News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीमद्भागवत कथा वाचनका क्रममा पण्डित धर्मराजले सुनाएका वैज्ञानिक र पौराणिक टिप्समा शिक्षक किरणले असहमति जनाउँदा कथास्थलमा तनाव उत्पन्न भएको छ ।
- किरणले पौराणिक कथाहरूलाई तर्क र विज्ञानको कसीमा राखेर प्रश्न गरेपछि श्रोताहरूबाट दुर्व्यवहार हुँदा उनी कार्यक्रमस्थलबाट बाहिरिन बाध्य भएका छन् ।
- पछि धर्मराजले आफ्नो पेशागत बाध्यता स्वीकार गर्दै शिक्षक किरणसँग भेटेर आफ्ना धारणा साटासाट गरेपछि दुवै पक्षबीच हार्दिकता कायम भएको छ ।
श्रीमद्भागवत कथा वाचनका निम्ति ठूलो पण्डाल (मण्डप) तयार पारिएको थियो। कथा श्रवण गर्नेहरूको उपस्थिति यति बाक्लो थियो कि खुट्टा टेक्ने ठाउँ थिएन। पण्डित ‘धर्मराज’ शीर्षासनमा बसेर भागवत वाचन गरिरहेका थिए। जेठ महिनाको प्रचण्ड गर्मी, बिजुली भएर पनि नभए बराबर थियो। बत्ती गएका कारण पङ्खा चल्न सकेको थिएन। वाचकको सेवामा खटिएका दुई रूपसी दायाँ-बायाँ उभिएर हाते पङ्खा हम्किरहेका थिए। वाचक धर्मराज श्रीमद्भागवतको रचना र वाचन परम्पराबारे बताउँदै थिए।
‘श्रीमद्भागवत महापुराणको रचयिता महर्षि वेदव्यास हुनुहुन्छ। भागवत कथा वाचनको परम्परा राजा परीक्षितको समयबाट शुरु भएको हो। भागवत कथाको प्रथम वक्ता शुकदेव स्वामी र श्रोता राजा परीक्षित हुनुहुन्थ्यो। राजा परीक्षितलाई तक्षक नागले डसेर सात दिनभित्र मर्ने श्राप मिलेको थियो। तब मृत्युभय हटाई मोक्ष प्राप्त गराउन शुकदेव स्वामीले गङ्गा नदीको तटमा राजा परीक्षितलाई सात दिनसम्म श्रीमद्भागवत महापुराण सुनाउनुभयो। कथा श्रवणपछि राजाले मोक्ष प्राप्त गर्नुभयो। यहींबाट भागवत कथा वाचन प्रारम्भ भयो। त्यसपछि लोमहर्षण पुत्र सुतजीले नैमिषारण्यमा भेला भएका ऋषिहरूलाई यो कथा सुनाए। एवं रीतले गुरु-शिष्य परम्पराबाट भागवत कथा वाचनले व्यापकता पाउँदै गयो’, कथासार खिच्दै उनले भने।
धर्मराजको मुखारविन्दबाट यति के निस्केको थियो, ‘महाराज कि जय !’ श्रोतागणले जयजयकार गर्न थाले। पण्डाल वरिपरिको वातावरण जयजयकारको ध्वनिमा तरङ्गित हुनपुग्यो।
पण्डित धर्मराज वाचनकलामा निपुण थिए। उनी कथालाई जादुमय ढङ्गले वाचन गर्दथे। धर्मराज कथा श्रवण पट्यारिलो नहोस् भन्नका लागि बीच-बीचमा धर्मशास्त्रहरूबाट निकालेर रोचक टिप्सहरू सुनाउँथे। त्यसलाई उनले त्यहाँ पनि निरन्तरता दिए।
