+
फिफा विश्वकप २०२६ :

मेसी र यमाल : १९ वर्षअघिको त्यो तस्वीर, अहिलेको यो महाभिडन्त

२०८३ साउन  १ गते १६:५१ २०८३ साउन १ गते १६:५१

लियोनेल मेसी अहिले ३९ वर्ष पुगिसकेका छन् भने लामिन यमाल भर्खर १९ वर्षका मात्र हुन् । यी दुवै खेलाडी मैदानमा एकैसाथ देखिनु मेसीको अथक निरन्तरता र यमालको असाधारण प्रतिभाको प्रमाण हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनाका लियोनेल मेसी र स्पेनका लामिन यमाल पहिलोपटक एकअर्काविरुद्ध मैदानमा उत्रिदै छन् ।
  • सन् २००७ मा खिँचिएको एक तस्वीरमा मेसीले पाँच महिनाका शिशु यमाललाई नुहाइरहेको दृश्यले अहिले दुई पुस्ताको फुटबल कथालाई जोडेको छ ।
  • १९ वर्षको उमेरसम्ममा यमालले ५६ गोलसहित ला लिगा र युरो २०२४ को उपाधि जित्दै कीर्तिमानी सफलता हात पारेका छन् ।

१ साउन, काठमाडौं । सर्वोत्कृष्ट फुटबलर र बार्सिलोनाको दायाँ विंगरमा उनको विरासत धान्ने उत्तराधिकारी फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दा पहिलोपटक एकअर्काविरुद्ध मैदानमा उत्रिदैछन् ।

लियोनेल मेसी अहिले ३९ वर्ष पुगिसकेका छन् भने लामिन यमाल भर्खर १९ वर्षका मात्र हुन् । यी दुवै खेलाडी मैदानमा एकैसाथ देखिनु मेसीको अथक निरन्तरता र यमालको असाधारण प्रतिभाको प्रमाण हो । त्यो पनि खेल जगतकै सबैभन्दा ठूलो र प्रतिष्ठित भिडन्तमा ।

तर, यी दुईको जम्काभेट भएको यो पहिलो पटक भने पक्कै होइन । यसअघि सन् २००७ मा उनीहरूबीच भेट भएको थियो । जतिबेला २० वर्षीय मेसी बार्सिलोनाको सुरुवाती ११ मा भर्खरै नियमित पर्न थालेका थिए भने लामिन यमाल जम्मा पाँच महिनाका शिशु थिए ।

यो भेटलाई फोटोग्राफर जोआन मोनफोर्टले खिचेका तस्वीरहरूको श्रृंखलामा कैद गरिएको थियो । यी तस्वीरहरू दुई वर्षअघि पुन: चर्चामा आए । जब यमालले स्पेनलाई युरो २०२४ जिताउन महत्वपूर्ण भूमिका खेले । र उनका पिताले इन्स्टाग्राममा एउटा तस्वीर पोस्ट गर्दै क्याप्सन लेखे— ‘दुई लिजेन्डहरूको सुरुवात ।’

तस्वीरहरूमा मुस्कुराइरहेका मेसीले एउटा सानो शिशुलाई अँगालो हालेर नुहाइरहेको देखिन्छ । जसले पछि गएर उनकै फुटबल पाइलालाई पछ्याउनेछ भनेर कसैले कल्पना समेत गरेका थिएनन् । ‘यो भाग्यको एउटा साँचो चमत्कार हो,’ फोटोग्राफर मोनफोर्टले भने ।

यो फोटोशुट बार्सिलोनाको क्याम्प नोउ रंगशालाको ‘अवे’ चेन्जिङ रुममा भएको थियो । यमालको परिवारले त्यहाँ पुग्नका लागि एउटा प्रतियोगिता जितेको थियो । यामल परिवारका जेठा सन्तान हुन् । उनी जन्मेको केही समयपछि आमाबुबाले क्याटलान पत्रिका ‘स्पोर्ट’ र बार्सिलोनाको जर्सी प्रायोजक तथा अन्तर्राष्ट्रिय बाल कल्याण संस्था युनिसेफले संयुक्त रूपमा आयोजना गरेको गोलाप्रथामा भाग लिएका थिए ।

