+
पुरुष भलिबल :

काभा पुरुष भलिबल च्याम्पियनसिप : विश्व वरियतामा समावेश र पदकको लक्ष्य

२०८३ साउन  ३ गते २१:३७ २०८३ साउन ३ गते २१:३७

यो प्रतियोगिता नेपालको पुरुष टोलीका लागि एक प्रतियोगिता मात्र नभई विश्व वरियतामा समावेश हुने र सन् २०१७ पछि पहिलो पटक पदक जित्ने अवसरको रूपमा रहेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष भलिबल टोली पाकिस्तानको इस्लामावादमा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन सोमबार प्रस्थान गर्दैछ ।
  • यो प्रतियोगिता नेपालका लागि ऐतिहासिक हुनेछ किनकि यसमा सहभागिता जनाएसँगै टोली पहिलो पटक एफआईभीबीको विश्व वरियतामा समावेश हुनेछ ।
  • हरिहजुर थापाको कप्तानीमा रहेको १२ सदस्यीय टोलीले एक दशकपछि अन्तर्राष्ट्रिय पदक जित्ने लक्ष्यका साथ प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ ।

३ साउन, काठमाडौं । केही समयअघि घरेलु कोर्टमा भएको काभा महिला भलिबल च्याम्पियनसिप मार्फत नेपालको महिला भलिबल टोली एफआईभिबीको विश्व वरियतामा समावेश भएको थियो ।

घरेलु कोर्टमा महिला टोली चौथो भएपनि विश्व वरियतामा समावेश हुनु महत्वपूर्ण क्षण बनेको थियो ।

नेपालको पुरुष भलिबल टोलीले अब पाकिस्तानको इस्लामावादमा यही जुलाई २२ देखि २९ सम्म आयोजना हुने विश्व वरियताको मान्यता प्राप्त काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्दैछ ।

यो प्रतियोगिता नेपालको पुरुष टोलीका लागि एक प्रतियोगिता मात्र नभई विश्व वरियतामा समावेश हुने र सन् २०१७ पछि पहिलो पटक पदक जित्ने अवसरको रूपमा रहेको छ ।

नेपालको महिला भलिबल टोली धेरै अन्तर्राष्ट्रिय उपलब्धीहरू हासिल गरेपनि सिनियर पुरुष टिमले २०१७ मा माल्दिभ्समा भएको एभिसी एसियन सेन्ट्रल जोन भलिबलमा कांस्य पदक जितेपछि कुनै पदक जितेको छैन ।

नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक एफआईभीबीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो । त्यसैले विश्व भलिबलको मानचित्रमा नेपालको नाम फेरि एक पटक समावेश हुने यो ऐतिहासिक अवसर बन्नेछ ।

यस पटक काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालसहित आयोजक पाकिस्तान, कजाखस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशगरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

‘भलिबल संघले नेपाल भलिबललाई विश्व भलिबलको मानचित्रमा देख्न चाहेको छ । यस प्रतियोगितामा सहभागिताले पनि नेपाल वरियतामा आउने भएर भलिबल संघले सहभागिताको निर्णय गरेको हो’ मुख्य प्रशिक्षक जगदिश भट्टले भने, ‘हामी अंकका लागि फाइट गर्छौँ र विश्व वरियतामा माथि आउने भन्ने योजना हो ।’

नेपालको तयारी

काभा पुरुष भलिबल च्याम्पियनसिपको लागि हरिहजुर थापाको कप्तानीमा नेपालको सिधै १२ सदस्यीय अन्तिम टोली घोषणा भएको थियो ।

नेपाल भलिबल संघले नेपालका अनुभवी प्रशिक्षक जगदिश प्रसाद भट्टलाई पुरुष टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिँदै प्रतियोगिताको तयारी गरेको थियो । एक महिना भन्दा बढी समयको घरेलु तयारीपछि नेपाल यो प्रतियोगिता खेल्न सोमबार पाकिस्तान प्रस्थान गर्दैछ ।

यस पटक नेपालले घरेलु कोर्टमा आन्तरिक तयारी गरेपनि कुनै अभ्यास म्याचहरू भने खेल्न पाएन ।

