News Summary
Generated by OK AI. Editorially reviewed.- लेखक केशवराज ज्ञवालीद्वारा लिखित \'अज्ञात\' उपन्यासले ऐतिहासिक विषयवस्तुमा सन्तुलित दृष्टिकोण प्रस्तुत गर्दै नेपाली साहित्यिक वृत्तमा चर्चा र विमर्श बटुलेको छ ।
- इन्जिनियरिङ र साहित्यमा एकसाथ सक्रिय ज्ञवालीको अघिल्लो कथासङ्ग्रह \'अर्को भोर\' ले प्रतिष्ठित पद्मश्री पुरस्कार प्राप्त गरिसकेको छ ।
लेखक केशवराज ज्ञवालीलाई चर्चाको केन्द्रविन्दुमा रहन कुनै लालसा छैन । पाठकहरूले मखमली प्रसंशाले निछावर गरिदिउन भन्ने इच्छा मनको कुनै पन्तुरोमा छैन ।
तर, इच्छाविपरीत ज्ञवाली अहिले साहित्यिक वृतमा चर्चित भएका छन् । कारण – उनको हालसालै प्रकाशित ‘अज्ञात’ उपन्यासले नेपाली साहित्यभाषीहरूको वियालोमा मात्र नभई विमर्शमा समेत स्थान पाएको छ । ज्ञवाली अझै इमान्दार र सशक्त आलोचना पर्खिरहेका छन् । मर्मस्पर्शी पङ्क्तिहरूमा ‘अन्डरलाइन’ गर्नेहरूप्रति कृतज्ञता त छ नै । तर, आफ्नो उपन्यासमा कसैले रातो धर्साहरू कोरोदिए, गुणहरूबाट दोष निफन्दिए पनि हुन्थ्यो भन्ने अपेक्षा राखेका छन् ।
‘आफ्नो परिश्रमको कदर गरिदिँदा अवश्य खुसी त भइ नै हालिन्छ । तर, कुनै लेखकको गुणस्तर घटाउनु छ, उसलाई तारिफको पुल चढाउनुपर्छ । त्यही भएर सिर्जनशील व्यक्तिहरूले साक्षी भावद्वारा प्रदर्शित समालोचनालाई विशेष गरि ग्रहण गर्नुपर्छ जस्तो लाग्छ,’ ज्ञवाली भन्छन् ।
यसै पनि ज्ञवाली लेखक – पाठकहरूको वृत्तमा त्यतिसारो नभिजेका मान्छे । उनलाई आउने अधिकांश प्रतिक्रियाहरू अपरिचितहरूबाट आइरहेका छन् । त्यही भएर होला, उनी प्रसंशा पनि संशयपूर्वक लिन्छन् । कसैले उपन्यासमा खद्किएका विषयहरूबारे कुरा गर्यो भने विशेष चासो राख्छन् ।
००००
जीवनका धेरै कुराको भविष्यवाणी गर्न सकिँदैन । तर, कुनै-कुनै कुरा भने भोरको लालिमायुक्त आकाश हेरेर घमाइलो दिनको अन्दाज गरेझैँ हुन्छन् । ज्ञवालीको हकमा लेखनी त्यस्तै रह्यो ।
कक्षा ४ मा पढ्दादेखि नै उनीमा कविको पात्रत्वले टुसा हाल्न थालेको थियो । बुबाले बनारसमा पढ्नुभएको अतिरिक्त नतिजास्वरूप घरमा संस्कृत, हिन्दी र नेपालीका किताबहरू थिए । देवकोटा, समका किताबहरू पढेर आफूलाई अरूभन्दा पृथक् देखाउनुको अलिअलि लोभ पनि थियो । पढ्नु आफैंमा रमाइलो पनि थियो । बुबा आफैंले पनि लेख्न प्रेरित गर्नुहुन्थ्यो ।