त्यसमा छानिने भाग्यशाली परिवारका बच्चाहरूले बार्सिलोनाको पहिलो टोलीका खेलाडीसँग व्यावसायिक तस्वीर खिचाउने अवसर पाउँथे । यमाल पनि ती विजेताहरूमध्ये एक थिए । र संयोगवश जुन दिन उनको परिवार त्यहाँ पुग्यो । उनीहरूको जोडी मेसीसँग पर्न गयो । ‘सन् २०२४ मा मेरो एकजना साथीले फोन गरेर उनका पिताले इन्स्टाग्राममा पोस्ट गरेको कुरा नभनेसम्म मलाई त्यो तस्वीरमा भएको बच्चा लामिन हो भन्ने पत्तो नै थिएन,’ मोनफोर्टले भने ।

आफ्नो १९औं जन्मदिनसम्म मेसीले करियरमा ११ गोल गरेका थिए भने ला लिगा र युइएफए च्याम्पियन्स लिग जितेका थिए । तर, गत सोमबार मात्र १९ वर्ष पुगेका यमालले भने यसअघि नै कुल ५६ गोल गरिसकेका छन् र तीन पटक ला लिगा, एक पटक कोपा डेल रे र युरो २०२४ को उपाधि जितिसकेका छन् ।

वास्तवमा यमाल उनको थर होइन । बरु उनको पहिलो नामका दुई भागमध्ये दोस्रो भाग हो । उनको पूरा नाम लामिन यमाल नसरावी एबाना हो । उनले आफ्नो जन्मको समयमा परिवारलाई सहयोग गर्ने दुई व्यक्तिप्रति सम्मान व्यक्त गर्न बार्सिलोना र स्पेन दुवैको जर्सीको पछाडि ‘लामिन यमाल’ लेख्ने गर्छन् ।

स्पेनिस मिडियाहरूका अनुसार यमालका बुबाले आर्थिक संकट परेका बेला बिलहरू तिर्न र परिवारलाई मद्दत गर्ने दुई साथीहरूको नामबाट छोराको नाम राख्ने वाचा गरेका थिए । अरबी भाषामा लामिन पुरुषको नाम हो, जसको अर्थ नेपालीमा इमानदार वा भरपर्दो हुन्छ; र यमालको अर्थ सौन्दर्य वा सुन्दरता हुन्छ ।

उनी बार्सिलोनाभन्दा २० माइल उत्तरमा पर्ने मातारोको श्रमिक वर्ग बस्ने टोल रोकाफोन्डामा हुर्केका हुन् । यो क्षेत्र सन् १९६० को दशकमा स्पेनका अन्य क्षेत्रबाट आएका आप्रवासीहरूलाई बसाउन निर्माण गरिएको थियो । पछि तिनीहरू धनी क्षेत्रमा सरेपछि सन् १९९० को दशकमा अन्य देशका आप्रवासीहरू त्यहाँ आउन थाले ।

बार्सिलोनाको समर्थक रहेका क्याटलान नागरिक मोनफोर्टका लागि मैदानमा यी दुईबीचको भिडन्त लगभग दुई दशकअघि सुरु भएको कथाको एउटा सुखद र पूर्ण अन्त्य हो । ‘मलाई लाग्छ हामी उनीहरूको कथाको चक्र पूरा गरिरहेका छौं,’ हाल ५८ वर्ष पुगेका मोनफोर्टले थपे, ‘यो एक सुखद अन्त्य हो ।’

-बीबीसीबाट

फिफा विश्वकप २०२६ लामिन यमाल लियोनल मेसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय