News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदानप्रदानका लागि स्पेनका ११९ जना युवा, पत्रकार र चिकित्सकको टोली चितवन आइपुगेको छ ।
- टोलीले नेपालको कला, संस्कृति, जैविक विविधता र जलवायु परिवर्तनलगायतका विषयमा अध्ययन गर्दै पटिहानीमा वृक्षारोपणसमेत गरेको छ ।
- चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त टोलीलाई विभिन्न पर्यटकीय स्थलको अवलोकन गराउने र स्थानीय युवाहरूसँग अन्तरक्रिया गराउने कार्यक्रम रहेको छ ।
३ साउन, चितवन । पटिहानी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक र सिकाइ आदानप्रदानका लागि स्पेनको रुटा इन्टरनेशनलमार्फत १९९ जना युवा विद्यार्थी, पत्रकार तथा चिकित्सकको टोली चितवन आएको छ ।
२४ दिने नेपाल भ्रमणमा रहेको टोलीले काठमाडौंसहित चितवनका विभिन्न स्थानमा पुगेर नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा, पर्यावरण, जैविक विविधता तथा जलवायु परिवर्तनलगायतका विषयमा अध्ययन र अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
टोलीले शनिबार बिहान पटिहानी क्षेत्रमा वृक्षारोपणसमेत गरेको भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
उनका अनुसार स्पेनी टोलीलाई चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र, पटिहानीको कमलपोखरी, थारु सांस्कृतिक संग्रहालय, अम्ब्रेला स्ट्रिट, स्टोन पार्कलगायतका पर्यटकीय स्थलको अवलोकन गराइनेछ ।
रुटा इन्टरनेशनलका प्रतिनिधि सुदीप थापाले विभिन्न देशको अध्ययन तथा अवलोकन भ्रमण गर्ने क्रममा यस वर्ष स्पेनका युवा नेपाल आएको बताए । उनका अनुसार टोलीले नेपालको भौगोलिक बनोट, जातीय विविधता र सांस्कृतिक सम्पदाप्रति विशेष चासो देखाएको छ ।
गत वर्ष टर्की भ्रमणमा गएको यही टोलीले यसपटक पटिहानीका युवा विद्यार्थीहरूसँग अन्तरक्रिया तथा सिकाइ आदानप्रदान गर्ने कार्यक्रम पनि राखेको छ ।
१८ देखि २५ वर्ष उमेर समूहका यी युवा भविष्यमा पर्यटकका रूपमा पुन: नेपाल आउन सक्ने तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने प्रभावशाली सन्देशवाहक (इन्फ्लुएन्सर) बन्न सक्ने भएकाले विशेष आतिथ्य गरिएको वडाध्यक्ष महतोले बताए ।
उनले स्पेनका युवाहरूको भ्रमणले पटिहानी मात्र होइन, समग्र चितवनको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
टोली पटिहानीमा तीन रात चार दिन बस्ने कार्यक्रम छ । यस अवधिमा स्पेन र अर्जेन्टिनाबीचको विश्वकप फाइनल फुटबल खेल सामूहिक रूपमा हेर्ने व्यवस्था पनि गरिएको वडाध्यक्ष महतोले जानकारी दिए ।
प्रतिक्रिया 4