News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री र राप्रपाका शीर्ष नेताबीच समसामयिक राजनीतिक घटनाक्रम तथा संविधान संशोधनको विषयमा सिंहदरबारमा करिब एक घण्टा छलफल भएको छ ।
- प्रधानमन्त्रीले संविधान संशोधनमार्फत आम जनताका गुनासो सम्बोधन गरिने र मल आयात तथा स्वास्थ्य बीमासम्बन्धी समस्या समाधानको प्रक्रिया जारी रहेको आश्वासन दिएका छन् ।
- सांसद खुश्बु ओलीका अनुसार राप्रपाले प्रधानमन्त्री र राजनीतिक दलका नेताहरूबीच निरन्तर संवाद कायम राख्न तथा सुकुम्वासी व्यवस्थापन गर्न सुझाव दिएको छ ।
३२ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षसहितले छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्यसमेत रहेकी सांसद खुश्बु ओलीसँग छलफल गरेका हुन् ।
करिब १ घण्टा भएको छलफलमा समसायिक राजनीतिक घटनाक्रमसँगै संविधान संशोधनको विषयमा छलफल भएको छलफलमा सहभागी सांसद ओलीले जानकारी दिइन् ।
‘प्रधानमन्त्रीज्यूसँग हामीले करिब १ घण्टा छलफल गर्यौं । यसपटकको छलफल हतारको थिएन । उहाँ (प्रधानमन्त्री)ले भए गरेका कामकारबाहीको बारेमा लामै जानकारी गराउनुभयो,’ उनले भनिन्, ‘हामीले पनि किसानले मल नपाएको कुरा, सुकुमवासी व्यवस्थापनको समस्या, स्वास्थ्य बीमाको कारण जनताले भोगेका पीडा र गुनासोको विषयमा जिज्ञासा राख्यौं ।’
प्रधानमन्त्रीले सबै कामहरूको सुरुवात भएको र छिटै टुंगोमा पुग्ने आश्वासन दिएको ओलीले बताइन् ।
‘प्रधानमन्त्रीले सबै कुराहरू जारी रहेको बताउनुभयो । मल आयात हुँदै गरेको पनि उहाँले जानकारी गराउनुभयो । स्वास्थ्य बीमाको विषयमा पहिलेको भुक्तानी बाँकी रहेको र केही निजी अस्पतालले बदमासी गरेकाले त्यसलाई सच्याएर पुन: लागू गर्ने गरी तयारी भइरहेको छ भन्नुभयो,’ छलफलमा प्रधानमन्त्रीले भनेको बारे उनले थपिन्, ‘सुकुमवासीलाई राखेको होल्डिङ सेन्टरमा अन्यत्र गाह्रो छैन । कीर्तिपुरकोमा समस्या आइपर्यो भन्नुभयो । समग्र सुकुमवासीकै माग सम्बोधन गर्दैछौं पनि भन्नुभयो ।’
उनले संविधान संशोधनको विषयमा सबै जनताको गुनासो सम्बोधन हुने गरी काम हुने आश्वासन प्रधानमन्त्रीले दिएको पनि बताइन् ।
‘असिम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र मात्रै तयार पार्ने काम हुने हो । उहाँ (असिम)कै नेतृत्वमा संविधान संशोधन गर्न खोजेका होइनौं,’ प्रधानमन्त्रीलाई उदृत गर्दै ओलीले भनिन्, ‘सबै जनताको कुरा सम्बोधन हुने गरी संविधान संशोधन गर्न हो ।’
ओलीले संविधान संशोधनको विषयमा राप्रपाको धारणाबारे पनि पुन: स्मरण गराइएको बताइन् ।
त्यस्तै ओली आफूहरूले प्रधानमन्त्रीले राजनीतिक दल र सांसदहरूबीच संवाद जारी राख्न सुझाव दिएको पनि बताइन् ।
‘प्रधानमन्त्री, दलका नेताहरू, सांसदहरूबीच संवाद बढाउन हामीले आग्रह गर्यौं’ उनले भनिन्, ‘सचिवालयबाट हुन्छ कि कताबाट हुन्छ छलफललाई निरन्तरता दिन भनेका छौं । जेनजीहरूको समस्या समाधानबारे पनि हामीले उहाँलाई सुझावहरू दियौं ।’
प्रतिक्रिया 4