News Summary
Generated by OK AI. Editorially reviewed.- नासाको ओरियन अन्तरिक्षयानले चन्द्रमाको परिक्रमा पूरा गरी पृथ्वीमा फर्कने क्रममा शौचालयको पिसाब व्यवस्थापन प्रणाली बिग्रिएको छ।
- अन्तरिक्षयात्रीहरूले पिसाबलाई अन्तरिक्षमा फाल्ने प्रणाली बन्द भएकाले ब्याकअप कन्टेनर प्रयोग गरिरहेका छन्।
- ओरियन अन्तरिक्षयान शुक्रबार प्रशान्त महासागरमा अवतरण गर्ने तयारीमा छ र समस्या जाँच गरिनेछ।
चन्द्रमाको परिक्रमा गर्ने सफल यात्रा पूरा गरेसँगै नासाको ओरियन अन्तरिक्षयान अहिले पृथ्वीमा फर्किंदैछ। यो चन्द्र मिसनमा अहिलेसम्म सबैजसो कुरा योजना मुताबिक नै भइरहेको छ । तर अति सामान्यजस्तो लाग्ने एउटा निकै महत्वपूर्ण चिज भने फेल भएको छ ।
समाचार अनुसार उक्त अन्तरिक्षयानमा रहेको करिब २३ मिलियन डलर अर्थात ३ अर्ब रुपैयाँ भन्दा धेरै मूल्य पर्ने शौचालय अचानक बिग्रिएको छ। जसका कारण शौचालयमा रहेको पिसाबलाई अन्तरिक्षमा फाल्ने प्रणाली बन्द भएको छ ।
नासाका अनुसार पिसाब प्रणालीभित्र भएको रासायनिक प्रतिक्रियाका कारण यो समस्या उत्पन्न भएको हो । तर दिसा व्यवस्थापन गर्ने अलग प्रणालीले भने हालसम्म ठीकसँग काम गरिरहेको छ ।
अन्तरिक्षयात्री क्रिस्टिना कोचले युनिभर्सल वेस्ट म्यानेजमेन्ट सिस्टम भनिने उक्त ट्वाइलेटबाट जलिरहेको हिटर जस्तो गन्ध आइरहेको बताएकी छिन् ।
उडान निर्देशक रिक हेन्फ्लिङका अनुसार शौचालय अझै सञ्चालनमा छ तर फोहोर पानीको ट्यांकी खाली गर्न समस्या भइरहेको छ । यसको निकास कम भएकोले अहिले अन्तरिक्षयात्रीले ब्याकअप प्रणाली प्रयोग गर्नुपरेको छ ।
अहिले चारै जना अन्तरिक्षयात्रीले व्यक्तिगत रूपमा पुनः प्रयोग गर्न मिल्ने कन्टेनर अर्थात् कोल्याप्सिबल कन्टिन्जेन्सी युरिन डिस्पोजल डिभाइस प्रयोग गरिरहेका छन् ।
अन्तरिक्षयानले उडान भरेको केही घण्टापछि नै शौचालयको पिसाब व्यवस्थापन प्रणालीमा समस्या देखिएको थियो ।
क्रिस्टिना कोचले सिस्टम कन्ट्रोल मिलाएकी थिइन् र मिसन कन्ट्रोलको सहयोगमा यसलाई पुनः सुरु पनि गरिएको थियो ।
सुरुमा समस्या समाधान भएको जस्तो लागेको थियो तर पुनः समस्या देखियो ।
अन्तरिक्षयात्री कोच भन्छिन्, ‘म आफूलाई अन्तरिक्षको प्लम्बर भन्न पाउँदा गर्व महसुस गरिरहेकी छु ।’
शौचालय कुनैपनि अन्तरिक्षयानको सबैभन्दा आवश्यक उपकरण भएको उनको अनुभव छ ।
उनका अनुसार शौचालयको त्यो समस्या अझै पनि पूर्ण रूपमा समाधान भएको छैन । जसका कारण अन्तरिक्ष यात्रीहरूले अझै पनि पिसाबलाई अन्तरिक्षमा बाहिर फाल्न सकिरहेका छैनन् ।
यो विषय अमेरिकाको ह्युस्टनस्थित जोन्सन स्पेस सेन्टरमामा हुने हरेक पत्रकार सम्मेलनमा मुख्य चर्चाको विषय बनेको छ ।
स्मरण रहोस् यो त्यही केन्द्र हो, जहाँ सन् १९७० मा एपोलो १३ मिसनका क्रममा अन्तरिक्षयात्री ज्याक स्विगर्टले एउटा प्रसिद्ध वाक्य भनेका थिए– ह्युस्टन, हामीकहाँ समस्या देखिएको छ ।
त्यतिबेला अक्सिजन ट्याङ्क विस्फोट भएपछि उत्पन्न भएको समस्याले गर्दा मिशन रद्द गरिएको थियो । तीनै जना अन्तरिक्षयात्री सुरक्षित रूपमा पृथ्वी फर्किन सफल भएका थिए ।
ओरियन स्पेसक्राफ्टमा जडान गरिएको शौचालय अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा प्रयोग हुने शौचालयजस्तै हो । तर यसलाई पहिलो पटक चालक दलसहितको दूर अन्तरिक्ष अर्थात् डिप स्पेस मिसनमा प्रयोग गरिएको छ ।
स्मरण रहोस् एपोलो मिसनका अन्तरिक्षयात्रीसँग शौचालयको सुविधा थिएन । उनीहरूले विशेष प्रकारका ब्याग प्रयोग गर्थे ।
अहिलेको करिब ५ मिटर चौडा र ३ मिटर अग्लो ओरियन अन्तरिक्षयान मा त्यसको भुइँमुनि शौचालय रहेको छ । त्यो एक मात्र त्यस्तो ठाउँ हो जहाँ अन्तरिक्ष यात्रीहरू केहीबेर एक्लै बस्न पाउँछन् । शौचालयभित्र निकै ठूलो आवाज हुने भएकाले कानको सुरक्षा आवश्यक पर्छ ।
त्यहाँ माइक्रोग्राभिटीमा काम गर्न सकियोस् भनेर सक्सन सिस्टम जडान गरिएको छ । दिसालाई डिस्पोजेबल ब्यागमा राखेर थिचिन्छ र पछि पृथ्वीमा फिर्ता ल्याइनेछ ।
नासाकी सहायक प्रशासक लोरी ग्लेजका अनुसार ओरियन अन्तरिक्षयान पृथ्वीमा अवतरण गर्नेबित्तिकै त्यसको भित्र गएर समस्याको जाँच गरिनेछ । यो यान अमेरिकी समय अनुसार शुक्रबार प्रशान्त महासागरमा अवतरण गर्ने तयारीमा छ ।
एजेन्सी
प्रतिक्रिया 4