News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्वकप ढाँचाअनुसार छनोट विजेताले मुख्य चरणमा सोझै स्थान बनाउने भएका छन् ।
- विश्वकप छनोटका दोस्रो, तेस्रो र चौथो हुने टोलीले मुख्य चरणमा पुग्न ‘सुपर सिरिज’ चरण पार गर्नुपर्नेछ ।
- सन् २०२७ मा हुने विश्वकपमा शीर्ष ८ वरियताका टोली, सहआयोजक दक्षिण अफ्रिका, जिम्बाब्वे र एक छनोट विजेतासहित ११ टोली मुख्य चरणमा हुनेछन् ।
२ साउन, काठमाडौं । आईसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्वकप फर्म्याट अनुसार थपिएको सुपर सिरिजमा विश्वकप छनोट विजेताले खेल्नु नपर्ने भएको छ ।
छनोट प्रतियोगिताको विजेताले विश्वकपको मुख्य समूह चरणमा सोझै स्थान बनाउने समाचार संस्था क्रिकइन्फोले जनाएको छ । छनोटमा दोस्रो, तेस्रो र चौथो हुने टोलीले विश्वकपको पहिलो चरण अर्थात् ‘सुपर सिरिज’ खेल्नुपर्ने बताइएको छ ।
आईसीसीले छनोट प्रतियोगिताको मिति, स्थान र अन्तिम फर्म्याट सार्वजनिक गरिसकेको छैन । तर प्रतियोगिता सन् २०२७ को सुरुआततिर हुने सम्भावना रहेको क्रिकइन्फोले जनाएको छ।
नयाँ विश्वकप ढाँचाअनुसार ओडीआई वरियताका शीर्ष ८ टोलीसँगै सहआयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेले सिधै मुख्य चरणमा स्थान बनाउनेछन् । त्यसमा छनोट प्रतियोगिताको विजेता थपिँदा मुख्य चरणमा ११ टोली निश्चित हुनेछन् ।
छनोट प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो हुने टोलीले भने विश्वकपको पहिलो चरण ‘सुपर सिरिज’ खेल्नुपर्नेछ । यस चरणमा चार टोलीबीच दुई-दुई खेलको प्रतिस्पर्धा हुनेछ र त्यसको विजेताले मात्र मुख्य समूह चरणमा स्थान बनाउनेछ। बाँकी तीन टोली दुई खेलमै विश्वकपबाट बाहिरिनेछन् ।
मुख्य चरणमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष तीन टोलीसँगै दुवै समूहमध्ये उत्कृष्ट अर्को एक टोली ‘सुपर ७’ चरणमा पुग्नेछन् । त्यसपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
विश्वकप छनोटमा १० टोली रहनेछन् । यसमा सहआयोजकबाहेकका ओडीआई वरियताका दुई पूर्ण सदस्य राष्ट्र, लिग–२ क्रिकेटका शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट आउने चार टोली सहभागी हुनेछन् ।
विश्वकप छनोट प्लेअफमा लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यहाँबाट शीर्ष चार टोलीले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।
प्रतिक्रिया 4