+
+
Shares

केयूमा विश्वस्तरीय अनुवाद कार्यशाला हुँदै, बुकर विजेता अनुवादकले प्रशिक्षण दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं विश्वविद्यालयले सिकागो विश्वविद्यालयसँगको सहकार्यमा २६ देखि २८ भदौसम्म धुलिखेलमा तीनदिने अन्तर्राष्ट्रिय अनुवाद कार्यशाला आयोजना गर्ने भएको छ।
  • अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता डेजी रकवेलसहितका विश्वप्रसिद्ध अनुवादकहरूले प्रशिक्षण दिने उक्त कार्यशालामा २४ जना सहभागी छनोट गरिनेछ।
  • निःशुल्क आयोजना हुने यस कार्यशालाले नेपाली साहित्यको अंग्रेजी अनुवादलाई प्रवद्र्धन गर्नुका साथै नयाँ अनुवादकको क्षमता विकासमा सहयोग पुर्‍याउने अपेक्षा विश्वविद्यालयले गरेको छ।

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले सिकागो विश्वविद्यालयसँगको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद कार्यशाला आयोजना गर्ने भएको छ ।

केयूको भाषा तथा जनसञ्चार विभाग र सिकागोको ‘दक्षिण एसियाली साहित्य अनुवाद परियोजना’(एसएएलटी)को संयुक्त आयोजनामा २६ देखि २८ भदौ गरी धुलिखेलमा तीनदिने कार्यशाला सञ्चालन हुनेछ ।

आयोजकका अनुसार नेपाली तथा दक्षिण एसियाली भाषाका साहित्यलाई अंग्रेजीमा अनुवाद गर्न रुचि राख्ने अनुवादकहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यशालामा कविता र गद्य अनुवादका विभिन्न पक्षबारे प्रशिक्षण दिइनेछ ।

सो कार्यशालाका लागि आवेदन साउन २४ गतेसम्म खुला गरिएको छ । आवदेन दिएका २४ जनाले मात्र सहभागी हुने अवसर पाउने बताइएको छ ।

त्यस्तै, कार्यशालामा अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता अनुवादक डेजी रकवेल र दीपा भस्थीसहित विश्वप्रसिद्ध अनुवादकहरूको सहभागिता रहनेछ । रकवेलले भारतीय लेखक गीतान्जली श्रीको उपन्यास ‘टम्ब अफ स्यान्ड’ अंग्रेजीमा अनुवाद गरेकी थिइन्, जसले सन् २०२२ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेको थियो ।

दीपा भस्थीले भारतीय लेखिका बानु मुश्ताकको कथा संग्रह ‘हार्ट ल्याम्प’ अंग्रेजीमा अनुवाद गरेकी थिइन् । उक्त कृतिले सन् २०२५ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्राप्त गरेको थियो ।

कार्यशालामा अनुवादक जेसन ग्रुनेबाम र ड्यानियल हान पनि प्रशिक्षकका रूपमा सहभागी हुनेछन् । ग्रुनेबाम सिकागो विश्वविद्यालयअन्तर्गतको एसएएलटी परियोजनाका सह—निर्देशक हुन् भने हान साहित्य अनुवाद क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा परिचित अनुवादक हुन् ।

निःशुल्क आयोजना हुने कार्यशालामा छनोट भएका सहभागीलाई आवश्यकताका आधारमा यात्रा खर्च तथा बसोबासको सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ । आवेदनका क्रममा सहभागीले आफ्नो अनुवादको नमुना, अनुवाद शैली र कार्यशालामा सहभागी हुन चाहनुको कारणसहित विवरण बुझाउनुपर्नेछ ।

काठमाडौं विश्वविद्यालयका अनुसार यो कार्यशालाले नेपाली साहित्यको अंग्रेजी अनुवादलाई प्रवद्र्धन गर्नुका साथै नयाँ पुस्ताका अनुवादकको क्षमता विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?