+
+
Shares

गुणस्तरीय बिरुवा नआएको भन्दै पाख्रीबास नगरपालिकाद्वारा ठेक्का रद्ध

धनकुटाको पाख्रीबास नगरपालिकाले सम्झौता अनुसार गुणस्तरीय फलफूलका बिरुवा समयमै उपलब्ध नभएको भन्दै किसानलाई वितरण गर्ने करिब १४ लाख रुपैयाँको बिरुवा आपूर्ति ठेक्का रद्ध गरेको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८३ साउन १ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको पाख्रीबास नगरपालिकाले सम्झौता बमोजिम गुणस्तरीय बिरुवा समयमै उपलब्ध नगराएको भन्दै १४ लाख रुपैयाँको फलफूल बिरुवा आपूर्ति गर्ने ठेक्का रद्ध गरेको छ ।
  • प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलले पटक–पटक ताकेता गर्दा पनि आपूर्तिकर्ताले सम्झौता अनुसार काम नगरेकाले सम्झौता रद्ध गर्नुपरेको जानकारी दिए।
  • आपूर्तिकर्ता हरिओम हाइटेक कृषि नर्सरी फार्मले भने नगरपालिकाले बिरुवा वितरणमा ढिलाइ गर्दा बिरुवा ओइलाएको दाबी गर्दै आफूले भुक्तानी पाउनुपर्ने माग राखेको छ ।

धनकुटा, १ साउन । धनकुटाको पाख्रीबास नगरपालिकाले सम्झौता अनुसार गुणस्तरीय फलफूलका बिरुवा समयमै उपलब्ध नभएको भन्दै किसानलाई वितरण गर्ने करिब १४ लाख रुपैयाँको बिरुवा आपूर्ति ठेक्का रद्ध गरेको छ ।

संघीय सरकारको ७५ लाख रुपैयाँ विशेष अनुदानअन्तर्गत १० वटै वडामा बगैंचा विस्तार कार्यक्रम सञ्चालन गरिएको थियो । नगरपालिकाले रौतहटमा रहेको हरिओम हाइटेक कृषि नर्सरी फार्मसँग ३८ हजार बिरुवा आपूर्ति गर्ने सम्झौता गरेको भए पनि आवश्यक गुणस्तर र परिमाणका बिरुवा समयमै नआएपछि सम्झौता रद्ध गरिएको जनाएको छ ।

आपूर्तिकर्तालाई पटक–पटक मौखिक तथा लिखित रुपमा ताकेता गरिए पनि सम्झौताअनुसार काम नभएकाले कार्यक्रम रद्ध गर्नुपरेको पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलले जानकारी दिए । यसअघि ल्याइएका बिरुवासमेत तीन दिनभित्र कार्यालय परिसरबाट फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको उनको भनाइ छ ।

नगरपालिकाले २८ लाख रुपैयाँको बोलपत्र प्रक्रियाबाट करसहित १४ लाख रुपैयाँमा आँप, लिची, केरा, अम्बा र मेवाका बिरुवा खरिद गर्ने सम्झौता गरेको थियो । नगरपालिकाकी कृषि शाखा प्रमुख इन्द्रमाया तामाङले सम्झौताका सर्त पूरा नभएकाले गुणस्तरहीन बिरुवाको भुक्तानी नगर्ने निर्णय गरिएको बताइन् ।

यता, हरिओम हाइटेक कृषि नर्सरी फार्मले भने मापदण्डअनुसारका स्वस्थ बिरुवा आपूर्ति गरिसकेको दाबी गर्दै नगरपालिकाले समयमै वितरण नगर्दा बिरुवा ओइलिएको र त्यसको जिम्मेवारी आफूलाई दिन नमिल्ने जनाएको छ ।

हरिओम हाइटेक कृषि नर्सरी फार्म रौतहटका सञ्चालक हरिओम बानियाँले सम्झौतामा भए अनुसारको बिरुवा नगरपालिकालाई उपलब्ध गराइसकेकाले सबै भुक्तानी दिनुपर्ने माग गरेका छन् ।

उनले नगरपालिकाले बिरुवा समयमा वितरण नगर्दा ओइलाएर मर्न थालेको र बिरुवा मर्नुमा आफ्नो गल्ती नभएको भन्दै बिरुवाको भुक्तानी दाबी गरेका हुन् । बानियाले नगरपालिकाको कृषि शाखाको गल्तीका कारण आफूले ठूलो नोक्सानी बेहोर्नु परेको गुनासो गरे ।

फलफूलका बिरुवाका लागि एक हजार एक सय किसानले आवेदन दिएका थिए । विशेष अनुदानअन्तर्गत प्लास्टिक टनेल र पोखरी निर्माण कार्यक्रम सम्पन्न भइसकेका छन् भने एभोकाडो, कागती, सुन्तला र जुनारका बिरुवा वितरण कार्यक्रम सञ्चालन भइसकेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?