+
+
Shares

रास्वपा महामन्त्रीमा बालेन पक्षबाट सुदीप ढकाललाई अघि सार्ने तयारी

मनोनीत हुने ५१ जना केन्द्रीय सदस्यमा बालेन पक्षबाट १८ जना हुने गरी भागबन्डा गर्न लागिएको रास्वपाका एक नेताले जानकारी गराएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा प्रधानमन्त्री बालेन शाह पक्षबाट सुदीप ढकालको नाम चर्चामा रहेको छ।
  • बालेननिकट नेताहरूले वर्तमान महामन्त्री भूपदेव शाहको भूमिका सन्तोषप्रद नभएको भन्दै नयाँ व्यक्तिको खोजी गरेका छन्।
  • रास्वपाको विधानअनुसार सभापतिलाई ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार रहेको छ।

१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मनोनीत महामन्त्रीमा प्रधानमन्त्री बालेन शाह पक्षबाट सुदीप ढकालको नाम चर्चामा रहेको छ।

पहिलो महाधिवेशनबाट १४३९ मतसहित केन्द्रीय सदस्य बनेका ढकाल हाल प्रधानमन्त्री शाहको सचिवालयमा प्रशासन प्रमुखका रूपमा कार्यरत छन्। प्रधानमन्त्री बालेननिकट एक रास्वपा नेताले आफ्नो पक्षबाट महामन्त्रीमा ढकालको नाम अघि सारिएको दाबी गरे। ढकाललाई केन्द्रीय सदस्यमा जिताउन महाधिवेशनस्थलमा बालेन पक्षका नेताहरू सक्रिय थिए।

बालेन पक्षबाट यसअघि महामन्त्री बनेका भूपदेव शाहलाई सोही पदमा निरन्तरता दिने पक्षमा आफ्नो समूह नरहेको ती नेताले दाबी गरे। महामन्त्री पदमा रहँदा उनको भूमिका सन्तोषप्रद नभएको हुँदा महामन्त्रीमा अर्को व्यक्तिलाई अघि सार्न लागिएको ती नेताले बताए।

‘महाधिवेशनमा हाम्रो समूहका नेताहरूलाई जिताउन भूपदेवको भूमिका देखिएन। समायोजन गरेर प्रतिनिधि थप्दा पनि हामीसँग आवश्यक सरसल्लाह गर्नुभएन,’ बालेननिकट रास्वपाका एक नेताले भने, ‘कविन्द्रजी सदनतिर व्यस्त हुँदा सङ्गठनको काममा उहाँ हुनुहुन्थ्यो, तर भूपदेवले सङ्गठनमा काम गर्न अझै मेहनत गर्नुपर्ने देखियो ।’

रास्वपाको केन्द्रीय समितिको बैठकले गत वैशाख ७ गते भूपदेवलाई महामन्त्रीमा मनोनीत गरेको थियो।

रास्वपा विधानअनुसार सभापतिलाई ११ जना पदाधिकारी मनोनीत गर्ने अधिकार छ। साथै, विधानअनुसार मनोनीत हुने केन्द्रीय सदस्यको सङ्ख्या ५१ जना छ। पार्टीभित्र आन्तरिक सहमति जुट्न नसक्दा मनोनीत हुनेहरूको पदपूर्ति हुन नसकेको रास्वपा नेताहरूले जानकारी गराएका छन्।

मनोनीत हुने ५१ जना केन्द्रीय सदस्यमा बालेन पक्षबाट १८ जना हुने गरी भागबन्डा गर्न लागिएको रास्वपाका एक नेताले जानकारी गराएका छन्। बालेन पक्षबाट केन्द्रीय सदस्य बनाउँदा सांसद नभएकाहरूलाई प्राथमिकतामा राखिएको ती नेताले बताए।

पार्टी स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङले समेत मनोनीत हुनेहरूमा भाग खोजेका छन्। गृहमन्त्री गुरुङले ‘जेनजी’ उमेर समूहबाट सातजना केन्द्रीय सदस्य बनाउनुपर्ने माग गरेको पार्टी स्रोतको दाबी छ।

रास्वपाका शीर्ष तहका एक नेता भने सुधनले ‘भाग नखोजेको, तर उनको निकट हुँ भन्नेहरूले केन्द्रीय सदस्य हुनुपर्ने’ माग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?