मुख्य प्रशिक्षक भट्टले तयारी खेल खेल्न नपाएपनि घरेलु ट्रेनिङ र नेपालमा भएका प्रतियोगिताहरूको अनुभवले टिम सन्तुलित रहेको बताए । ‘तयारी खेल्न नपाउँदा केही ल्याक त भएको छ । तर प्रतियोगिता केही पछि सरेकोले हामीले ट्रेनिङमा राम्रो गरेका छौं ।’

समय थोरै भएकोले पनि यस पटक सिधै अन्तिम टोली घोषणा गरेर तयारी गरेको भट्टले जानकारी दिए ।

यस्तै कप्तान हरिहजुर थापाले पनि छोटो समयको तयारी भएपनि नयाँ र पुराना खेलाडीहरूको मिश्रण रहेको र तयारी राम्रो भएको बताएका छन् ।

फेरिएको टिम र युवा खेलाडीको वर्चस्व

यस्तै नेपाली टिममा यस पटक नयाँ खेलाडीहरूको वर्चस्व छ । टिममा आधा खेलाडी (६) ले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।

जसमा घरेलु भलिबलका चर्चित खेलाडी हिमाल सुनारीसँगै राजेन्द्र धामी, सुरज चुनारा, र दिपेश कुँवर छन् ।

कप्तान हरिहजुरसँगै यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका विनोद चन्द, सुनिल बोहरा, पहल गहतराज, रविन नगरकोटी र नृपध्वज बस्नेत मात्र छन् । यसमा पनि हरिहजुर र विनोद मात्र सिनियर खेलाडी हुन् ।

सुनिल, पहल, रविन र नृपध्वजले गत वर्ष असोजमा बंगलादेशमा भएको काभा मेन्स नेसन्स लिगमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यस प्रतियोगिता ८ नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका थिए । जसमा अर्जुन नेपाली, शैलेन्द्र यादव, सुजन सुनार र सन्तोष राई भने यस पटक टिममा छैनन् ।

यस्तै नेसन्स लिग खेल्ने १४ सदस्यीय टोलीमा रहेका धन बहादुर भट्ट क्षेत्री, धिरोज काजी बस्नेत पनि यस पटक टिममा परेनन् भने सरन सामरी क्षेत्री र सफल विक पनि यस पटक छैनन् । दुवै खेलाडी विदेश गइसकेका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले यस पटक नेपाली टिममा अनुभवीसँगै युवा खेलाडीहरू समावेश रहेको र नयाँ खेलाडीको स्प्रिट राम्रो रहेको बताए । ‘टिममा अनुभवी र नयाँ खेलाडीहरू छन् । अनुभव र नयाँ खेलाडीको टिम स्प्रिट मिल्यो भने सकरात्मक नतिजा ल्याउन सकिन्छ’ भट्टले भने ।

यस्तै कप्तान हरिहजुर थापाले पनि नयाँ खेलाडीहरूका लागि यो राम्रो अवसर भएको र आगामी दिनमा अन्य खेलाडीका लागि यसले मार्ग देखाउने बताए । ‘टिममा नयाँ खेलाडीहरू धेरै भएकोले युवा खेलाडीहरू छन् । अवसर पाएको छन् र आफूलाई प्रमाणित गर्ने अवसर छ । नयाँ खेलाडी र आउने जेनेरेसनका लागि पनि यो राम्रो अवसर हो । पहिले खेलेको भाइहरूले पनि राम्रो गरिराछ’ उनले भने ।

पहिलो पटक राष्ट्रिय टिममा समावेश भएका ६ मध्ये हिमाल सुनारीले खुशी व्यक्त गर्दै यो ठूलो अवसर भएको बताए । ‘देशको जर्सी लगाएर खेल्न जान पाउँदा धेरै खुशी छु । गुरुहरूले दिनुभएको ज्ञानहरू कोर्टमा प्रयोग गर्दै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं’ सुनारीले भने ।

युवा खेलाडीहरूको यो बाहुल्यले नेपालको पुरुष भलिबलमा पुस्तान्तरण भइरहेको र नयाँ प्रतिभाहरूले अवसर पाइरहेको स्पष्ट पार्छ ।

नेपालको लक्ष्य

यस पटक प्रतियोगितामा यस पटक काभा रिजनका ६ टिमले खेल्ने पक्का भइसकेको छ । जसमा आयोजक पाकिस्तानसहित नेपाल बंगलादेश श्रीलंका, अफगानिस्तान र कजाखस्तान छन् ।

भारत र उज्वेकिस्तानले पनि सहभागिता जनाउने तयारी भएपनि भारतले अन्तिम समयमा नखेल्ने भएको छ भने उज्वेकिस्तानको सहभागिताको टुङ्गो लागेको छैन ।

आइतबारसम्म जानकारी अनुसार ६ टिमले मात्र खेल्ने तय भएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

६ टिम मध्ये आयोजक पाकिस्तान र कजाखस्तान तुलनात्मक रूपमा बलिया टिम हुन् । पाकिस्तान विश्व वरियतामा शीर्ष ५० भित्रको टिम हो भने एसियामा शीर्ष दश भित्र समावेश छ । यस बाहेक नेपालसहित बाँकी चार टिम समान स्तरका छन् ।

त्यसैले यस पटक नेपालले पदक जित्ने सम्भावना धेरै रहेको नेपाली टिमका कप्तान प्रशिक्षकदेखि भलिबल संघको भनाइ छ ।

फाइल तस्वीर

मुख्य प्रशिक्षक जगदिश भट्टले नेपालले सेन्ट्रल एसियामा खेलिसकेका टिमहरू नै सहभागी रहेकाले पदकको सम्भावना रहेको बताए । ‘सेन्ट्रल एसियामा हामीले विगतमा खेलिसकेका छौँ हामीले यसअघि हराइसकेको र धेरै पटक खेलिसकेको टिमहरू छन् । हामीले विगतमा खेलेर टफ फाइटमा हारेको वा हामीले जितेको भएकोले अवसर छ,’ भट्टले भने, ‘पुरानो अनुभव र नयाँ खेलाडिको स्प्रिट सन्तुलन गर्न सके हामी मेडल नजिक छौ ।’

यस्ते कप्तान हरिअजुर थापाले पनि हरेक प्रतियोगिता उपाधिकै लक्ष्य हने भएपनि बलिया टिमहरू पनि रहेको र राम्रो प्रदर्शन गर्न सके पदकको सम्भावना रहेको बताए । ‘कुनै टिमहरू शक्तिशाली पनि छ । उनीहरूको ट्रेनिङको रिच देखि लेभल अर्कै छ । हाम्रो लेभलको टिमसँग र पावरफुल टिमसँग फाइट गर्छौँ । हामीले ब्लकमा अली सुधार गर्‍यौँ भने राम्रो हुन्छ ।’

नेपालले तयारी म्याच खेल्न नपाएकोले सिधै अन्तर्राष्ट्रिय खेल खेल्दा कुन पक्ष बलियो वा कमजोर थाहा हुँदनै । विगतमा जस्तै नेपालको ब्लकमा केही कमजोरी रहेको कप्तान थापाको भनाइ छ र त्यसमा सुधार गरेको उनले बताए ।

भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपालले फाइनल खेलेमा जनही ३ लाख पुरस्कार दिने आइतबार विदाइ समारोहमै घोषणा गरेका छन् ।

यस पटक युवा खेलाडीहरूको जोशसँगै अनुभवी खेलाडीको मिश्रणमा नेपालले करिब एक दशकपछि पहिलो पदक छुने लक्ष्य राखेको छ । साथै एफआईभीबीको वरियतामा समावेश हुँदा नेपालको अन्तर्राष्ट्रिय पहिचान देखि ठुला प्रतियोगिता खेल्ने अवसर हुनेछ । सथै राष्ट्रिय खेल भलिबलकोको बारेमा चर्चा पनि व्यापक हुनेछ ।

इस्लामावादको कोर्टमा हुने हरेक खेल र हरेक अंक नेपाली भलिबलका लागि अग्निपरीक्षा जस्तै हुनेछ । एकातिर बलिया प्रतिद्वन्द्वीहरू र छोटो तयारीको चुनौती छ भने अर्कोतिर युवा खेलाडीहरूको जोश, अनुभवी प्रशिक्षकको साथ र इतिहास रच्ने अवसर नेपाली टोलीसामु छ ।

काभा पुरुष भलिबल च्याम्पियनसिप नेपाली पुरुष भलिबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय