News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि श्रीलंकाका पूर्व क्रिकेटर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
- अन्तराष्ट्रिय अनुभव र प्राविधिक ज्ञानले टोलीको प्रदर्शनमा सुधार ल्याउने अपेक्षा गर्दै व्यवस्थापनले मेन्डिसलाई जिम्मेवारी दिएको हो ।
- मेन्डिसले नेपालमा क्रिकेटको स्तर उकासिँदै गएको बताउँदै खेलाडी र व्यवस्थापनसँग मिलेर बलियो टोली निर्माण गर्ने लक्ष्य राखेको बताए ।
३ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि पोखरा एभेन्जर्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
पोखरा एभेन्जर्सले आगामी सिजनका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ ।
श्रीलंकाका सफल स्पिनरमध्ये एक मानिने मेन्डिसले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै प्रारूपमा देशको प्रतिनिधित्व गरेका छन् । आफ्नो रहस्यमयी बलिङ शैलीका कारण चर्चित बनेका उनले सन् २००८ को एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । उक्त प्रतियोगितामा श्रीलंकालाई उपाधि दिलाउन उनको भूमिका महत्त्वपूर्ण थियो ।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले मेन्डिसको अन्तर्राष्ट्रिय अनुभव, प्राविधिक ज्ञान र नेतृत्व क्षमताले टोलीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनका अनुसार मेन्डिसको आगमनले टोलीको प्रदर्शन सुधार हुनुका साथै युवा खेलाडीको विकासमा पनि टेवा पुग्नेछ ।
मुख्य प्रशिक्षक नियुक्त भएपछि मेन्डिसले पोखरा एभेन्जर्स परिवारसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए । उनले खेलाडी, प्रशिक्षक र व्यवस्थापनसँग मिलेर बलियो टोली निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै नेपालमा क्रिकेटको स्तर तीव्र रूपमा उकासिँदै गएको र यहाँ प्रशस्त प्रतिभा रहेको बताए ।
पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणमा मेन्डिसको नेतृत्वमा उपाधि चुनौती प्रस्तुत गर्ने अपेक्षा गरेको छ ।
प्रतिक्रिया 4