News Summary
Generated by OK AI. Editorially reviewed.- नास-आईटीले भदौ २१ देखि असोज ५ सम्म बेलायत र स्विट्जरल्यान्डमा 'नेपाल टेक रोड शो युरोप-२०२६' आयोजना गर्ने भएको छ ।
- यो कार्यक्रममार्फत नेपाली आईटी कम्पनीहरूलाई युरोपका लगानीकर्ता र प्रविधि समुदायसँग जोड्ने तथा नेपाललाई विश्वासिलो साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
- नास-आईटीका अध्यक्ष गौरव पाण्डेले भने, 'यो रोड शोले नेपाली कम्पनीहरूलाई नयाँ बजार, साझेदार र दीर्घकालीन व्यावसायिक सम्बन्ध निर्माण गर्ने अवसर दिनेछ ।'
१९ साउन, काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) ले बेलायत र स्विट्जरल्यान्डमा ‘नेपाल टेक रोड शो युरोप-२०२६’ आयोजना गर्ने भएको छ ।
आगामी भदौ २१ देखि असोज ५ गतेसम्म (सेप्टेम्बर ६ देखि २१) सञ्चालन हुने रोड शो मार्फत नेपाली आईटी कम्पनीहरूलाई युरोपका व्यवसाय, स्टार्टअप, लगानीकर्ता र प्रविधि समुदायसँग जोड्ने लक्ष्य राखिएको छ ।
स्वीस सरकार विकास सहयोग (एसडिसी) र ‘नेपाल इन बिजनेस- ग्रोथ एडभाइजर्स’ को सहयोगमा यो रोड शो हुन लागेको हो ।
यसअघि सन् २०२५ मा अष्ट्रेलिया र सन् २०२६ मा अमेरिकामा यस्ता रोड शो भएका थिए ।
नास आईटीका अध्यक्ष गौरव पाण्डेले नेपाली प्रविधि कम्पनीहरूको क्षमता अन्तर्राष्ट्रिय बजारमा प्रमाणित भइसकेको बताएका छन् ।
‘यो रोड शोले नेपाली कम्पनीहरूलाई नयाँ बजार, साझेदार र दीर्घकालीन व्यावसायिक सम्बन्ध निर्माण गर्ने अवसर दिनेछ,’ उनले भने, ‘यसले नेपाललाई विश्वसनीय प्रविधि साझेदारका रूपमा स्थापित गर्न पनि सघाउनेछ ।’
रोड शोको पहिलो चरण सेप्टेम्बर ६ देखि १२ सम्म यूकेमा हुनेछ । यसको मुख्य कार्यक्रम सेप्टेम्बर ९ मा लन्डनस्थित रेडिसन ब्लु होटल लण्डन हिथ्रोमा साँझ ५ बजेदेखि सुरु हुनेछ ।
त्यस्तै, दोस्रो चरण सेप्टेम्बर १३ देखि २१ सम्म स्विट्जरल्यान्डमा हुनेछ भने मुख्य कार्यक्रम सेप्टेम्बर १६ मा ज्यूरिखस्थित होटल सेन्ट गोठार्डमा साँझ ५ बजे आयोजना गरिनेछ ।
कार्यक्रममा नास आईटीका १७ भन्दा बढी सदस्य कम्पनीहरूले आफ्ना सेवा र प्रविधिहरू प्रस्तुत गर्नेछन् ।
हाल नेपालको आईटी उद्योग तीव्र गतिमा बढिरहेको क्षेत्र हो । यस क्षेत्रमा १ लाखभन्दा बढी दक्ष जनशक्ति कार्यरत छन् भने विदेशी आम्दानीमा वार्षिक २० देखि २५ प्रतिशतसम्म वृद्धि (नास आइटीमा आबद्ध कम्पनीका सर्भे अनुसार) भएको अनुमान नास आइटीकाे छ ।
प्रतिक्रिया 4