+
फिफा विश्वकप :

यी हुन् फिफा विश्वकप इतिहासका ६ रोमाञ्चक फाइनल

२०८३ साउन  २ गते ११:२७ २०८३ साउन २ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्जेन्टिना र फ्रान्सबीचको २०२२ को विश्वकप फाइनललाई खेल विश्लेषकहरूले इतिहासकै उत्कृष्टमध्ये एक मान्दै मेसीको विश्वकप जित्ने सपना पूरा भएको बताएका छन् ।
  • सन् १९७० मा ब्राजिलले इटालीलाई हराउँदै तीन पटक विश्वकप जित्ने पहिलो राष्ट्र बन्नुका साथै पेलेको नेतृत्वमा उत्कृष्ट प्रदर्शनमार्फत जुल्स रिमे ट्रफी स्थायी रूपमा प्राप्त गर्‍यो ।
  • डिएगो म्याराडोनाको कप्तानीमा १९८६ मा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई पराजित गर्दै दोस्रोपटक विश्वकप उपाधि जितेको खेलले उनलाई विश्व फुटबलका महानतम खेलाडीका रूपमा स्थापित गर्‍यो ।

२ साउन, काठमाडौं । विश्वकप फाइनल भनेको केवल उपाधिको खेल होइन । कतिपय फाइनलले फुटबलको इतिहास नै परिवर्तन गरेका छन् ।

कुनै खेलमा विश्वकै महान् खेलाडीले आफ्नो विरासत स्थापित गरे भने कुनैमा असम्भव पुनरागमन भयो । कतै विवादित गोलले दशकौंसम्म बहस चलायो भने कतै पेनाल्टी सुटआउटले करोडौं समर्थकलाई रुवायो ।

अर्जेन्टिना र स्पेनबीच हुने २०२६ विश्वकप फाइनलअघि इतिहासमा सबैभन्दा स्मरणीय मानिएका केही फाइनलहरूको चर्चा गरेका छौं ।

२०२२ : अर्जेन्टिना ३-३ फ्रान्स (पेनाल्टीमा ४-२)

धेरै फुटबल विश्लेषक र फिफाले नै यसलाई विश्वकप इतिहासकै उत्कृष्ट फाइनलमध्ये एक मानेका छन् ।

लियोनल मेसीले अन्ततः विश्वकप जित्ने सपना पूरा गरे भने किलियन एमबाप्पेले विश्वकप फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने ।

८० मिनेटसम्म २-० ले पछि परेको फ्रान्सले दुई मिनेटमै बराबरी गर्‍यो । अतिरिक्त समयमा मेसीले गोल गरे, त्यसपछि एमबाप्पेले पुनः बराबरी गर्दै खेललाई पेनाल्टीमा पुर्‍याए ।

टाइब्रेकरमा गोन्जालो मोन्टिएलले निर्णायक पेनाल्टी गोल गर्दै अर्जेन्टिनालाई ३६ वर्षपछि विश्व च्याम्पियन बनाए । गोलकिपर एमिलियानो मार्टिनेजले एक पेनाल्टी सेभ गरे ।

यो विश्वकप इतिहासकै पहिलो फाइनल थियो, जहाँ दुवै टोलीले अतिरिक्त समयमा गोल गरेका थिए ।

१९७० : ब्राजिल ४-१ इटाली

धेरैले यसलाई ‘सर्वकालीन महान् टोली’ को प्रदर्शन मान्छन् ।

ब्राजिल र इटाली दुवै दुई–दुई पटकका विश्व विजेता थिए । मेक्सिको सिटीमा भएको फाइनल जित्दै ब्राजिल विश्वकप तीन पटक जित्ने पहिलो राष्ट्र बन्यो र जुल्स रिमे ट्रफी स्थायी रूपमा आफ्नो बनायो ।

पेलेले फाइनलमा गोल गरे भने जाइरजिन्हो, गर्सन र कार्लोस अल्बर्टो पनि स्कोरर बने । विशेषगरी कार्लोस अल्बर्टोको गोल विश्व फुटबल इतिहासकै उत्कृष्ट टोलीगत गोलमध्ये एक मानिन्छ ।

१९८६ : अर्जेन्टिना ३-२ पश्चिम जर्मनी

डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले दोस्रो विश्वकप जितेको फाइनल ।

अर्जेन्टिना २-० ले अगाडि थियो । तर जर्मनीले लगातार दुई गोल गर्दै खेल बराबरीमा ल्यायो । खेल अतिरिक्त समयमा जाने संकेत देखिँदा म्याराडोनाको उत्कृष्ट पासमा होर्खे बुरुचागाले विजयी गोल गरे ।

म्याराडोनाले गोल नगरे पनि पूरै प्रतियोगिताजस्तै फाइनलमा पनि खेल नियन्त्रण गरेका थिए । यही प्रतियोगिताले उनलाई विश्व फुटबलका महानतम खेलाडीमध्ये एकका रूपमा स्थापित गर्‍यो ।

१९६६ : इंग्ल्यान्ड ४-२ पश्चिम जर्मनी (अतिरिक्त समय)

आजसम्म इंग्ल्यान्डले जितेको एकमात्र विश्वकप ।

वेम्ब्लीमा भएको फाइनल ९० मिनेटमा २-२ बराबरी भएपछि अतिरिक्त समयमा पुग्यो । त्यसपछि जेफ हर्स्टले दुई गोल थप्दै विश्वकप फाइनलमा ह्याट्रिक गर्ने इतिहासकै पहिलो र हालसम्मका एकमात्र खेलाडी बने ।

उनको दोस्रो गोल गोललाइन पार गरेको थियो कि थिएन भन्ने विवाद आजसम्म विश्व फुटबलकै सबैभन्दा चर्चित बहसमध्ये एक हो ।

सन् १९६६ को विश्वकप जितेको इंग्ल्यान्ड

१९५४ : पश्चिम जर्मनी ३-२ हंगेरी

‘मिराकल अफ बर्न’ अर्थात् बर्नको चमत्कार ।

हंगेरी त्यस समय ३१ खेलदेखि अपराजित थियो र समूह चरणमा पश्चिम जर्मनीलाई ८-३ ले हराइसकेको थियो । फाइनलमा पनि हंगेरी आठ मिनेटभित्रै २-० ले अगाडि बढ्यो ।

तर पश्चिम जर्मनीले अविश्वसनीय पुनरागमन गर्दै ३-२ ले जित निकाल्यो । विश्व फुटबल इतिहासकै सबैभन्दा ठूलो पुनरागमनमध्ये एक मानिने यो जितले जर्मन फुटबलको नयाँ युग सुरु गराएको थियो ।

२०१४ : जर्मनी १-० अर्जेन्टिना (अतिरिक्त समय)

ब्राजिलमा भएको सन २०१४ को विश्वकप फाइनल अत्यन्तै रणनीतिक र प्रतिस्पर्धात्मक रह्यो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट अवसरहरू गुमाएका थिए । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि  खेल अतिरिक्त समयमा पुग्यो ।

अतिरिक्त समयको पनि ११३औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मारियो गोट्जेले आन्द्रे शुर्लेको क्रसलाई उत्कृष्ट रूपमा नियन्त्रण गर्दै गोल गरे र जर्मनीलाई चौथो विश्वकप उपाधि दिलाए ।

दक्षिण अमेरिकी भूमिमा युरोपेली टोलीले विश्वकप जितेको यो पहिलोपटक थियो ।

यसपटक के होला ?

सोमबार बिहान हुने अर्जेन्टिना र स्पेनबीचको फाइनल पनि इतिहासमा स्थान बनाउन तयार छ । एकातिर लगातार दोस्रो विश्वकप जित्ने अर्जेन्टिनाको लक्ष्य छ भने अर्कोतिर १६ वर्षपछि पुनः विश्व च्याम्पियन बन्ने स्पेनको सपना ।

३९ वर्षीय लियोनल मेसीको सम्भावित अन्तिम विश्वकप खेल, लामिन यमालजस्ता उदाउँदो प्रतिभा र दुई फरक फुटबल दर्शनबीचको भिडन्तले यो फाइनललाई पनि भविष्यमा ‘महान् विश्वकप फाइनल’ हरूको सूचीमा राख्ने सम्भावना निकै बलियो बनाएको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय