+
फिफा विश्वकप २०२६ :

अर्जेन्टिनाको शानदार फाइनल यात्रा : मेसीको कप्तानीमा उपाधि रक्षाको संघारमा

२०८३ साउन  १ गते १५:२९ २०८३ साउन १ गते १५:२९

अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गर्दा शतप्रतिशत जित हासिल गरेको छ । तर यो यात्रा भने उतारचढाव पूर्ण रह्यो जसमा अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति नै टिम एकता रह्यो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गर्दै लगातार दोस्रो पटक उपाधि रक्षा गर्ने ऐतिहासिक लक्ष्य नजिक पुगेको छ ।
  • कप्तान लियोनल मेसीको प्रेरणादायी प्रदर्शन र टिम युनिटीका कारण अपराजित यात्रा कायम राख्दै अर्जेन्टिनाले फाइनलसम्मको कठिन यात्रा तय गरेको हो ।
  • सन् १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेयता लगातार दुई पटक विश्वकप जित्न नसकेको इतिहासलाई अर्जेन्टिनाले यसपटक स्पेनविरुद्धको फाइनलमा सच्याउने प्रयास गर्नेछ ।

काठमाडौं । साढे तीन वर्षअघि कतारको लुसेल मैदानमा फिफा विश्वकप २०२२ को उपाधि जितेको अर्जेन्टिना फेरि एक पटक विश्वकप उपाधि नजिक छ ।

लियोनल मेसीको प्रेरणादायी प्रदर्शन अनि टिम एकताको भावनामा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को फाइनल पुगेको हो । साविक विजेता अर्जेन्टिनाले अपराजित यात्रालाई कायम राख्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो ।

अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गर्दा शतप्रतिशत जित हासिल गरेको छ । तर यो यात्रा भने उतारचढाव पूर्ण रह्यो । त्यसमा अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति नै टिम युनिटी रह्यो ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले जस्तोसुकै अवस्थामा पनि खेलको नतिजा पल्टाउन सक्ने र हार नमान्ने छवि देखायो । केहि खेलमा रेफ्रीको निर्णय विवादित बनेपनि मैदानमा अर्जेन्टिनाको प्रदर्शन भने उत्कृष्ट रह्यो ।

२०२२ मा कतारमा विश्वकपको उपाधि जित्दै ३६ वर्षको उपाधि खडेरी तोडेको अर्जेन्टिना यस पटक अर्को इतिहास रच्ने लक्ष्यमा छ ।

स्पेनसँग सोमबार विहान फाइनल खेल्ने तयारीमा रहेको अर्जेन्टिना विश्वकपमा उपाधि रक्षा गर्ने तेस्रो टोली बन्ने संघारमा छ । सन् १९६२ मा ब्राजिलले विश्वकपको उपाधि रक्षा गरेयता कुनै पनि टोलीले लगातार दुई पटक उपाधि जित्न सकेका छैनन् । ६४ वर्षपछि अर्जेन्टिना त्यो इतिहास दोहोर्‍याउने लक्ष्यमा छ ।

इतिहास रच्नबाट एक कदम मात्र टाढा रहेको अर्जेन्टिनाको यस विश्वकपको फाइनल यात्रा पनि शानदार, रोमाञ्चक र कुनै महाकाव्य जस्तै बनेको छ ।

यस संस्करणमा अर्जेन्टिनाको प्रदर्शन केही स्वभाविक, केही अप्रत्याशित, केही नाटकिय र अद्भुत खालको देखियो ।

समूह चरणमा शतप्रतिशत नतिजा

समूह जे मा रहेको अर्जेन्टिनाले अपेक्षा अनुसार नै यस पटक तीनवटै खेल जितेर शानदार सुरुवात गरेको थियो ।

चार वर्षअघि कतार विश्वकपको पहिलो खेलमै साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले यस पटक त्यो गल्तीबाट पाठ सिक्दै समूह चरणमा शतप्रतिशत नतिजा निकाल्यो ।

अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई सहजै पराजित गर्दै अर्जेन्टिना समूहमा विजेता बन्यो । समूह्य चरणमा शानदार प्रदर्शन गर्दै अर्जेन्टिनाले सुरुमै यस पटक आफू उपाधि रक्षा गर्न आएको संकेत गरिसकेको थियो ।

कप्तान लियोनल मेसीले सुरुवाती खेलदेखि नै गजज्बको प्रदर्शन गर्दा अर्जेन्टिनाले सहजै खेल जित्यो । समूह चरणमा तीन खेल जित्दा जम्मा १ गोल मात्र बेहोरेको थियो ।

