+
+
Shares

सम्मान ! डरको कहर कि मायाको भर ?

हामीले छोडेर जाने सबैभन्दा ठूलो विरासत सम्पत्ति होइन, सम्बन्धको गुणस्तर हुन सक्छ। डरले टाउको झुकाउन सक्छ, तर माया र करुणाले मात्र मन झुकाउँछ र दीर्घकालीन सम्मान पनि शायद त्यही हो।

दिपा ओझा दिपा ओझा
२०८३ असार ३१ गते १०:१७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्मान भनेको डर वा दबाबमा आधारित आज्ञापालन नभई व्यक्ति, अधिकार र अस्तित्वको गरिमालाई स्वीकार गर्ने एउटा पारस्परिक अभ्यास हो।
  • मनोवैज्ञानिक र बाल विकासका विज्ञहरूले डरभन्दा विश्वास, सुरक्षा र प्रेममा आधारित सम्बन्ध नै दीर्घकालीन विकास र चरित्र निर्माणका लागि आवश्यक रहेको बताएका छन्।
  • स्वस्थ सीमा र असहमति व्यक्त गर्ने स्वतन्त्रता नै साँचो सम्मानको आधार हो, जसले सम्बन्धलाई मर्यादित र सुरक्षित बनाउन सहयोग गर्दछ।

सम्मान- हामी सबैले सर्वाधिक प्रयोग र अपेक्षा गर्ने शब्द। यति परिचित कि यसको अर्थ बुझाउनुपर्ने आवश्यकता नै नपर्ला जस्तो लाग्छ। तर कहिलेकाहीं सबैभन्दा परिचित शब्दहरू नै पुनः सोच्नुपर्ने विषय बन्छन्।

स्वाभाविक प्रश्न उठ्छ। हामीले जीवनभर सिकेको सम्मान वास्तवमा के थियो? के त्यो मनबाट आएको आदर थियो, कि कतै न कतै डरले निर्माण गरेको व्यवहार? यो प्रश्न अरूलाई होइन, पहिले आफैंलाई सोध्नुपर्ने हो।

हामीमध्ये धेरै यस्तो समाजमा हुर्कियौं जहाँ ठूलालाई सम्मान गर्नुपर्छ भनेर धेरै राम्रो कुरा सिकाइन्छ। शिक्षक, अभिभावक, हाकिम, धर्मगुरु – उहाँहरूलाई आदर गर्नु हाम्रो संस्कारको हिस्सा हो। त्यसमा धेरै सुन्दर पक्ष छन्। त्यसैले आज पनि हामी ती मूल्यहरूको सम्मान गर्छौं।

तर समयसँगै अर्को प्रश्न पनि उठ्न थालेको छ- के सम्मान उमेरले मात्र निर्धारण गर्छ? पदले मात्र निर्धारण गर्छ? वा सम्मान त्यस्तो कुरा हो जुन सम्बन्धमा दुवैतर्फबाट बग्नुपर्छ ? आज हामी पारस्परिक सम्मानको कुरा गर्छौं।

श्रीमान्–श्रीमती बीच, साथीहरू बीच, सहकर्मी बीच, र अझ रोचक कुरा-अभिभावक र बच्चा बीच अनि सबैभन्दा महत्वपूर्ण शिक्षक र विद्यार्थी बीच पनि। शायद यही परिवर्तनले हामीलाई सम्मानको अर्थ फेरि एकपटक सोच्न निम्तो दिएको छ।

सम्मानको शब्दकोशीय अर्थ व्यक्तिको मूल्य, अधिकार र अस्तित्वलाई स्वीकार गर्नु हो। सनातन दर्शनले हरेक जीवभित्र रहेको एउटै आत्मतत्त्वलाई सम्मान गर्न सिकाउँछ। बौद्ध दर्शनले प्रत्येक व्यक्तिभित्र रहेको सम्भावनाप्रति विनम्र हुन आग्रह गर्छ।

तिनै दृष्टिकोणमा एउटा साझा सूत्र देखिन्छ, सम्मान अरूमाथि अधिकार जमाउने कुरा होइन; उनीहरूको गरिमालाई स्वीकार गर्ने अभ्यास हो।

सम्मान–असम्मानका केही सामान्य भ्रम

हामीले धेरै कुरालाई ‘सम्मान’ भनेर सिकेका हुन्छौं। तर तीमध्ये केही वास्तवमा सम्मान नभई डर, दबाब, बाध्यता वा आत्म-अभिव्यक्ति दबिएको अवस्था हुनसक्छन्। केही उदाहरण हेरौं:

  • शान्त कक्षा = सम्मानजनक विद्यार्थी
    • कि डर, असुरक्षा वा बोल्न नपाउने वातावरण?
  • आज्ञापालन = सम्मान
    • कि प्रश्न गर्न नपाइने संस्कृति?
  • फरक दृष्टिकोण राख्नु = असम्मान
    • कि स्वतन्त्र सोच र आलोचनात्मक चिन्तन?
  • सिधा र स्पष्ट जवाफ दिनु = उद्दण्डता
    • कि इमानदार र स्पष्ट संवाद?
  • सबैलाई खुशी पार्ने व्यवहार = सम्मान
    • कि अस्वीकृतिको डर?
  • आफ्नोपन र वास्तविकता देखाउनु = रूखोपन
    • कि नक्कलीपनभन्दा माथिको सत्यता?
  • चुपचाप सहनु = संस्कार
    • कि आफ्नो आवाज दबाउनु?
  • ठूलाबडालाई प्रश्न गर्नु = असम्मान
    • कि बुझ्न र सिक्न खोज्ने प्रयास?
  • भगवानको पूजा = पापको डर
    • कि श्रद्धा, तादात्म्य र आन्तरिक विश्वास?
  • गल्ती औंल्याउनु = मुख लाग्नु
    • कि सुधारको अवसर दिनु?
  • आलोचना गर्नु = असम्मान
    • कि जिम्मेवार चासो र सुधारको चाहना?
  • डराउनु = सम्मान गर्नु
    • कि सम्बन्धमा दूरी र असमान शक्ति-सन्तुलन?
  • सधैं ‘हुन्छ’ भनिरहनु = राम्रो व्यवहार
    • कि आफ्नो मत लुकाउनु?
  • अधिकारको दुरुपयोग सहनु = सम्मान
    • कि अन्यायको स्वीकार्यता?
  • मौनता = सहमति
    • कि बोल्न नसक्ने अवस्था?
  • पद, उमेर वा शक्तिका कारण झुक्नु = सम्मान
    • कि बाध्यता?
  • सबै कुरा सहने व्यक्ति = सभ्य व्यक्ति
    • कि भित्रभित्रै थिचिएको व्यक्ति?
  • आफ्ना भावना व्यक्त गर्नु = कमजोरी
    • कि आत्म-जागरूकता र आत्मसम्मान?
  • ‘मलाई यो ठीक लागेन’ भन्नु = असम्मान
    • कि स्वस्थ सीमा निर्धारण?

आज हामी यिनै सम्मान र असम्मानका बारेमा बनेका मिथ्या धारणाहरूलाई गहिरिएर बुझ्ने प्रयास गर्नेछौं।

डर शत्रु कि एउटा सीमासम्म आवश्यक साथी ?

डरको बारेमा कुरा गर्दा हामी प्रायः यसलाई नकारात्मक रूपमा बुझ्छौं। तर सत्य के हो भने, डर मानव जीवनको अत्यन्त आवश्यक भावना हो।

हामी सडक पार गर्दा आउने सावधानी, आगोबाट टाढा बस्ने चेतना, सवारी चलाउँदा सतर्क रहने बानी, यी सबैमा डरको सानो तर महत्वपूर्ण भूमिका हुन्छ। विज्ञानले बताउँछ, जब हामी डराउँछौं, शरीर तुरुन्तै सतर्क अवस्थामा पुग्छ।

मुटुको धड्कन बढ्छ, श्वास तीव्र हुन्छ, मांसपेशीहरू सक्रिय हुन्छन् र मस्तिष्कले सम्भावित खतरातर्फ पूरा ध्यान केन्द्रित गर्छ। यही प्रणालीले हजारौं वर्षदेखि मानव जातिलाई बचाउँदै आएको छ। त्यसैले डर पूर्ण रूपमा हटाउनुपर्ने भावना होइन। डरले हामीलाई जोखिमपूर्ण निर्णयबाट जोगाउँछ। डरले असावधानी कम गर्छ। डरले जीवनको मूल्य सम्झाउँछ।

