+
+
Shares

धनकुटामा डेंगी फैलावट रोक्न ‘खोज र नष्ट गर अभियान’

धनकुटमा चालु आर्थिक वर्षमा हालसम्म ४२ जनामा डेंगीको संक्रमण देखिएको छ । जसमा सबैभन्दा बढी महालक्ष्मी नगरपालिकामा २५ जनामा संक्रमण देखिएको हो ।

ईश्वर थापा ईश्वर थापा
२०८३ असार १७ गते १३:५३

१७ असार, धनकुटा । पहाडी जिल्ला धनकुटामा डेंगी संक्रमण बढ्न थालेपछि सचेतना अभियान थालिएको छ । स्वास्थ्य कार्यालयले बुधबार धनकुटामा र्‍यालीसहित ‘खोज र नष्ट गर’ अभियानसँगै सचेतना थालेको हो ।

कोशी राजमार्गको धनकुटाको भीमनारायण चोकदेखि बसपार्कसम्म र्‍यालीसहित उक्त सचेतना कार्यक्रम र ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

सर्वसाधारणलाई डेंगी रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

अभियानका क्रममा डेंगीबारे जानकारी, यसबाट बच्न अपनाउनुपर्ने उपायलगायत विषयमा नागरिकलाई जानकारी प्रदान गर्न थालिएको छ ।

अभियानअन्तर्गत धनकुटामा हरेक शुक्रबार सबै स्थानीय तहमा डेंगी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बञ्जाडेले जानकारी दिइन् ।

डेंगी सार्ने एडिस जातको पोथी लामखुट्टेको जीवनचक्रलाई तोड्नु अभियानको मुख्य उद्देश्य रहेको उनले बताइन् । ‘लामखुट्टे वयस्क भएर मानिसलाई टोक्नुअघि यसको लार्भा र प्युपा अवस्था पहिचान गरी नष्ट गर्न सके डेंगीको संक्रमण घटाउन सकिन्छ । त्यसैले यो अभियान सञ्चालन गर्न लागिएको हो,’ बञ्जाडेले भनिन् ।

धनकुटमा चालु आर्थिक वर्षमा हालसम्म ४२ जनामा डेंगीको संक्रमण देखिएको छ । जसमा सबैभन्दा बढी महालक्ष्मी नगरपालिकामा २५ जनामा संक्रमण देखिएको हो ।

यस्तै, धनकुटा नगरपालिकामा ६ जना, पाख्रिबास नगरपालिकामा ५ जना, साँगुरीगढी गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा ३/३ जनामा डेंगी संक्रमण देखिएको प्रमुख बञ्जाडेको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा १७३ जनामा डेंगी संक्रमण देखिएको थियो ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?