तानसेनको जनता माध्यमिक विद्यालयमा पढ्न थालेपछि किताब र लेखनप्रतिको मोह झनै झांगिएर आयो । पुस्तकालयका किताबहरूले ती मोहमा टेको लागाइराखे । स्कुलमा हप्तैपिच्छे हुने अतिरिक्त क्रियाकालापले उनको साधारण परिचयमा ‘कवि’ को नयाँ बुँदा थपिदियो । साथीहरूले उनलाई ‘कवि’ भनेर चिन्न थाले ।
‘साहित्यमा रुचि भएर होला – मलाई नेपाली अरू विषयहरूभन्दा बढी नै मन पर्थ्यो’ ज्ञवाली सम्झिन्छन् । अरू विषयमा औसतभन्दा केही माथि रहेको उनको स्कुले अनुभव छ ।
५० सालमा एसएसलसी पास गरिसकेपछि उनी काठमाडौं आए । त्रिचन्द्र क्यामपसमा आईएस्सीमा भर्ना भए । तर आईएससीको पढाइले उनको साहित्यप्रतिको अनुरागलाई विरल बनाउन सकेन । बरू झन् काठमाडौको तात्कालीन साहित्यिक माहोलले उनलाई उचालिराख्यो ।
पुस्तकालयसँग जुन नाता तानसेनले जोडेको थियो, त्रिचन्द्रले अझ त्यसलाई प्रवर्धन गर्यो । नेपाली साहित्य मात्र नभई अब विश्वसाहित्यसँग परिचयको बाटो खुलेको थियो । समकालीन साहित्यका अभिनव डोबहरूलाई चिन्ने मौका जुरेको थियो । उनी कलेज – स्तरीय कविता प्रतियोगिताहरूमा संलग्न हुन थाले ।
संयोगकै खेल हुनुपर्छ, उनले भाग लिएको कविता प्रतियोगिताको निर्णायक मन्डलमा कवि तुलसी दिवस थिए । पुरस्कार जितुला, थोरबहुत नयाँ मानिसहरूलाई व्यक्तिगत सञ्जालमा जोडुला भन्ने चाहना पनि थिएन । आफ्नो कविता प्रस्तुत गरेर फटाफट हिँडे । नतिजा प्रकशित हुँदा उनी प्रथम भएका रहेछन् । तुलसी दिवसको नजरमा पहिलो आँकिनुले उनमा ऊर्जा थपियो ।
त्यतिबेला यज्ञनिधि दाहालले सञ्चालन गर्ने ‘साहित्य – संसार’ कार्यक्रममा पनि सहभागी भइरहन्थे । कविता सुनाइरहन्थे । नयाँ कवि, कविता र कवित्वले नयाँ संसार त दिइरह्यो नै, त्यसमाथि सामयिक कलाचेतको नाडी छाम्न पनि सिकायो ।
अब स्नातकमा के पढ्ने त ? यो प्रश्नले ज्ञवालीलाई झ्याप्प छोपेको थियो । एकातिर लेखनप्रतिको भोक बढ्दै गइरहेको, अर्कोतिर राम्रो विद्यार्थी हुनाले ‘साइन्स’ नै पढ्नुपर्ने दबाब । एकफेरो सोचिसकेपछि बी.ए. नेपालीमा भर्ना भए । घरबाट बुबाले भने उनलाई इन्जिनियरिङ पढ्न प्रस्ताव राख्नुभयो । तर, साहित्यबाट विमुख नहुन पनि भन्नुभयो ।
त्यसपछि विशुद्ध स्वान्त सुखाय: का लागि उनले लेख्न थाले । इन्जीनियरिङको अध्ययन पनि अघि बढिरहेको थियो । यसबीचमा उनका फुटकर रचनाहरू पनि प्रकाशित भए । उनी अब कविताको मार्गमा अल्पविराम लगाएर कथाकार बन्न लागिसकेका थिए ।