तर एउटा महत्वपूर्ण प्रश्न फेरि यहाँ उठ्छ: के जुन भावना जीवन बचाउन बनेको हो, त्यही भावनाले सम्बन्धहरू पनि फस्टाउन सक्छन्? जब डर सम्बन्धको आधार बन्छ, छोटो समयका लागि डर प्रभावकारी देखिन सक्छ। बच्चा चुप लाग्छ। विद्यार्थी प्रश्न गर्दैन। कर्मचारी विरोध गर्दैन। नागरिक नियम पालना गर्छ। तर त्यो व्यवहारको पछाडि के छ- बुझाइ कि भय ?

डरको अवस्थामा मस्तिष्कको मुख्य ध्यान सिकाइ, सिर्जना र सम्बन्ध भन्दा पनि सुरक्षामा केन्द्रित हुन्छ। मानिस गल्ती गर्न डराउँछ, प्रश्न गर्न हिच्किचाउँछ र आफ्नो विचार व्यक्त गर्न असुरक्षित महसुस गर्छ। निरन्तर डरको वातावरणमा बस्दा यसको असर शरीर र मन दुवैमा पर्न थाल्छ।

अनुसन्धानहरूले देखाउँछन् कि दीर्घकालीन डर वा तनावले प्रतिरक्षा प्रणाली कमजोर बनाउन सक्छ, मांसपेशीमा तनाव बढाउन सक्छ, चिन्ता र अवसादको जोखिम बढाउन सक्छ, र व्यक्तिको सोच्ने तथा सिर्जनात्मक क्षमता समेत घटाउन सक्छ। शायद त्यसैले डरले आज्ञापालन त गराउन सक्छ, तर विश्वास निर्माण गर्न सक्दैन।

यस विषयमा आधुनिक मनोविज्ञानका धेरै विज्ञको विचार पनि रोचक छ। मानसिक आघात अर्थात् ट्रमा र बाल विकासका विश्वप्रसिद्ध चिकित्सक डा. गाबोर मातेका अनुसार बालबालिकाको सबैभन्दा ठूलो आवश्यकता नियन्त्रणभन्दा सम्बन्ध र अपनत्व हो।

प्रसिद्ध मनोचिकित्सक फिलिपा पेरीले आफूलाई बुझिएको र सम्मानित महसुस गर्ने बच्चाले अरूलाई सम्मान गर्न सिक्ने बताउनुहुन्छ। बाल मनोवैज्ञानिक डा. भानेसा लाप्वाँतको विचारमा अनुशासन भावनात्मक सुरक्षा र सम्बन्धमा आधारित हुँदा बढी प्रभावकारी हुन्छ।

त्यसैगरी मनोचिकित्सक र सम्बन्ध सिद्धान्तकी विशेषज्ञ इलाई हारवुडले सुरक्षित सम्बन्धलाई सहकार्य, आत्मनियन्त्रण र सम्मानको आधार मान्नुहुन्छ।

यी सबै दृष्टिकोणले एउटा साझा सन्देश दिन्छन्, डरले तत्काल आज्ञापालन ल्याउन सक्छ, तर विश्वास, सुरक्षा र सम्बन्धले दीर्घकालीन विकास तथा चरित्र निर्माण गर्छ।

सम्मान र अनुशासनको सम्बन्ध

हाम्रो समाजमा सम्मानको कुरा आउँदा अनुशासन पनि सँगै आउँछ।

रोचक कुरा के छ भने ‘डिसिप्लिन’ र ‘डिसाइपल’ दुवै शब्द ल्याटिन भाषाको Discipulus बाट आएका हुन्, जसको अर्थ हुन्छ- विद्यार्थी, सिक्ने व्यक्ति, शिष्य। यसले अनुशासनको मूल अर्थ सजाय वा नियन्त्रण होइन, सिकाइसँग सम्बन्धित रहेको देखाउँछ।

शिष्य किन गुरुको पछि लाग्छ? किनकि ऊ डराएको हुन्छ ? वा किनकि उसले गुरुमा केही मूल्यवान् कुरा देखेको हुन्छ ?