‘विश्वको पहिलो अन्तरिक्ष यात्री हनुमान हुन्।’ ‘गणेशको मुखमा लगाइएको हात्तीको सुँड संसारको पहिलो सर्जरी थियो।’ ‘गङ्गा नदीको उत्पत्ति विष्णुको चरणबाट भएको हो।’ ‘मानवको सृष्टिकर्ता ब्रह्माजी हुन्’, धर्मराजले सुनाए।
टिप्सले श्रोतागणबाट वाह्–वाही पायो। ‘महाराज कि जय !’ पण्डालको सहस्र कोणबाट जयजयकार गुञ्जियो।
जयजयकारको ध्वनिले ‘डोपामिन’ को काम गर्यो। धर्मराज पूर्णिमाका चन्द्रमा झैं उज्याला देखिए। अधरमा मुस्कानको गङ्गा प्रवाहित हुन थाल्यो। धर्मराजले जुँगामा हलुका ताउ दिंदै पूर्ववत् रूपमा कथा वाचनको एक्सिलेटर दबाए। आधा घण्टा लामो कथा वाचनपछि धर्मराजले नयाँ टिप्स न्यौछावर गर्ने सुर कसे।
‘त्यो युगमा चन्द्रमा र बृहस्पति बीच युद्ध भयो। युद्धमा देवताहरूले बृहस्पतिको साथ दिए। महादेवले चन्द्रमालाई ‘अर्काकी स्वास्नी भगाएर लैजाने स्वाँठ’ भनेर हप्काए। क्रोधित बनेका महादेवले ‘आजैका मितिदेखि तिम्रो अनुहारमा देखिने कान्ति क्षय होस्’ भनेर चन्द्रमालाई श्राप दिए। श्रापबाट चन्द्रमाको कान्ति तत्काल नाश भयो, चन्द्रमा अँध्यारा भए। चन्द्रमाले आफ्नो गल्ती महसुस गर्दै जे हुनुभयो, क्षमा पाऊँ भन्दै महादेवको शरण परे, स्तुति-आराधना गरे। स्तुतिपछि महादेवले आधा सजाय मात्र माफ दिन सक्ने बताए। ‘ल ठिक छ, त्यसो भए अबदेखि तिमीले महिनाको १५ दिन पहिलाको जस्तै कान्ति पाउनेछौ र बाँकी १५ दिन भने अँध्यारो नै भएर बस्नुपर्नेछ’, उनले भने। फलतः चन्द्रमा त्यस समयदेखि महिनामा १५ दिन शुक्लपक्षका रूपमा उज्याला र १५ दिन कृष्णपक्षका रूपमा अँध्यारा हुन थाले’, उनले भने।
यसपाला धर्मराजको अझ जोडदार ढङ्गले जयजयकार भयो। जयजयकारको आवाजले टाढा-टाढासम्मको वातावरण प्रकम्पित भयो। हौसिएका धर्मराजले हत्केला देखाउँदै श्रोतातर्फ धन्यवादको इशारा गरे। त्यसलगत्तै उनी आसनबाट उठे। धर्मराज शौच गर्न चाहिरहेका थिए। शौचबाट फर्केका धर्मराजले भागवत कथा वाचनमा अल्पविराम दिंदै पुनः अर्को टिप्स सुनाउन लागे।
‘सूर्यले प्रतिदिन सुमेरु पर्वतको परिक्रमा गर्दथे। विन्ध्याचल नामको पर्वतले आफूलाई पनि सूर्यले परिक्रमा गर्नुपर्ने माग राखे। विन्ध्याचलको त्यो मागप्रति सूर्यले सुन्ने कान लाएनन्। विन्ध्याचललाई साह्रै रिस उठ्यो। विन्ध्याचल सूर्यलाई नै छेकिदिने गरी आकाशतिर लगातार बढे। सूर्यको सम्पूर्ण प्रकाश विन्ध्याचलले छेकिदिंदा सूर्य र चन्द्रमाको गति नै रोकियो। सम्पूर्ण पृथ्वीमा घोर अन्धकार छायो। देवताहरूको आग्रहमा अगस्त्य मुनिले सर्वजनहिताय विन्ध्याचललाई फकाएर उचाइ वृद्धि हुनबाट रोके र निकास निकाले’, वाचकले सुनाए।
