१५ असोज, काठमाडौं । एउटा पार्टी, जसले राणा शासन ढाल्यो। पञ्चायतविरुद्ध संघर्ष गर्यो। बहुदलीय व्यवस्था फर्कायो। सशस्त्र आन्दोलन गरिरहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेल्यो।
राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्ने यात्राको नेतृत्व गर्यो। र संविधान निर्माणमा पनि निर्णायक भूमिका खेल्यो। राजनीतिक इतिहास बदल्न भूमिका खेल्ने नेपाली कांग्रेस आफैं चाहिँ समयअनुसार बदलिन सकेन ।
बीपी कोइरालादेखि गगन थापासम्म आइपुग्दा कांग्रेसको नेतृत्व धेरैपटक फेरियो । व्यवस्था बलियो। जनताका अपेक्षा फेरिए ।
बीपी कोइराला लगायतका नेताहरूको पहलमा २००३ सालमा स्थापना भएको कांग्रेसदेखि अहिले गगन थापा नेतृत्वको कांग्रेससम्म आइपुग्दा यो पार्टी कति बदलियो, सत्ताको खेल कसरी खेल्यो र आफैं चाहिँ रुपान्तरणको संक्रमणमा कसरी पर्यो ?
१५ औं महाधिवेशनको सन्दर्भमा यी विषय चर्चायोग्य छन् ।

कांग्रेस हाल अस्तित्वमा रहेका राजनीतिक दलहरू मध्ये नेपालको सबैभन्दा पुरानो दल हो । यो दलको इतिहाससँग आधुनिक नेपालको राजनीतिक परिवर्तनको एउटा ठूलो हिस्सा जोडिएर आएको छ ।
राणा शासनविरुद्धको संघर्षदेखि गणतन्त्रको स्थापना, संविधान निर्माणदेखि अहिलेको जेनजी विद्रोहसम्म आइपुग्दा कांग्रेस कहिले परिवर्तनको अगुवा बनेको छ । कहिले आफैं परिवर्तन र रुपान्तरणको बाधकजस्तो पनि देखिएको छ। ८० वर्षे इतिहासको यही कालखण्डभित्र कांग्रेस कहिले शक्तिशाली बनेको छ । कहिले निकै कमजोर भएर ख्याउटिएको छ ।
आजको कांग्रेसलाई बुझ्न बीपी कोइरालाबाट सुरु गरेर गगन थापासम्म आइपुग्नुपर्छ। तर समयको पदचाप चाहिँ यसरी बदलिएको छ कि, गगन भन्दा पछिल्लो पुरस्ता जेनजीले नेपालमा नेतृत्व गर्न थालिसकेको छ ।
त्यसैले अहिले कांग्रेस कति ठूलो पार्टी भन्ने होइन, यो समय अनुसार कति बदलिन्छ कि बदलिन्न भन्ने प्रश्न खडा भएको छ ।
बीपीको कांग्रेस : सत्ता प्राप्तिको होइन, व्यवस्था परिवर्तन अगुवा
कांग्रेसको वैचारिक विजारोपण २००३ सालमा भएको थियो । २००३ सालमा बीपी कोइराला लगायतका नेताहरूको पहलमा नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेसको गठन भयो । यता २००५ सालमा सुवर्णसम्मेशहरूको सक्रियतामा प्रजातन्त्र कांग्रेस पार्टी बन्यो । यी दुवै पार्टी मिलेर २००६ सालमा नेपाली कांग्रेस बनेपछि यसले राणा शासन अन्त्य गरी जननिर्वाचित शासन स्थापना गर्ने लक्ष्य राख्यो ।
२००७ सालको जनक्रान्ति कांग्रेसको पहिलो ठूलो राजनीतिक परीक्षा थियो। उक्त परीक्षामा कांग्रेस सफल भयो । राणा शासनको अन्त्य भयो।
त्यसपछि २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गर्यो र बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। २००७ देखि २०१५ सालसम्मको अवधिमा कांग्रेसभित्र विग्रह आयो । मातृकाप्रसाद कोइराला र बीपी कोइराला, जो आफैं दाजुभाई हुन् । उनीहरूको टकरावले २०१० सालमै पार्टी विभाजित भयो । मातृकाप्रसाद कोइरालाले राष्ट्रिय प्रजापार्टी गठन गरे ।
बीपीको कांग्रेसले सत्ता पाएको केही समयमै नेपाली राजनीति निरंकुशताको बाटोतर्फ मोडियो । २०१७ पुस १ गते राजा महेन्द्रले निर्वाचित सरकार र संसद् विघटन गरे । राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । पञ्चायती व्यवस्था सुरु गरे । कांग्रेसका नेताहरू जेल र निर्वासनमा गए। बीपीले लामो जेलजीवन र निर्वासन भोगे।
३० वर्षे पञ्चायत र त्यसपछिको यताको राजनीतिमा कांग्रेसमा मूलत दुई संघर्ष देखा परे । एउटा राजतन्त्रसँगको संघर्ष र अर्को पार्टीभित्र नेतृत्वको टकराव ।
बीपी रहुन्जेल राजनीतिक संघर्षमा केन्द्रित कांग्रेस उनको निधनपछि व्यक्तित्वको टकरावमा रुमल्लियो ।

२०४६ सालको जनआन्दोलनमा कांग्रेस र वाम शक्तिहरूबीच सहकार्य भयो । गणेशमान सिंह आन्दोलनका सर्वोच्च कमान्डर बने। पञ्चायती व्यवस्था ढल्यो र बहुदलीय व्यवस्था पुनःस्थापित भयो। तर कांग्रेसमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूको अन्तरविरोध चुलियो ।
कांग्रेसले २०४८ सालमा बहुमत प्राप्त गर्यो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो। कांग्रेसले उदार अर्थतन्त्र, निजी क्षेत्र, ग्रामीण विकास, स्थानीय संस्थाको निर्वाचन तथा विकासका पूर्वाधार विस्तारमा काम अघि बढायो ।
तर यही कालखण्डमा कांग्रेसको राजनीतिक चरित्र बिटुलियो । राणा शासन फालेको, पञ्चायतविरुद्ध सडकमा संघर्ष गरेर आएको कांग्रेस सत्ता सञ्चालनको अवसर पाउनेबित्तिकै गुटबन्दीमा रुमल्लियो । सांसद् मन्त्री पदको लुछाचुँडी, राजनीतिक नियुक्ति, आर्थिक स्रोतको दोहन जस्ता विकृति वाहक बन्यो । कांग्रेसमा पुरानो आदर्श र नयाँ व्यवहारबीच दूरी देखियो ।
२०५१ : बहुमत सम्हाल्न नसकेर मध्यावधि
२०४८ सालमा बहुमत प्राप्त कांग्रेसले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेन। संसद्मा गिरिजाप्रसाद कोइराला नेतृत्वको आफ्नै पार्टीको सरकार बिरुद्ध कांग्रेसकै सांसद विपक्षमा उत्रिए । जहाँबाट चौहत्तरे र छत्तिसे समूहको जन्म भयो । पार्टीभित्रको विवादका कारण २०५१ सालमा मध्यावधि निर्वाचन भयो र कांग्रेस दोस्रो दलमा झर्यो ।
जनताले दिएको बहुमतभन्दा पार्टीभित्रको शक्ति संघर्ष ठूलो भयो भने के हुन्छ ? कांग्रेसले त्यसबेला सिकाएको पाठ हो यो ।
२०५६ सालमा कांग्रेस फेरि बहुमतमा फर्कियो। कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारलाई गिरिजाप्रसाद कोइराला समूहले टिक्न दिएन । भट्टराई सत्ताबाट हटे, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। त्यसपछि कांग्रेसमा सिधा टकराव गिरिजा र शेरबहादुर देउवाको सुरू भयो ।
देउवा–गिरिजा संघर्ष : फुटको घाउ
कांग्रेसको सबैभन्दा चर्चित विभाजनमध्ये एउटा २०५९ सालको विभाजन हो। माओवादी हिंसात्मक द्वन्द्व चर्किरहेका बेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए। संसद् विघटन, संकटकालको निरन्तरता र निर्वाचनको प्रश्नमा गिरिजाप्रसाद कोइरालासँग उनको गम्भीर मतभेद भयो। अन्ततः देउवा अलग भएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्न पुगे।
त्यो विभाजन पार्टी फुटेको घटना मात्र थिएन। त्यसले नेपालको अस्थिर राजनीतिलाई अझ जटिल पनि बनायो । संसद् विघटन भयो, निर्धारित समयमा निर्वाचन हुन सकेन । त्यसपछि नेपालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष निरंकुश शासन सुरू भयो ।
लोकतन्त्रका लागि संघर्ष गरेको पार्टी आफैंभित्र लोकतान्त्रिक सहमति कायम गर्न नसक्दा कसरी असफल हुन्छ भन्ने यो एक दृष्टान्त थियो ।

गिरिजाप्रसाद : सत्ताका खेलाडी,निर्णायक रुपान्तरणका पात्र
कांग्रेस इतिहास र सत्ता राजनीतिको मैदानमा पहिलो पुस्ताका नेताहरू मध्ये गिरिजाप्रसाद कोइरालालाई निकै चतुर खेलाडी मानिन्छ । सत्ताकै झगडाका कारण उनकै पालमा कांग्रेस विभाजित समेत भयो ।
तर सत्ताका खेलाडी मात्र भनेर बुझ्दा उनको ऐतिहासिक भूमिकाको भने अवमूल्यन हुनसक्छ ।
२०६२/६३ को जनआन्दोलन, सात दल र माओवादीबीचको १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र गणतन्त्रतर्फको संक्रमणमा गिरिजाप्रसाद निर्णायक पात्र बने ।
एक समय राजतन्त्रसँग संघर्ष गरेको कांग्रेस अन्ततः माओवादीसँग सहकार्य गर्दै राजतन्त्र अन्त्यको बाटोमा पुग्यो । यो कांग्रेसको ठूलो राजनीतिक र वैचारिक रूपान्तरण थियो।
बीपीको कांग्रेस पञ्चायती निरंकुशता विरुद्ध लडेको थियो । तर राजतन्त्रको पक्षमा थियो । गिरिजाको कांग्रेसले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदै गणतन्त्रको बाटो खोल्यो।
राजतन्त्रसँग सहकार्य गर्न चाहने कांग्रेस गणतन्त्रको पक्षधर बन्यो । हिन्दू राष्ट्रको पुरानो सामाजिक आधारबाट उठेको पार्टी धर्मनिरपेक्ष संविधान स्वीकार गर्ने अवस्थामा पुग्यो। एकात्मक राज्य संरचनाबाट संघीय संरचनातर्फ देश जाँदा कांग्रेस पनि त्यसको प्रमुख राजनीतिक पक्ष बन्यो।
संविधान : कांग्रेसको नयाँ अध्याय
२०७२ सालमा संविधान जारी हुनु कांग्रेसको इतिहासको अर्को निर्णायक अध्याय हो। सुशील कोइरालाको नेतृत्वमा कांग्रेसले एमाले र अन्य दलसँग सहकार्य गर्दै संविधान निर्माणमा प्रमुख भूमिका खेल्यो।
तर संविधान जारी भएपछि पनि कांग्रेसको आन्तरिक समस्या चाहिँ सकिएन ।
संविधान बनाउने दल संविधान कार्यान्वयनको व्यवस्थापनमा कमजोर देखिन थाल्यो। संघीयता आयो, तर संघीय कांग्रेस बन्न संगठनात्मक रूपान्तरण सुस्त रह्यो । समानुपातिक समावेशिता संविधानको मूल विशेषता बन्यो । तर पार्टी पुरानै संरचनाबाट बाहिरिएन । राज्य परिवर्तन भयो, तर कांग्रेसको संगठन त्यसअनुसार रुपान्तरण भएन । विचार भन्दा सत्ता प्रधान भइरह्यो ।
देउवा युगको जडता
शेरबहादुर देउवा कांग्रेसको लामो समय प्रभावशाली रहेका नेतामध्ये एक हुन् । उनी दुईपटक सभापति र पाँचपटक प्रधानमन्त्री बने ।
उनको नेतृत्वमा कहिले माओवादीसँग, कहिले एमालेसँग, कहिले अन्य दलसँग सहकार्य गर्दै कांग्रेस सत्ताको केन्द्रमा रह्यो । तर देउवाको यो शैलीका कारण कांग्रेसभित्र र बाहिर व्यापक प्रश्न उठे ।
एउटै दल कहिले सत्तामा र कहिले प्रतिपक्षमा पुग्ने चक्र घुमिरह्यो । जसका कारण कांग्रेस भित्र मात्र होइन बाहिर पनि इरिटेसन उत्पन्न भइरहेको थियो ।

पहिलो र दोस्रो ठूलो दल सत्ता र प्रतिपक्षमा बस्ने संसदीय राजनीतिको सामान्य मान्यता पनि देउवाले ख्याल गरेनन् । एमालेसँग गठबन्धन गरेर उनी छैटौंपटक प्रधानमन्त्री बन्ने तरखरमा थिए ।
त्यही पालो कुरिरहेका बेला देउवाले गत वर्षको जेनजी आन्दोलनमा भौतिक आक्रमण नै ब्योहोरे । तैपनि पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको विषयमा उनी लचक भएनन् । गत वर्ष पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनले देउवालाई सभापतिबाट हटायो । तर उनी महाधिवेशनको त्यो फैसला मान्न अझै तयार छैनन् । गगन थापा नेतृत्वको संस्थापनमा देउवाका अधिकांश विश्वासपात्रहरू समाहित भइसकेका छन् ।
तैपनी कांग्रेसको नाममा उनी छुट्टै पन्ध्रौं महाधिवेशन गर्न भनेर कार्यालय खडा गरेर बसेका छन् । वडा तहसम्म अधिवेशन गरिरहेका छन् । सर्वोच्च अदालतमा उनी लगायतका नेताहरूको निवेदन विचारधीन अवस्थामा छ ।
गगन थापा : पुस्तान्तरणको प्रश्न
विशेय महाधिवेशनबाट देउवाबाट एकैपटक गगन थापामा पार्टीको नेतृत्व आइपुगेको छ । पार्टीको दोस्रो पुस्ता नै अब फेजआउट भएको छ । थापाको नेतृत्वमा कांग्रेसमा पुस्तान्तरण भएको छ । विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका थापा गणतन्त्र स्थापना संविधान निर्माणमा भूमिका खेले र नयाँ पुस्तासँग जोडिए । जसको बलमा उनी नेतृत्वमा आएका छन् र यो महाधिवेशनबाट दोहोरिँदैछन् ।
कांग्रेससँग इतिहास छ । तर भविष्यको रेखा चाहिँ भेटिँदै गएको छ । यस्तो बेला गगन आफैं पुस्तान्तरणका प्रतीक बनेर उदाएका छन् । तर गगन नेतृत्वमा आउँदा कांग्रेस कति बदलिन्छ ? संगठन, निर्णय प्रणाली, आर्थिक पारदर्शिता, गुट संस्कृति, कार्यकर्ता व्यवस्थापन र जनतासँगको सम्बन्धमा कसरी परिवर्तन हुन्छ ? धेरैले यी प्रश्नको जवाफ पर्खेका छन् ।

बीपी कोइरालाले कांग्रेसलाई प्रजातन्त्रको बाटोमा लगे । गणेशमान सिंहले कम्युनिस्टसँग सहकार्य गर्दै २०४६ सालको जनआन्दोलन हाँके । गिरिजाप्रसाद कोइरालाले कांग्रेसलाई राजतन्त्रबाट गणतन्त्रसम्म लैजाने बाटो खोले । सुशील कोइरालाले संविधान निर्माणको जिम्मेवारी पूरा गरे । देउवाले कांग्रेसलाई सत्ता राजनीतिको पर्यायवाची बनाए । अब गगनले के गर्लान् ? यो महाधिवेशनपछि खास उनको असली परीक्षा सुरू हुनेछ ।
प्रतिक्रिया 4