साँचो अर्थमा, कुनै पनि शिष्यलाई अनुशासनमा टिकाइराख्ने शक्ति दण्ड होइन, सम्मान हो। सम्मान विना अनुशासन बोझ बन्न सक्छ। सम्मानसँग जोडिएको अनुशासन भने विकासको बाटो बन्न सक्छ।

हामीले बालबालिकाबाट के अपेक्षा गरिरहेका छौं? शायद यहाँ सबैभन्दा धेरै आत्ममन्थन आवश्यक छ। हामीमध्ये धेरैले आफ्नो बाल्यकालमा डरमिश्रित सम्मान सिक्यौं। ठूला मान्छेका अगाडि बोल्नुहुँदैन। प्रश्न गर्नुहुँदैन। विरोध गर्नुहुँदैन।

हामीले यसलाई सम्मानको रूपमा बुझ्यौं। तर के त्यसको पालना मनैदेखि भइराख्न सक्यो त ? हामीले त सकेनौं, कुनै न कुनै रूपमा कुण्ठा, डाह र रिसको आडमा निस्क्यो वा रोगका रूपमा बस्यो शरीरमा।

आजका बालबालिका त फरक छन्। उनीहरू प्रश्न गर्छन्, कारण खोज्छन् र आफ्नो विचार व्यक्त गर्छन्। कहिलेकाहीं हामी यसलाई असम्मान ठान्छौं। तर हुन सक्छ, उनीहरू असम्मानजनक होइनन्।

उनीहरू केवल बुझेर सम्मान गर्न चाहन्छन्। किनकि साँचो सम्मान कहिल्यै अन्ध हुँदैन। सम्मानमा विवेक पनि हुन्छ। आदर पनि हुन्छ र स्वतन्त्र सोच पनि हुन्छ। सम्मान मागिंदैन, बाँडिन्छ।

सम्मान एउटा यस्तो कुरा हो जुन माग्दा भन्दा दिंदा बढ्छ। हामी सबैलाई मन पराउन सक्दैनौं। हामी सबैसँग सहमत हुन सक्दैनौं।

तर हामी सबैसँग सम्मानजनक व्यवहार गर्न सक्छौं। यही मानवताको आधार हो। कसैको विचार मन नपरे पनि उसको गरिमा स्वीकार गर्न सक्नु नै परिपक्वता हो। कसैसँग असहमत हुँदैमा उसको सम्मान खोस्न नखोज्नु नै सभ्यता हो। कसरी आउँछ त यो सभ्यता? सर्वप्रथम आत्मसम्मानबाट, तर डरले त आत्मग्लानि बढ्छ, हाम्रो आत्मसम्मान होइन। मायाबाट जन्मिएको सम्मानले नै आत्मसम्मान बढाउँछ। अनि आत्मसम्मानले अरूलाई सम्मान गर्न सक्ने व्यक्ति बनाउँछ।

स्वस्थ सीमा र सम्मान 

के सम्मान भनेको अन्धो आज्ञापालन हो त ? कि यसको अर्थ आफू र अरू दुवैको गरिमा, सुरक्षा, सहमति र सीमा स्वीकार गर्नु हो।

स्वस्थ सीमा भनेको नै आफ्नो गरिमा, सुरक्षा, भावना र अधिकारको सम्मान गर्दै अरूसँगको सम्बन्धमा के स्वीकार्य छ र के छैन भन्ने स्पष्ट गर्न सक्ने क्षमता हो। सम्मान भएको सम्बन्धमा प्रश्न गर्न, असहमति व्यक्त गर्न र आवश्यक पर्दा ‘होइन’ भन्न पाइनुपर्छ। साँचो सम्मान त्यही सीमाको कदर गर्न सक्ने व्यवहारमा देखिन्छ, त्यसैले यी दुईलाई एकअर्काको परिपूरक मान्न मिल्छ।

स्वस्थ सीमाहरू सम्बन्ध बिगार्ने कुरा होइनन्; तिनले सम्बन्धलाई सुरक्षित र सम्मानजनक बनाउँछन्। विशेषगरी बालबालिकालाई आफ्नो असहजता व्यक्त गर्न, अनुचित व्यवहार अस्वीकार गर्न र ‘मलाई यो ठीक लागेन’ भन्न सिकाउनु असम्मान होइन, आत्मसम्मान र आत्मसुरक्षाको अभ्यास हो।