हुन त कवितामा हात बसिसकेपछि कथाको संहितामा अटाउन गार्हो पर्छ । थोरै शब्दहरूमा धेरै कुरा भन्ने अभ्यास बसिसकेकाहरूलाई आख्यानको दीर्घयात्रा पट्यारलाग्दो पनि हुँदो हो । तर, ज्ञवालीलाई भने कविता चाहिँ असाध्यै गार्हो विधा लाग्छ । अमूर्त शैलीका कविताहरू उनले लेखेनन् । कवितामा पनि उनी कथाहरू नै पस्किरहेका हुन्थे । त्यसकारण सिद्ध कविहरूप्रति र उनीहरूका रचनाप्रति उनी असाध्यै श्रद्धा राख्छन् ।
कथा लेखिरहँदा उनलाई अब पहिलाजस्तो आफ्नो रचना प्रकाशन गर्ने हुटहुटी रहेन । उनको पारिस्थितिक पक्षले गर्दा पनि उनलाई डायरीमै लेखिरहने, कथा खोज्ने र शिल्प अर्जाप्नमै समय खर्चिरहे ।

स्नातकसम्म पढाइ नेपालमै छिचोलिसकेपछि स्नातकोत्तर गर्न अमेरिका पुगे । हाइड्रो – इन्जिनियरिङको पढाइ पूरा गरे । अहिले अमेरिकामै कार्यरत छन् । यसअघि २०७८ सालमा प्रकाशित ‘अर्को भोर’ नामक कथासङ्ग्रहले पद्मश्री पुरस्कार प्राप्त गरेको थियो ।
‘कतिन्जेल फूटकर रूपमा मात्रै लेखिरहने भनेर मैले आफ्ना कथाहरूलाई किताबको रुप दिएको थिएँ,’ ज्ञवाली सम्झन्छन् । यसपछि उनी नयाँ उपन्यास लेख्नका लागि तयार भएका थिए । यस्तो उपन्यास – जसले इतिहासलाई पक्षपातरहित दृष्टिले हेरोस्, दुइ किनारका चरमपन्थहरूबाट मुक्त भएर एउटा सन्तुलित बाटो पक्रियोस् ।
तरुण उमेरमा पढेको आचार्य चतुरसेनको ‘वैशाली की नगरबधू’ ले झिल्का छाडेको थियो । त्यसपछि उनमा ऐतिहासिक उपन्यास पढ्ने र त्यस्तै उपन्यास लेख्ने चाहना सल्किसकेको थियो । त्यही सल्काइले आकार लिने क्रममा ‘अज्ञात’ को रचनागर्भ तयार भएको थियो ।
ज्ञवाली इतिहासलाई हेर्ने क्रममा केही अतिवादी कोणहरू हाबी भएको मान्छन् । एउटा पक्षले पृथ्वीनारायण शाहलाई महिमामण्डन गरेर देशको एकमात्र नायकको रूपमा प्रस्तुत गर्न खोज्छ । अर्को पक्षले पृथ्वीनारायणलाई खराब – वृतिले पूर्ण खलपात्रको रूपमा उभ्याउँछ ।
तर, २० वर्षको उमेरमा गद्दीमा बसेको, ३५ वर्षको उमेरमा चन्द्रागिरि टेकेको लगायतका घटनाहरू हेर्दा उनी राजनीतिक प्राणी भएको देखिन्छ । शाहलाई समग्रमा त्यतिबेला भारतमा मुगल साम्राज्यको पतन लगायतका भूराजनीतिक प्रारब्धहरूलाई पनि गणना गर्नुपर्ने हुन्छ ।
एकातिर शाहवंशले नेपालको राज्य विस्तारका क्रममा गरेको हिंसा जति सत्य हो, शासकहरू पनि भूराजनीतिक प्रारब्धमा परेको, मानुषतायुक्त पनि भएको कुरा त्यति नै सत्य हो । त्यस्तै, युद्ध नेतृत्व र नेतृत्वलाई सघाउ पुर्याउने अंशसहितको संयुक्त बलको परिणति भएकाले एक अंशतिर मात्र ढल्कनु अपुरो बोध भएको ज्ञवालीको तर्क छ ।
