News Summary
Generated by OK AI. Editorially reviewed.- हिमाल सुनारी नेपाल भलिबल लिगमा अन्नपूर्ण स्पाइकर किंग्सको मार्की खेलाडीका रूपमा अनुबन्धित भएका छन् ।
- अन्नपूर्ण स्पाइकर किंग्सले राष्ट्रिय खेलाडी उषा भण्डारीलाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
- टिम व्यवस्थापनले गण्डकी क्षेत्रका चर्चित प्रशिक्षक रमेश केसीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरी पहिलो संस्करणको उपाधि जित्ने लक्ष्य राखेको छ ।
१ साउन, काठमाडौं । हिमाल सुनार नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर किंग्सको मार्की खेलाडी चयन भएका छन् । लिगको आयोजक केडिया ग्रुपले बिहीबार मार्की खेलाडीहरुको अनुबन्ध प्रक्रिया सम्पन्न गरेको हो ।
जसमा गण्डकी क्षेत्रको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किंग्सले आफ्नै क्षेत्रका चर्चित खेलाडी हिमाल सुनारीलाई मार्की प्लेअर बनाएको छ ।
सुनारी यही जुलाई २२ देखि पाकिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिपको लागि हाल राष्ट्रिय टिममा समावेश छन् । पहिलो पटक राष्ट्रिय टिममा परेका सुनारी नेपालको लागि उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा छन् ।
हिमाल सुनारी गण्डकी क्षेत्रको मात्र नभई नेपालमै चर्चित र प्रभावशाली खेलाडी हुन् । उनले विगतमा नेपालको एनभीए लिग देखि राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
अन्नपूर्ण स्पाइकर किंग्सले यसअघि नै गण्डकी प्रदेशकै प्रशिक्षक रमेश केसीलाई मुख्य प्रशिक्षक र नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी तथा हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नरेन्द्र गिरीलाई सहायक प्रशिक्षक नियुक्त गरिसकेको छ ।
यस्तै किंग्सले नेपाली राष्ट्रिय महिला टिमकी मुख्य सदस्य तथा चर्चित खेलाडी उषा भण्डारीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गर्दै नेपालको राष्ट्रिय खेललाई अझ व्यापक बनाउने अभियान सुरु गरिसकेको छ ।
प्रशिक्षण टोली र मार्की खेलाडीको अनुबन्धपछि अब लिगको लागि अक्सनबाट खेलाडी अनुबन्ध गर्ने, विदेशी खेलाडीहरु अनुबन्ध गर्ने प्रक्रियामा तयारी गर्ने अन्नपूर्ण स्पाइकर किंग्सले जनाएको छ ।
मुख्य प्रशिक्षक रमेश केसीले विगतमा पनि हिमाल सुनारीसँग काम गरिसकेको र आफ्नै क्षेत्रको खेलाडी मार्कीमा अनुबन्ध हुँदा यो गौरवको विषय भएको बताए । उनले विगतमा विभिन्न प्रतियोगितामा सँगै काम गरेको अनुभवले अब हुने लिगमा पनि फाइदा पुग्ने बताए ।
गण्डकी क्षेत्र भलिबलको राम्रो फ्यान बेस भएको क्षेत्र भएको र यहाँबाट धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन भएकोले नेपाल भलिबल लिगको पहिलो संस्करणमा च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी अघि बढाउने टिम व्यवस्थापनको भनाई छ ।
प्रतिक्रिया 4