जब सम्मानलाई प्रश्न नगर्ने, चुपचाप सहने वा शक्तिका अगाडि झुक्ने व्यवहारसँग मात्र जोडिन्छ, तब दुरुपयोग र अन्यायले पनि सजिलै ठाउँ पाउँछन्। समाजमा धेरै प्रकारका हिंसा, शोषण र अधिकारको दुरुपयोग यही मौनता र डरको आडमा टिकेका हुन्छन्। त्यसैले साँचो सम्मान भनेको डर पैदा गर्नु होइन, बरु यस्तो वातावरण बनाउनु हो जहाँ मानिसहरूले सुरक्षित रूपमा बोल्न, प्रश्न गर्न र आफ्नो सीमा निर्धारण गर्न सकून्।

कल्पना गरौं : कति राम्रो होला ! हामी हेल्मेट प्रहरीको डरले होइन, सुरक्षाको चेतनाले लगाउँदा। विद्यार्थी सजायको डरले होइन, जिज्ञासाले सिक्न खोज्दा। कर्मचारी हटाइने डरले होइन, आफ्नो जिम्मेवारीको बोधले काम गर्दा। बच्चाले अभिभावकलाई कडा स्वरको डरले होइन, विश्वास र मायाले सम्मान गर्दा।

त्यस अवस्थामा सम्मान टिक्छ, बढ्छ। त्यो पुस्तौंसम्म सर्छ। किनकि डरले व्यवहार बदल्न सक्छ, तर मन परिवर्तन गर्न सक्दैन। मायाले भने व्यवहार मात्र होइन, दृष्टिकोण पनि बदल्न सक्छ।

अन्त्यमा, हामी कस्तो समाज चाहन्छौं? डरले शासित समाज? वा सम्मानले जोडिएको समाज?

डर आवश्यक छ। जीवन जोगाउन, जोखिम चिन्न र जिम्मेवार बन्न डरको आफ्नै स्थान छ। तर मानवीय सम्बन्धहरूमा डरले सधैं अग्रस्थान लिनुपर्छ भन्ने छैन। जहाँ डर हावी हुन्छ, त्यहाँ मानिसहरू गल्ती गर्न डराउँछन्। जहाँ सम्मान हुन्छ, त्यहाँ मानिसहरू सिक्न, प्रश्न गर्न र बढ्न हिम्मत गर्छन्। हाम्रो समाजमा धेरै पटक सम्मानलाई प्रेम र विश्वासभन्दा बढी डर, मौनता र आज्ञापालनसँग जोडेर हेरिएको छ। त्यसैले प्रश्नलाई असम्मान, असहमतिलाई विद्रोह र सहनशीलतालाई सम्मान ठान्यौं।

सम्मान भनेको गलतलाई सहेर बस्नु होइन। साँचो सम्मान त्यहाँ हुन्छ जहाँ माया हुन्छ, सुन्ने मन हुन्छ, र गलत हुँदा ‘यो ठीक लागेन’ भन्न सक्ने स्वतन्त्रता हुन्छ।

शायद अब समय आएको छ सम्मानलाई फेरि एकपटक नयाँ दृष्टिले हेर्ने। हामीले बच्चाहरूलाई डर होइन, विवेक सिकाउने। हामीले अधिकारभन्दा उदाहरणलाई प्राथमिकता दिने। हामीले सम्मान खोज्नुभन्दा पहिले सम्मान दिन सिक्ने। किनकि अन्ततः टिक्ने सम्बन्धहरू डरले होइन, विश्वासले बाँधिन्छन्।

हामीले छोडेर जाने सबैभन्दा ठूलो विरासत सम्पत्ति होइन, सम्बन्धको गुणस्तर हुन सक्छ। डरले टाउको झुकाउन सक्छ, तर माया र करूणाले मात्र मन झुकाउँछ र दीर्घकालीन सम्मान पनि सायद त्यही हो। डरको कहरबाट होइन, मायाको भरबाट जन्मिएको सम्मान !

लेखक
दिपा ओझा

ओझा विद्यालय परामर्शदाता, वेलबिइङ विशेषज्ञ र अनुसन्धानकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?