कप्तान मेसीले पहिलो खेलमै ह्याट्रिक गरेपछि अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हरायो । त्यसपछि अस्ट्रियालाई २-०  र जोर्डनलाई ३-१ ल पारजित गर्‍यो ।

समूह चरणको तीनवटै खेल जितेर अघि बढेको अर्जेन्टिनाले त्यसपछि लगातार चार खेल जित्दै फाइनलमा स्थान बनाएको थियो । हरेक जितमा फरक किसिमको कथा देखियो ।

नकआउट चरणमा उतारचढाव

समूह चरणमा अर्जेन्टिनाले जति सहज जित निकालेको थियो नकआउट चरणमा जित हासिल गर्न उत्तिकै चुनौतीको सामना गर्नुपर्‍यो र यो रोमाञ्चक पनि रह्यो ।

यस पटक थप गरिएको नयाँ नकआउट चरण अन्तिम ३२ मा नयाँ टोली केप भर्डे विरुद्धको खेल देखि सेमिफाइनलमा इंग्लयान्डसम्म भिड्दा अर्जेन्टिनाको राम्रै परिक्षा भयो र यो सबै पार गर्दै अर्जेन्टिनाले आफू उपाधिको दाबेदार भएको प्रमाणित गर्‍यो ।

अर्जेन्टिनाले यसपटक नकआउट चरणमा वास्तविक च्याम्पियनको शैली देखायो । चारमध्ये दुई खेल निर्धारित समय (इन्जुरी टाइम)मा जितेको अर्जेन्टिनाले दुई खेल भने अतिरिक्त समयसम्म पुगेर जित्यो । विशेष गरी इजिप्ट र इंग्ल्यान्ड विरुद्धका खेलमा रोमाञ्चक पुनरागमन (कमब्याक) जित मध्येका रहे । यी दुवै खेलमा सुरुवाती चरणमा पछि परेको अवस्थालाई उल्ट्याउँदै अर्जेन्टिनाले शानदार कम्याक गरे ।

खेलको अन्तिम मिनेटसम्म पनि हिम्मत नहार्ने र जुझारु खेल प्रदर्शन गर्ने अर्जेन्टिनी खेलाडीहरूको शैलीले उनीहरू दबाबमा झन् निखारिन्छन् भन्ने प्रमाणित गरिदियो ।

राउण्ड अफ ३२ मा पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले दुई पटक पछि परेर पनि अर्जेन्टिनालाई कडा चुनौती दिएको थियो । तर अर्जेन्टिनाले अतिरिक्त समयमा केप भर्डेलाई ३-२ ले पराजित गर्दै अघि बढ्यो ।

प्रि क्वाटरफाइनलमा अर्जेन्टिनाले अझ ठुलो चुनौती सामना गर्‍यो मोहमद सालहको इजिप्ट विरुद्ध दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम समयमा तीन गोल फर्काउँदै सानदार कमब्याक जित निकाल्यो । यसमा मेसीले प्रेरणादायी प्रदर्शन गर्दै एक गोल र एक असिस्ट गरे भने एन्जो फर्नान्डेजले नायम बन्दै इन्जुरी टाइममा विजयी गोल गरे ।

त्यपछि क्वाटरफाइनलमा अर्जेन्टिनाको भेट स्विट्जरल्यान्डसँग भयो । जहा सुरुवाती अग्रता अर्जेन्टिनाले नै लिएको थियो । तर निर्धारित समयमा गोल बेहोरेपछि खेल बराबरीमा पुग्यो र अतिरिक्त समयमा जुलियन अल्भारेज र लाउटारो मार्टिनजको गोलमा अर्जेन्टिनाले ३-१ को जित हात पार्दै सेमिफाइनलमा स्थान बनायो ।

सेमिफाइनल अर्जेन्टिनाको लागि अझै नाटकिय बन्यो । पहिलो हाफ गोलरहित बराबरी अनी ५५औं मिनेटमा गोल बेहोरेको अर्जेन्टिना ८५औं मिनेटसम्म एक गोलले पछि थियो । विश्वविजेता अर्जेन्टिना विश्वकपबाट बाहिरनबाट केही मिनेट मात्र टाढा थियो भने इंग्ल्यान्ड ६० वर्षपछि फाइनल पुग्नबाट निकै नजिक थियो ।

तर खेलले नाटकिय रुपमा फरक मोड लियो । मेसीको दुई असिस्टमा एन्जो फर्नान्डेज र लाउटारोको गोलमा अर्जेन्टिनाले पुनरागमन गर्दै इंग्ल्यान्डलाई २-१ ले हरायो र लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गर्‍यो ।

मेसीले पछिल्लो दुई खेलमा गोल गर्न नसकेपनि असिस्ट दिएरै नायक बने । सुपर सब मार्टिनेजले एक पटक फेरि इन्जुरी टाइममा गोल गर्दै टिमलाई जिताए ।

ऐतिहासिक मोड नजिक

अर्जेन्टिना यस पटक उपाधि रक्षा गर्ने अभियानमा निकै नजिक छ नै अर्को ऐतिहासिक मोडमा पनि उभिएको छ । अर्जेन्टिना विश्वकपमा लगातार दोस्रो पटक फाइनलमा पुगेको यो पनि दोस्रो पटक नै हो । यसअघि डिएगो म्याराडोनाको एरामा अर्जेन्टिनाले सन् १९८६ मा म्याराडोनाकै कप्तानीमा विश्वकप उपाधि जितेको थियो । चार वर्षपछि १९९० को विश्वकपमा पनि फाइनल पुगेको अर्जेन्टिना पश्चिम जर्मनीसँग पराजित हुँदा उपविजेता बनेको थियो ।

अहिलेसम्म विश्वकप इतिहास दुई टोलीले मात्र उपाधि रक्षा गरेका छन् । इटालीले सन् १९३४ र १९३८ तथा ब्राजिलले १९५८ र १९६२ मा विश्वकप लगातार जितेको थियो । अर्जेन्टिना सामु अहिले आफ्नै इतिहास सच्याउने र ६४ वर्षपछि लगातार जित्ने कीर्तिमान बराबरी गर्ने अवसर छ । अर्जेन्टिनाले अहिलेसमम् विश्वकपमा ६ वटा फाइनल खेल्दा ३ पटक उपाधि जितेको र ३ पटक उपविजेता बनेको छ । अर्जेन्टिनाका लागि यो सातौँ फाइनल केवल एउटा खेल मात्र होइन, फुटबल इतिहासमा आफ्नो साम्राज्य स्थापित गर्ने सुनौलो मौका पनि हो ।

कप्तान मेसी: कीर्तिमानको पर्याय र प्रेरणाको स्रोत

अर्जेन्टिनाको विश्वकप फाइनल यात्रा यसपटक कप्तान मेसी मुख्य केन्द्रमा रहे । उनकै जादुमयी प्रदर्शनमा अर्जेन्टिनाले अपराजित रहेर फाइनल यात्रा तय गर्‍यो ।

विश्वकप इतिहासकै सबैभन्दा सफल र कीर्तिमानी खेलाडी मेसीले उमेरमा चार दशक पुग्न लाग्दा पनि उतस्तै जोशका साथ मैदानमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले प्रतियोगिताका सुरुवाती ५ खेलमा लगातार गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए ।

मेसीले हालसम्म ७ खेल खेल्दा ८ गोल र ४ असिस्ट गरिसकेका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । ३९ वर्षको उमेरमा पनि युवा खेलाडीको जस्तो जोस र ऊर्जाका साथ खेलिरहेका मेसी यसपटक पनि ‘गोल्डेन बुट’ र ‘गोल्डेन बल’ दुवै अवार्डको बलियो दाबेदार बनेका छन् । फाइनलमा गोल गर्न सके मेसीलाई गोल्डेन बुट जित्न कसैले रोक्न सक्दैन । फ्रान्सका कप्तान किलयन एमबाप्पेले ८ गोल नै गरेपनि ३ असिस्ट मात्र छ ।

फ्रान्सले तेस्रो स्थानको लागि आइतबार विहान इंग्लयान्डसँग खेल्नेछ । एमबाप्पेको खेलपछि मेसीको खेल रहेकोले सर्वाधिक गोलकर्ता बन्न कस्तो समिरण चाहिन्छ भन्ने फाइनल अघि नै थाहा हुनेछ ।

मेसी अर्जेन्टिनी टिमको केन्द्रमा रहेपनि पुरा टिम नै विश्वकप जित्नका लागि मोटिभेट देखिन्छन् । टिमले मेसीका लागि मेसीले आफ्नो टिमको लागि आफ्नो सम्पूर्ण मिहिनेत खर्चेका छन् ।

आफ्नो टिममेट र युवा खेलाडीहरूका लागि मेसी केवल एक कप्तान मात्र होइनन्, मैदानभित्र प्रेरणाका स्रोत समेत हुन् ।

सुपर सब’ लाउतारो

अर्जेन्टिनाको टिममा केवल मेसी मात्र चम्केका छैनन् सम्पूर्ण टिमको योगदान उत्तिकै महत्वपूर्ण छ । मेसीले गोल नर्गदा प्लेमेकरको भुमिका देखिन्छन् र साथीका लागि गोलको अवसर बनाउँछन् त्यसमा अन्य खेलाडीले गोल गर्दा यो टिम पूर्ण देखिन्छ ।

यसपटक टोलीमा मेसीसँगे अनुभवी र युवा खेलाडीहरूबीचको उकृष्ट तालमेल देखिएको छ । मेसीलाई अट्याकमा लाउतारो मार्टिनेज र जुलियन अल्भारेजले साथ दिइरहेका छन् । लाउतारो सुपर सबको भुमिमा देखिएका छन् भने जुलियन अल्भारेजको गति र आक्रामकताले विपक्षी डिफेन्डरहरूलाई सधैँ व्यस्त राखेको छ ।

मध्यपंक्तिमा एन्जो फर्नान्डेजले खेलको गतिलाई नियन्त्रण गरिरहेका छन् । उनीहरुले महत्वपूर्ण समयमा निर्णायक गोल गर्दै अर्जेन्टिनाको संकट टारेका छन् ।

यसपटकको विश्वकपमा लाउटारो मार्टिनेज अर्जेन्टिनाका लागि ‘सुपर सब’ का रूपमा उदाएका छन् । बेन्चबाट मैदान प्रवेश गरेर पनि खेलको नतिजा नै बदल्न सक्ने क्षमता उनमा देखिएको छ । जसले गर्दा अर्जेन्टिनाको अग्रपंक्तिलाई थप धारिलो बनाएको छ । मुख्य प्रशिक्षक लियोनल स्कालोनीको रणनीति र खेलाडीहरूको यो सन्तुलन नै अर्जेन्टिनाको सफलताको मुख्य सुत्र बनेको छ ।

फरवार्ड मात्र होइन अर्जेन्टिनाको मिडफिल्डदेखि डिफेन्डरसम्मले गोल गरिरहेका छन् ।

प्रतियोगितामा अर्जेन्टिनाले अहिलेसम्म १९ गोल गर्दा फरवार्डले १२ गोल (मेसी ८, मार्टिनेज ३ र अल्भारेज १ गोल) गरेका छन् ।

यस्तै मिडफिल्डर एन्जोले २, एलेक्सिस म्याक एलिस्टर र जिओभानी लो सेल्सोले १-१ गोल गरेका छन् । यस बाहेक डिफेन्डरद्वय क्रिस्टियन रोमेरो र लिसान्ड्रो मार्टिनेजले पनि समान १ गोल गरेका छन् । एक गोल आत्मघाती गोल उपहार थियो ।

८ खेलको नयाँ चुनौती

२०२२ मा अर्जेन्टिनाले पहिलो खेलमा हार बेहोरेपनि त्यसपछि लगातार ६ खेल जितेर च्याम्पियन बनेको थियो । तर, यसपटक नकआउट चरणमा एक खेल (राउण्ड) थपिएकाले च्याम्पियन बन्नका लागि कुल ८ खेल खेल्नुपर्ने छ ।

अर्जेन्टिनाले अहिलेसम्म खेलेका ७ वटै खेल जितेर आफ्नो अपराजित यात्रा कायम राखेको छ । अब उपाधि जित्न र शतप्रतिशत जितसहित च्याम्पियन बन्न केवल एक खेल बाँकी छ ।

फाइनलमा अर्जेन्टिनाको भेट अर्को बलियो र प्रतियोगिताभर अपराजित रहेको टोली स्पेनसँग हुँदैछ । स्पेनको छोटो पास खेल्ने शैली र युवा खेलाडीहरूको गति विरुद्ध अर्जेन्टिनाको अनुभव र आक्रामकताको लडाइँ निकै रोचक हुने निश्चित छ ।

दुवै टोली अपराजित रहेकाले फाइनल खेल बहुप्रतिक्षत र महाभिडन्त हुने अपेक्षा छ ।

अर्जेन्टिना फिफा विश्वकप फिफा विश्वकप २०२६ लियोनल मेसी

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय