+
+
Shares

छोटा तर अग्ला कविता

कर्मकाण्डी पण्डितहरूले आफूतिर फर्किनु पनि एउटा दिशा हो भन्छन् । र, धर्मका ‘विक्रेता विद्वान’ हरूले पनि आफूतिर फर्किन आग्रह गर्छन् ।

रमण घिमिरे रमण घिमिरे
२०८३ साउन ९ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कवि राजेन्द्र शलभको भर्खरै प्रकाशित कवितासंग्रह अक्षर मनका मा समावेश कविताहरूले सरल भाषामा जीवनका विभिन्न भोगाइ र अनुभूतिहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्।

जुनसुकै सिर्जना पनि पहिला आफ्नो भोगाइ हो अनि मात्र अनुभव र अरूको सापटी अनुभूति हो । त्यसमा पनि कविता व्यक्तिसँगै हिँडिरहने सहयात्री जस्तो हो । त्यसैले कविता जीवनको सबैभन्दा सन्निकट हितैषी पनि हो । उसलाई कविको यावत कुरा थाहा हुन्छ तर कविले नभनेसम्म ऊ सदैव मौन रहन्छ ।

राजेन्द्र शलभको भर्खरै प्रकाशित कवितासंग्रह ‘अक्षर मनका’ भित्रका कविताहरूले यही कुराको पुस्ट्याइँ गरेका छन् । र, ‘उस्तैउस्तै’ कविता पढेपछि रूपान्तरित भइरहने समय र परिस्थिति या भोगाइ र अनुभूति कसरी कमिज र कोट पात्रमा समाहित हुन सक्छन् भन्ने एउटा मीठो उदाहरण पाइन्छ । हुन त कविता पनि स्वयंमा उदाहरणहरूकै अभिव्यक्ति त हो नि ।

उदारहणहरू कतै गाँसिदै र कतै चुडिँदै जीवनजस्तै हुन पुग्छन् कवितामा । र, शलभका कवितामा पनि जीवनका विविध मोड र घुम्तीहरू, उकाली र ओरालीहरू त पाइन्छन् तर उत्ताल ज्वारभाटा र हिंस्रक विद्रोह पाइँदैन । उनी कवितामा शिष्ट स्वभावमा प्रस्तुत हुन रुचाउने कवि हुन् ।

सबै आधुनिक विकासको गर्भमा पुरिएर हराएका हुन्छन् । यहाँसम्म कि स्कुल पढ्दाका सहपाठीहरू गाउँमा भेटिँदैनन्, सबै अरब र मलेसियातिर हराएका हुन्छन्।

‘कविता कुनै वाद वा सिद्धान्तको घेराभित्र खुम्चिनु हुँदैन । कविता त स्वतन्त्र हुनुपर्छ– हावाजस्तै, कविता त सबैका लागि हुनुपर्छ– घामजस्तै ।’ कवि शलभको यस कवितासंग्रहको प्राक्कथन हो यो । कवि कवितामा स्वतन्त्रताको कुरा गर्छन्, वादरहित स्वानुभूतिको पक्षपाति देखिन्छन् र कविता निष्कपट मनको अभिव्यक्ति हुनुपर्छ भन्ने कुराको वकालात गर्छन् । यही उनको काव्यिक स्वभाव हो ।

हुन त कविको स्वभाव र कविताको भावभूमि आपसमा एकाकार हुनुपर्छ भन्ने छैन । तर पाठकले कुनै कविको मनपरेको कविता पढेर कल्पना गर्ने कविको व्यक्तित्व मौलिक हुन्छ । कवि राजेन्द्र शलभलाई मैले चिनेदेखि आजसम्म उनी आफ्नो कविताजस्तै सरल र छोटा कविताका अग्ला कवि हुन् ।

‘अक्षर मनका’ कविताका पाना पल्टाउँदै जाँदा कुनैकुनै कवितामाथि समग्रमा समीक्षा हुनसक्छ तर स्थानभावले यो सम्भव छैन । यद्यपि उनका कविताका अभिव्यक्तिमा सरल भाषामा जीवनको सारांश भेटिन्छ । यसमा पनि ‘सोध्न मन थियो’ हरेक आमाको कथा हो । आमाको आमाको, आमाको छोरी, बुहारीदेखि सारा नारीको समान भोगाइ र यथार्थको व्याख्याविस्तार हो यो कविता ।

खास गरी कवितालाई सशक्त बनाउन लम्बेतान पृष्ठव्याख्यान गरिरहनु आवश्यक छैन । छोटो प्रस्तुतिमा कविले भनेजस्तै मनको तस्वीर उतार्न सक्यो भने कविताको अर्थ साकार हुन्छ । यो भनेको औँलामा हीराजडित चिटिक्कको र्औैँठी लगाउने कि गोडामा फलामको बडेमान कल्ली घिसार्दै हिँड्ने भन्ने हो ? सिर्जनामा रत्तिएकाहरूले मीमांसा गर्ने विषय हो यो ।

राम्रो कविताको पनि विशद व्याख्या आवश्यक पर्ला तर पाठकको आँखा त औँलाको हीराको औँठीमै पर्छ । किनभने पाठकभन्दा ठूला समीक्षक अरू कोही हुँदैहुँदैन । समालोचकका सिद्धान्तको व्याख्या पढेर कविताको रसमा डुब्न जाँदैन पाठक।

वास्तवमा कविता स्वयंले कविताको व्याख्यान गर्छ, यसमा अर्कोले अगुल्टो ठोस्नु झिल्का उडाएर आँखा बिगार्नु मात्र हो । र, कवि शलभका कविता पढेर हृदयलाई जुन आनन्दानूभूति हुन्छ, यो आफैँमा एउटा आत्मबोध गराउने हीराजडित औँठी हो । उनका सबै कविता ‘आहा’ भन्ने पनि छैनन् । कमीकमजोरी पनि छन् । तर उनले उठाएका हरेक विषयवस्तु भने कविता नै हुन् ।

यस्तै अर्को कविता छ– ‘अझै एक्लै उभिएको छु’ । यो संग्रहमध्येको सारै मर्मस्पर्शी कविता हो । छुटेकी प्रेमिकासँग लामो अन्तरालपछि भेटिँदाको खुसी र उन्मादसँगै उसले भोगिरहेको संघात र दुखाइ पनि बगेको छ यसमा । र, अर्को प्रसंग तराईमा वारको हिसाबले लाग्ने हटियाको बारेमा पनि कवितामा चर्चा नगरी चर्चा भएको छ ।

कवितामा के लेख्नुहुन्छ र के लेख्नु हुँदैन भन्ने कुनै अकाट्य् परिभाषा छैन । तर कवितामा ‘अझै एक्लै उभिएको छु’ जस्तो भाव, प्रस्तुति र कथ्य छ भने त्यो पूर्ण कविता हुन्छ जस्तो मलाई लाग्छ ।

संग्रहमा भएमध्येको अर्को स्पर्शी कविता हो– ‘आमा, गीता र समय–२’ । यो आफैँमा नयाँ, मार्मिक र भावपूर्ण कविता हो । थोरै शब्दमा भरिएका दर्शनको दस्तावेज पनि हो यो कविता र कविताको एक सुन्दर दृष्टान्त पनि ।

कर्मकाण्डी पण्डितहरूले आफूतिर फर्किनु पनि एउटा दिशा हो भन्छन् । र, धर्मका ‘विक्रेता विद्वान’ हरूले पनि आफूतिर फर्किन आग्रह गर्छन् । ‘अक्षर मनका’ भित्रको ‘खोजी’ कविता पढिसकेपछि यही बोध हुन्छ । आफूलाई चिन्न अर्थात् आफूलाई बुझ्न (ईश्वर प्राप्तिको अर्थमा) मानिसहरू मन्दिर, मस्जिद, गुरुद्वारा आदि सारा धार्मिक स्थलहरूको चक्कर लगाउँछन् र लखतरान भएर फर्किन्छन् । तर यसरी फर्केर जसले आफूभित्रको ‘स्व’ लाई नियाल्छ, त्यहाँ सारा ब्रह्मत्व लुकेको देख्छ, सारा सुख–शान्ति प्राप्त हुन्छ ।

संसारमा आफूलाई नचिनेसम्म अरूलाई चिन्नुको अर्थ छैन । आफूलाई नजानेसम्म अरूलाई जान्नुको औचित्य छैन । आफूलाई चिनेपछि मात्र अरूलाई चिन्न सहज हुन्छ । त्यसपछि मात्र अर्कोको स्वभाव, प्रवृत्ति र आफूप्रति उसले राख्ने धारणा पर्गेल्न सकिन्छ । त्यसैले आध्यामिकतामा भनिन्छ– ईश्वर खोज्न धेरै मठमन्दिर भौतारिरहनु नै पर्दैन, ईश्वर त उसैभित्र बसेको हुन्छ ।

‘खोजी’ यही हो– त्यो आत्माको होस् या कविताको ।

शलभले ‘स्मृतिमोह’माथि एउटा सुन्दर कविता लेखेको छन्– ‘त्यो घर, यो घर’ । वास्तवमा यो सबैमा हुने समान अनुभूति हो । मलाई गाउँ जाँदा जहिले पनि यस्तै हुन्छ । किशोरावस्थामा हिँडेका बाटा हराएका हुन्छन् । थकाइ मार्दै पिएको चिया पसल हराएको हुन्छ । जुत्ता फुकालेर घुँडामाथिसम्म प्यान्ट सुर्केर तरेको होली हराएको हुन्छ । र, सबै आधुनिक विकासको गर्भमा पुरिएर हराएका हुन्छन् । यहाँसम्म कि स्कुल पढ्दाका सहपाठीहरू गाउँमा भेटिँदैनन्, सबै अरब र मलेसियातिर हराएका हुन्छन्।

कहाँसम्म भने आफूले आदरले कुनै बेला ढोगेका हातहरू पनि हराएका हुन्छन्, कतै भेटिँदैनन् । ती सबै परलोकयात्रामा निस्किसकेका हुन्छन् । र, शलभले कवितामा भनेजस्तै ‘सबै पराई’ जस्ता लाग्छ ।

‘अक्षर मनका’ कवितासंग्रहभित्रका ८५ कवितामध्ये हरेक कविता उत्कृष्ट छ त भन्न सकिँदैन र यो हुन सम्भव पनि छैन । तर अधिकांश कविता अलग धार र बान्कीमा लेखिएका छन् । अरूले नछोएका अस्पृश्य भावभूमिमा शलभले फूल फुलाउने प्रयत्न गरेका छन् । यो आफैँमा कवितामा नयाँ रसास्वादनको नमुना हो ।

समग्रमा, धेरै कविताहरू पठनीय छन्, तिनको यहाँ वर्णन गरिरहनु नपर्ला । पाठक स्वयंले मूल्यांकन गर्नेछ । र केही कविता अकविताजस्ता– निबन्ध, लेख या अरू नै कुनै विधाका हकदारजस्ता पनि छन् । तिनलाई पर्गेल्ने काम पनि पाठकको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?