श्रोतागणले यसपालि जयजयकार गर्न छोडेर ‘वान्स मोर’ को नारा घन्काउन थाले। टिप्स उपहारमा नमिलेसम्म वान्समोरको नारा नरोकिने भयो ! धर्मराज मधुर मुस्कानका साथ नवोदित टिप्स सुनाउन अघि सरे।
‘एकपटक असुरहरूको समूह देवताहरूको आक्रमणबाट जोगिन समुद्रभित्र गएर लुकेका थिए। तिनीहरू रातभर समुद्रभित्र बस्थे अनि दिनमा गएर ऋषिमुनिहरूको हत्या गर्दथे। दैत्यहरूलाई मार्न समुद्रको पानी सुकाउनु आवश्यक थियो। इन्द्रलगायत देवताहरूको आग्रहमा अगस्त्य मुनिले समुद्रको पानी पिएर सुकाइदिए। समुद्र सुकेपछि देवताहरूले वृत्रासुरका सम्पूर्ण अनुयायीहरूको हत्या गरे। दानवहरूको हत्यापछि समुद्रमा जल यथावत् भर्न आवश्यक भयो। देवताहरूले पुनः अगस्त्यलाई आफूले पिएको जल फर्काइदिन अनुरोध गरे, तर ऋषिले समुद्रको सबै जल पचाइसकेकोले फर्काउन नसक्ने जवाफ दिए। समुद्र यथावत् बगाउने अभियानमा देवताहरू ब्रह्माकहाँ पुगे। ब्रह्माको आग्रह अनुसार राजा भगीरथले स्वर्गबाट गङ्गालाई पृथ्वीमा अवतरण गराए। पृथ्वीमा ओर्लेकी गङ्गा महादेवको जटामा अल्झिइन्। भगीरथले महादेवको स्तुति गरी गङ्गालाई पृथ्वीको धरातलमा बगाए। भगीरथ शङ्ख फुक्दै अघि-अघि हिंडे, गङ्गा उनको पछि-पछि बग्दै गइन्’, उनले भने।
पछिल्लो टिप्सले ‘रेकर्ड ब्रेक’ जयजयकार पायो। समूल श्रोतादीर्घा आसनबाट उठेर चिच्याउन थाल्यो- ‘महाराज कि जय !’ जयजयकारको ध्वनि डेढ-दुई मिनेटसम्म गुञ्जिरह्यो।
त्यस दिन कथा श्रवणका निम्ति किरण नामका शिक्षक पनि गएका थिए। शिक्षक प्रतिक्रियात्मक स्वभावका थिए। उनमा पर्खने धैर्य थिएन, चित्त नबुझेको कुरा उत्तिखेरै भनिहाल्थे। किरणले धर्मराज वाचित भागवत कथा र टिप्स ध्यान दिएर सुनेका थिए। उनलाई टिप्सको बारेमा केही कुरा साझा गर्न मन लाग्यो। किरण टाउको हाराहारी हत्केला उठाउँदै कुर्सीबाट उठे। सबैको ध्यान शिक्षकतर्फ मोडियो।
‘पण्डितजीले सुनाउनुभएको टिप्सप्रति मेरो असहमति छ’, शिक्षक किरणले मुख खोले। ‘कस्तो असहमति ?’ धर्मराजले सोधे। किरणले सबैभन्दा पहिले दार्शनिक चार्वाकको कथन सुनाए: ‘माथि सर्वत्र शून्य-शून्य छ, कहीं केही छैन गगनमा, धर्मराज भए यतै कतै छन्, यसै माटोमा, जीवनमा !’
कथन सुनेर मानिसहरू मुखामुख गर्न थाले। ‘मास्टरले कुन धर्मराजको कुरा गर्दैछ हँ ?’ खासखुस चल्यो। आफ्नो नामसँग जोडेर कथन भनेपछि धर्मराजले पनि शिक्षकलाई घुरेर हेरे। किरणले भनाइ अघि बढाए।
‘गङ्गा नदीको मुहान गङ्गोत्री हो। पहिलो अन्तरिक्ष यात्री युरी गागारिन हुन्। मनुष्य क्रमिक जीव विकासको परिणाम हो।’
त्यो सुनेपछि धर्मराजको पारो तातेर आयो। उनलाई खपिनसक्नु रिस उठ्यो। किरण थप बोल्न खोज्दैथिए, ‘चुप लाग्नुस् मास्टरसाब ! तपाईं धर्मशास्त्रको विरुद्ध बोल्दै हुनुहुन्छ। शास्त्रको विरोध असुरहरू र चार्वाकवादीहरूले मात्र गर्छन् !’ बल्ड्याङ्ग्रे आँखा पल्टाउँदै धर्मराज कड्किए।
तर शिक्षक किरण चुप लाग्ने मूडमा थिएनन्।
‘स्वतन्त्रता मानिसको पहिलो छनोट हो। हरेक मानिस ब्रह्मले देखेको बोल्न स्वतन्त्र छ। तपाईं मलाई दण्ड दिन सक्नुहुन्छ, तर मुख थुन्न सक्नुहुन्न। तपाईंले चार्वाकको कुरा गर्नुभयो। चार्वाक यस उपमहाद्वीपका पहिलो भौतिकवादी दार्शनिक थिए। जातीय, नश्लीय र साम्प्रदायिक चेतना भएकाहरूले दार्शनिक चार्वाकको कत्लेआम गरे। चार्वाकको दर्शन जलाएर खरानी पारे। ‘चार्वाकको दर्शन नडढाइँदो हो त हाम्रोमा पश्चिममा भन्दा धेरै वैज्ञानिक जन्मन्थे’, आचार्य रजनीश त्यसै भन्थे।
प्राचीन युनानमा ‘एपिक्युरस’ नाम गरेका भौतिकवादी दार्शनिक थिए। तर युनानीहरूले ‘एपिक्युरस’ को हत्या गरेनन्। उनको दर्शनलाई आगो लगाएर नष्ट पारेनन्, बरु त्यसको संरक्षण गरे। त्यसैले त पश्चिमले ग्यालिलियो, न्युटन, कोपर्निकस, अल्बर्ट आइन्स्टाइन, डार्बिन जस्ता सयौं वैज्ञानिक जन्माउँदा हामीचाहिं ‘पहिलो अन्तरिक्ष यात्री हनुमान हुन्। गणेशको मुखमा लगाइएको हात्तीको सुँड संसारको पहिलो सर्जरी थियो। गङ्गाको उत्पत्ति विष्णुको खुट्टाबाट भएको हो। ब्रह्माजीले आफ्नै शरीरसँग सहवास गरेर मनु र सतरूपालाई जन्म दिए !’ आदित्यादि भन्दै दङ्ग परिरह्यौं। हामीमा सन्तान जन्मिनका लागि वीर्यदाता पिता पनि चाहिन्छ भन्नेसम्मको चेत रहेन !
