+
+
Shares

परासी र कञ्चनपुरमा भारी वर्षा; काठमाडौंमा पनि खण्डित वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज अधिकांश स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
  • कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा आज भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
  • भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भएकाले सतर्क रहन तथा यात्रा गर्नुअघि मौसम बुलेटिन हेर्न मौसमविद् डेभिड ढकालले सुझाव दिनुभएको छ।

३ साउन, काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा पानी पर्ने र केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलिदेखि भने भारी वर्षा हुने स्थानको संख्या केही घट्ने सम्भावना रहे पनि वर्षा भने देशका अधिकांश क्षेत्रमा भइरहने पूर्वानुमान गरिएको छ ।

महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार हाल काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बादल लागेको छ ।

हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो एक घण्टामा नवलपरासी (परासी) क्षेत्रमा २७.४ मिलिमिटर तथा कञ्चनपुरमा २५.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

काठमाडौं उपत्यकामा आज दिनभर निरन्तर वर्षा भने नहुने, तर खण्डित रूपमा वर्षा भइरहने सम्भावना छ । मौसमविद ढकालका अनुसार काठमाडौं उपत्यकामा केहीबेर पानी पर्ने र रोकिने क्रम जारी रहने छ ।

मौसमविद् ढकालले भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गरेका छन् । उनले विशेषगरी पहाडी र तराई क्षेत्रमा जनजीवन, कृषि, पर्यटन तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा वा अन्य कामअघि विभागको आधिकारिक मौसम बुलेटिन हेरेर मात्रै योजना बनाउन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?