News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकपको २३औं संस्करणको फाइनलमा पूर्वविजेता अर्जेन्टिना र स्पेन सोमबार बिहान उपाधिका लागि आमनेसामने हुँदै छन् ।
- अर्जेन्टिनी कप्तान लियोनल मेसीले लगातार दोस्रो विश्वकप उपाधि जित्दै आफ्नो ऐतिहासिक करियरको सुखद अन्त्य गर्ने लक्ष्य राखेका छन् ।
- स्पेनका १८ वर्षीय युवा प्रतिभा लामिन यमाल र कप्तान रोड्रीको खेलले फाइनलको नतिजा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।
३ साउन, काठमाडौं । फिफा विश्वकपले सोमबार बिहान २३औं संस्करणको विजेता पाउँदैछ । उपाधिका लागि दुई पूर्वविजेता टोली स्पेन र अर्जेन्टिना आमनेसामने हुँदै छन् ।
फाइनलमा अर्जेन्टिना र स्पेनबीचको भिडन्त केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र होइन, विश्व फुटबलका केही उत्कृष्ट र सबैभन्दा प्रभावशाली खेलाडीबीचको पनि संघर्ष हुनेछ ।
एकातिर आफ्नो करियरकै अन्तिम विश्वकप खेलिरहेका लियोनल मेसी छन् भने अर्कोतिर विश्व फुटबलको नयाँ सुपरस्टारका रूपमा उदाएका लामिन यमाल ।
यी दुईबाहेक पनि दुवै टोलीमा खेलको दिशा परिवर्तन गर्न सक्ने खेलाडीहरूको कमी छैन ।
फाइनल खेलमा चम्किन सक्ने खेलाडीबारे यहाँ चर्चा गरेका छौं ।
लियोनल मेसी (अर्जेन्टिना)
सबैभन्दा ठूलो नजर स्वाभाविक रूपमा अर्जेन्टाइन कप्तान लियोनल मेसीमाथि हुनेछ ।
३९ वर्षीय मेसीले यो विश्वकपमा आठ गोल गरिसकेका छन् र गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा छन् । आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा किलियन एमबाप्पेले २ गोल गर्दै गोल्डेन बुटको रेसमा आफूलाई अगाडि ल्याए ।
मेसीले प्रतियोगितामा चार असिस्ट पनि दिएका छन् । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा दुई असिस्ट गर्दै उनले अर्जेन्टिनाको पुनरागमनमा निर्णायक भूमिका खेले ।
मेसी यसअघि नै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता, सर्वाधिक खेल खेल्ने खेलाडी र सर्वाधिक असिस्ट गर्ने खेलाडी बनिसकेका छन् । अब उनको लक्ष्य लगातार दोस्रो विश्वकप जित्दै आफ्नो महान् करियरलाई ऐतिहासिक अन्त्य दिने हुनेछ ।
स्पेनको बलियो रक्षापंक्तिले मेसीलाई कति नियन्त्रणमा राख्न सक्छ भन्ने कुरा फाइनलको सबैभन्दा ठूलो प्रश्न हुनेछ ।
लामिन यमाल (स्पेन)
स्पेनका लागि सबैभन्दा धेरै नजर १८ वर्षीय लामिन यमालमाथि हुनेछ ।
विश्व फुटबलको भविष्य मानिएका यमालले प्रतियोगिताभर आफ्नो गति, ड्रिब्लिङ र सिर्जनात्मक खेलबाट विपक्षी रक्षापंक्तिलाई लगातार दबाबमा राखेका छन् ।
फ्रान्सविरुद्धको सेमिफाइनलमा उनले पेनाल्टी दिलाएका थिए भने दायाँ विङबाट सिर्जना गरेका अवसरले स्पेनको आक्रमणलाई थप धार दिएको थियो ।
यदि मेसी एउटा युगको प्रतीक हुन् भने यमाल अर्को युगको सुरुवात गर्ने खेलाडीका रूपमा हेरिएका छन् ।
विश्वकप फाइनलमा चम्किए उनी फुटबल इतिहासकै सबैभन्दा ठूलो मञ्चमा आफ्नो नाम थप मजबुत बनाउन सफल हुनेछन् ।
***
रोड्री (स्पेन)
स्पेनका कप्तान रोड्री टोलीका वास्तविक नियन्त्रणकर्ता हुन् ।
उनले प्रतियोगिताभर सबैभन्दा धेरै सफल पास दिएका खेलाडीमध्ये अग्रस्थानमा रहँदै स्पेनको खेलको गति नियन्त्रण गरेका छन् । डिफेन्स र आक्रमण जोड्ने कडीका रूपमा रोड्रीको भूमिका अत्यन्त महत्वपूर्ण हुनेछ ।
यदि उनले मध्यभाग आफ्नो नियन्त्रणमा राख्न सके स्पेनले खेलको लय पनि आफ्नो पक्षमा पार्न सक्छ ।
एन्जो फर्नान्डेज (अर्जेन्टिना)
रोड्रीलाई चुनौती दिने जिम्मेवारी एन्जो फर्नान्डेजको हुनेछ ।
कतार २०२२ का उत्कृष्ट युवा खेलाडी एन्जोले यो विश्वकपमा पनि लगातार प्रभावशाली प्रदर्शन गरेका छन् । उनले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध डिबक्स बाहिरबाट शानदार लङ रेन्जर गोल गर्दै अर्जेन्टिनाको पुनरागमनको आधार तयार पारेका थिए । त्यसअघि इजिप्टविरुद्धको खेलमा पनि उनले शानदार हेडिङ गोल गर्दै इन्जुरी समयमा टोलीलाई अग्रता दिलाएका थिए ।
मध्यभागमा रोड्री र एन्जोबीचको भिडन्तले खेलको नियन्त्रण कसको हातमा जाने भन्ने धेरै हदसम्म तय गर्न सक्छ ।

जुलियन अल्भारेज (अर्जेन्टिना)
मेसीको छायाँमा परे पनि जुलियन अल्भारेज अर्जेन्टिनाको सबैभन्दा खतरनाक हतियारमध्ये एक हुन् ।
उनको अथक दौड, प्रेसिङ क्षमता र खाली स्थान खोज्ने बानीले विपक्षी डिफेन्डरलाई निरन्तर दबाबमा राख्छ ।
मेसीले सिर्जना गर्ने अवसरलाई गोलमा बदल्ने जिम्मेवारी धेरैजसो आल्भारेजकै काँधमा हुनेछ।
डानी ओल्मो (स्पेन)
स्पेनका आक्रमणको अर्को प्रमुख आधार डानी ओल्मो हुन् ।
मध्यभाग र आक्रमणबीचको पुलका रूपमा खेल्ने ओल्मोले प्रतियोगिताभर निर्णायक पास, गोल सिर्जना र विपक्षी रक्षापंक्तिबीच खाली स्थान खोज्ने काम उत्कृष्ट रूपमा गरेका छन् ।
यदि अर्जेन्टिनाले यमाललाई रोक्न सफल भयो भने पनि ओल्मोले पनि खेलको दिशा बदल्न सक्ने क्षमता राख्छन् । उनी मिकेल ओयरजाबाललाई निर्णायक पासहरू निकाल्न सक्ने खुबी देखाइरहेका छन् ।
प्रतिक्रिया 4