+
फिफा विश्वकप २०२६ :

विश्वकप फाइनल : उपाधिको छिनोफानो गर्न सक्ने पाँच मुख्य भिडन्त

२०८३ साउन  ३ गते १९:०९ २०८३ साउन ३ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वकप २०२६ को फाइनलमा सोमबार बिहान अर्जेन्टिना र स्पेन उपाधिका लागि आमनेसामने हुँदैछन् ।
  • लियोनल मेसीको आक्रमणलाई रोक्न स्पेनका लापोर्टे, कुबार्सी र रोड्रीको रक्षापंक्तिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
  • खेलको नतिजा निर्धारण गर्न दुवै टोलीका मिडफिल्डर र गोलकिपरबीचको व्यक्तिगत प्रतिस्पर्धा निर्णायक हुनेछ ।

२ साउन, काठमाडौं । विश्वकप २०२६ को उपाधि सोमबार बिहान अर्जेन्टिना र स्पेनमध्ये एक टोलीले उचाल्नेछ ।

दुई उत्कृष्ट टोलीबीचको यो भिडन्त केवल रणनीति र टोलीको खेलमा मात्र सीमित हुनेछैन, मैदानका केही व्यक्तिगत द्वन्द्वले पनि खेलको दिशा तय गर्न सक्छन् ।

फाइनल खेलमा उपाधिको छिनोफानो गर्न महत्त्वपूर्ण हुन सक्ने मुख्य पाँच भिडन्तका बारेमा यहाँ चर्चा गरेका छौं ।

मेसी विरुद्ध स्पेनको डिफेन्स

३९ वर्षीय अर्जेन्टिाइन कप्तान लियोनल मेसी विश्वकपकै सर्वाधिक प्रभावशाली खेलाडीमध्ये एक छन् । उनी ८ गोलसहित गोल्डेन बुटको दौडमा छन् भने ४ असिस्ट पनि गरिसकेका छन् ।

प्रतियोगिताको इतिहासकै सर्वाधिक गोलकर्ता बनिसकेका (एमबाप्पेले आइतबार तोड्नुअघि) मेसीले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा दुई असिस्ट गर्दै खेलको दिशा नै बदलिदिएका थिए ।

स्पेनका लागि मेसीलाई रोक्नु नै सबैभन्दा ठूलो चुनौती हुनेछ । त्यसका लागि आयमेरिक लापोर्टे र युवा सेन्टरब्याक पाउ कुबार्सीसहित कप्तान रोड्रीको सामूहिक भूमिका निर्णायक हुनेछ ।

स्पेनले यस विश्वकपमा सात खेलमा केवल एक गोल मात्रै खाएको छ, जसले उसको रक्षापंक्तिको मजबुती झल्काउँछ ।

रोड्री विरुद्ध एन्जो फर्नान्डेज

विश्व फुटबलका दुई उत्कृष्ट मिडफिल्डर आमनेसामने हुँदैछन् ।

स्पेनका कप्तान रोड्रीले प्रतियोगितामा सर्वाधिक ६४८ सफल पास पूरा गरेका छन् । उनको पास सफलताको दर ९३ प्रतिशत छ । प्रतियोगितामा सबैभन्दा धेरै दूरी पनि रोड्रीले नै कभरेज गरेका छन् । खेलको गति नियन्त्रण गर्ने र विपक्षीको आक्रमण रोक्ने जिम्मेवारी पनि उनकै काँधमा हुनेछ ।

उता अर्जेन्टिनाका एन्जो फर्नान्डेजले फेरि एकपटक विश्वकपमा आफ्नो स्तर प्रमाणित गरेका छन् । उनले टोलीका लागि सबैभन्दा धेरै ४३ पटक बल पुनः प्राप्त गरेका छन् । नकआउट चरणमा इजिप्ट र इंग्ल्यान्डविरुद्ध निर्णायक गोल गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याउन ठूलो भूमिका खेले ।

लामिन यमाल विरुद्ध अर्जेन्टाइन डिफेन्स

स्पेनका १९ वर्षीय स्टार लामिन यामाल प्रतियोगिता अघि चोटबाट फर्किए पनि नकआउट चरणमा क्रमशः लयमा देखिएका छन् । फ्रान्सविरुद्धको सेमिफाइनलमा उनले पेनाल्टी दिलाउनुका साथै निरन्तर दबाब सिर्जना गरेका थिए ।

यमाललाई रोक्ने जिम्मेवारी मुख्यतः बायाँ फुलब्याक निकोलस टालियाफिकोको हुनेछ । विश्वकप जितिसकेका अनुभवी टालियाफिको वान–भर्सेस्–वान डिफेन्समा निकै प्रभावशाली मानिन्छन् ।

आवश्यक पर्दा नाहुएल मोलिनाले पनि उनलाई डबल मार्किङ गर्नुपर्ने सम्भावना छ ।

अल्भारेज–लाउतारो विरुद्ध स्पेनका सेन्टरब्याक

अर्जेन्टिनाको सबैभन्दा ठूलो हतियारमध्ये एक अट्याकिङ हो ।

जुलियन अल्भारेजको अथक दौड, प्रेसिङ र खाली स्थान सिर्जना गर्ने क्षमता तथा सुपर सबका रूपमा लगातार निर्णायक बनेका लाउतारो मार्टिनेज स्पेनका लागि ठूलो खतरा हुन् । इंग्ल्यान्डविरुद्ध पनि लाउतारो बेन्चबाट आएर विजयी गोल गरेका थिए ।

यी दुईलाई रोक्ने जिम्मेवारी लापोर्टे र कुबार्सीको हुनेछ । प्रतियोगिताभर उनीहरूले उत्कृष्ट तालमेल देखाएका छन् । स्पेनले सात खेलमा एक गोल मात्रै खानुको मुख्य कारण यही सेन्टरब्याक जोडी हो ।

एमिलियानो मार्टिनेज विरुद्ध उनाइ सिमोन

फाइनलको अर्को निर्णायक लडाइँ गोलपोस्टअघि हुनेछ ।

अर्जेन्टिनाका एमिलियानो ‘डिबु’ मार्टिनेज विश्व फुटबलकै उत्कृष्ट निर्णायक खेलका गोलकिपरमध्ये गनिन्छन् । विश्वकप, कोपा अमेरिका र पेनाल्टी सुटआउटमा उनको प्रभावशाली प्रदर्शनले उनलाई ठूलो खेलका विशेषज्ञका रूपमा स्थापित गरेको छ ।

उता स्पेनका उनाइ सिमोन पनि पछिल्ला वर्षमा ला लिगाका सबैभन्दा भरपर्दा गोलकिपरमध्ये एक हुन् । उत्कृष्ट पोजिसनिङ, बल वितरण र महत्वपूर्ण बचाउका कारण उनले स्पेनलाई प्रतियोगिताभर केवल एक गोल मात्र खान दिएका छन् ।

यदि खेल अतिरिक्त समय वा पेनाल्टी सुटआउटसम्म पुग्यो भने यी दुई गोलकिपरमध्ये कसले ठूलो बचाउ गर्छ भन्ने कुराले नै विश्वकपको उपाधि निर्धारण गर्न सक्छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय