News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको मुलघाटमा सोमबार तमोर नदीमा आएको आकस्मिक बाढीले दाहसंस्कार भइरहेको एउटा चिता बगाएको छ ।
- नदीको सतह एक्कासी बढेपछि ७५ प्रतिशत जलिसकेको शव बगेको र अर्को एउटा चितालाई समेत बाढीले पल्टाएको छ ।
- स्थानीयले जोखिम मोलेर दाहसंस्कार गर्नुपर्ने बाध्यता रहेकाले सुरक्षित दाहसंस्कार स्थल निर्माण गर्न माग गरेका छन् ।
३० असार,धनकुटा । धनकुटाको प्रमुख दाहसंस्कार स्थल मुलघाटमा सोमबार आएको आकस्मिक बाढीले नदी किनारमा जल्दै गरेको चिता बगाएपछि केही समय दाहसंस्कार कार्य नै प्रभावित भएको छ ।
वर्षायामसँगै तमोर नदीमा पानीको बहाव एक्कासी बढ्दा जल्दै गरेको चिता बगाएको हो । धनकुटा नगरपालिका वडा नं. ६ आत्माराका गौरी रोक्काको दाहसंस्कार भइरहेका बेला तमोर नदीमा पानीको सतह अचानक बढ्न थालेको थियो । केहीबेरमै बाढी बढेपछि नदी किनारमा जल्दै गरेको चिता बगाएर नदीको बीच भागतर्फ लगेको थियो ।
घटनाका प्रत्यक्षदर्शी त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक पोख्रेलका अनुसार त्यस समयमा मुलघाटमा चारवटा शवको दाहसंस्कार भइरहेको थियो । तीमध्ये एउटा चिता बाढीले बगाएको हो ।
उनका अनुसार शव ७५ प्रतिशत जलेपछि चिता बगेर नदीको बीच भागमा तैरिंदै तलतिर गएको थियो । ‘नदीको बहाव सामान्य देखिएकै अवस्थामा चिता जलाइएको थियो’, पोख्रेलले भने, ‘तर, केही समयमै माथिबाट ठूलो मात्रामा पानी आएपछि नदीको सतह ह्वात्तै बढ्यो । हेर्दाहेर्दै जल्दै गरेको चिता बगेर नदीको बीच भागमा पुग्यो ।’
उनका अनुसार अर्को एउटा चितालाई पनि बाढीको बहावले पल्टाएको थियो । त्यसपछि दाहसंस्कारमा सहभागीहरुले तत्काल शवलाई सुरक्षित स्थानमा सारेर नदीभन्दा माथिल्लो भागमा नयाँ चिता निर्माण गरी दाहसंस्कार गरेका थिए ।
धनकुटा नगरपालिका वडा नं. ९ मुलघाट तमोर नदी किनारमा रहेको धनकुटा जिल्लाको मुख्य दाहसंस्कार स्थल हो । विश्रान्ति मन्दिर छेउमा रहेको दाहसंसकार स्थल भएकाले धेरै मानिसहरु दाहसंस्कार गर्न आउने गरेका छन् । तर, वर्षायाममा नदीको बहाव बढ्ने क्रमसँगै त्यहाँ दाहसंस्कार गर्न कठिनाइ हुने गरेको छ ।
दाहसंस्कार स्थल नजिक डिजेलबाट चल्ने दाहसंसकार घर बनाइए पनि केही वर्ष अगाडिको बाढीले क्षति पुर्याएपछि सञ्चालन बन्द भएको छ । जसले गर्दा नदीको सतह अचानक बढ्दा शोकमा रहेका परिवारले समेत जोखिम मोलेर दाहसंस्कार गर्नुपर्ने अवस्था ज्युका त्यूँ रहेको छ ।
बर्सेनि तमोर नदीमा आउने बाढीले मुलघाट क्षेत्रमा रहेका विश्रान्ति मन्दिर आसपास रहेका केही भौतिक संरचनामा क्षति पुर्याएको थियो । त्यसयता सुरक्षित दाहसंस्कारका लागि स्थायी तथा सुरक्षित संरचना निर्माण गर्नुपर्ने माग उठ्दै आए पनि प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।
वर्षायाम सुरु भएसँगै तमोर नदीमा पानी सहत र बहाव निरन्तर बढ्ने भएकाले आवश्यक सुरक्षा व्यवस्था मिलाउनुका साथै दीर्घकालीन रुपमा सुरक्षित दाहसंस्कार स्थल निर्माणतर्फ ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
त्यसो त तमोर नदीको मुलघाट क्षेत्रमा सशस्त्र प्रहरी बल नम्बर छ हेडक्वाटर छिन्ताङ गुल्मले बेश क्याम्प खडा गरेर मानिसहरु नदीमा डुबेमा तथा बगाएमा उद्धार गर्न टोली तैनाथ गर्दै आएको छ । यसले कतिपय मानिसको उद्धार पनि गरेको छ भने कतिपय मानिस बेपत्ता भएका छन् । यस्तै कतिपयको केही समयपछि शव फेला परेको घटना पनि हुँदै आएको छ ।
प्रतिक्रिया 4