News Summary
Generated by OK AI. Editorially reviewed.- प्राचीन कालमा मानिसहरू कपडा अड्याउन साधारण पिन वा फिबुला नामक ब्रोचको प्रयोग गर्ने गर्थे।
- सन् १८४९ मा अमेरिकी आविष्कारक वाल्टर हन्टले आधुनिक सेफ्टी पिनको आविष्कार गरेका थिए ।
हामीले ऐतिहासिक चलचित्र वा टेलिभिजन शृंखलामा पात्रहरूले लगाएका आकर्षक र भव्य पोसाकहरू धेरै पटक देखेका छौं । त्यस्ता कपडाहरू कसरी अडिएका होलान् भनेर कहिल्यै सोच्नुभएको छ ? अहिले त कपडा अड्याउन पिन र सेफ्टी पिन सजिलै प्रयोग गरिन्छ । तर सयौं वा हजारौं वर्षअघि मानिसहरूले आफ्ना लुगा कसरी अड्याउँथे ?
यसको उत्तर खोज्न हामी प्राचीन इतिहासतिर फर्किनुपर्छ ।
प्राचीन ग्रीक कवि होमरको प्रसिद्ध कृति ओडिसीमा ओडिसियसकी पत्नी पेनेलोपेलाई उनका एक प्रेमी एन्टिनसले १२ वटा सुनका सुन्दर पिन उपहार दिएको उल्लेख छ ।
ती पिन कपडा अड्याउन प्रयोग हुन्थे । त्यसैगरी इतिहासकार हेरोडोटसले पनि एथेन्सका महिलाले आफ्नो ट्युनिक (लामो पोसाक) अड्याउन लामो पिन प्रयोग गर्ने गरेको लेखेका छन् ।
पछि प्राचीन रोममा फिबुला नामको एउटा विशेष प्रकारको ब्रोच प्रचलनमा आयो । यही फिबुलालाई आजको सेफ्टी पिनको पुस्ता मानिन्छ ।
फिबुला साधारण पिन भन्दा सुरक्षित थियो। साधारण पिनको टुप्पो खुला हुने भएकाले चोट लाग्न सक्थ्यो । तर फिबुलामा पिनको टुप्पो छोप्ने व्यवस्था भएकाले यो सुरक्षित र भरपर्दो थियो।
रोमका सैनिकहरूले आफ्नो ओढ्ने कपडा अड्याउन यसको व्यापक प्रयोग गर्थे । ग्रीक, पर्सियन, सेल्ट, जर्मन, स्लाभ लगायत धेरै सभ्यतामा पनि फिबुला लोकप्रिय थियो।
फिबुलामा मुख्य रूपमा चार भाग हुन्थे—मुख्य भाग (बडी), पिन, स्प्रिङ वा हिन्ज (जोड्ने भाग) र पिन अडिने भाग ।
समयसँगै यसको डिजाइन परिवर्तन हुँदै गयो । सुरुमा स्प्रिङ प्रयोग हुन्थ्यो, पछि हिन्ज जोडियो र तेस्रो शताब्दीमा प्रसिद्ध क्रसबो फिबुला विकसित भयो।

समय बित्दै जाँदा फिबुला केवल कपडा अड्याउने साधन मात्र रहेन । यो धनी र शक्तिशाली व्यक्तिको प्रतिष्ठाको प्रतीक बन्न पुग्यो। सुन, चाँदी र कासबाट बनेका सुन्दर फिबुला लगाएर मानिसहरूले आफ्नो सामाजिक हैसियत देखाउँथे । कतिपय फिबुला देवी–देवताका मन्दिरमा चढाइने भेटीका रूपमा पनि प्रयोग गरिन्थे।
मध्ययुगमा आएपछि फेरि साधारण पिनजस्तै डिजाइन प्रचलनमा आयो । गरिब मानिसहरूले काठका पिन प्रयोग गर्थे भने सम्पन्न मानिसहरूले हड्डी, हात्तीको दाँत, चाँदी, सुन वा पित्तलका पिन प्रयोग गर्थे ।
आज हामीले प्रयोग गर्ने आधुनिक सेफ्टी पिन भने सन् १८४९ मा अमेरिकी आविष्कारक वाल्टर हन्टले बनाए।
वाल्टर हन्ट निकै प्रतिभाशाली आविष्कारक थिए । उनले आगो निभाउने गाडीको घण्टी, चक्कु धारिलो बनाउने उपकरण, सडक सफा गर्ने मेसिन बनाएका थिए ।
साइकलको संरचनामा केही सुधार, सिलाइ मेसिनको प्रारम्भिक नमुना लगायत धेरै कुराका आविष्कार हन्टले गरेका थिए ।
सेफ्टी पिनको आविष्कार भने निकै रोचक घटनासँग जोडिएको छ । एक दिन हन्टले आफ्ना साथीलाई १५ डलर तिर्नुपर्ने भयो । पैसा जुटाउन उनले केही नयाँ बनाउने निर्णय गरे ।
उनले करिब ८ इन्च लामो पित्तलको तार लिएर बीचमा स्प्रिङ बनाए, एउटा छेउमा पिन र अर्को छेउमा त्यसलाई सुरक्षित रूपमा अड्याउने क्लास्प तयार गरे । यसरी एउटै तारबाट बनेको आधुनिक सेफ्टी पिन तयार भयो।
उनले यसलाई ‘ड्रेस पिन’ नाम दिए र यसको पेटेन्ट (आविष्कारको अधिकार) लिए । त्यसपछि उनले यसको अधिकार ४०० डलरमा बेचिदिए । यही डिजाइन आज संसारभर प्रयोग हुने आधुनिक सेफ्टी पिनको आधार बन्यो ।
उनले अधिकार बेचेपछि त्यो कम्पनीले यसबाट ठूलो रकम कमायो तर हन्टले भने थप केही पाएनन् ।
आज सेफ्टी पिन सस्तो र सामान्य वस्तुजस्तो लाग्छ । तर पहिले धातुका पिन निकै महँगा हुन्थे । त्यसैले धेरै देशमा श्रीमानले श्रीमतीलाईपिन किन्न भनेर छुट्टै रकम दिने चलन थियो, जसलाई ‘पिन मनी’ भनिन्थ्यो।
आजको समयमा साडी लगाउँदा मात्र पनि धेरै सेफ्टी पिन चाहिन सक्छ । यदि अहिले पनि पिन महँगा हुन्थे भने सायद प्रत्येक पटक साडी लगाउँदा पिन किन्न छुट्टै बजेट बनाउनुपर्ने अवस्था आउँथ्यो !
यसरी हेर्दा, सानो र सामान्य देखिने सेफ्टी पिनको पछाडि हजारौं वर्ष लामो इतिहास, प्रविधिको विकास र सामाजिक परिवर्तनको रोचक कथा लुकेको छ ।
प्रतिक्रिया 4