त्यही भएर ‘नियमित आकस्मिकता’ मा बालकृष्ण समले लेखेका छन्– ‘मानिसलाई दृश्यभन्दा अदृश्य प्यारो छ। वास्तविक स्थितिभन्दा कल्पित स्थिति प्रिय छ। हामी मानव जाति बाँदरबाट चढ्दै गएको होइन, देवताबाट ओर्लंदै आएको भनेर वृथा अभिमान गर्दछौं। हामीले मानिस र गुरिल्लाका कङ्कालको तुलनात्मक अध्ययन गर्नु जरुरी छ। बाँदरले कपाल कन्याएको हेर्नु आवश्यक छ। चिम्पान्जी र गुरिल्लाको क्रूरता अनुसन्धान गर्न जरुरी छ। अभिमानले मानिस पशुको नजिक पुग्छ, मानवोचित सहानुभूतिले पशुदेखि अलग बनाउँछ’, उनले जोसिंदै भने।
शिक्षकको भनाइ सुनेर सबै स्तब्ध भए। उनी अझै अघि बढे। ‘रूढ चिन्तन भएकाहरू प्रश्नकर्तालाई आततायी ठान्छन्। वैज्ञानिक ग्यालिलियो ग्यालिलीलाई सूर्यकेन्द्रित सिद्धान्त प्रमाणित गरेर देखाएबापत क्याथोलिक चर्चले धर्मविरोधी घोषणा गर्दै आजीवन कारावासको सजाय तोक्यो। ब्रह्माण्ड अनन्त छ, आकाशमा देखिएका ताराहरू पनि सूर्य जस्तै ग्रहहरू हुन्, जसको वरिपरि अन्य ग्रहहरू घुमिरहेका छन् भन्ने धारणा राख्ने खगोलशास्त्री जिओर्डानो ब्रुनोलाई धार्मिक अदालतको आदेशमा पक्राउ गरी ७ वर्षसम्म जेलमा राखी कठोर यातना दिइयो। र, सन् १६०० मा जिउँदै जलाएर मारियो’, किरणले भने।
शिक्षकको अभिमतले धेरैलाई हतप्रभ बनायो। कतिपय शब्दवाणको चोटले घाइते भए। उनीहरूले किरणमाथि भागवत वाचन भाँड्न खोजेको आरोप लगाए। केही मानिसले अपशब्द पनि बोले, शिक्षकमाथि हातपात गर्ने ढङ्गले अघि बढे। सम्भावित अनिष्टलाई मध्यनजर गर्दै किरण कथा वाचनस्थल छोडेर हिंडे।
घाम अस्तायो। दिनले सन्ध्यागीत गाउन शुरु गर्यो। शनैःशनैः रात गाढा अन्धकारको आँचलभित्र छोपियो। दिनको तुलनामा रातको एकान्तले स्मृतिको ढोका अझ बढी घच्घच्याउँछ। धर्मराज सुत्छन्, तर विचारहरू सुत्दैनन्, निदाउँदैनन्। स्मृतिपटका तरङ्गहरू टेलिभिजनमा जस्तै तरङ्गित हुन थाल्छन्। धर्मराजको दिमागमा भागवत वाचनस्थलको दिवाचित्र फिल्मको रिल झैं घुम्न थाल्यो। ‘स्वतन्त्रता मानिसको पहिलो छनोट हो। हरेक मानिस ब्रह्मले देखेको बोल्न स्वतन्त्र छ। तपाईं मलाई दण्ड दिन सक्नुहुन्छ, तर मुख थुन्न सक्नुहुन्न।’ धर्मराजको दिमागमा शिक्षक किरणका वाक्यहरू प्रतिध्वनित हुन थाले। उनलाई आफूहरू किरणप्रति आक्रामक रूपमा प्रस्तुत भएको महसुस भयो। उनीभित्र शिक्षक किरणसँग भेटेर कुरा गर्ने विचार बीजाङ्कुरित भयो।
रात ढल्यो, दिन जाग्यो। धर्मराज सोधखोज गर्दै शिक्षक किरणको घर पुगे। किरणको दृष्टि गेट खोलेर घरभित्र पस्दै गरेका पण्डित धर्मराजमाथि पर्यो। धर्मराज घर आएको देखेर किरण सशङ्कित भए। उनले पण्डित गएको दिनको रिस पोख्न आएको अनुमान लगाए। धर्मराज भर्याङ उक्लँदै गए। उक्लँदै जाँदा उनका आँखा भर्याङको भित्तामा फ्रेमभित्र सजाएर झुन्ड्याइएको ‘देवासुर सङ्ग्राम’ को अनुच्छेदमाथि परे।
‘हामी आज पनि देव-दानवका कुरा गर्दा आकाश-पाताल ताक्दै भन्छौं– पृथ्वीदेखि तल र माथिको काल्पनिक दुनियाँमा विचित्र स्वरूपका देव-दानव आदि बस्छन्। तिनीहरू आपसमा आकाशमा लडाइँ गर्छन्। हामी जान्दैनौं, बादलमा विद्युत् जुध्दा मेघ गर्जन्छ। हामी सम्झन्छौं, दैत्यहरूसँग रिसाएर इन्द्र गर्जिए। हामी पृथ्वी बाहिरका लोक-लोकान्तरमा देव-दानवको अनौठो छवि कल्पना गर्छौं। वास्तवमा पुराण लेख्ने ऋषिहरूलाई पृथ्वी बाहिरका लोक-लोकान्तरका त के कुरा, आफैं बसेको पृथ्वीलोकको भूगोलको बारेमा पनि यथेष्ट जानकारी थिएन।
पुराण भन्दछ– पृथ्वी चेप्टो छ। त्यसको ठिक बीचमा सूर्य, चन्द्रमा भन्दा पनि अग्लो सुमेरु पर्वत छ। त्यही सुमेरु पर्वतको वरिपरि सूर्य, चन्द्रमा घुम्दा दिन र रात हुने गर्दछ। पृथ्वीलाई शेषनागले बोकेको छ। त्यसले काँध फेर्दा भुइँचालो जान्छ !’
‘ऋग्वैदिक ऋषि अत्रिलाई औंसीको दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटै सरलरेखामा रहन्छन् र चन्द्रमाका कारणले पृथ्वीबाट सूर्य आंशिक वा पूर्ण रूपले छेकिंदा सूर्यग्रहण लाग्छ, निश्चित समयपछि सूर्यग्रहण स्वतः हट्छ भन्ने तथ्य थाहा थिएन। उनले स्वरभानु नामक दैत्यलाई सूर्यग्रहणको कारण सम्झे। त्यसैले उनले आश्चर्यचकित हुँदै भनेका थिए– ‘स्वरभानु नामक दैत्यले सूर्यलाई छोपेकाले सम्पूर्ण संसार अँध्यारो हुनगयो। मानिसहरूले आफ्नो वासस्थान चिन्न छोडे। चारवटा मन्त्र जप गरेपछि सूर्य केही समयपछि पुनः प्रकाशमय भयो।’
धर्मराजले फ्रेमभित्रका वाक्यहरू शब्द-शब्द नबिराई पढे। तेस्रो तलामा उक्लनासाथ धर्मराजको आँखा किरणमाथि परे। किरणले पाहुना धर्मराजलाई दुई हात जोडेर अभिवादन चढाए। धर्मराज पनि किरणसँग शालीन ढङ्गले पेश भए। धर्मराजको शालीनता देखेपछि किरणको गरम दिमाग शीतल हुँदैगयो। उनीभित्र ‘पण्डित धर्मराज झगडा गर्न आएका होइन रहेछन्’ भन्ने कुराको झिनो आशा पलायो। किरणले धर्मराजलाई कोठामा लिएर गए। किरणकी धर्मपत्नीले चिया ल्याएर दिइन्। दुवै चियाको चुस्की लगाउँदै थिए, धर्मराजले मुख खोले।
‘तपाईं मेरो घरमा पण्डित एकाबिहानै किन आयो भनेर सोच्दै हुनुहुन्छ होला। गएराति म राम्ररी निदाउन सकिनँ। दिमागमा भागवत कथा वाचनस्थलको चित्र फिल्मको रिल झैं घुम्न थाल्यो। वाणी मानिसको प्रथम परिचय हो। मान्छेले कसैलाई सम्झिने भनेकै वाणीका कारणले हो। अनुहार एकैछिनमा भुलिन्छ, तर बोलेको शब्द सम्झिरहन्छ। हिजो मास्टरसाबले पनि मुख देखाएर मात्र फर्किनुभएको भए म तपाईंलाई सम्झिने थिइनँ। म मास्टरसाबकहाँ आउनुको कारण तपाईंको वाणी हो। रातको शान्त वातावरणमा मैले तपाईंको वाणी अनि हामीले तपाईंप्रति दर्शाएको व्यवहारबारे चिन्तनमनन गरें। मलाई हाम्रो पक्ष तपाईंमाथि आक्रामक रूपमा पेश भएको अनुभूति भयो। कतिपयले तपाईंमाथि अपशब्द बोले, हातपात गर्न तम्सिए। तपाईं त्यहाँ बसिरहनुभएको भए हमला हुने पक्कापक्की थियो’, धर्मराजले विनम्रतापूर्वक भने।
धर्मराज र किरण बीचको अन्तरक्रिया झन्डै एक घण्टा चल्यो। अन्तरक्रियामा दुवै जना शरदको आकाश झैं खुले, मनको अन्तरकुन्तर लेस्सिएर बसेका दुर्भावनाको बूँद-बूँद पखाले। घरबाट निस्कनुअघि धर्मराजले समापन कथन दिए।
‘मैले धर्मशास्त्रका मात्र नभई नेपाली साहित्यका पुस्तकहरू पनि पढेको छु। विद्वान् लेखक मदनमणि दीक्षितले ‘माधवी’ मा लेख्नुभएको छ– प्राचीन पौराणिक गाथाहरू धार्मिक अन्धविश्वास र अवैज्ञानिक वार्ताहरू मात्र होइनन्, तिनमा अतिरञ्जना छन्। कल्पना, क्लिष्टता र अस्पष्टता छन्। तिनमा स्थिरता र सूत्रबद्धताको अभाव छ। अत्यधिक कथाहरू असम्भव नै छन्। तथापि ती सबैले तत्कालीन समाजको जीवनवृत्त र दिनचर्यालाई क्षीण सम्झनाका आधारमा नै भए पनि किञ्चित्सम्म बोध गराइरहेका छन्। पौराणिक गाथाहरू अतीतको इतिहासका रूपमा सुरक्षित तर अस्पष्ट पानाहरू हुन्, यसमा शङ्का छैन।
म दीक्षितको उपरोक्त भनाइसँग सहमत छु। परन्तु मेरा केही बाध्यताहरू छन्। धर्मशास्त्र वाचन गर्नु, देव-दानवको किस्सा सुनाउनु अनि कर्मकाण्ड चलाउनु मेरो पेशा हो, रोजीरोटीको माध्यम हो। तपाईं यसलाई पण्डित धर्मराजको दोकान पनि भन्न सक्नुहुन्छ। दोकान साहुले आफ्नो माल सडेगलेको भए पनि बचाउमा बोलिरहन्छ। बचाउमा बोल्न छोडेका दिन मुखमा माड लाग्दैन, दोकान बन्द हुन्छ’, उनले भने।
धर्मराजको शालीनता देखेर किरण नतमस्तक भए। पण्डित धर्मराज बोलिसकेपछि कोठामा केही बेर सन्नाटा छायो। ‘छलफलमा मौझारो गर्नुअघि म आफ्नो छोटो भनाइ राखूँ कि ?’ किरणले सोधे। धर्मराजले दायाँ हत्केला उठाएर बोल्न इशारा गरे।
‘म धर्मशास्त्रको अन्धविरोधी होइन। वेद, पुराण, महाभारत, गीता, रामायण आदि धर्मशास्त्र पुर्खाद्वारा संरचित विशिष्ट सम्पदा हुन्, प्राग्-ऐतिहासिक कालका अमूल्य निधि हुन्। तिनको कतिपय खण्ड अन्धविश्वास र अवैज्ञानिक वार्ताले भरिएका पनि होलान्। त्यस मानेमा अतीतको गर्भमा मोती पनि छ र नालायक कङ्कड पनि। मोतीलाई टिपौं, नालायक कङ्कडलाई फ्याँकौं’, छलफलमा बिट मार्दै शिक्षक किरणले भने ।
प्रतिक्रिया 4