News Summary
Generated by OK AI. Editorially reviewed.- वैज्ञानिकहरूले ब्रह्माण्डमा परग्रहवासी जीवनको प्रमाणलाई हाम्रो प्रविधि र बुझाइको कमीका कारण नजरअन्दाज गरिरहेको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
- नेचर एस्ट्रोनोमीमा प्रकाशित अनुसन्धानअनुसार हालको प्रविधिले पृथ्वीभन्दा भिन्न रासायनिक वा वातावरणीय परिस्थितिमा रहेको जीवनलाई पहिचान गर्न नसक्ने जोखिम उच्च छ।
- वैज्ञानिकहरूले जैविक संकेत पहिचान गर्न प्रयोगशाला परीक्षण, कम्प्युटर मोडेलिङ र आर्टिफिसियल इन्टेलिजेन्सको एकीकृत प्रयोग अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्।
१७ असार, काठमाडौं । वैज्ञानिकहरूले अन्तरिक्षमा परग्रहवासी जीवन( एक्स्ट्राटेरेस्ट्रियल लाइफ) को उपस्थिति हुँदाहुँदै पनि हामीले त्यसको प्रमाणलाई चिन्न नसकी नजरअन्दाज गरिरहेको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
‘नेचर एस्ट्रोनोमी’ जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धान पत्रमा ‘फल्स नेगेटिभ्स’ अर्थात् ब्रह्माण्डमा कतै जीवनको अस्तित्व भएर पनि हाम्रो प्रविधि वा बुझाइको कमीका कारण त्यसलाई पहिचान गर्न नसक्ने समस्यामाथि गम्भीर बहस गरिएको छ।
यस अनुसन्धानका प्रमुख लेखक तथा उट्रेख्त विश्वविद्यालय र एम्स्टर्डम विश्वविद्यालयका एस्ट्रोबायोलोजी (खगोल जीवविज्ञान) का प्राध्यापक इन्गे लोस तेन काटेका अनुसार अन्तरिक्ष अनुसन्धानमा आजसम्म वैज्ञानिकहरू ‘फल्स पोजेटिभ’ (जीवन नभए पनि जैविक संकेत जस्तो देखिने भ्रम) प्रति निकै सचेत थिए, तर वास्तवमै जीवन भएर पनि त्यसलाई फेला पार्न नसकिने ‘फल्स नेगेटिभ’ को जोखिमलाई भने अनुसन्धानको प्राथमिकतामा राखिएको छैन।
यसको अर्थ वर्तमानमा अर्बौँ डलर खर्च गरेर पठाइएका अन्तरिक्ष मिसनहरू र उपकरणहरूको बनावट वा उद्देश्यमा नै ठूलो कमी कमजोरी हुन सक्छ।
वैज्ञानिकहरूका अनुसार कुनै पनि ग्रह वा उपग्रहमा जीवहरूले छाडेका जैविक अवशेषहरू (बायोसिग्नेचर्स) समयसँगै नष्ट हुन सक्छन्, वा तिनीहरूबाट उत्सर्जन हुने संकेतहरू अत्यन्तै कमजोर हुन सक्छन्।
अर्को मुख्य समस्या के हो भने, मानिसले जहिले पनि आफूलाई थाहा भएको वा पृथ्वीमा देखेको जस्तै जीवनको स्वरूप मात्र खोज्ने गर्दछ।
यदि कुनै ग्रहमा हाम्रो कल्पनाभन्दा सर्वथा फरक प्रकारको रासायनिक वा वातावरणीय परिस्थितिमा जीवन अस्तित्वमा छ भने वर्तमान प्रविधिले त्यसलाई पहिचान गर्न सक्दैन।
उदाहरणका लागि, मंगल ग्रहमा भेटिएका फलामका खनिजहरूमा देखिएको अनौठो अक्सिडेशन पृथ्वीमा केवल जीवनको उपस्थितिका कारण मात्र सम्भव हुन्छ, तर मंगल ग्रहको सन्दर्भमा यो कुनै अज्ञात भू-रासायनिक प्रक्रिया पनि हुन सक्छ। यसको गहिरो अध्ययन नगरिएमा हामीले वास्तविक जैविक प्रमाणलाई नै गुमाउने जोखिम रहन्छ।
अन्तरिक्षमा रहेका सम्भावित जैविक संकेतहरू पहिचान गर्न वैज्ञानिकहरूले अब प्रयोगशाला परीक्षण, कम्प्युटर मोडेलिङ र पृथ्वीका दुर्गम क्षेत्रहरूमा गरिने स्थलगत अध्ययन (फिल्डवर्क) लाई एकीकृत गर्नुपर्ने सुझाव दिएका छन्।
यसका साथै, मानव आँखा वा परम्परागत प्रविधिले ठम्याउन नसकेका जटिल ढाँचा र सम्बन्धहरू पत्ता लगाउन ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोग गर्नु निकै प्रभावकारी हुने अनुसन्धानमा उल्लेख छ।
वास्तविक जीवनको प्रमाण फेला पार्न नसक्नुका दुईवटा ठूला राजनीतिक र आर्थिक परिणामहरू हुन सक्छन्।
पहिलो, कुनै ग्रहमा जीवनको उपस्थितिलाई ठम्याउन नसक्दा वैज्ञानिकहरूले उक्त क्षेत्रलाई मृत ठानेर आफ्नो ध्यान अन्यत्र मोड्न सक्छन्, जसले गर्दा बस्न योग्य वातावरणहरूको खोजी सधैँका लागि बन्द हुन सक्छ।
दोस्रो र अझ खतरनाक पक्ष भनेको, नीति निर्माताहरूले कुनै ग्रहलाई जीवनरहित घोषणा गरेर त्यहाँ व्यावसायिक रूपमा कच्चा पदार्थ वा खनिज उत्खननको अनुमति दिन सक्छन्, जसका कारण त्यहाँ लुकेर रहेको रैथाने परग्रहवासी जीवन सधैँका लागि नष्ट हुन सक्छ।
त्यसैले कुनै पनि नयाँ ग्रहमा अन्तरिक्षयान अवतरण गराउनुअघि त्यहाँको भू-रासायनिक परिस्थितिको सूक्ष्म अध्ययन गर्नु अपरिहार्य रहेको वैज्ञानिकहरूको निष्कर्ष छ।
प्रतिक्रिया 4