महिनामा हामीले गरेका धेरै कार्यक्रम पब्लिक केन्द्रित छन्। कार्यकर्ताको सङ्गठन मात्रै बनाउने होइन, जनतासँग पनि सम्बन्ध बदल्नुपर्छ।

दोस्रो कुरा— बीपीको सिद्धान्त र सुवर्णशमशेरको विचारलाई हामीले बिर्सिँदै गएको भन्ने कांग्रेसका शुभेच्छुकहरूको गुनासो छ। त्यसलाई पनि फेरि हेर्नुपर्छ।

हामीले धेरै समय पार्टी र कार्यकर्ताको चासोलाई जनताभन्दा माथि राख्यौं। अब सोच बदल्नुपर्छ। पहिला पब्लिक, त्यसपछि पार्टी र कार्यकर्ता, अनि नेता भन्ने प्राथमिकता बनाउनुपर्छ।

(तस्बिर/भिडियो : कमल प्रसाईं/अनलाइनखबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?