News Summary
Generated by OK AI. Editorially reviewed.- लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गर्दै स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।
- विश्वकप इतिहासमा मेसीले २१ गोल र सर्वाधिक १२ असिस्टको कीर्तिमान कायम गर्दै आफ्नो खेल जीवनको सम्भावित अन्तिम अध्यायमा ऐतिहासिक सफलताको खोजीमा छन् ।
- अर्जेन्टिनाका खेलाडीहरूले आफ्नो स्वर्णिम पुस्ताको नेतृत्व गरिरहेका मेसीलाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउँदै फुटबल इतिहासकै महान् खेलाडीको रूपमा बिदाइ गर्ने लक्ष्य राखेका छन् ।
१ साउन, काठमाडौं । चार वर्षअघि कतारको रातमा लियोनल मेस्सीले विश्वकपको अधुरो सपना पूरा गरे । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वविजेता बनाउँदै उनले फुटबलमा आफूले जित्न बाँकी रहेको सबैभन्दा ठूलो उपाधि पनि उचाले ।
धेरैले त्यसलाई उनको करियरको पूर्णविराम ठानेका थिए । तर २०२६ को विश्वकपले फेरि अर्को कथा लेखिदियो ।
३९ वर्षको उमेरमा पनि कप्तान मेसी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप फाइनलसम्म डोर्याउने मुख्य पात्र बनेका छन् ।
अब उनको अगाडि एउटा यस्तो अवसर छ, जसले उनलाई केवल अर्जेन्टिनाकै होइन, विश्व फुटबल इतिहासकै सबैभन्दा सफल खेलाडीका रूपमा अझ बलियो स्थान दिलाउन सक्छ ।
स्पेनसँग आइतबार हुने फाइनल मेसीका लागि एउटा उपाधिको मात्र खेल होइन, यो उनको विश्वकप यात्राको सम्भावित अन्तिम अध्याय पनि हो ।

रेकर्डमाथि रेकर्ड
यस विश्वकपमा मेसीले अहिलेसम्म ८ गोल गरेका छन् । यससँगै विश्वकप करियरमा उनको कुल गोल संख्या २१ पुगेको छ, जुन प्रतियोगिताको इतिहासकै दोस्रो सर्वाधिक हो ।
हुन त उनले प्रतियोगितामा सबैभन्दा पहिले सर्वाधिक गोलको कीर्तिमान तोडे । फ्रान्सका किलियन एमबाप्पेले आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा २ गोल गर्दै उक्त कीर्तिमान फेरि तोडेर मेसीलाई पछि पारे ।
एमबाप्पेको अब २२ गोल भएको छ र मेसी २१ गोलमा छन् । मेसीले २ गोल गरेमा फेरि अग्रस्थानमा आउने छन् ।
समूह चरणदेखि नकआउटसम्म निर्णायक प्रदर्शन गर्दै मेसीले अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पुर्याएका छन् ।
अल्जेरियाविरुद्ध ह्याट्रिकबाट प्रतियोगिता सुरु गरेका मेस्सीले त्यसपछि अस्ट्रिया, जोर्डन, केप भर्डे, इजिप्ट हुँदै इंग्ल्यान्डविरुद्धको सेमिफाइनलसम्म आफ्नो प्रभाव कायम राखे ।
गोल मात्र होइन, खेलको गति नियन्त्रण गर्ने, अवसर सिर्जना गर्ने र कठिन समयमा टोलीलाई अघि बढाउने भूमिका पनि उनैले निर्वाह गरेका छन् ।
गोल्डेन बुटको दौडमा पनि उनी फ्रान्सका किलियन एमबाप्पेसँग समान गोलमा रहेका थिए तर आइतबार बिहानको गोलपछि एमबाप्पे २ गोलले अगाडि पुगेका छन् र मेसीको गोल्डेन बुट सम्भावना कठिन बनाइदिएका छन् ।
मेसीले प्रतियोगिताको इतिहासमा सर्वाधिक असिस्टको कीर्तिमान पनि यही विश्वकपमा पूरा गरे । मेसीको असिस्ट संख्या अब १२ पुगिसकेको छ र यो दोस्रो स्थानको डिएगो म्याराडोनाभन्दा ४ गोल बढी हो ।

स्पेनसँग विशेष सम्बन्ध
फाइनलको अर्को रोचक पक्ष भने मेसीको स्पेनसँगको सम्बन्ध हो । व्यावसायिक फुटबलमा मेस्सीलाई विश्वको सर्वकालीन महान् खेलाडी बनाउने यात्रा स्पेनमै सुरु भएको थियो ।
स्पेनी महारथी टोली बार्सिलोनामा दुई दशकभन्दा बढी समय बिताएका उनले त्यहाँ १० ला लिगा, ४ च्याम्पियन्स लिग, ७ कोपा डेल रे लगायत ३५ भन्दा बढी उपाधि जिते ।
स्पेनकै मैदानमा उनले फुटबल इतिहासका अविश्वसनीय रेकर्ड बनाएका थिए । अहिले त्यही देशको राष्ट्रिय टोली उनको लगातार दोस्रो विश्वकप जित्ने सपनाबीच उभिएको छ ।
इतिहासको अन्तिम पाना ?
मेसीले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुन सक्ने संकेत दिएका छन् । त्यसैले स्पेनविरुद्धको फाइनल केवल ९० मिनेट वा अतिरिक्त समय खेल मात्र होइन, सम्भवतः विश्व फुटबलकै महान करियरको अन्तिम विश्वकप अध्याय पनि हुनेछ ।
यदि अर्जेन्टिनाले उपाधि रक्षा गर्न सफल भयो भने मेसीले लगातार दुई विश्वकप जित्ने कप्तानका रूपमा अर्को ऐतिहासिक उपलब्धि आफ्नो नाममा लेखाउनेछन् ।
त्यसपछि उनको नामसँग जोडिने बहस सायद अब बाँकी रहने छैन- फुटबल इतिहासकै सर्वकालीन महान् खेलाडी ।

लियोनल स्कालोनीको नेतृत्वमा अर्जेन्टिनाले पछिल्ला वर्षहरूमा कोपा अमेरिका, फाइनलिसिमा र विश्वकप जितिसकेको छ । अहिले उनीहरू लगातार दोस्रो विश्वकप जित्ने अवसरको संघारमा छन् ।
यो सफलता केवल मेसीको व्यक्तिगत उपलब्धि मात्र हुनेछैन ।
एमिलियानो मार्टिनेज, रोमेरो, म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जुलियन आल्भारेज र लाउतारो मार्टिनेजजस्ता खेलाडीहरूले मेसीलाई अन्तिम विश्वकपमा अर्को उपाधि दिलाउने लक्ष्य राखेका छन् ।
प्रतिक्रिया 4