यही दुई पक्षलाई सन्तुलित रूपले हेर्ने प्रयासको प्रतिफलको रूपमा अज्ञात जन्मिएको हो । एउटा साधारण पात्रले नेपाल विस्तारको कालखण्डमा यी विपरीत तर सहवर्ती सत्यको बोधसम्म आइपुगेको यात्रालाई बडो मिहिनताका साथ कोरेका छन् ।
यो किताब मदन पुरस्कारको सूचीमा सूचीकृत पनि भएको छ ।
००००
ज्ञवालीको सक्रियतामा कुनै कमी आएको छैन । मानौ, लेख्नु र पढ्नु उनको जीवनको नियति हो । उनले जति मेहनतसाथ लेखेका छन्, पठनमा पनि उतिकै समय खर्च गरेका छन् ।
नेपाली साहित्यमा उनी धेरै लेखकहरूबाट प्रभावित भएका छन् । बीपी कोइरालाको ‘मोदीआइन’ ले उनलाई इतिहासको स्थापित भाष्यलाई आम मानिसको तहबाट हेर्न सिकाएको छ । बीपीको वैचारिक स्पष्टता र मनोविज्ञान उधिन्ने शैलीले गहिरो प्रभाव पारेको हो । मदनमणि दिक्षितको ‘माधवी’ ले पनि प्राचीन कथाहरू प्रति अवार्चीन दृष्टिपात गर्न प्रेरित गरेको हो ।
पारिजात, शारदा शर्मा, ध्रुवचन्द्र गौतम, नारायण वाग्ले, कृष्ण धराबासीका लेखनीले उनलाई उतिकै प्रभावित पारेको छ । नयाँ लेखकहरूमा बुद्धिसागर, नयनराज पाण्डेका कृतिले छोएका छन् । नेपाली लेखकहरूको सन्दर्भमा उनलाई प्रभावित गर्ने लेखकहरूको लिस्ट लामै छ । ठ्याक्कै यही व्यक्ति या कृति भन्न सक्दैनन् उनी ।
हिन्दी लेखकहरूमा अज्ञेय, उदय प्रकाश, विनोदकुमार शुक्ल, आचार्य चतुरसेन, शिवाजी सावंत जस्ता लेखकहरूले प्रभावित गरेका छन् । त्यस्तै अंग्रेजीमा खालिद हुसेनी, एलिस मुन्रो , झुम्पा लाहिरी मन पर्छन्।
ज्ञवालीको किताब र अध्ययनको कुरा गर्दा उनकी आमा छुटाउनै नमिल्ने नाम हो । गुल्मीको ग्रामीण भेगमा जन्मिएका केशवराजलाई आमाले लेख्न, पढ्न सिकाएको कुरा स्मृतिमा बेलाबेला डुलिराख्छ ।
काठको पाटीमा आमाले लेख्न सिकाउनु भएको, आफूले बुझेसम्मको सिकाएको, माधव घिमिरेका कविताहरू सुनाएको … यी यावत् कुराले नै केशवराजको जग तयार पारेको थियो ।
त्यसैले उनी आमाको योगदान बिर्सन सक्दैनन् ।
००००
उपन्यास ‘अज्ञात’ को अन्त्यतिर ज्ञवाली महाकवि देवकोटाको शब्द सापट लिंदै भन्छन् – यो एउटा भागीरथी गङ्गा हो, थाप्लामा बोक्न मुस्किल छ । एकबार यस्तै भयो । पछि अझ राम्रो गरौँला ।’
यो लेखनीलाई पनि यहींनिर बिट मार्नुपर्छ । भागीरथी गङ्गा नै त बोकेको हैन । तरै पनि, एकबार यस्तै भयो । पछि अझ राम्रो गरौंला ।
प्रतिक्रिया 4