+
फिफा विश्वकप २०२६ :

दुई महादेशीय च्याम्पियन विश्वविजेता बन्न भिड्दै

२०८३ साउन  ३ गते १९:१२ २०८३ साउन ३ गते १९:१२

अनुभवी लियोनल मेसीले आफ्नो ऐतिहासिक करियरमा अर्को स्वर्णिम अध्याय थप्ने प्रयास गर्नेछन् भने १८ वर्षीय लामिन यमाल विश्व फुटबलको नयाँ युग सुरु गर्ने लक्ष्यमा हुनेछन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को उपाधिका लागि सोमबार बिहान अर्जेन्टिना र स्पेनबीच न्युयोर्कको न्युजर्सी स्टेडियममा फाइनल खेल हुँदै छ ।
  • लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा रहेको अर्जेन्टिना र १६ वर्षपछि उपाधिको खोजीमा रहेको स्पेनबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
  • लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना र युवा खेलाडीले भरिएको स्पेनका लागि यो खेल फुटबलको भविष्य निर्धारण गर्ने निर्णायक संघर्ष हो ।

३ साउन, काठमाडौं । ४८ टोली, १०४ खेल र अन्तिममा एक विजेता । ९६ वर्ष लामो विश्वकप इतिहासको २३औं संस्करण अन्ततः यस्तो मोडमा आइपुगेको छ, जहाँ फेरि एकपटक नयाँ इतिहास लेखिने तयारी भइरहेको छ ।

एउटा टोली लगातार दोस्रो विश्वकप जित्दै फुटबल इतिहासमा दुर्लभ उपलब्धि हासिल गर्ने लक्ष्यमा छ भने अर्को टोली १६ वर्षपछि फेरि विश्व फुटबलको सर्वोच्च सिंहासनमा फर्किने सपना बोकेर मैदान उत्रँदैछ ।

एकातिर आठौं पटक विश्वकप फाइनल खेल्न लागेको अर्जेन्टिना छ, जसको केन्द्रमा अझै पनि लियोनल मेसी छन् । अर्कोतिर युवा जोश, तीव्र आक्रमण र आकर्षक फुटबलले विश्वलाई प्रभावित बनाएको स्पेन छ, जसले दोस्रो विश्वकप उपाधि जित्ने अवसर खोजिरहेको छ ।

अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा सोमबार बिहान हुने फिफा विश्वकप २०२६ को फाइनल केवल दुई टोलीबीचको उपाधि भिडन्त मात्र होइन, दुई पुस्ता, दुई शैली र दुई फरक फुटबल दर्शनबीचको निर्णायक संघर्ष पनि हुनेछ ।

अनुभवी मेसीले आफ्नो ऐतिहासिक करियरमा अर्को स्वर्णिम अध्याय थप्ने प्रयास गर्नेछन् भने १८ वर्षीय लामिन यमाल विश्व फुटबलको नयाँ युग सुरु गर्ने लक्ष्यमा हुनेछन् । त्यसैले यो फाइनलमा केवल ट्रफीको मात्र होइन, फुटबलको भविष्य कसको हातमा जाने भन्ने प्रश्नको पनि उत्तर खोजिनेछ ।

समूह चरणदेखि नै अपराजित रहेर दुवै टोलीले आफू किन उपाधिका प्रमुख दाबेदार हुन् भन्ने प्रमाणित गरेका छन् । अर्जेन्टिनाले कठिन नकआउट यात्रा पार गर्दै लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको हो भने स्पेनले प्रतियोगिताभर नियन्त्रणमा आधारित आक्रामक फुटबल खेल्दै सबैभन्दा प्रभावशाली टोलीमध्ये एकको छवि बनाएको छ ।

अब बाँकी छ केवल ९० मिनेट, वा आवश्यक परे त्यसपछि थपिने समय । त्यसपछि विश्वकप फुटबलले २३औं संस्करणको च्याम्पियन पाउनेछ ।

स्पेनको प्रभावशाली यात्रा

युरोपियन च्याम्पियन स्पेनले सेमिफाइनलमा उपाधिका प्रमुख दाबेदार फ्रान्सलाई पूर्ण रूपमा नियन्त्रणमा राख्दै फाइनल यात्रा तय गरेको थियो । लामो समय बल आफ्नो नियन्त्रणमा राख्ने शैली र सटीक फिनिसिङका कारण स्पेन प्रतियोगिताकै सबैभन्दा सन्तुलित टोलीका रूपमा देखिएको छ ।

स्पेनले समूह ‘एच’ को सुरुवात भने सहज गर्न सकेन । सबैलाई आश्चर्यमा राखेको टोली केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि उसले साउदी अरेबियालाई ४–० ले हरायो भने उरुग्वेमाथि १–० को जित निकाल्दै समूह विजेता बन्यो ।

त्यसपछि अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले हराएको स्पेनले अन्तिम १६ मा पोर्चुगल र क्वार्टरफाइनलमा बेल्जियमलाई दुवै खेलमा अन्तिम समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलको मद्दतमा पराजित गर्‍यो। प्रतियोगिताभर स्पेनले हालसम्म केवल एक गोल मात्र बेहोरेको छ ।

अब सन् २०१० पछि पहिलो पटक विश्वकप फाइनल खेल्दै स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा छ ।

कठिन बाटो हुँदै अर्जेन्टिना

कोपा अमेरिका विजेता तथा विश्वकपको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको यात्रा भने स्पेनको तुलनामा निकै कठिन रह्यो ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले समूह चरणका तीनै खेल जित्यो । अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक, अस्ट्रियाविरुद्ध दुई गोल तथा जोर्डनविरुद्ध अर्को उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनाले समूह चरण सहजै पार गर्‍यो ।

तर त्यसपछि प्रत्येक चरणमा अर्जेन्टिनाले संघर्ष गर्नुपर्‍यो । अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराएको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध ७९औं मिनेटसम्म २–० ले पछि परेको अवस्था उल्ट्याउँदै ऐतिहासिक पुनरागमन गर्‍यो ।

क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा पराजित गरेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पनि पुनरागमन गर्दै फाइनल यात्रा तय गर्‍यो । एन्थोनी गोर्डनको गोलले पछि परेको अवस्थामा एन्जो फर्नान्डेज र बेञ्चबाट आएका लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो फाइनलमा पुर्‍याएका थिए ।

अब अर्जेन्टिना ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो टोली बन्ने अवसरलाई नतिजामा बदल्ने लक्ष्यमा छ ।

विश्वकपमा दोस्रो भेट

स्पेन र अर्जेन्टिनाबीच विश्वकपमा यसअघि केवल एकपटक मात्र भेट भएको थियो ।

सन् १९६६ मा भएको उक्त खेलमा अर्जेन्टिनाले स्पेनलाई २–१ ले पराजित गरेको थियो । लुइस आर्टिमेले अर्जेन्टिनाका दुवै गोल गरेका थिए ।

दुवै टोलीबीच विश्वकप बाहिर भने १३ पटक मैत्रीपूर्ण खेल भएको छ । त्यसमा स्पेनले ६, अर्जेन्टिनाले ५ जित निकालेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् ।

दुवै टोलीबीचको पछिल्लो भेट २०१८ मा भएको थियो, जहाँ स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो ।

ध्यान दिनुपर्ने खेलाडी

अर्जेन्टिनाका लागि सबैको नजर फेरि एकपटक लियोनल मेसीमाथि हुनेछ । आठ गोलसहित गोल्डेन बुटको दौडमा कायमै रहेका मेसी प्रतियोगिताका सर्वाधिक प्रभावशाली खेलाडीमध्ये एक हुन् ।

स्पेनका लागि युवा स्टार लामिन यमाल, कप्तान रोड्री, डानी ओल्मो र सेन्टरब्याक जोडी आयमेरिक लापोर्टे–पाउ कुबार्सी निर्णायक बन्न सक्छन् ।

अर्जेन्टिनाका लागि मेसीसँगै जुलियन आल्भारेज, लाउतारो मार्टिनेज, एन्जो फर्नान्डेज तथा गोलकिपर एमिलियानो मार्टिनेज पनि मुख्य खेलाडी रहनेछन् ।

टिम न्युज र सम्भावित ११ 

स्पेनका युवा स्टार लामिन यमाल ट्रेनिङमा नदेखिएको भन्ने चर्चा भइरहेको भएपनि यसबारेमा कुनै आधिकारिक जानकारी छैन । स्पेनको नियमित टोली पूर्णरूपमा फिट नै रहेको जानकारी छ ।

यता अर्जेन्टिनाको टोलीमा पनि कुनै समस्याको खबर छैन । यसअघि सुरुवात गरेका र बेन्चबाट आएका सबै खेलाडी (समाचार तयार पार्दासम्म) खेल्न फिट अनि योग्य नै छन् ।

स्पेनको सम्भावित ११ : उनाइ सिमोन; पेड्रो पोरो, आयमेरिक लापोर्टे, पाउ कुबार्सी, मार्क कुकुरेला; रोड्री, फाबियन रुइज; लामिन यमाल, डानी ओल्मो, एलेक्स बाएना; मिकेल ओयरजाबाल

अर्जेन्टिनाको सम्भावित ११ : एमिलियानो मार्टिनेज; नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलास टालियाफिको; लिएन्ड्रो पारेडेस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जुलियानो सिमियोने; लियोनल मेसी, जुलियन अल्भारेज

***

खेल : स्पेन भर्सेस् अर्जेन्टिना, फाइनल
मिति र समय : ४ साउन बिहान १२:४५ बजे
स्थान : न्युयोर्क न्युजर्सी स्टेडियम
प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय